६ भाद्र २०८३, शनिबार

 

चीनमा कम्युनिस्ट पार्टी सदस्य भएर प्रेममा पर्नुको जोखिम र बाधाहरू

उनी आफ्नो जीवनमा प्रेममा परेको व्यक्तिसँग विवाह गर्न लागेकी थिइन् । विदेशस्थित एउटा विमानस्थलमा भेटिएका ती विदेशी पुरुषले उनीसँग फोन नम्बर मागेका थिए र त्यसपछि उनीहरूबिच निकै छिट्टै सम्पर्क बढेको थियो । तर लामो समयदेखि उनीसँगै काम गर्दै आएका सहकर्मीहरूले नै उनलाई बधाई दिनुको सट्टा विभाग प्रमुखको निर्देशनमा एकपटक फेरि सोच्न आग्रह गरे ।

के प्रेमीसँग विवाह गर्नकै लागि आफ्नो जागिर गुमाउनु उचित थियो त ?

चीनका लाखौँ सरकारी कर्मचारीमध्ये ती महिलाको नाम संवेदनशील विषय भएकाले सार्वजनिक गरिएको छैन । उनी लामो समयदेखि कायम रहेको एउटा नियमबाट बाँधिएकी थिइन्, जसअनुसार सरकारी कर्मचारी वा ‘महत्त्वपूर्ण गोप्य सूचना’मा पहुँच भएका व्यक्तिले विदेशी नागरिकसँग विवाह गर्न पाउँदैनन् ।

तर यो विषय विवाहमा मात्र सीमित छैन । चिनियाँ नेता सी चिनफिङ सन् २०१२ मा सत्तामा आएपछि कम्युनिस्ट पार्टी वा राज्य क्षेत्रसँग जोडिएका सदस्यहरूको व्यक्तिगत जीवनका धेरै पक्ष (सम्बन्धविच्छेददेखि विदेश यात्रा र सामाजिक गतिविधिसम्म) माथि बढ्दो निगरानी हुन थालेको छ ।

यो राष्ट्रिय सुरक्षाका जोखिम कम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सीको प्रयासको एउटा पाटो हो । तर राज्यका करोडौँ कर्मचारीका लागि यसले व्यक्तिगत जीवन जिउने अधिकार र पार्टीप्रतिको निष्ठाबिच निरन्तर तनाव सिर्जना गरेको छ ।

बर्लिनस्थित थिंक ट्यांक समूह ‘मेरिक्स’की प्रमुख कात्या ड्रिनहाउजेन भन्छिन्, ‘व्यक्ति, पार्टी र पार्टीको उद्देश्यलाई एउटै रूपमा हेर्ने यो प्रवृत्ति सीको शासनकालमा उनका पूर्ववर्तीहरूको समयभन्दा निकै फरक छ ।’

चीनमा अधिकार र निर्णय गर्ने पदमा रहेका अधिकांश व्यक्ति कम्युनिस्ट पार्टीका सदस्य हुन्छन् । पार्टीबाट निष्कासन हुनु भनेको प्रायः राजनीतिक करियरको अन्त्य हुनु हो ।

अमेरिकालगायत अन्य देशका सरकारहरूले पनि आफ्ना कर्मचारीका लागि निश्चित नियम र जानकारी खुलाउनुपर्ने व्यवस्था गरेका छन् । तर चीनमा लागू नियन्त्रण व्यापकता मात्र छैन, त्यसबाट प्रभावित हुने मानिसको विशाल संख्या पनि उल्लेखनीय छ । यसको प्रभाव सरकारी कर्मचारीमा मात्र सीमित छैन, राज्यसँग जोडिएका अन्य क्षेत्रमा समेत फैलिएको छ ।

चीनको फुतान विश्वविद्यालयले प्रकाशित गरेको एउटा अध्ययनअनुसार सन् २०२० मा राज्य क्षेत्रमा करिब ७ करोड मानिस कार्यरत थिए । यसमा सार्वजनिक अस्पताल, विद्यालय, विश्वविद्यालय तथा राज्य स्वामित्वका कम्पनीका कर्मचारीसमेत पर्छन् ।

