६ जेष्ठ २०८१, आईतवार

 

मेरा सोभियत सम्झनाहरू पढेपछि

इन्जिनियर राम बिन्दु श्रेष्ठले आफ्नो अध्ययनका क्रममा बिताएको १९८५ देखि १९९१ सम्म ६ बर्षको भोगाई र संस्मरणलाई लिपिबद्ध गर्दै पुस्तकाकार रुपमा आफ्ना सम्झनालाई ३मेरा)सोभियत)सम्झनाहरू मा ताजा गरेका छन् । हरेक घटना र यात्रालाई डायरीको पानामा कैदगर्ने उनको बानीले यो संस्मरण यो रुपमा ल्याउन भरपुर मद्दत गरेको लेखक आफैले उल्लेख गरेका छन् ।

यस पुस्तकको पुर्बाद्धमा आफूले बाग्लुङ्गमा बिताएको बाल्यकाल र काठमाण्डौं पठनको प्रसङ्ग कोट्याएका छन् । यात्रा बर्णनको शैलीमा लेखिएका उनको संस्मरण स्थान तथा ऐतिहासिक घटनाक्रमको सहि जानकारी सहित हुनाले रोचक र सशक्त लाग्दछ । संगसंगै उनले तत्काल आफूले भोगेका कठिनाई तथा अनुभव गरेका रमाईला पलहरुलाई रोमान्चक ढंगले प्रस्तुत गरेका छन् ।

पृष्ठभूमिका रुपमा उनले म्याक्सिम गोर्कीको आमा, निकोलाई अस्त्रोभ्स्कीको अग्निदिक्षा अनि सोभियतभूमि जस्ता रुसी पठनसामग्रीको उल्लेख गरेका छन् । जसले उनलाई सोभियत भूमितर्फ आकर्षण गरेको छनक पाइन्छ ।
उनी सोभियत संघमा छात्रवृत्ति मिलेको खबर रेडियोमा सुनेपछि काठमाडौं आउछन् । मस्कोको उडान गर्छन् ।

एरेभानको रमाइलो रेलयात्रा गर्छन् । विश्वविद्यालय प्रवेश गर्छन् । रुसी भाषा कक्षामा भाग लिन्छन् । अतिरिक्त क्रियाकलापहरुमा उत्तिकै सक्रिय हुन्छन् । ऐतिहासिक र राजनैतिक सम्मेलन तथा उत्सवहरुमा सहभागी हुन्छन् । मस्को लगायत अन्य शहरहरुमा भ्रमणमा जान्छन् । चलचित्रको मनोरञ्जन पनि लिन्छन् । सामाजिक कार्यक्रमहरुमा सामेल हुन्छन् ।

कतिपय सास्कृतिक कार्यक्रमहरुमा नेपाल र नेपालीलाई चिनाउने हिसाबले सामूहिक गीत गाउछन्, नाच्छन् अनि कविता सुनाउछन् । पढाई अन्तर्गत नै अनुसन्धानको काम गर्छन् ।

आफ्नो अध्ययन सकाउछन् र उच्च शिक्षा हासिल गरेर स्वदेश फर्कन्छन् । २८ बर्षपछि फेरि २०१९ मा उनी पुनः रुस पुग्छन् र पुरानो संस्मरण ताजा गर्दछन् । त्यो बेलासम्म धेरै बद्लिईसकेको हुन्छ । अझ अहिले त रुस र उनले उच्च शिक्षा हासिल गरेको खार्कोभ शहरको देश युक्रेनबीच युद्ध जारि छ ।

सम्झनामा सोभियत संघः

सामुहिक काम, सामाजिक आचार विचार, सादगीपना र आधारभूत आवश्यकताको प्रत्याभूति तत्कालिन सोभियत संघको बिशेषता थियो । उनले आफ्ना लेखनको धेरै प्रसंगहरुमा यसलाई उल्लेख गरेका छन् र सोभियतसंघबाट बिभिन्न राज्यहरुमा फेरिएको परिवेशमा सबै राज्यहरुले भोग्दै आएको कठिनाईलाई उनले पछुताउको रुपमा उल्लेख गरेका छन् ।

