६ जेष्ठ २०८१, आईतवार

 

लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ माथि पोखरामा परिचर्चा

लेखक प्रगति राईको उपन्यास कृति ‘थाङ्ग्रा’ माथि शुक्रबार पोखरामा परिचर्चा गरिएको छ । परिवर्तनका लागि कार्य नेपालद्वारा आयोजित कार्यक्रममा उपन्यासकार राईसँग हसिना बस्नेतले सम्वाद गर्नुभएको थियो ।
प्रश्नोत्तरका क्रममा लेखक राईले सामाजिक न्याय र लैङ्गिक समानताको मुद्दालाई पुस्तकमा उठाएको बताउनुभयो ।

“खोटाङकी राई महिला र बैतडीका दलित पुरुषबीचको प्रेम र त्यसमा आउने उतारचढावमा कथा घुमेको छ”, उहाँले भन्नुभयो, “उपन्यासको पात्र र चरित्रले नेपालको पूर्व–पश्चिमलाई जोड्छ ।”दशर्कदीर्घाबाट उठेको प्रश्नमा लेखक राईले किताबमा पश्चिमको कथा कम आइरहेको देखेर आफू पात्र खोज्दै बैतडी पुगेको उल्लेख गर्नुभयो ।

उहाँले जन्मिँदै निर्वासित भएर जन्मनुपर्ने विवश महिलाको वंशको अधिकारबारे उपन्यासमार्फत आवाज मुखरित गर्ने प्रयास गरेको धारणा राख्नुभयो । लेखक राईले महिला–पुरुष दुवैको समान हक र स्वतन्त्रताका पक्षमा आफू सधैँ उभिइरहने बताउनुभयो । पूँजीवादले महिलाई बन्धनमा राखेको भन्दै त्यसकाप्रतिको विद्रोहका रूपमा पनि ‘थाङ्ग्रा’ उपन्यासलाई लिन सकिने उहाँको भनाइ थियो ।

आयोजक संस्थाका अध्यक्ष गीता लामिछाने विष्टले नेपाली समसामयिक र ज्वलन्त मुद्दालाई लेखक राईले उपन्यासमा लिपिबद्ध गरेको बताउनुभयो । “महिला, दलित र सीमान्तकृत समुदायको आवाज पुस्तकमा मुखरित भएको छ, सामाजिक परिवेशको जीवन्त चित्रण यस उपन्यासमा पाइन्छ”, उहाँले भन्नुभयो ।

सहजकर्ता बस्नेतले महिलाका मुद्दामा लेखिएको ओजिलो कृतिका रूपमा ‘थाङ्ग्रा’लाई लिनुभयो । उहाँले उपन्यासको कथानक र पात्रले आफूलाई प्रभावित बनाएको धारणा राख्नुभयो । “पुस्तकमा हास्य रस पनि उत्तिकै भेटिन्छ, पढ्दै जाँदा कथाले आफैँ डो¥याउँछ”, बस्नेतले भन्नुभयो, “भाषाको छनोट र शिल्पले पनि पुस्तकलाई सरल बनाएको छ ।”

लेखक राईको सो उपन्यास मदन पुरस्कारका लागि उत्कृष्ट पाँचमा परेको कृति हो । राईका यसअघि ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्