२ जेष्ठ २०८१, बुधबार

 

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली विरुद्ध १५३६ उजुरी

बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले सञ्चालक पक्राउको माग गर्दै चरणबद्ध आन्दोलन थालेका छन् । सहकारीको रकम हिनामिना गर्दै सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन थालेका हुन् । झन्डै दुई अर्ब हिनामिना गरेका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली डेढ महिनादेखि बेपत्ता छन् ।

बचतकर्ताहरू आफ्नो निक्षेप रकम माग्दै जिल्ला प्रशासन र प्रहरी प्रशासन धाइरहेका छन् । नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गराएका छन् । हजारौँ बचतकर्ताको रकम ठगेर फरार भएका नेपालीलाई राज्यले आर्थिक अपराधको मुद्दा लगाउनुपर्ने पीडित राजु केसीले बताए ।

राज्यको निकायबाटै चलेको सहकारीको कारोबारबारे नियामक निकाय मौन बस्नु दुःखद भएको उनको भनाइ छ । ‘राज्यले तत्काल बचतकर्ताको अर्बौं रकम ठगेर फरार भएका सञ्चालकलाई पक्राउ गर्नुपर्दछ । नत्र हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौँ,’ उनले भने ।

गत ७ वैशाखदेखि इमेज सहकारी संस्था बन्द छ । सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । जेठ पहिलो सातादेखि सहकारीका अध्यक्ष नेपाली सम्पर्कविहीन भएका हुन् । नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको राजधानी पोखरासँगै बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी एक अर्ब ५४ करोड बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उल्लेख छ ।

रकम हिनामिना भएपछि पीडितले सहकारीका अध्यक्ष नेपालीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अहिलेसम्म १५ सय ३६ जनाले एक अर्ब २८ करोड ८३ लाख रुपैयाँको बिगो दाबीसहित प्रहरीको उजुरी दिएका छन् ।

प्रहरीले सञ्चालक नेपालीलाई नियमित खोजी गरिरहे पनि उनी कहाँ कुन अवस्थामा छन् भन्ने पत्ता नलागेको केसीले बताए । प्रहरीले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी लालमती रोका र सहकारीका बागलुङ शाखाका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको छ ।

नेपालीको परिवारसमेत सम्पर्कविहीन छन् । सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा समेत रोक लगाएको थियो ।

एमाले गण्डकी प्रदेश सदस्यसमेत रहेका नेपालीलाई दलले संरक्षण गरेमा आफूहरूलाई सह्य नहुने पीडितहरूको चेतावनी छ । एमालेले नेपालीलाई गण्डकी प्रदेश सदस्यबाट निलम्बन गरेको छ । पीडितहरूले आफ्नो डुबेको रकम उठाउन डिलबहादुर कार्कीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् ।

बचतकर्ताहरूले आफ्ने जम्मा भएको रकमसहित प्रहरीकोमा उजुरी दिएको संयोजक कार्कीले बताए । झन्डै दुई अर्ब हिनामिना गरेर भाग्ने नेपालीलाई राज्यले जसरी पनि कानुनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । बचतकर्ताले विरोध प्रदर्शनसँगै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् ।

शिव शिखर सहकारी ठगी प्रकरण थप तीनजना पक्राउ

एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ । रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् । खैजू र पौडेल सहकारीको लेखा समिति सदस्य र शाक्य कर्मचारी हुन् । सिआइबीले सहकारीको करिब १४ अर्ब हिनामिनाका नाइके रहेका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई गत साता भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

भक्तपुरमा केन्द्रीय कार्यालय रही ३६ वटा शाखा रहेको सहकारीले करिब १४ अर्ब निक्षेप हिनामिना गरेको छ । सहकारीको पैसा नियमविपरीत शर्माले आफ्ना निजी कम्पनीमा लगानी गरेर संस्था डुबाएका हुन् । सहकारीका एक लाखभन्दा धेरै सर्वसाधारणको पैसा डुबेको छ ।

देशभरि सहकारीविरुद्ध उजुरी परिरहेको छ । शर्माका विभिन्न कम्पनीको नाममा सम्पत्ति रहेको र त्यसलाई रोक्का राखेको सिआइबीले जनाएको छ । उपत्यकाका शाखाको हकमा सिआइबी र उपत्यकाबाहिरको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।

भक्तपुर जिल्ला अदालतमा भने मुद्दा पनि दायर भइसकेको छ । सिआइबीसँगको बयानमा पूर्वअध्यक्ष शर्माले आफूले सहकारीको पैसा हिनामिना नगरेको दाबी गरेका छन् । विभिन्न कम्पनीमा लगानी गरेको उनको भनाइ छ ।

ती कम्पनीका नाममा उनले चार अर्ब रुपैयाँ कर्जासमेत लिएको अनुसन्धानमा खुलेको छ । जसकारण बैंकहरूको समेत लगानी जोखिममा परेको छ । कर्जाको विवरण बुझाउन प्रहरीले ६ वटा बैंकलाई पत्राचार गरेको छ । सहकारीले विभिन्न मार्टसमेत चलाएको छ ।

ती मार्टमध्ये कतिपय बन्द भइसकेका छन् । मार्टमा भएका सामानसमेत बिग्रने भएकाले सामान कसरी व्यवस्थापन गर्नेबारे प्रहरी र सहकारी विभागले छलफल थालेको छ ।

शिव शिखरविरुद्ध बेनीमा पनि अनुसन्धान सुरु

म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरूको निक्षेप रकम हिनामिना गरेको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । बेनीस्थित न्युरोडमा आफ्नै भवन बनाएर सेवा केन्द्र विस्तार गरी बचत संकलन र लगानीको सेवा दिँदै आएको सहकारी पाँच महिनादेखि बन्द छ ।

सहकारीको कार्यालयको गेटमा ताल्चा लगाइएको छ । सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनादेखि सम्पर्कविहीन भएपछि सदस्यहरू बचत गरेको रकम डुब्ने जोखिममा छन् । उनीहरूले प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान सुरु भएको हो ।

सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिसपत्रसमेत संलग्न गरी केन्द्रीय अनुसन्धान ब्युरोले परिपत्र पठाएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा अन्य बचतकर्ताको समेत जाहेरी दरखास्त दर्ता गर्ने प्रक्रिया चलिरहेको छ । मध्यपुर ठिमी नगरपालिका– ३ कौशलटार भक्तपुरमा दर्ता भएको शिव शिखर बहुउद्देश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।

सुरुवातमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत संकलन गरेको सहकारीले पाँच महिनाअघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर आर्थिक कारोबार बन्द गरेको हो ।

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्