३ जेष्ठ २०८१, बिहीबार

 

बाराक ओबामाले साँच्चिकै त्यत्रा किताब पढ्छन् त ?

बागलुङ हरेक वर्ष आफूले पढेका पुस्तकहरूको सूची जारी गर्ने अमेरिकाका पूर्व राष्ट्रपतिहरूमध्ये जम्माजम्मी बाराक ओबामा एक जना पर्छन् । त्यसो त अन्य पूर्व राष्ट्रपतिहरूले पनि पुस्तक नपढ्ने त होइनन् तर मनोयोगका साथ पढ्ने कुरामा भने ओबामा अगाडि नै छन् ।

एस्क्वायर म्यागेजिनकी पत्रकार सोफी भर्सबोले लामो समयदेखि ठूलाबडाहरूको किताब रूचिमाथि लेखिरहेकी छन् । उनले हालै ओबामाको किताब रूचिमाथि टिप्पणी गरेकी छन् ।

ओबामाले पहिलो पटक आधिकारिक रूपमा पठन सूची जारी गरेका थिए । उनी त्यो बेला भर्खरै राष्ट्रपति चुनिएका थिए । उनले त्यसपछि २०१२ र २०१३ मा यस्तो सूची जारी गरे ।

सन् २०१६ मा भने उनी राष्ट्रपति पदबाट मुक्त भएपछि २०१७ मा उनले आफूले पढेका सुन्दर किताबहरूको सूची जारी गरे ।

यस्तो किताब सूची जारी गर्नु केही प्रशंसकहरूका लागि ठूलो उत्सव हुने गर्छ । द लिटररी लाइफस्टाइल नामक ब्लग चलारहेकी जुलियान बुनोकोर र उनका आठ लाखभन्दा बढी मासिक पाठकले ओबामाले जारी गर्ने पुस्तकको पर्खाइमा हुन्छन् ।

यसमा चैँ, ओबामाले के के पढेछन् र उनको सूचीसँगै आफूले कति वटा भ्याइएछ भनेर नापतौल गर्न केही प्रशंसकहरू आतुर हुन्छन् । नपढेका किताबहरू रहेछन् भने ती पढ्न केही किताबकीराहरूले काम पाउँछन् ।

तर केही पाठक भने ओबामाको यो सूची बिल्कुलै वाहियात ठान्छन् । इन्स्टाग्राममा किताबमाथि चर्चा गर्ने साइट बुक्स्टाग्रामर खोलेकी ग्रेस एस्ट्रोभ भन्छिन्, यो सूची वास्तवमा वास्तविक होइन ।

यसो किताब हेर्यो र हेरेर कुन चैँ ठीक होला भनेर छान्ने अनि यी किताब मैले पढेँ भन्ने मात्र हुन् । तिनले पूरै चैँ पढेका हुँदैनन् ।

‘उनी नपढ्ने होइन, पढ्छन् तर जुन उनको जिम्मेवारी छ, जति उनी हिँड्नुपर्ने, भेट्नुपर्ने काममा व्यस्त हुन्छन्, त्यो हेरिकन त्यत्रा किताब पढ्ने फुर्सद हुन्छ भन्ने पत्याउन गाह्रो हुन्छ,’ ग्रेस भन्छिन् ।

ठूला प्रकाशकले राष्ट्रपतिले यो किताब पढ भनी प्रेरित गर्ने पो हुन् कि भन्ने केहीले आशंका पनि गर्छन् । सो कुराको भने पेइन्गुइन रेन्डम हाउसकी प्रचार विभाग निर्देशक केरिसा हेजले भने अस्वीकार गरिन् । उनले भनिन्, ‘राष्ट्रपतिले हाम्रा किताब पढिदिऊन् भन्ने इच्छा त हुन्छ तर उनको रूचिलाई प्रभाव पार्ने हैसियत चाहिँ हाम्रो हुँदैन । ओबामाका किताब सूचीमा उनकै रूचिको ठूलो स्थान देखिन्छ ।’

उसो भए बाराक ओबामाले राष्ट्रपति छँदा ह्वाइट हाउसमा राम्रा किताबको सिफारिस कसरी पाउँथे होला ? के उनी द न्यु योर्क टाइम् बुक रिभ्यु हेर्थे होला ? या कुनै बुक क्लबले सिफारिस गरेका आधारमा पढ्थे होला ?

