३ जेष्ठ २०८१, बिहीबार

 

अनि म ज्योति जङ्गलका कविता पढिरहन्छु

आधा शिर उचाल्न नसक्नुको अर्थ प्रतीकात्मक छ । यस्तो मौलिक बिम्ब सजिलै निर्माण हुँदैन । लामो समयको लेखनपछि मात्र अर्थपूर्ण अभिव्यक्तिको सृजना गर्न सकिन्छ ।

भनिन्छ नाम केही होइन । शीर्षक केही होइन । विषय, विचार र बोध ठुलो कुरा हो । यद्यपि केही कुरा पृथक् हुन, सम्झिन र टाढैबाट चिन्न पनि नाम महत्त्वपूर्ण हुन्छ । त्यो व्यक्तिको नाम होस् वा कविता, कथा, सिनेमा, पेन्टिङ वा पुस्तकको नाम । यसपटक ज्योति जङ्गलको कवितासंग्रहको नाम निकै भिन्न लाग्यो, ‘आधा शिर उचालेर’ ।

आधा शिर उचाल्नु भनेको स्वाभिमानका साथ पुरै शिर उचाल्न नसक्नु हो । अर्कोतिर यस सङ्ग्रहभित्रका अधिकांश कविता महिलाको विषयमा छन् । महिलामा पनि विशेष आमाहरूको (वा भनौँ विवाह संस्थाभित्रका महिला) विषयमा छ । यसैले आधा शिर उचाल्न नसक्नुको अर्थ प्रतीकात्मक छ । यस्तो मौलिक बिम्ब सजिलै निर्माण हुँदैन । लामो समयको लेखनपछि मात्र अर्थपूर्ण अभिव्यक्तिको सृजना गर्न सकिन्छ ।

यद्यपि ‘आधा शिर उचालेर’ भन्ने लाइन ‘घाँस काटिरहेकी ऊ’ शीर्षकको कविता भित्रबाट लिइएको हो । उक्त हरफ यस्तो छ–

बेखबर छे आफ्नो रूप

आधा शिर उचालेर

बाहिर आउन खोज्छन् छातीहरू

निधारको पसिना तप्पतप्प खसिरहन्छ

जसरी खस्छन् उसका रहरहरू भुइँमा ।

निहुरिएर घाँस काटिरहेकी एक महिलाले केके सोच्छे रु उसको अवस्था कस्तो छ यो कविताले विस्तृतमा भन्छ । आफ्नो छाती आधा शिर उचालेर बढिसकेको कुरा उसले पत्तो पाएकी छैन । वा पाए पनि महसुस गर्न पाएकी छैन । महसुस गरे पनि आफ्नो छातीमा गर्व गर्न सकेकी छैन ।

गर्व गरे पनि आमाको छाती (कहिले स्तन, कहिले वक्ष, कहिले जीवनदायी दूध) जीवनको आधार हो भन्ने सत्यलाई मानिसले स्विकार्न सकेको छैन । त्यही छातीलाई मानिसले प्रहार गरेको छ । अपमान गरेको छ । ‘आधा शिर उचालेर’ भन्ने लाइनले यसरी सयौँ कुरा एकैसाथ भनेको छ । आजको कविताको शक्ति यही हो ।

ज्योति जङ्गलको कविताको मूल विषय महिला बन्न पुगेको छ । उनका अनुसार महिला हुनुलाई एक होइन हजार बन्धनभित्र वा घेराभित्र राखेर हेरियो । आजको युगसम्म आइपुग्दा बिस्तारै त्यो घेरा तोडिँदै छ । तर अझै यति बलिया घेरा बाँकी छन् कि त्यो घेरा नतोडिएसम्म महिला मुक्ति सम्भव छैन । विचारको घेरा त छँदै छ । महिला आफैँले तोड्नुपर्ने घेरा पनि धेरै बाँकी छ । यसर्थ यो कुरा अन्तिममा महिला मुक्तिसँग जोडिएको छ । उनका अधिकांश कविताको केन्द्रीय विषय यही हो ।

तर ज्योति जङ्गलका कविताको विषय महिला मात्र होइन । जीवनको अनेक पक्षमाथि उनले कविता लेखेकी छन् । आफूलाई प्रेरणाको बाटो देखाउने महान् कवि कृष्णभूषण बलको स्मृतिमा उनले ‘बिदाइ’ शीर्षकको लेखेकी छिन् । रोल्पा पुगेर रोल्पाकै विषयमा कविता लेखेकी छिन् । आफ्नो प्यारो भूमि विराटनगरमाथि पनि कविता लेखेकी छिन् । भुइँचालोमाथि सम्बोधन गर्दै ‘पृथ्वी ओ पृथ्वी’ कविता लेखेकी छिन् । निकै सटिक र आम मान्छेले बोल्ने भाषामा ‘मूला जिन्दगी’ शीर्षकको कविता यसरी लेखेकी छिन् –

फाटेको सिलाउँछु भनेर बिच छाती चिर्न खोज्छ‘

मूला जिन्दगी, अगाडि ओठ चुमेर पछाडि लात मार्छ‘

मूला जिन्दगी, आफ्नै हातले आत्महत्याको सूचना लेखाउँछ ।

ज्योति जङ्गलको कवितामाथि केही लेख्ने भएपछि मैले फेसबुक तथा गुगलमा युनिकोडबाट उनको नाम खोजेँ । विगतमा प्रकाशित उनका कथा, निबन्ध, कविताहरू भेटियो । अधिकांश रचना मैले पढिसकेको रहेछु, कथाबाहेक । ती सबैको आधारमा मैले निकैबेर ज्योति जङ्गलको रचनाप्रवृत्ति माथि सोचेँ ।

