२० बैशाख २०८१, बिहीबार

 

किन लेखे बीपीले आफ्नै नेता-कार्यकर्तालाई चेतावनीको पत्र ?

- - पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीसँग म लज्जित हुन नपरोस्

प्रिय कांग्रेसीजनहरू

म आज अत्यन्त भावविभोर भएर, तपाईंहरूलाई यो पत्र लेखिरहेको छु । आज नेपाली कांग्रेसको जुन हविगत देखिरहेको छु मलाई न दिनमा भोक छ न रातमा निद्रा ।आज तपाईंहरू कांग्रेसको रंगमञ्चमा विभिन्न भूमिकामा अभिनय गरिरहनु भएको छ, सत्ताको सुखभोग गरिरहनु भएको छ, यो अवसर त्यति सजिलै प्राप्त भएको नठान्नुहोस् ।सात दसकभन्दा लामो कांग्रेसको बलिदानी इतिहासप्रति तपाईंहरूको ध्यान पटक्कै गएको देखिएन ।आजको प्रजातान्त्रिक व्यवस्था ल्याउनमा तपाईंहरूको पनि अमूल्य योगदान रहेको इन्कार गर्न सकिन्न ।तर पनि कांग्रेस निर्माणमा पुस्ता दरपुस्ताले जीवन उत्सर्ग गरेको, कठोर जेलयातना सहेको गौरवशाली इतिहासप्रति तपाईंहरूको ध्यान आकृष्ट गर्न निम्न बुँदाहरूको चर्चा गर्नु प्रासंगिक हुनेछ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सुरुको सत्तरी दसकमा राजविराजबाट झुत्रो कपडाको पार्सल पठाएर गरिब दीनदुःखी जनतासँग कर असुल्नु न्यायोचित हुन सक्दैन भन्ने बेहोराको पत्रसहित पिताजी कृष्णप्रसाद कोइरालाले निरंकुश राणाशासनविरुद्ध पहिलो बगावट गर्नुभयो ।

चन्द्रशमशेरले पक्राउ गर्न मोरङका बडाहाकिमका नाममा फर्मान जारी गरे । धर्मात्मा बडाहाकिम जितबहादुरले तत्कालै पिताजीलाई भारत निर्वासनमा पठाइदिए ।

सोही समय विक्रम संवत् १९७१, कात्तिक २४ गते बनारसमा आमा दिव्या कोइरालाको शल्यक्रियापछि मेरो जन्म भयो । सन् १९१४ देखि १९१९ समम प्रथम विश्व युद्ध भयो ।

युद्धमा आक्रान्त विश्व परिवेशमा जन्म भएकाले पनि हुन सक्छ मेरो जीवन संघर्षै संघर्षमा बित्यो । छयालीसजनाको परिवारलाई भरणपोषण गर्नुपर्ने दायित्व पिताजीमाथि थियो ।

छाक टार्न धौधौ परेकोले आर्थिक संकट झेल्दै भारतमै उच्च शिक्षा दिलाउनु सामान्य कुरा थिएन ।भारतमा निमक आन्दोलन हुँदै सन् १९४२ मा महात्मा गान्धीको नेतृत्वमा ब्रिटिशराजको विरुद्धमा भारत छोडो आन्दोलन सुरु भयो । १९३९,१९४५ सम्म दोस्रो विश्व युद्धमा बेलायत फसेको थियो ।

यसै क्रममा म गिरफ्तार भएर हजारीवाग जेलमा डा राजेन्द्र प्रसाद प्रथम भारतीय राष्ट्रपति र समाजवादी नेता जयप्रकाश नारायणसँग रहें करिब तीन वर्ष ।

दुःख यति मात्र थिएन । यसै समय २००१ साल माघ  पिताजीको काठमाडौं जेलमै निधन भयो । १९८५ सालमा भीमशमशेर प्रधानमन्त्री भएपछि हाम्रो परिवारलाई आममाफी भएको थियो ।

जुद्धशमशेर प्रधानमन्त्री भएपछि पिताजी थुनामा पर्नुभएको थियो । अन्तिम समयमा पिताजीको मैले मुख हेर्न पाइनँ, काजक्रिया पनि गर्न पाइनँ । जे नहुनुपर्ने थियो, भइसक्यो ।

