३ जेष्ठ २०८१, बिहीबार

 

म्याक्सिम गोर्कीको विश्व चर्चित ‘आमा’ उपन्यासमाथि अन्तरसंवाद

काठमाडौं । साहित्यकार म्याक्सिम गोर्कीद्वारा लिखित विश्व चर्चित उपन्यास आमा बारे अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बुक क्लब भक्तपुरले भक्तपुरको ख्वप छे, खौमा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको हो । आमा उपन्यास प्रकाशित भएको एक सय सत्र वर्ष पुगेको उपलक्ष्यमा साहित्यकार अभय श्रेष्ठसँग ई निरज लावजुले उपन्यासमाथि संवाद गर्नु भएको थियो ।

उपन्यासमाथि ई साहित्यकार राम विन्दु श्रेष्ठ र साहित्यकार सुशील गौतमले टिप्पणी गर्नु भएको थियो । विभिन्न समस्याको सामना गरिरहेको अहिलेको मानवजाति र विश्वमा आमा उपन्यासको झनै महत्व र सान्दर्भिकता भएको औल्याउदै समानता र न्यायको लडाईमा यस्ता सृजनशिल अमर कृतिको आफनै गरिमा भएको वक्ताहरुले बताउनु भयो ।

आमा उपन्यास सन् १९०८ मा प्रकाशित भएको थियो । साहित्यकार म्याक्सिम गोर्कीद्वारा लिखित विभिन्न कृतिहरुलाई अहिले पनि पाठकहरुले उत्तिकै रुचाएर अध्ययन गर्ने गर्दछ । यस कृतिलाई सन् १९८० को दशकमा साहित्यकार तथा अनुवादक राजेन्द्र मास्केले अनुवाद गर्नु भएको थियो । यस कृतिलाई प्रगति प्रकाशन, सोभियत संघ, मास्कोले प्रकाशन गरेको थियो । चैत्र ७ गते विश्वभरी नै म्याक्सिम गोर्कीको १ सय ५५ औं जन्म जयन्ती मनाउन लागिएको छ ।

‘आमा उपन्यासमा क्रान्तिकारी सङ्घर्षबारे मात्र वर्णन गरिएको छैन, बरु कसरी यस सङ्घर्षको पवित्र ज्वालामा एक सामान्य व्यक्तिको कायापलट हुन्छ र कसरी उसको आत्माले पुनर्जन्म लिन्छ भन्ने पनि देखाइएको छ ।क्रान्तिकारी सङ्घर्षको बाटामा अग्रसर भएर नै ‘आमा’ उपन्यासकी नायिकाले निम्न कुरा गर्ने अधिकार पाउँछिन्, पुनर्जीवित आत्माको हत्या गर्न सकिन्न । रगतको खोलाले पनि सत्यलाई डुबाउन सक्दैन ….

‘आमा’ जस्तो उपन्यास माक्सिस गोर्कीले नै लेख्नु कुनै संयोको कुरा होइन । मात्र सङ्घर्षकर्ताले सङ्घर्षकारीहरुबारे यति भरपर्दो पुस्तक लेख्न सक्छ । किशोरावस्थादेखि नै आफ्नो वरिपरिको वातावरणविरुद्धको सङ्घर्षले मात्र मान्छेलाई मान्छे बनाउँछ भन्ने कुरा बुझ्न थालेको साहित्यकार मात्र जीवनको रुप परिवर्तनमार्गमा अग्रसर मान्छेको प्रबल मानसिक उत्थानको चित्रण गर्न समर्थ हुन्छ ।

यो उपन्यास सात दशकभन्दा अगाडि नै प्रकाशित भइसकेको थियो । यस अवधिभित्र यो पुस्तक विश्वभरिका मजदुरहरुको सबैभन्दा प्रिय पुस्तक बन्न गएको छ । विदेशमा यो पुस्तक ४५ भाषामा तीन सयपल्ट छापिइसकेको छ । सोभियत सङ्घमा यस पुस्तकका दुई सयभन्दा बढी संस्करणहरु निस्किसकेका छन् र जम्मा गरेर ८० लाखभन्दा बढी प्रतिहरु छापिइसकेका छन् ।

२८ मार्च १९६८ मा गोर्कीको जन्मशताब्दी मनाइएको थियो । तर उहाँ विश्वसाहित्यको केन्द्रबिन्दु र समस्त राष्ट्रहरु तथा महाद्वीपका पाठकहरुको प्रिय लेखक बन्न छाड्नुभएको छैन ।सन् १८६८, २८ मार्च मा जेन्मिएका गोर्कीको वास्तविक नाम अलेक्सेइ पेश्कोभ थियो । उनी बाल्यकालमै अनाथ हुन पुगे । उनको पहिलो रचना ‘निबन्ध र कथाहरु’ थियो ।

गोर्कीको अन्य कृतिहरुमा तीन मान्छेहरु, स्वीकारोक्ति, आस्त्रामानोभिख व्यवसाय, आरामप्रिय नागरिकहरु, निकृष्ट खाल्डो, ग्रिस्मकालिन जनता, नुनिलो सिमसारमा, बाजेको गीत, आँधीमय पत्रेल चराको गीत, बाल्यकाल र मेरो विश्व विद्यालय हो ।सन् १९३६ मा उनको देशवसान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्