३ जेष्ठ २०८१, बिहीबार

 

शताब्दी घरकोे आँगनमा ‘अरनिको’ पुस्तकमाथी विमर्श

बागलुङ  । साहित्यकार गणेशकुमार जिसीद्वारा लिखित अरनिको एसिया एक प्रस्तावना पुस्तकमाथी विमर्श भएको छ ।कुश्मा कला परियोजनाको आयोजनामा माझगाउँ स्थित शताब्दी घरमा आयोजित पुस्तकमाथी विमर्श र लेखक तथा पाठकबीच संवाद गरिएको छ ।

कार्यक्रममा साहित्यकार इन्द्रमान खत्रीले लेखकले गम्भिर र मौलिक विषयमा कलम चलाएको र नयाँ पुस्ताले अरनिको विषयमा पढ्न र बुझन् पुस्तक गहकिलो सन्दर्भ सामाग्री हुने विचार व्यक्त गर्नुभयो ।

१७ वर्षको उमेरमा नेपालका ७९ जनाको कालिगढको नेतृत्व गरेर शुरुमा तिब्बतमा रहेको शाक्य गुम्बाको स्वर्ण चत्य र पछि मंगल सामाज्यका राजा कुब्लाईखानको दरबारमा गएर अरनिकोले जुन कला प्रदर्शन गर्नुभएको थियो त्यसको गहिरो अनुसन्धान गरेर लेखकले पुस्तकमा उतारेको साहित्यकार जिसीले बताउनुभयो ।

मध्यकालिन काठमाण्डौ उपत्यकामा जन्मेर राजा जयभीमदेवको पालामा सन् १२६१ मा तिब्बत र चीन गएर अरनिकोले भित्ते चित्र, चैत्य, बौद्ध बिहार, दरबार र मन्दिर निर्माण गरी एसियी मुलुकहरुमा कलाको प्रसार गरेको पुस्तकमा लेखेकले मेहनतसाथ उतारेको साहित्यकार तथा नयाँ विश्वकका सम्पादक मुकेश राजभण्डारीले प्रकाश पार्नुभएको थियो ।

काठमाडौं उपत्यका जन्मेर तिब्बत र चीनमा कलाको अतुलनिय योगदान गरेका अरनिकोको बारेमा खासै सामग्री नभएपछि लेखकले जोखिम मोलेर यस विषयमा कठोर अनुसन्धान गरेर यो कृति बाहिर ल्याएपछि अरनिकोको बारेमा थाहा पाउन चाहने सबैलाई यो महत्वपूर्ण सन्दर्भ सामग्री भएको राजभण्डारीले भन्नु भयो ।

लेखक गणेशकुमार जिसीले अरनिकोको बारेमा धेरै सामाग्रीहरु खोज्दा बि.स २०४४ सलामा सत्यमोहन जोशीले प्रकाशन गरेको अरनिको जीवनी बाहेक अन्य प्रकाशन सामाग्री फेला नपारेपछि अरनिको बारेमा जान्ने र बुझ्ने हुटहुटीले लेखनयात्रा अगाढी बढाउदा पुस्तक यो रुपमा आएको अनुभव सुनाउनुभयो ।

अरनिको सामान्य कलाकार मात्र नभएर उनको कला यात्रा वृहत भएको, चित्रकला, बास्तुकला, मुर्तिकला तथा बैज्ञानिक समेत भएको हुनाले अरनिकोलाई हामिले वृहत रुपमा बुझुनु पर्ने र खोज्नुपर्ने बेला आएको लेखक जिसीले पुस्तक विमर्श कार्यक्रममा बताउनुभयो ।त्यसै कारण मैले पुस्तकको शिर्षक ‘अरनिको एसिया एक प्रस्तावना’ राखेको लेखक जिसीले भन्नु भयो ।

अमेरिकन लेखक आनिजिङले आफ्नो अनुसन्धानपत्रमा अरनिकोलाई ‘बुनिलेस्सी’, ‘माइकेलएन्जेलो’ र ‘लियोनार्दोदा भिन्ची’ सँग तुलना गरेको हिसावले अरनिको प्रतिभा र योगदान अतुलनीय भएको पुस्तकलेख्ने क्रममा आफूले अनुभुती गरेको साहित्यकार जिसीले बताउनुभयो ।

२०३१ सालमा पर्वत जिल्लाको गिज्याङ गाउँमा जन्मनुभएका जिसीले नेपाली कला, साहित्य, संस्कृति, इतिहास, पुरातत्व र अन्तरसांस्कृतिक अध्ययनमा रुची लिने श्रेष्टा हुनुहुन्छ । उहाँको अहिलेसम्म चार वटा एकल प्रदर्शनी, देशविदेशमा गरी तीन दर्जन कला प्रदर्शनशी, २०६४ सालमा ‘अग्नि यात्रा कविता संग्रह’ र २०६८ सालमा ‘सीमान्त अक्षर’ संयुक्त कविता संग्रह प्रकाशित छन् ।

पुस्तक विमर्श कार्यक्रममा लेखक, साहित्य अनुरागी, कलाप्रेमीहरु र जिज्ञासु विद्यार्थीहरुले पुस्तकको बारेमा लेखकसँग प्रश्न र जिज्ञासा राखेका थिए । तीन दशकदेखि साहित्य क्षेत्रमा सम्लग्न जिसी हाल युर्निभर्सल कलेज काठमाण्डौको ललितकला विभागसंग आवद्ध हुनुहुन्छ ।

नेपाल लतिकला प्राज्ञ प्रतिष्ठानले प्रकाशित गरेको अरनीको एसिया एक प्रतावन पुस्तकको १५५ पृष्ठको पुस्तक प्रकाशित छ । कार्यक्रम कुश्मा कला परियोजनाका अध्यक्ष आरके आदिप्त गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्