सोभियत संघको आफ्नो वसाईलाई, आफ्नो भ्रमणलाई, सामाजिक गतिबिधिलाई र आफ्नो पढाईको क्रियाकलापको सम्झना त गरेकै छन्, त्यसमाथि आफू इन्जिनियरिंग बिषयको बिद्यार्थी भईकन पनि सोभियतसंघ स्थापनाको इतिहास, रुसी बिभिन्न क्रान्तिहरु, बिगत समयमा फेरिएको रुसी र सोभियतकालिन रितिरिवाज, विश्व मानब सभ्यताको उन्नत प्रयोग, ज्ञान बिज्ञान र संस्कार बदल्नेहरु बिचको भाइचारा, दोश्रो विश्वयुद्धमा रुसी जनताले गरेको कुर्वानी, नेतृत्वकर्ता भी आइ लेनिन, स्टालिन जस्ता नेताहरुको

र म्याक्सिम गोर्की, लियो टोल्स्टोय जस्ता साहित्यकारको योगदानको सम्झना गरेका छन् । अर्कोतर्फ सोभियतकालीन धरोहरहरु ढल्दै गरेको, यौटैसंघमा आबद्ध राज्यहरु छुट्टिंदै गरेको समयको साक्षी बन्दाको स्मरण गरेका छन् ।

सोभियत वाङ्गमयको अनुभवः

राम बिन्दुले रुसी साहित्यमा देखा परेका र सोभियत सामाजिक परिवेशलाई उन्नयन गर्ने ऐतिहासिक लेखक, चिन्तक तथा भाषिक अभियन्ताहरुको बारेमा रुसी भाषामा नै गरेको अध्ययनको सम्झना गरेका छन् । उनले आफ्नो लेखनको धेरै स्थानमा लियो टोल्सटोय, म्याक्सिम गोर्की, इभान इभानोविच उर्केविच, निकोलाई अस्त्रोभ्स्की जस्ता लेखक तथा साहित्यिक साधकको सन्दर्भ उल्लेख गरेका छन् ।

जसको लेखन र चिन्तनले सोभियत प्रणाली स्थापनामा भरमग्दूर टेवा पुर्याएको थियो । विकासोन्मुख राष्ट्रहरुबाट त्यो बेला वर्षेनी लाख जति बिद्यार्थीहरु अध्ययनका लागि सोभियत संघ पुग्ने गर्थे । नेपालबाट मात्रै पनि दुई थरि पढ्न जान्थे, सरकारीस्तरबाट मेरिट बमोजिम र सास्कृतिक एवम् पार्टीको सिफारिशमा ।

राम बिन्दुले जुन सोभियतभूमि पत्रिकाको उल्लेख गर्नु भएको छ, त्यो विश्वका धेरै भाषामा एकसाथ प्रकाशन हुन्थ्यो । स्कुले जीवनमा सोभियत संघ र विश्व जगतलाई बुझ्ने प्रयास यहि पत्रिकाबाट सजिलो लाग्थ्यो किनकी यो पूर्णतः नेपालीमा छापिएको हुन्थ्यो ।

राजनैतिक सफलता र असफलताः

दोश्रो विश्व युद्धको समयमा सोभियतहरुले गणराज्यहरुको सुरक्षा गर्दै आफ्नो बर्चस्व विश्व राजनीतिमा प्रखर रुपमा अगाडी बढाउनु, सम्पूर्ण देशबासीका लागि शिक्षा, रोजगारी, आवास र स्वास्थ्यको निशुल्क प्रावधान गर्न सक्नु, विश्वस्तरीय शिक्षाको आधार तयार गर्नु, अन्तरिक्ष कार्यक्रमको सफल कार्यन्वयन हुनु र विश्वमा प्रथम राष्ट्र बन्नुलाई सोभियत प्रणालीको राजनैतिक सफलताको रुपमा लिन सकिन्छ ।