राष्ट्रिय सुरक्षाको नाममा बढ्दो नियन्त्रण

यीमध्ये केही नियम बेइजिङको विस्तार हुँदै गएको राष्ट्रिय सुरक्षा अभियानको परिणाम हुन् । अमेरिका र उसका सहयोगीहरूसँग चीनको रणनीतिक प्रतिस्पर्धा गहिरिँदै गएपछि बेइजिङले जासुसीविरोधी अभियानलाई पनि विस्तार गरेको छ ।

राज्यका गोप्य सूचना चुहिन सक्ने चिन्ताबिच विदेशी नागरिक तथा विदेशी सम्बन्धलाई समेत शंकाको दृष्टिले हेर्न थालिएको छ । अन्य कतिपय नियम भने सीको प्रमुख अभियान मानिएको भ्रष्टाचारविरोधी अभियान र सत्तारुढ कम्युनिस्ट पार्टीप्रति पूर्ण समर्पणको भावसँग जोडिएका छन् ।

सीले भ्रष्टाचारविरुद्धको लडाइँ पार्टीको अस्तित्वका लागि अत्यावश्यक रहेको बताउँदै आएका छन् । उनको दृष्टिमा पार्टी सत्तामा टिकिरहन कडा अनुशासन र राजनीतिक निष्ठा आवश्यक छ ।

सेनामा पनि शुद्धीकरण

भ्रष्टाचारविरोधी अभियान चीनको राजनीतिक प्रणालीका सबै तहमा पुगेको छ । यस क्रममा लाखौँ उच्चपदस्थ नेता तथा सामान्य अधिकारीसमेत अनुसन्धान र कारबाहीको दायरामा परेका छन् । पछिल्ला वर्षहरूमा यो अभियान अभूतपूर्व स्तरमा तीव्र भएको छ र सेना तथा राजनीतिक नेतृत्वको सर्वोच्च तहसम्म पुगेको छ ।

सीले सात सदस्यीय केन्द्रीय सैन्य आयोगका अधिकांश सदस्यलाई हटाइसकेका छन् । अहिले उनीसँगै केवल एक सदस्य बाँकी रहेको बताइएको छ । २४ सदस्यीय शक्तिशाली पोलिटब्युरोमा पनि अहिले २१ सदस्य मात्र छन् ।

शक्ति र प्रतिष्ठातर्फको आकर्षण

सीएनएनले व्यक्तिगत स्वतन्त्रताको केही हिस्सा त्यागेर प्रतिष्ठित सरकारी जागिर रोजेका मानिसहरूको अनुभव बुझ्न केही व्यक्तिसँग कुराकानी गरेको थियो । पार्टीसम्बन्धी विषयमा बोल्दा उनीहरूलाई हुन सक्ने जोखिमका कारण उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

एक स्रोतले भने, ‘शक्तिप्रतिको आकर्षण निकै ठुलो छ ।’ उनका अनुसार प्रणालीमा प्रवेश गर्नु लगभग सरकारी अधिकारी बन्नुसरह हो र अधिकारी बन्नुको अर्थ अरूभन्दा माथि हुनु हो । निजी क्षेत्रमा अवसरहरू खुम्चिँदै गएपछि पछिल्ला वर्षहरूमा सरकार वा राज्य स्वामित्वका संस्थामा जागिर पाउने चाहना झन् बढेको छ ।

विश्वव्यापी आर्थिक अस्थिरताले चीनभित्र पनि चिन्ता बढाएको छ । त्यसमा घरजग्गा क्षेत्रको संकट र युवामा उच्च बेरोजगारी दर थपिँदा केही मानिसले सरकारी क्षेत्रमा स्थायी जागिरलाई सुरक्षित भविष्यको सबैभन्दा राम्रो बाटो ठान्न थालेका छन् ।

गत वर्ष करिब ३७ लाख मानिसले राष्ट्रिय सार्वजनिक सेवा परीक्षा दिएका थिए । तर रिक्त पद संख्या केवल ३८ हजार १०० थियो । अर्थात् प्रत्येक पदका लागि चीनका केही उत्कृष्ट र प्रतिभाशाली युवासहित करिब १०० जना प्रतिस्पर्धामा थिए ।

