झिसमिसेमै अखबार छाडेर जाने भाइ,
एकछिन त रोकिऊ, बरु खबरलाई दौडन देऊ
मान्छेहरू आफैं बिउँझिन्छन् !
मान्छेहरूलाई लत छ–
अखबार नपढेसम्म चिया पनि पिउँदैनन्
मान्छेहरूलाई लत छ–
अखबारले नभनेसम्म ती केही थाहा पाउँदैनन्
केही मान्छे त अखबारमा आफ्नो नाम
र तस्वीर नदेखेसम्म मुस्कान बिर्सन्छन् ।
फेरि यिनै मान्छे भन्छन्–
त्यो अखबार बासी हो, छाडिदिनू
त्यो ‘बासी–अखबार’ भान्सामा टाँसिदिनू
नानीहरूका पुस्तकमा गाता राखिदिनू
जब कि अखबार कहिले बासी हुँदैन
त्यसले त स्मृतिलाई सधैं ताजा बनाउँछ
जसरी ६१ सालमा गोली खाएको सिपाही
त्यो सालको पत्रिका देख्दा झस्किन्छ
धेरैअघि अभियोग खेपेको जागिरे
त्यस्तै अर्को समाचार पढ्दा तर्सिन्छ
कसले भन्यो, अखबार बासी हुन्छ ?
त्यसले त स्मृतिको रिल तीन फन्को घुमाउँछ ।
राजनीति, सिनेमा, साहित्य
स्वदेश, विदेश र अन्तरिक्षका सबै खबर जान्दा पनि
मान्छे कहिले अघाएन। चैन मानेन।
लती भएर खबरको
सायद मान्छेले वर्तमानमा बाँच्न जानेन !
झिसमिसेमै अखबार छोडेर जाने भाइ
एकछिन त रोकिऊ
यो नगरमा, खबर आफैं सल्किन्छ !