आफ्ना कमीकमजोरी सच्याएर नेपाली राजनीतिको मियो कसरी नेपाली कांग्रेस बन्न सक्छ ? त्यसतर्फ सबै साथीहरूले ध्यान दिनुहोला । पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीसँग म लज्जित हुन नपरोस् ।

जेलबाट छुटेपछि मलाई लाग्यो, राणाशासन अंग्रेजलाई रिझाएर टिकेको थियो । दोस्रो विश्व युद्धपछि भारतलाई स्वतन्त्रता दिने मनस्थितिमा बेलायत पुगिसकेको थियो ।

२००३ साल ९ सन्  १९४६  मा भारतमा अध्ययनरत नेपाली युवा विद्यार्थीलाई राणाशासनका विरुद्धमा एउटा राजनीतिक दल आवश्यक भएको छ भनेर मैले सार्वजनिक अपिल गरें ।

भारतभर छरिएका युवाको भेला भयो । काठमाडौंबाट जेल तोडेर भाग्नुभएका गणेशमान सिंह पनि उपस्थित हुनुभयो । कलकत्तामा सम्पन्न यस भेलाले राष्ट्रिय कांग्रेसको स्थापना भयो । गणेशमानजीको आग्रहमा १९९७ सालमा थुनामा रहेका टंकप्रसाद आचार्य सभापति र म कार्यवाहक सभापति बनें।

यसका संस्थापकहरूमा गणेशमान सिंह, बालचन्द्र शर्मा, डा डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, देवप्रसाद सापकोटा, गोपालप्रसाद भट्टराई, रुद्रप्रसाद गिरी आदि हुनुहुन्थ्यो ।

मेरो लक्ष्य राणाशासन ढाल्नु थियो । पदको लालसा मेरो प्राथमिकता थिएन । २००५ सालमा कलकत्तास्थित महावीर शमशेरको टाइगर हलमा राणाशासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने उद्देश्यका साथ नेपाल प्रजातन्त्र कांगेसको स्थापना भयो ।

यसका संस्थापकहरू सुवर्णशमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाह र महावीरशमशेर हुनुहुन्थ्यो । राष्ट्रिय कांग्रेसमा जनाधार थियो । प्रजातन्त्र कांग्रेसमा क्रान्तिका लागि स्रोत र साधन थियो ।

दुवै संस्था गाभेर ०६ सालमा नेपाली कांग्रेसको स्थापना भयो । संस्थापक सभापति ठूलो दाजु मातृकाप्रसाद कोइराला हुनुभयो, म भइनँ ।परि श्रम मेरो थियो । संस्थापक सभापति बन्ने इच्छा कसको हुँदैन र ? तर पद मेरो लागि ठूलो भएन, लक्ष ठूलो थियो ।

०४ सालमा विराटनगर जुट मिल्समा कार्यरत भाइहरू गिरिजा, तारिणी, मनमोहन अधिकारी, युवराज अधिकारीहरूले तलब सुविधाको माग गर्दै मजदुर हड्ताल गरे ।

सो आन्दोलनमा राष्ट्रिय कांग्रेसको तर्फबाट मैले सम्बोधन गरें । हामी सबैलाई गिरफ्तार गरी धनकुटा जेल चलान गरियो । आमा दिव्या कोइरालाले आन्दोलनको मोर्चा समाल्नुभयो । भाइबुहारी नोना कोइराला, बहिनी इन्दिरा आचार्य पनि गिरफ्तार भए ।

धनकुटाबाट अड्डा सार गर्दै काठमाडौं पुर्‍याइयो र जेलमा पठाइयो । पछि गान्धी र नेहरूको दबाबमा छोडियो । ०५ सालमा भूमिगत रूपले काठमाडौंमा आन्दोलनको वातावरण निर्माण गर्दा फेरि राणा सरकारले गिरफ्तार गर्‍यो । शारीरिक एवं मानसिक यातना दिइयो । २९ दिनको अनसनपछि रिहा गरियो।