आज पार्टी–राज्यको विशाल संरचनामा प्रवेश गर्ने कतिपय मानिसले व्यक्तिगत जीवनमा गर्नुपर्ने त्यागबारे पहिल्यै बुझिसकेका हुन्छन् । तर दशकौँदेखि यही प्रणालीमा आफ्नो सम्पूर्ण करियर बिताएका पुरानो पुस्ताका कर्मचारीहरू भने नयाँ नियमअनुसार जीवन ढाल्न अझै संघर्ष गरिरहेका छन् ।

छोराको दीक्षान्त समारोहमा जान पनि पाएनन्

एक पूर्व चिनियाँ सरकारी कर्मचारीले सीएनएनलाई बताएअनुसार उनले युरोपको प्रतिष्ठित विश्वविद्यालयबाट छोराको दीक्षान्त समारोहमा सहभागी हुने योजना बनाएका थिए । उनले टिकटसमेत खरिद गरिसकेका थिए । तर उनका रोजगारदाताले विदेश जाने अनुमति अस्वीकार गरिदिए ।

उनीलाई विदेश यात्रा गर्न अनुमति आवश्यक हुन्छ भन्ने थाहा थियो । तर आफूले कम्तीमा छ महिनाअघि आवेदन दिएपछि र सबै प्रक्रिया पूरा गरेपछि अनुमति पाइने उनको विश्वास थियो ।

तर अन्ततः उनलाई देश छाड्नै रोक लगाइयो ।

‘सुरुमा चीनबाट बाहिर जान पाउँदिनँ भन्ने मलाई थाहा थिएन । तर जब मैले आवश्यक कागजात पूरा गरेँ, उनीहरूले मलाई कुनै हालतमा जान दिएनन्,’ उनले भने, ‘मैले संगठन विभागका प्रमुखसँग समेत भेटेर कुरा गरेँ र अन्य धेरै व्यक्तिसँग पनि कुरा गरेँ । तर सबैले यो ‘रेड लाइन’ हो, यसलाई पार गर्ने साहस कसैले गर्दैन भने ।’

चीनले लामो समयदेखि सरकारी अधिकारीहरूको विदेश यात्रामा प्रतिबन्ध लगाउँदै आएको छ । तर पछिल्ला वर्षहरूमा यस्तो नियन्त्रणको दायरा अझ धेरै मानिससम्म विस्तार गरिएको छ । गत महिनाको अन्त्यमा बेइजिङले राष्ट्रिय सुरक्षा सुदृढ गर्न सहयोग पुग्ने भन्दै नयाँ प्रवेश–बहिर्गमन नियमसमेत घोषणा गरेको थियो ।

ती नियमले पहिले नै व्यवहारमा रहेका व्यवस्थालाई औपचारिक बनाउँदै उन्नत प्रविधिसम्बन्धी संवेदनशील जानकारीमा पहुँच भएका मानिसको आवागमनमाथि थप नियन्त्रण गर्ने उद्देश्य राखेको देखिन्छ । यस्तो व्यक्ति सार्वजनिक क्षेत्रमा कार्यरत नभए पनि यी नियम लागू हुन सक्छन् ।

पासपोर्टसमेत कार्यालयमा बुझाउनुपर्ने

सरकारी क्षेत्रमा बढाइएको कडाइ विदेशी जासुसप्रति बेइजिङको चिन्ता र भ्रष्टाचारविरोधी अभियानसँग पनि जोडिएको छ । भ्रष्टाचार गरेर सार्वजनिक धन हिनामिना गरेका अधिकारीले पैसा लिएर विदेश भाग्न नपाऊन् भन्ने उद्देश्यले पनि यस्ता नियन्त्रण लागू गरिएको बताइन्छ ।

सम्बन्धित निकायका अनुसार राज्य तथा सार्वजनिक संस्थाका कर्मचारी ९केही अवकाशप्राप्त कर्मचारीसमेत० आफ्नो व्यक्तिगत पासपोर्ट कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । स्वीकृत विदेश यात्राका लागि उनीहरूले पासपोर्ट ‘उधारो’ माग्नुपर्ने हुन्छ ।

यो प्रक्रिया निकै जटिल र अपारदर्शी रहेको बताइन्छ । प्रस्तावित यात्राको गन्तव्य, बसाइको अवधि र यात्राका क्रममा गरिने गतिविधिसम्मको सम्पूर्ण विवरण बुझाउनुपर्ने हुन्छ । यात्रा स्वीकृत भएपछि पनि अनुमति नलिई योजनामा परिवर्तन गर्न पाइँदैन । प्रक्रिया यति जटिल छ कि धेरै मानिस विदेश जाने योजना नै नबनाउने वा अनुमति माग्नै नखोज्ने गर्छन् ।

