३ जेष्ठ २०८१, बिहीबार

 

एक व्यापारी हुन् प्रकाश, बजारमा जे बिक्छ, त्यही बेच्छन्

नेपाली समाजमा एउटी छोरीले आफूलाई प्रमाणित गर्न गर्नु पर्ने संघर्षका बारेमा हाम्रा बौद्धिक भनिएका, कहलिएका मानिसहरु जानकार नभएका होइनन्। तर, उनीहरु छोरीहरुलाई वस्तुका रुपमा प्रयोग गरिरहेका हुन्छन्, चाहे सिर्जनामा होस् अथवा व्यवहारमा।

अनि अर्काथरी मानिस छौँ हामी, जसलाई म वस्तु होइन, ममाथि अन्याय भयो भनेर न्यायका निम्ति लडिरहेकी छोरीका बारेमा बोल्नु जरुरी लाग्दैन। बरु देशबाटै पलायन हुन बाध्य पार्छौँ र एउटा गीतको भिडिओमा चित्रित पात्रका बारेमा बहस गरिबस्छौँ। अहिलेको समाजलाई यस्तै दोहोरो चरित्र बोक्नेहरुले मार्गनिर्देश गरिरहेको देखिन्छ।

प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’को चर्चा गरौँ। प्रकाशले गीतमा हाम्रो समाजमा हुँदै नभएको कुरा प्रस्तुत गरेका होइनन्। हाम्रो समाज, अझ भनौँ, मनोरञ्जन क्षेत्रमा यस्ता दृश्य प्रशस्तै छन्।

जुन कुरा कहिले आक्रोशका रुपमा, कहिले उजुरीका रुपमा त कहिले समाचारका रुपमा बाहिर आइरहेकै हुन्छन्। लामो समयदेखि मनोरञ्जन क्षेत्रका मानिससँग गरेको संगत र यस क्षेत्रप्रतिको मेरो चासोले यहाँ भित्रका थुप्रै यस्ता दृश्य मेरो मानसपटलमा पनि दौडिरहेकै हुन्छन्।

हाम्रो समाजमा प्रकाशले भिडिओमा देखाएका सबै पात्र छन्। प्रकाशले अभिनय गरेकाजस्ता पात्र त झन् कति छन् कति। रेस्टुराँ साहुदेखि सुनिल थापासम्मका पात्र चोकचोकमा भेटिन्छन्। कयौँ पात्रलाई हामीले चिनिरहेकै पनि छौँ। कति दोहोरो चरित्रका कारण बडो ढोँगी जीवन बाँचिरहेका हुन्छन्।

समाजमा फूलमायाहरु पनि छैनन् भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन। यहाँ हरेक क्षेत्रमा सपना र रहरको उकालो बाटो हिँड्न आम छोरीहरुलाई अहिले पनि निकै कठिन छ। घरभित्रबाटै सुरु हुने प्रश्न महिलाले हरेक पाइलामा सामना गर्नु पर्छ। तर हरेक कुराको सामना गरेर बाहिर निस्किएका छोरीहरुले गरेका पौरखका कथा लेख्न र भन्न किन डराइरहेका छौँ हामी ?

इमान्दार भएर पछाडि फर्किनुहोस्, आफ्नै वरपर हेर्नुहोस्, कयौँ नेपाली छोरीहरुको कथा कति गौरवमय छ। नेपाली छोरीहरुको पौरख र संघर्षको कथा, साहस र शक्तिको कथा किन कहिल्यै देख्दैनौँ ? विश्वले गौरव गर्ने जीवन बाँचिरहेका छोरीका साहस र शक्तिका कथा किन प्रकाश सपुतहरु लेख्न र बेच्न तयार हुँदैनन् ?अहिले प्रकाशको ‘सकम्बरी’ गीतलाई लिएर भैरहेको मूल प्रश्न यही नै हो।

यो प्रश्नको जवाफ पनि सिधा छ। त्यो हो बजार। प्रकाश सपुत सर्जक मात्रै होइनन्, सिर्जनाका व्यापारी पनि हुन्। उनलाई थाहा छ, के कुरालाई कसरी प्रस्तुत गरेर बजारमा बेच्नुपर्छ। उनलाई थाहा छ, हाम्रो समाजमा महिलाका साहस, आँट र हिम्मतका कथा बिक्री हुँदैनन्। प्रकाशले बुझेका छन्, यो समाज अझै पनि महिलाको आँसु, कुण्ठा र लाचारीमै ताली पिटेर समर्थन गरिरहन्छ।

प्रकाशलाई हरेक गीत बनाउँदै गर्दा आउने सम्भावित विरोध र सर्मथनका बारेमा पूर्वजानकारी हुन्छ नै। उनले जानेका छन्, विवाद गर्ने ठाउँ दिनु व्यावसायिक सफलताको एउटा महत्वपूर्ण सूत्र हो।

उनी प्रायः गीतहरूमा यस्तै मुद्दाहरू उठाउँछन् र विवाद हुने ठाउँ छोडिदिन्छन्। उनी विरोधका लागि आफूलाई तयार पारेर मात्रै बजारमा सामग्री फाल्ने गायक,संगीतकार हुन्। उनलाई के कुरा कसरी बेच्ने भन्ने मात्रै होइन, त्यसपछि आउने विरोधबाट कसरी बच्ने भन्ने पनि राम्रोसँग थाहा छ।