राणा,कांग्रेसको संयुक्त सरकार ढलेपछि ०८ साल मंसिर १ गते कांग्रेसका सभापति मातृकाप्रसाद प्रधानमन्त्री बन्नुभयो । जबकी नेपाली कांग्रेसको केन्द्रीय समितिले सर्वसम्मत मेरो नाम सिफारिस गरेको थियो ।

०१५ सालमा प्रथम आम निर्वाचन सम्पन्न भयो । नेपाली कांग्रेसको दुईतिहाइ बहुमत आयो । राजा महेन्द्र र भारतको रोजाइमा सुवर्णजी हुनुहुन्थ्यो ।

०१५ सालको निर्वाचन सुवर्णशमशेरको नेतृत्वमा गठित सर्वपक्षीय सरकारले सम्पन्न गरेको थियो । सुवर्णजीको प्रस्तावमा २०१६ साल जेठ १६ गते म प्रधानमन्त्री बनें ।

०१७ पुस १ गते डेढ वर्षमै कांग्रेस सरकार विघटन मात्र भएन, बिनाकारण मलगायत मन्त्री, नेता, कार्यकर्ताहरू पक्राउ परे ।
आठ वर्षको सुन्दरीजल कारागारपछि म, गणेशमानजीलगायत सबै रिहा भयौं ।

८ वर्ष भारतीय निर्वासनबाट पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र क्रान्ति सञ्चालन गरी १९७६ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा संकटकालको घोषणा गरिन् ।

उनका यस कार्यको विरुद्धमा समाजवादी नेता जयप्रकाश नारायणको नेतृत्वमा व्यापक शान्तिपूर्ण आन्दोलन भयो । यसमा मेरो पनि सहभागिता थियो । फलस्वरूप नेपाल सीमाको पचास माइलभित्र मेरो सम्पर्क गर्ने परिस्थित रहेन । पूरा प्रतिबन्ध लगाइयो ।

यो समय दक्षिण एसिया शीतयुद्धको चक्रव्यूहमा फसिसकेको थियो । अशान्त क्षेत्र थियो । अमेरिकी र रसियनको प्रभाव क्षेत्र बनाउने प्रतिस्पर्धाको चेपुवामा थियो, यो भूभाग ।

शक्तिराष्ट्रहरूको क्रिडास्थल थियो । नेपाल अछुतो रहने कुरै भएन । नेपालको राष्ट्रियता धरापमा थियो । निरंकुश पञ्चायत व्यवस्थाको विरुद्ध प्रजातन्त्रको लडाईंलाई मात्र प्राथमिकता दिँदा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामाथि आँच आउने खतरा थियो ।

यो परिस्थितिमा नेपाली जनताको आर्थिक अवस्था जर्जर थियो । राष्ट्रियता, प्रजातन्त्र प्राप्ति र मुलुकको आर्थिक समृद्धि सँगसँगै लैजानुपर्ने त्रिकोणात्मक दायित्व महसुस गरेर सात सातवटा फाँसी हुन सक्ने राष्ट्र विप्लवका मुद्दाहरू ममाथि थियो ।

पहिला मुलुक अनि प्रजातन्त्र र समृद्धिलाई ध्यानमा राखेर ०३३ साल पुस १६ गते जोखिम मोलेर भारतीय निर्वासनबाट म नेपाल फर्केको थिएँ । विमानस्थलबाटै गणेशमानजीसहित मलाई गिरफ्तार गरियो ।

मुद्दा चलाइयो । म नजरबन्दमा छँदै इन्दिरा गान्धीको संकटकाल हट्यो । बंगलादेशी राष्ट्रपति जियाउर रहमानको हत्या भयो । पाकिस्तानी प्रधानमन्त्री जुल्फीकर अलि झुटोलाई फाँसी दिइयो ।

इरानका शइन शाह रेजापल्लवी राज्यच्यूत गरिए । मैले भनेजस्तै यो अशान्त क्षेत्र हुँदै गयो । तमिल उग्रवादीको कारण श्रीलंका जलिरहेको थियो ।