यस विषयबारे जानकार स्रोत तथा सार्वजनिक रूपमा उपलब्ध सरकारी सूचनाअनुसार प्रणालीमा उच्च पदमा रहेका वा गोप्य सूचनामा पहुँच भएका व्यक्तिमाथि अझ कडा प्रतिबन्ध हुन्छ । महानिर्देशक वा त्यसभन्दा माथिल्लो तहमा पुगेका अधिकारीले अवकाशपछि पनि विदेश यात्रामा स्थायी किसिमका प्रतिबन्ध सामना गर्नुपर्ने हुन्छ ।

विदेशमा परिवार भए बढुवा रोकिँदै

विदेशमा पारिवारिक सम्बन्ध भएका अधिकारीहरू लामो समयदेखि चीनको भ्रष्टाचारविरोधी निगरानीको निशानामा पर्दै आएका छन् । यसको उद्देश्य अवैध रूपमा आर्जित रकम विदेश पठाउने सम्भावना रोक्नु हो । पछिल्ला वर्षमा नियम झन् कडा पारिएका छन् । विदेशमा छोराछोरी र जीवनसाथी भएका अधिकारीहरूलाई कतिपय अवस्थामा बढुवाका लागि योग्य नमानिने व्यवस्था गरिएको छ ।

अहिले अवकाशप्राप्त ती पूर्व सरकारी कर्मचारीले यस गर्मीयाममा फेरि युरोपमा रहेका आफ्नो छोरालाई भेट्न आवेदन दिएका थिए । तर उनको आवेदन फेरि अस्वीकृत भयो । उनीलाई केही वर्ष पर्खनुपर्ने बताइयो । त्यसपछि मात्र उनलाई विदेश यात्राका लागि औपचारिक स्वीकृति आवश्यक नपर्ने अवस्था आउन सक्ने बताइएको थियो ।

उनले भने, ‘हामी बूढा भइसकेका छौँ, भविष्यमा फेरि यात्रा गर्न पाइएला भन्ने आशा गर्न सक्छौँ । तर युवाहरूका लागि कुनै आशा छैन ।’ उनका अनुसार यदि कुनै कर्मचारी ३० वर्षको छ भने उसले ६० वर्षको उमेरसम्म धैर्य गर्नुपर्नेछ । त्यसपछि अवकाश लिएपछि पनि केही वर्ष कुर्नुपर्ने हुन्छ ।

यसरी चीनमा राज्यसत्ताको संरचनामा प्रवेश गर्ने निर्णय केवल रोजगारी र करियरको विषयमा सीमित रहँदैन । विवाह, प्रेम सम्बन्ध, विदेश यात्रा, पारिवारिक सम्बन्ध र सामाजिक जीवनसम्ममा राज्यको निगरानी र पार्टीप्रतिको निष्ठाको प्रभाव बढ्दै जाँदा लाखौँ कर्मचारीका लागि व्यक्तिगत स्वतन्त्रता र सरकारी सेवाबिचको सीमारेखा झन् साँघुरिँदै गएको छ ।

परिवर्तनका जटिलता

चीनमा सम्बन्धविच्छेदले समेत सरकारी अधिकारीहरूको निगरानी आकर्षित गर्न सक्छ । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले अपराधबाट आर्जित रकम लुकाउन केही अधिकारीहरूले सम्बन्धविच्छेद गरेको घटनाबारे रिपोर्ट गरेका छन् । एउटा घटनामा आन्हुई प्रान्तका एक उच्चपदस्थ अधिकारीले आफू अनुसन्धानको दायरामा पर्न सक्ने सम्भावना रहेको थाहा पाएपछि तत्काल श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।

त्यसपछि उनले हिनामिना गरेको अधिकांश रकम पूर्वपत्नीलाई हस्तान्तरण गरे, ताकि ती सम्पत्तिमाथि हुन सक्ने छानबिनबाट जोगाउन सकियोस् । कम्युनिस्ट पार्टीका नियमअनुसार अधिकारीहरू, विशेषगरी नेतृत्वदायी पदमा रहेका व्यक्तिहरूले आफ्नो वैवाहिक स्थितिमा भएको परिवर्तनबारे जानकारी गराउनुपर्छ ।