ओबामाका सहायक प्रेस सल्लाहकारका रूपमा ह्वाइट हाउसमा काम गरिसकेका एरिक सल्ज भने आफ्नो कार्यकालमा राष्ट्रपति ओबामा आफैँले किताबहरू सुझाउने र सूची बनाउने गरेको बताउँछन् । उनको भनाइ छ, ‘उनी ज्यादै स्मार्ट व्यक्तिहरूबाट घेरिएका हुन्थे ।

किताबका लागि उनले कुनै अखबार पल्टाइरहनु पर्दैनथ्यो । मैले कुनै किताबी सल्लाह त दिइनँ तर उनकै मुखबाट भने राम्रा किताबका प्रसंगहरू सुनिरहेको हुन्थेँ । बड्डा, निकै पढ्छन् भन्ने त्यसैबाट बुझिन्छ ।’

ओबामाले सन् २०२२ मा पढेका राम्रा किताब भनी १३ वटा किताबको सूची जारी गरेका थिए । जसमा चार किताब गैरआख्यानका र बाँकी आख्यानका थिए । तीमध्ये पनि आठ जना त महिलाका पुस्तक छानेका थिए ।

सन् २०२२ मा ओबामाको सूचीमा परेका रूमान अलामको उपन्यास ‘लिभ द वर्ल्ड बिहाइन्ड’ यो खबर उनका साथीभाइले सुनाउँदा अचम्ममा परे । उनी भन्छन्, ‘कसले उनलाई मेरो उपन्यास सुझायो कुन्नी ? तर जब उनको सूचीमा म अटाएँ, मेरा लागि आश्चर्यको विषय बन्न पुग्यो ।’

द न्युयोर्क म्यागेजिनले एक पटक लेखेका थिए, ‘ओबामालाई मन परेका लेखक उनको पढ्ने सूचीमा दोहोरिने गरेको छ । एमिली सेन्ट जोन मन्डेलको द ग्लास होटल २०२० को सूचीमा अटाएको थियो भने २०२२ मा सि अफ ट्रान्क्विलिटी परेको थियो ।

त्यस्तै कोल्सन ह्वाइटहेडले लेखेको अन्डरग्राउन्ड रेलरोड सन् २०१६ को सूचीमा थियो भने २०२१ मा हर्लेम सफल नामक उपन्यास परेको थियो ।’ त्यस्तै राडेन किफको ‘से नथिङ’ सूचीमा परेपछि उनको अर्को पुस्तक एम्पायर अफ पेन पनि पर्नुलाई उनी चकित परेको सुनाउँछन् ।

सल्ज भन्छन्, ‘अरूका लागि पढ्नु के हो मलाई थाहा भएन तर ओबामाका लागि पढ्नु भनेको जरूरी र प्राथमिकताको काम हो । यदि ओबामा सफल छन्, यदि ओबामा असल पिता, पति र राष्ट्रपति बन्न सफल भएका छन् भने त्यसमा उनको पठनको ठूलो भूमिका छ भन्न मलाई लाज लाग्दैन ।’

एक पटक द न्यु योर्क टाइम्सका चिफ बुक क्रिटिक मिचिको काकुतानीले ओबामालाई सोधेका थिए, ‘तपाईंका लागि किताब हुनुको के अर्थ छ ?’ जवाफमा उनले भनेका थिए, ‘किताब शब्दको शक्ति उजागर गर्ने शक्तिशाली माध्यम हो । यसले तपाईंलाई सशक्तता दिन्छ, तपाईंलाई यसले आफ्नो महत्त्व बुझाइदिन्छ । तपाईंको विश्वासलाई यसले अझ मजबुत पारिदिन्छ ।’

ओबामा आफैँ पनि कथावाचक हुन् । पुस्तक, संगीत, टेलिभिजन र फिल्ममार्फत कसरी सशक्त कथा भनिन्छ भन्ने उनले राम्रोसँग अवलोकन गरेको हुनाले उनले पनि सशक्त कथावाचनलाई ज्यादै महत्त्व दिने गरेको सल्ज बताउँछन् ।

कथाले नै मानिसमा आदर्श, आशा, सपना र चुनौती र अवसरसँग एकाकार हुने मौका दिन्छ । त्यसैले यसलाई सुन्दर तरिकाले अभिव्यक्त गरिनुपर्छ भन्ने उनको मान्यता छ ।

त्यसो त उनको सूचीलाई हावादारी र नपढेका किताबको सूची मान्नेहरूको पनि कुनै कमी छैन तापनि एउटा प्रभावशाली रोलमोडलले सिफारिस गरेका पुस्तकको प्रतीक्षा लाखौँ मानिसलाई हुन्छ ।

यसले पठन संस्कृति बढाउन ठूलो भूमिका खेल्छ र पाठक स्वयंको चरित्र गढ्न पनि भूमिका खेल्छ । त्यसैले पनि यी किताबको सूची अरूले नै बनाइदिएको भए पनि मतलब नलाग्ने ग्रेस एस्ट्रोभ बताउँछिन् ।

साहित्यपोष्टबाट

प्रतिक्रिया दिनुहोस्