बन्दी जीवनमै मेरो स्वास्थ्य बिग्रियो । श्री ५ वीरेन्द्रबाट सरकारी खर्चमा मलाई उपचारार्थ अमेरिका पठाइयो । फर्केपछि फेरि गिरफ्तारी गरी केही समयपछि रिहा गरियो ।

०३६ साल जेठ १० गते विद्यार्थी आन्दोलनपछि श्री ५ बाट ‘सुधारिएको पञ्चायती व्यवस्था कि बहुदलीय शासन व्यवस्था’ रोज्न श्री ५ बाट जनमतसंग्रह गराउने घोषणा भयो ।

जनमतसंग्रहमा अप्रत्याशित रूपले बहुदलको पक्षमा २० लाख र निर्दलीय पञ्चायती व्यवस्थाको पक्षमा २४ लाख मत परेको घोषणा भयो । जनमतको सम्मान गर्नुको हामीसँग विकल्प थिएन ।

०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली कांग्रेसले बहिष्कार गर्‍यो । कांग्रेसलाई चुनावमा सहभागिता नगराउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू सफल भए ।

बालिग मताधिकारको माध्यमबाट निर्वाचित जनप्रतिनिधिप्रति उत्तरदायी सरकारको व्यवस्थाले ढिलोचाँडो प्रजातन्त्र प्राप्ति हुने संकेतको ढोका जनमतसंग्रहले खोल्यो ।

यो सबै उल्लेख गर्नुको कारण के हो भने, अहिलेका पुस्ता विभिन्न कालखण्ड र ऐतिहासिक घटनाक्रमहरूबारे जानकार हुनुपर्छ । सुन्दैछु, नेपाली कांग्रेसको महाधिवेशनहरूमा मेरो फोटो हेरेर यो दाह्री पालेको बूढो को हो र ?

किन फोटो टाँगेको हो ? भन्ने युवायुवतीहरू पनि महाधिवेशन प्रतिनिधि भएर आएका छन् । कमजोरी नयाँ पुस्ताको होइन । कमजोरी कांग्रेस सञ्चालन गर्ने नेतृत्व तहको हो, जसले कांग्रेसको गौरवमय इतिहास बारे आफ्ना कार्यकर्ताहरूलाई प्रशिक्षण गर्न सकेन ।

यी सबै कुराहरू मैले यस निम्ति चर्चा गरेको हुँ कि आफ्नो सिद्धान्त र निष्ठामाथि मैले कहिल्यै पनि कसैसँग सम्झौता गरिनँ । मैले चाहेको भए आजीवन प्रधानमन्त्री हुन सक्थें ।

आठ वर्ष जेलजीवन र आठ वर्ष भारत निर्वासन मैले किन रोजे हुँला ?  वामपन्थीहरूसँग मैले कहिल्यै गठबन्धन गरिनँ । स्वतन्त्र न्यायालय स्थापनार्थ मेरै पहलमा दार्जिलिङमा वकालत पेसा गर्नुभएका हरिप्रसाद प्रधानलाई नेपालमा ल्याएर प्रधानन्यायाधीश बनाएँ ।

योग्यता, क्षमतालाई आधार मानेर उपकुलपतिहरू र राजदूतहरू नियुक्ति हुनुपर्नेमा भागबन्डा र आर्थिक चलखेललाई महत्व दिँदा आज कांग्रेसको साख गिरेको कुराले निर्वाचनमा दोस्रो हुनु परेको हैन र ? निष्ठा र त्यागको आधारमा नभई भागबन्डा र आर्थिक हैसियतलाई महत्व दिँदा चुनावी नतिजा यस्तो हुने नै थियो ।

बाह्य शक्तिहरूलाई आयातित र राजनीतिक एजेन्डा बोकेर कहिँ पुगिँदैन । मेरो समयमा पनि नेपाली कांग्रेसमा गुटउपगुट थिए । मेरो सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय चार शीर्ष नेताहरूको गुट थियो ।