यसबाट उनीहरू निगरानीको दायरामा पर्न सक्छन् र भ्रष्टाचारसँग कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा समेत उनीहरूमाथि निगरानी हुन सक्छ । सम्बन्ध र विवाहको कुरा आउँदा जनमुक्ति सेना (पीएलए) का सदस्यहरूले सामान्यतया अझ कडा प्रतिबन्धको सामना गर्नुपर्छ । विवाह गर्नुअघि पीएलएका सदस्यहरूले आफ्नो सम्भावित जीवनसाथीको विवरण राजनीतिक पृष्ठभूमि जाँचका लागि बुझाउनुपर्छ ।

सन् २०२१ मा चीनको सर्वोच्च सैन्य निकाय केन्द्रीय सैन्य आयोगले जारी गरेको नियममा यसको व्यवस्था गरिएको छ । यदि सम्बन्ध टुट्यो भने प्रक्रिया झन् जटिल हुन्छ । यदि दुवै जना पीएलएका सदस्य हुन् भने सम्बन्धविच्छेदको अवस्थामा उनीहरूका वरिष्ठ अधिकारीहरूले हस्तक्षेप गरेर सम्बन्ध सुधार्ने प्रयास गर्नुपर्छ ।

सेनाको स्वीकृति लिएपछि मात्र दम्पतीले कानुनी रूपमा सम्बन्धविच्छेद गर्न सक्छन् । यसले सम्बन्धविच्छेदको प्रक्रिया अझ लामो बनाउन सक्छ । थिंक ट्यांक कात्या ड्रिनहाउजेनले सीएनएनसँग कुरा गर्दै सम्बन्धविच्छेद वा विवाहजस्ता व्यक्तिगत विषयले पार्टीभित्र सदस्यको नैतिक छविको मूल्यांकनमा समेत प्रभाव पार्न सक्ने बताइन् ।

उनले भनिन्, ‘यदि तपाईं सेनामा हुनुहुन्छ भने, जीवनभर माया गर्ने व्यक्तिसँगै विवाह गर्दै हुनुहुन्छ भन्ने कुरामा निकै निश्चित हुनु राम्रो हुन्छ ।’ अन्य देशमा विवाहबाह्य सम्बन्धलाई घोटाला वा गफको विषयका रूपमा हेरिन सक्छ । तर चीनको पार्टी प्रणालीमा यस्तो सम्बन्धले तपाईंको सम्पूर्ण करियर नै समाप्त गराउन सक्छ ।

कम्युनिस्ट पार्टीका अनुशासनसम्बन्धी नियममा कुनै सदस्यले ‘अर्को व्यक्तिसँग अनुचित यौन सम्बन्ध राखे र त्यसले प्रतिकूल प्रभाव पारेमा’ पार्टीबाट निष्कासनको जोखिम हुने स्पष्ट उल्लेख छ । चीनको सर्वोच्च भ्रष्टाचारविरोधी निकाय (केन्द्रीय अनुशासन निरीक्षण आयोग) ले उच्चपदस्थ अधिकारीहरूलाई पदबाट हटाउँदा उनीहरूको विवाहदेखि बाहिरका सम्बन्धलाई बारम्बार ‘नैतिक पतन’ का रूपमा उल्लेख गर्दै आएको छ ।

सहकर्मीबिचको मित्रतामाथि पनि निगरानी

सहकर्मीबिचको सामान्य मित्रताले समेत सरकारी निगरानी आकर्षित गर्न सक्छ । संवेदनशील विषय भएकाले नाम सार्वजनिक नगरिएका एक स्रोतले सीएनएनलाई बताएअनुसार सहकर्मीहरूलाई सामूहिक रूपमा रात्रिभोजमा सहभागी हुनसमेत निरुत्साहित गरिन्छ । ती व्यक्तिले भने, ‘यदि हामी सँगै बसेर खाना खाँदैनौँ र कुराकानी गर्दैनौँ भने हाम्रो सम्बन्ध टाढिँदै जान्छ ।