त्यसैगरी सोभियत संघको रुपमा एकत्रित बनेका सबै राष्ट्रहरुलाई वलियोसग बाँध्न नसक्नु, मानिसहरुको असीमित चाहनालाई ख्याल गर्न नसक्नु, समयमै स्वतन्त्रताको प्रत्याभूति दिन नसक्नु, निचोडमा भन्दा सोभियत संघलाई विघटन हुनबाट रोक्न नसक्नु राजनैतिक असफलताका रुपमा दर्ज भएको छ ।

सफलताको हौसलामा जुन उचाईको सामाजिक सुरक्षा हासिल भएको थियो, असफलताले त्यतिनै गहिराईमा पुर्याएको थियो, सोभियत संघभित्रका गणराज्यहरुलाई ।मिखाईल गोर्भाचोभको ग्लासनोस्त र पेरेस्त्रोइकाको सुधार लगत्तै संघमा आबद्ध गणराष्ट्रहरु सोभियत संघ गठनगर्दाको सार्वभौमिकताको सम्मान र स्वतन्त्रताको उपभोग गर्दै एकपछि अर्कोले अलग भएको घोषणा गर्न थाले ।

गोर्भाचोभले जुन सिद्धान्त पस्केर सुधार ल्याए त्यसको ठिक बिपरित सोभियत संघ टुक्राटुक्रा भयो । यस सिद्धान्त पछाडिका धेरै कन्स्पिरेसीहरु विश्वबजारमा आयो । यी सबैका साक्षी बनेर गोर्भाचोभ लामो समय यस धर्तीमा रहे ।

र, राम बिन्दु यी सबै प्रक्रियामा खार्कोभको विश्वबिद्यालयमा बसेर साक्षी बनिरहे । उनले सोभियतकालिन रुसको चमक र बिस्तारै खस्कदै गरेको परिवेश ६ बर्षको अध्ययन अबधिमा प्रत्यक्ष अनुभव गरे । सोही अनुभवलाई उनले “मेरा सोभियत सम्झनाहरु” भनेर प्रस्तुत गरे ।

इन्जिनियरिंगजस्तो प्राबिधिक बिषयमा अध्ययनरत हुदा पनि लेखकको नेपाली भाषा, साहित्य, विश्व राजनीति र सामाजिक कार्यमा समय र चित्त लगाउने बिषय अत्यन्तै सह्रानीय छ ।

उनले पुस्तकमा विविध बिषयलाई उठाएका छन् । उनको आफ्नो निजी प्रसङ्गदेखि लिएर, नेपालको तात्कालिक अवस्था, विश्व राजनीति र सोभियत संघ र रुसको राजनैतिक, सामाजिक अनि शिक्षाको अवस्थाबारे धेरै संस्मरण लिपिबद्ध गरेका छन् । उनको यो कृति एक हिसाबले भन्दा रुस र सोभियत संघको इतिहास, तात्कालिक अवस्था र हालको अबस्थासम्मको ज्वलन्त दस्तावेज जस्तो लाग्दछ ।

उनले दोस्रो विश्वयुद्धमा करोडौं नागरिकले बलिदान गरेर सोभियत संघको रक्षा गरेको प्रसङ्ग उल्लेख गरेका छन् । त्यस्तै सत्तरी वर्षको अवधिमा सोभियत सत्ताले हासिल गरेको अन्तरिक्षको उडान, विज्ञान, प्रविधि र शिक्षाको उन्नति, सामाजिकउत्तरदायी संस्कारको विकास अनि विश्व भाइचारा संस्कृतिको विकासको उल्लेख गरेका छन् । त्यसपछि ग्लासनोस्त र पेरेस्त्रोइकासगै क्रमशः भएको सोभियत संघको बिखण्डन दुःखद वर्णनमा रोएका छन् ।

(सर्वपक्ष राष्ट्रिय दैनिक पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्