उत्तर कोरियाले शनिवार “अप्रत्याशित” अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर ‘सी अफ जापान’मा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो।प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ।यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो।
अमेरिकालाई चेतावनी

यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो।ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन्।प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध “अभूतपूर्व रूपमा कडा” प्रतिरोध गर्ने धम्की दिएका छन् जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन्।
शनिवार सबेरै उत्तर कोरियाली नेता किम जङ-अनकी बहिनी किम यो-जङले पुन: यसलाई दोहोर्याएकी थिइन्।उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको “कडा र भयानक” जवाफहरू हुने बताइन्।उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई “खतरा”मा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन्।
‘सोललाई निशानामा नपारिने’
किम यो-जङले दक्षिण कोरियाली राजधानी सोल भने उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा नपारिने बताइन्।शुक्रवार उत्तर कोरियाले उसको विशाल सैन्य क्षमता एउटा परेडमार्फत देखाएको थियो जसमा एक दर्जनभन्दा बढी सङ्ख्यामा आईसीबीएमहरू थिए।
नयाँ वर्षको दिनपछि शनिवार पहिलोपटक क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो जुन होकाइदोको पश्चिमपट्टि जापानको विशेष आर्थिक क्षेत्रमा साँझको ६ बजेर २७ मिनेटमा खसेको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन्।त्यो जापानको तटभन्दा २०० नटिकल माइल पर हो।
कस्तो क्षेप्यास्त्र ?
जापान सरकारका प्रवक्ताले टोक्योमा बताए अनुसार उक्त क्षेप्यास्त्र ५,७०० किलोमिटरको उचाइमा पुगेको थियो।अन्तरिक्षको छेउ झण्डै १०० किलोमिटर हुनेमा यो निकै नै माथि हो।तर उत्तर कोरियाली क्षेप्यास्त्र उडेको अहिलेसम्मकै सर्वाधिक उचाइ भने होइन।
नोभेम्बरमा एउटा आइसीबीएम ६,१०० किलोमिटरको उचाइमा पुगेको थियो।यसअघि सन् २०२२ को ज्यानुअरीमा उत्तर कोरियाले पृथ्वीका अभूतपूर्व तस्बिरहरू सार्वजनिक गर्दै ती २,००० किलोमिटर माथि पुगेको क्षेप्यास्त्र प्रहारका क्रममा खिचिएको जनाएको थियो।
















































































































































