वास्तवमा आधा शिर उचालेर कवितासंग्रह परिष्कृत बन्नुमा कविको विगतको आधार छ । आज सरल भाषा र बिम्बमा, शालीन शैलीमा सशक्त विचार र प्रभाव छाड्ने कविता लेख्न सक्नुको पछाडि विगतको मिहिनेतले काम गरेको छ । आक्रोश र आवेगलाई पनि सन्तुलित भावमा व्यक्त गर्न सक्नु कविको अर्को सबल पक्ष देखिन्छ ।

कविले कवितामाथिको धारणा यही कवितासंग्रहको अगाडि स्पष्ट राखेकी छिन् । उक्त धारणासँग उनको कविताको स्वभाव मिल्छ । ‘नीरव रातलाई पनि कविताले सुहागरातसरि मधुमय बनाइदिन्छ’ भनेर उनले आफ्नो भूमिकामा लेखेकी छिन् ।

यो सङ्ग्रहभन्दा अगाडिको ज्योति जङ्गलका विगतका कविताहरू ‘आफ्नै आशीर्वाद मलाई’, ‘ताजमहलबाट फर्किँदा’, ‘यो ठट्टा होइन’, ‘एउटा योद्धा युद्धपछि सपनामा’लगायत फेरि पढेँ । यी सबै कविताहरूलाई केलाउँदा शब्दलाई सकेसम्म कम चलाउने शैली ज्योति जङ्गलले अवलम्बन गरेको पाइन्छ ।

उनको कविताको शक्ति त्यही हो । शब्दहरूको सार्थक प्रयोगबाट एउटा अर्थपूर्ण लाइन वा हरफ बनाउनु । अनि हरफहरूको संयोजन वा सिलसिलाबाट पूर्ण कविता बनाउनु । जस्तो, उनको ‘जून आरोहण’ शीर्षकको कवितामा भनिएको छ–

जूनमा नुहाएर सहर

बालक झैँ सुकिलो भएको छ ।

यही कविताको अन्तिम पङ्क्तिमा धर्तीमा जून नभेटिए वा जूनलाई बादलले छेके ‘तिमी आफ्नै अनुहारमा जून चम्काउनू’ भन्दै कविले कविता अन्त्य गरेकी छिन् । आजसम्म जूनमाथि हजारौँ कविता लेखिए । गजलका हजारौँ शेर लेखिए । सबै भाषाका कविले जूनमाथि लेखे ।

ज्योति जङ्गलले पनि लेखिन् तर आफ्नै निजी भाषा र शैलीमा । देख्दा अति सामान्य, अरू कविले लेखिरहेकै कविता रहेछ जस्तो लाग्छ । तर यसरी बिस्तारै पढ्दा पाठकलाई झट्का हान्ने हरफहरू, बिम्बहरू भेटिन्छ ।

उदाहरणका लागि ‘जूनले नुहाएको सहर बालकजस्तो सुकिलो हुनु’ वा ‘आधा शिर उचाल्नु’, ‘प्रेमीको एउटा छुट्टै देश हुनु र त्यसलाई छोटकरीमा प्रेमीदेश भन्नु’ ज्योति जङ्गलका कविताको निजत्व हो ।

यद्यपि कतैकतै भने बलात्कारको सन्दर्भमा, दसैँमा नौ दिन देवीको पूजा गरेर अरुबेला नारीको अपमान गरेको सन्दर्भलाई लेख्दा उनको कविताको भाषा विद्रोही देखिन्छ । सबै कविताको आकार, आयतन उस्तै उस्तै हुँदा कविले लामो समयसम्म शैली परिवर्तन गरिएको देखिँदैन । तर अधिकांश कविताको भाषा सरल, सघन र पछिसम्म सम्झिरहने खालको छ ।

समकालीन अन्य कवि र समीक्षकबाट ज्योति जङ्गल प्रशंसित छिन् । कवि भूपिनका भन्छन्, ‘पहिलोपटक भेटेदेखि उस्तै गम्भीर, आत्मीय र अलियो कविता लेख्ने कवि हुन् ज्योति जङ्गल ।

यस्तै समीक्षक डा। हरिप्रसाद सिलवालका अनुसार ‘चेतनाले युगलाई सम्पादन गर्ने सूक्तिमयता ज्योति जङ्गलका कवितामा अभिव्यक्त छ ।

उत्पीडनमा बाँचेका श्रमजीवी नारीका पक्षमा शालीन, सुन्दर र अमर प्रेमका पक्षमा दार्शनिक वकालत गरिएको हुन्छ । ढोँग र पाखण्डप्रति शालीन आक्रोश अभिव्यक्त गरिएको छ ।’

कवि छविरमण सिलवाल ज्योतिका कवितामा भेटिने मौलिक शैली निकै लोभलाग्दो रहेको बताउँछन् । सिलवाल लेख्छन्, ‘कविता पारखीलाई ज्योति जङ्गलका कविताले निराश बनाउँदैन बरु उत्साहित बनाउँछ । यस्तो पनि कविता बन्दो रहेछ भनेर हरेक पाठकलाई कविता लेखौँ लेखौँ बनाउँछ ।’

माथिका यी सबै पक्षलाई आधार लिँदा ‘आधा शिर उचालेर’ कविताकृति नेपाली साहित्यको लागि महत्त्वपूर्ण प्राप्ति हो ।

पुस्तक आधा शिर उचालेर, विधा कवितासंग्रह, प्रकाशक साङ्ग्रिला बुक्स, २०७९ असोज ।

साहित्यपोष्टबाट

प्रतिक्रिया दिनुहोस्