अब म आफ्ना सहकर्मीहरूसँग नजिकको मित्रता बन्ने अपेक्षा गर्दिनँ, यद्यपि पहिले त्यस्ता केही साथी थिए ।’कतिपय सहकर्मीहरू कार्यालयमा देखिन नपरोस् भनेर राति अबेर कार्यालयबाट निकै टाढाको स्थानमा भेटेर कुराकानी गर्न रुचाउँछन् । यो सीको पार्टीभित्रका सम्बन्धलाई ‘शुद्धीकरण’ गर्ने प्रयासको एउटा हिस्सा हो, जसको उद्देश्य आफ्नो नेतृत्वप्रतिको निष्ठा बलियो बनाउनु हो ।

उनले पार्टी सदस्यहरूबिच ‘स्वच्छ र सरल सहकर्मी सम्बन्ध’ कायम गर्न बारम्बार आह्वान गर्दै आएका छन् । यसलाई पार्टीभित्र आन्तरिक गुटबन्दी वा गठबन्धन निर्माणलाई निरुत्साहित गर्ने प्रयासका रूपमा हेरिएको छ । लन्डनस्थित किङ्स कलेजका चिनियाँ अध्ययनका प्राध्यापक केरी ब्राउनले सीएनएनसँग भने, ‘अधिकारीहरू वा सैन्य कर्मचारीहरूलाई अहिले निकै कडा मापदण्डमा बाँधिएको छ ।’

उनका अनुसार आखिर पार्टी नै तपाईंको परिवार र तपाईंको जीवन हो । तपाईंको वास्तविक परिवार त्यसपछि मात्र आउँछ ।

‘पार्टीमै जिउनु र पार्टीमै सास फेर्नु’

सन् १९२१ मा बौद्धिकहरूको एउटा समूहले स्थापना गरेको चिनियाँ कम्युनिस्ट पार्टी सानो क्रान्तिकारी आन्दोलनबाट विकसित हुँदै अहिले १० करोड १० लाखभन्दा बढी सदस्य भएको विशाल राजनीतिक संगठन बनेको छ । यो विश्वका सबैभन्दा ठुला र लामो समयदेखि सत्तामा रहेका राजनीतिक दलमध्ये एक हो ।

सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएदेखि नै कम्युनिस्ट पार्टी चीनको राजनीतिक प्रणालीको केन्द्रमा रहँदै आएको छ । सुधार र खुलापनको युगमा पार्टी र राज्यको भूमिकालाई केही हदसम्म अलग देखाउने प्रयास भए पनि सी चिनफिङले समाजका लगभग सबै क्षेत्रमा पार्टीको सर्वोच्चता अझ विस्तार गरेका छन् ।

सन् २०१७ मा उनले पार्टीको विधानमै एउटा नारा समावेश गराएः ‘सरकार, सेना, समाज र विद्यालयस उत्तर, दक्षिण, पूर्व र पश्चिम–सबैलाई पार्टीले नेतृत्व गर्छ ।’ ब्रुकिङ्स इन्स्टिच्युसनका फेलो तथा सीआईएका पूर्व चीन विश्लेषक जोनाथन सिजिनले सीएनएनसँग भने, सी चीनको सम्पूर्ण समाजलाई परम्परावादी मूल्य प्रणालीअनुसार पुनर्संरचना गर्न पूर्ण रूपमा प्रतिबद्ध छन् ।

यस प्रणालीमा कडा परिश्रम, पारिवारिक जीवन र स्वच्छ तथा नैतिक आचरणलाई प्राथमिकता दिइन्छ । सिजिनका अनुसार सी वास्तवमै पार्टीलाई उदाहरण प्रस्तुत गर्ने संस्थाका रूपमा हेर्छन् । र सीमा बलियो नैतिक झुकाव छ, जुन ‘लगभग विशुद्ध’ प्रकृतिको छ ।

‘पार्टी सदस्यकी कुनै रखौटी हुनु हुँदैन । उनीहरू आधिकारिक बैठक सकिएपछि पनि घन्टौँ बसेर खानपिन र रमाइलोमा समय बिताइरहनु हुँदैन । सीको सम्पूर्ण कार्यकालमा यही मुख्य प्रवृत्ति रहँदै आएको छ,’ उनले भने । सिजिनका अनुसार सीमा ‘पार्टीप्रति लगभग धार्मिक स्तरको समर्पण’ छ र उनी पार्टीका सदस्यहरूमा पनि त्यस्तै भावना विकास गर्न चाहन्छन् ।