एकसँग असन्तुष्ट कार्यकर्ताहरू अर्कोसँग पोखिन्थे । हामी चारैजना बस्थ्यौं । कुन कार्यकर्ताको कुन नेताप्रति के असन्तुष्टि छ ? के गुनासो छ ? सबै कुरा हामी बुझ्थ्यौं ।

सामूहिक निर्णय गथ्र्यौं । बलियो एकता थियो । त्यसैले त ०१५ सालको आम निर्वाचनमा दुईतिहाइभन्दा बढी सिट नेपाली कांग्रेसले जितेको थियो । गुट व्यवस्थापन गर्न सक्नुपर्छ । आफ्नो घर मजबुत बनाउनु नै सफलताको कडी हो ।

मेरो सरकारमा उल्लेखित सबै साथीहरू मन्त्री हुनुहुन्थ्यो । सबैको प्रयासले डेढ वर्षको अवधिमा हामीले विर्ता उन्मूलन, राज्यरजौटा उन्मूलन, जंगल राष्ट्रियकरण, जग्गाको हदबन्दी कायम गर्ने दूरगामी प्रभाव पार्ने कामहरू सम्पन्न भए ।

महत्वपूर्ण यो होइन कि, को कति पल्ट प्रधानमन्त्री भयो । को लामो समयसम्म प्रधानमन्त्री रह्यो । महत्वपूर्ण यो हो कि उसको कार्यकालको निर्णयले देशको र जनताको हितमा काम भयो कि भएन ?

मेरै कार्यकालमा दुइटा महत्वपूर्ण घटना घटे । मुस्ताङमा चिनिया सैनिकको गोली लागेर बमप्रसाद नामक एक नेपाली सुवेदारको निधन भयो । मेरै पहलमा चीन सरकारले क्षमायाचना गर्‍यो ।

पचास हजार रुपैयाँ क्षतिपूर्ति दियो । अर्को प्रसंग हो, नेपालमाथिको बाह्य हस्तक्षेप भारतलाई सह्य हुँदैन भनेर भारतीय प्रधानमन्त्री पं जवाहरलाल नेहरूले बोल्नुभयो । मैले तत्कालै यसको खण्डन गर्दै नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो ।

आफ्नो रक्षा आफैं गर्न सक्छ । भारतले आफ्नो भूल सच्याओस् । पं नेहरूले भारतीय लोकसभामा क्षमा याचना गर्नुभयो । मैले इजरायल, पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापना गरें ।

चीनको आवासीय दूतावास नेपालमा राख्न स्वीकृति दिएँ । इजरायलबाट अत्याधुनिक हातहतियार ल्याएँ । यो सबै कुरा १९५० को सन्धिविपरीत भयो भनेर भारतले आपत्ति जनायो ।

भारतले पनि कोसँग दौत्य सम्बन्ध राख्ने, कहाँबाट हतियार ल्याउनेबारे नेपालसँग परामर्श नगरेको बताएँ । १९५० को सन्धि एकपक्षीय रूपले नेपाललाई बन्धनकारी हुन सक्दैन भन्ने अडान राखें ।

चीनको सगरमाथामाथि दाबी थियो । चीनको राजकीय भ्रमणका अवसरमा सगरमाथा नेपालको हो भनेर अध्यक्ष माओत्सेतुङ र प्रधानमन्त्री चाउएनलाइ सहमत गराएँ ।

नेपाल,चीन सीमाविवादको टुंगो लगाएँ । यो चर्चा यस निम्ति मैले गरेको हुँ कि नेपाली कांग्रेस असंलग्न परराष्ट्रनीतिमा विश्वास गर्छ । सत्ताका लागि कहिले कता, कहिले कता लाग्नु हुँदैन । परराष्ट्र नीति निर्धारण गर्ने आधार राष्ट्रिय हित नै हुनुपर्छ।

जे नहुनुपर्ने थियो, भइसक्यो । आफ्ना कमीकमजोरी सच्याएर नेपाली राजनीतिको मियो कसरी नेपाली कांग्रेस बन्न सक्छ ? त्यसतर्फ सबै साथीहरूले ध्यान दिनुहोला । पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीसँग म लज्जित हुन नपरोस् ।

प्रतिक्रिया दिनुहोस्