उनले यसपटक पनि गीत र भिडिओमा आएका आलोचनालाई नकार्दै समाजको सजीव चित्र उतारेको भनेर जवाफ दिइसकेका छन्। उनी हरेक पटक आफूले गीतमा प्रयोग गरेको नारी पात्रसँग कहीँ न कहीँ जोडिएको बताइरहेका हुन्छन्। यसपटक पनि पारिजातको उपन्यास ‘शिरिषको फूल’की सकम्बरी आफूलाई मन पर्ने पात्र मात्रै नभएर प्रेमिका नै भएको बताइदिएका छन्।

प्रकाशले यही पात्रलाई आधुनिक सकम्बरी भनेका छन्। गीतको विरोधपछि गीतकी मोडल कुसुम शर्माले ‘आधुनिक समयकी सकम्बरी एक चुम्बनले मर्दिन’ भन्ने तर्क प्रस्तुत गरेकी छिन्। यो भाषा प्रकाशकै हो भन्ने धेरैलाई थाहा छ।

अझ प्रकाशले भनेका छन्, गीतमा मैले महिलाको होइन, पुरुष पात्रको मुखौटो उतारेको छु। फेरि पनि गीतको बोलले महिलालाई मात्रै प्रश्न गर्छ। प्रकाशले नेपाली महिलालाई उपभोग्य वस्तुका रुपमा प्रस्तुत गरेको यो पहिलो गीत भने होइन।

उनले यसअघिका गीतमा पनि महिलालाई नै केन्द्रमा राखेर प्रस्तुत गरेका छन्। उनी हरेक पटक भनिरहेका हुन्छन्, ‘महिलाको इज्जत योनीमा हुँदैन।’ तर बेचिरहेका हुन्छन् त्यही योनीलाई केन्द्रमा राखेर निर्माण गरिएका कथा। बुझ्नुपर्ने कुरा– यो प्रकाशको चाहनाले मात्रै बिक्री भइरहेको कथा होइन। यो कथाको निर्माता र उपभोक्ता सिंगो समाज पनि हो।

प्रकाशलाई यो पनि थाहा छ, गीतमा हुने विरोधले गीतको चर्चा बढाउँछ। युट्युबमा भ्युअर्स बढाउँछ। भ्युअर्स अनुसारको आम्दानीको पाटो छँदैछ।

उसो त प्रकाशको गीतमा यो पहिलो विवाद होइन। गलबन्दीमा चोरीको आरोप लाग्यो। पछि सर्जकमा शम्भु राईको नाम पनि थपे। ‘पीर’मा पूर्वलडाकु महिलालाई यौन व्यवसायमा लागेको देखाए। त्यहाँ पनि विवाद भयो। पछि भिडियोबाट उक्त अंश हटाए। विरोध गर्नेहरुको प्रश्न छ, ‘आर्थिक कठिनाइ पर्नेबित्तिकै महिलाले शरीर बेचेको किन देखाउँछन् प्रकाश ?’

तर, प्रकाशलाई विरोधसँग खासै डर देखिँदैन। ‘सकम्बरी’ गीतकै सन्र्दभमा पनि प्रकाशले भनेका छन्, ‘मलाई सुरूमा अडिओ मात्र बनाउँदा यो एकपक्षीय भयो कि, साँच्चिकै यो त कसैको अस्मितामाथि, नैतिकतामाथि प्रश्न गरेको भयो कि भन्नेचाहिँ लागेको थियो।

मैले गीतको भावलाई, शब्दहरूलाई कथासँगै अगाडि लगेको छु। दृश्यसँगै, कथाको भावसँगै, पात्रहरूसँगै अगाडि बढाएको छु।’ यसको अर्थ प्रकाशलाई पहिल्यै थाहा थियो भोलि प्रश्न उठ्ने छ। सायद उनले समाजलाई दिने उत्तर पनि तयार पारेर राखेका थिए।

समाज यस्तै छ भनेर हरेक पटक महिलाका आँसु र बाध्यताको मात्रै व्यापार गर्ने छुट प्रकाशलाई छ कि छैनरु कला समाजको ऐना मात्र हैन, मार्गदर्शक पनि हो। त्यसैले प्रकाशजत्तिको कलात्मक चेत भएको मानिससँग यो समाजले मार्गदर्शनको अपेक्षा गर्नु गलत होइन। अहिले प्रकाशमाथि उठिरहेका प्रश्न, खबरदारी र आलोचना त्यही अपेक्षाको एउटा झिल्को हो।

त्यसैले अब प्रकाश पनि सच्चिनु जरुरी छ। प्रकाशले अब पनि युट्युबको ट्रेन्डिङ, भ्युअर्स र सस्तो लोकप्रियता मात्रै खोजिरहनु हुँदैन।

समाजले अहिले उनीमाथि गरिरहेको खबरदारी पनि उनलाई गम्भीर बन, तिम्रो कलात्मक चेतले महिलाका तागत र शक्तिका कथा पनि भनोस् र आउने पुस्तालाई हिम्मतको पाठ सिकाओस् भनेर गरिएको आग्रह हो। यसलाई प्रकाशले पनि पूर्वाग्रहका हिसाबले ग्रहण गर्नु हुँदैन।

नेपालखबरबाट

 

प्रतिक्रिया दिनुहोस्