तर सीले हरेक पार्टी सदस्यबाट आफूजस्तै पूर्ण निष्ठाको अपेक्षा व्यावहारिक रूपमा गर्न नसक्ने सिजिनको भनाइ छ । त्यसैले सीले आफ्नो नियन्त्रणमा रहेका संयन्त्रहरूलाई अत्यन्त कडाइका साथ प्रयोग गर्छन् ।

उनले भने, ‘उनीहरूका हृदयमा हरेक पार्टी सदस्यको निष्ठा आफूजस्तै छ भन्ने सुनिश्चित गर्न नसक्ने भएकाले सीले आफूले प्रयोग गर्न सक्ने नियन्त्रणका सबै माध्यमलाई निकै कडाइका साथ प्रयोग गर्छन् । तर उनी त्यसको सकेसम्म नजिक पुग्न चाहन्छन् ।’

नियम पढेर आफैँलाई नियन्त्रण गर्ने प्रवृत्ति

पार्टीका कर्मचारीमाथि लगाइएका सबै प्रतिबन्ध प्रत्यक्ष रूपमा निषेध गरिएका नियम मात्र होइनन् । धेरै मानिसले नियमका संकेत बुझेर समस्या नआओस् भन्नका लागि आफ्नो व्यवहार आफैँ नियमन गर्न सिकेका छन् ।

सीएनएनले कुराकानी गरेका मानिसहरूले यी नियम असुविधाजनक भएको स्वीकार गरे । तर अधिकांशले आफूहरू यसका अभ्यस्त भइसकेको बताए । उनीहरूले सरकारी जागिरबाट प्राप्त हुने स्थायित्व र प्रतिष्ठालाई भने सकारात्मक रूपमा लिएका छन् ।

एक व्यक्तिले भने, ‘हाम्रो पदमा दैनिक गरिने निर्णयले कुनै उद्योगको दिशासमेत प्रभावित गर्न सक्छ । यसको अर्थ हामीसँग समाजका लागि धेरै राम्रो काम गर्ने शक्ति हुन्छ ।’ मेरिक्सकी ड्रिनहाउजेनका अनुसार पार्टीभित्रका मानिसहरू ‘राजनीति कसरी खेल्ने भन्ने जान्दछन् ।’

उनीहरूले आफ्नो पद र प्रभाव प्रयोग गरेर आफूलाई नियमित शुद्धीकरण तथा कारबाहीबाट जोगाउने समूह र संरचना निर्माण गर्न सक्छन् । तर यही प्रवृत्तिलाई सी रोक्न चाहन्छन् । उनका अनुसार सरकारको निरन्तर शुद्धीकरण अभियान, आन्तरिक अनुशासन र आत्मसुधारको दबाबले सावधानी अपनाउने व्यवहारलाई ‘स्वाभाविक’ बनाइदिएको छ ।

उदाहरणका रूपमा, साथीहरूसँग मदिरा पिउन वा भेटघाट गर्नुपरे राति १० बजेपछि कार्यालयबाहिर मात्र भेट्ने जस्ता व्यवहारसमेत विकसित भएका छन् । ड्रिनहाउजेनका अनुसार सीको शासनमा पार्टी सदस्यले आफ्नो काम राम्रोसँग गर्नु मात्र पर्याप्त छैन । कार्यालयभित्र र बाहिरका नियम पालना गरेपछि मात्र उनीहरूलाई ‘असल क्याडर’ का रूपमा हेरिन्छ ।

‘तपाईंले आफ्नो काम राम्रोसँग गर्नु मात्र पर्याप्त छैन । तपाईंले सबै नियम पालना गर्दै, नैतिक अपेक्षासमेत पूरा हुने गरी स्वच्छ र अनुशासित ढंगले काम गर्नुपर्छ । त्यति मात्र होइन, अरू व्यक्ति निर्धारित बाटोबाट विचलित भएको वा अनुचित व्यवहार गरेको देख्नुभयो भने त्यसको निगरानी गर्नु र रिपोर्टसमेत गर्नुपर्छ,’ उनले भनिन् ।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung