६ जेष्ठ २०८१, आईतवार

 

बागलुङमा वीपीको साहित्यिक योगदानमाथि विमर्श र रचना वाचन

बागलुङ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १ सय १० औं जन्म जयन्ती बागलुङमा मनाइएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङ, नेपाल प्रजातान्त्रिक लेखक सघं र नेपाली लेखक सघंले खुल्ला वीपी साहित्य तथा सिर्जना वाचन कार्यक्रमका आयोजना गरि दिवस मनाईएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले विपीको विचारलाई आत्मसाथ गर्न सके मात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा वीपीको विचार सदैव स्मरण योग्य रहेको बताउनु भयो ।

सो अवसरमा वीपीको विचारबारे नेपाली लेखक सघंका अध्यक्ष गणेशप्रसाद शर्माले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ प्रेम छोटाले नेपाली साहित्यमा विपीको योगदान महत्वपुर्ण रहेको बताउनुभएको थियो ।

मा दर्जन बढि कवि स्रस्टाले वीपी समर्थित सृजना वाचन गरेका थिए । धनराज सापकोटा, मुकेशचन्द्र राजभण्डारी, गुणराज पौडेल, कोपिला कँडेल, खडक थापा, रविना कँडेल, विशेष पराजुली, नारायण खराल लागयतले सृजना वाचन गर्नुभएको थियो । सो अवसरमा उदयमान कवियत्री रविना कँडेललाई नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुका सचिव गण्डकी थापा अधिकारीको अध्यक्षता, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष धनप्रसाद सापकोटाको स्वागत र नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

साहित्यमा विश्वेश्वरप्रसाद

सञ्जीव कार्की

राजनीतिमा वीपी भनेर परिचित कोइराला साहित्यमा विश्वेश्वरप्रसादका नामले सुविख्यात छन् । तसर्थ यहाँ उनको साहित्यिक प्रसंगमा उनलाई विश्वेश्वरप्रसाद नै लेख्ने प्रयत्न गरेको छु । भारतमा नै विश्वेश्वरको अध्ययन, बाल्यकाल र युवाकाल बितेको कारण उनी भारतीय स्रष्टाहरूका समिपमा थिए ।

आफूलाई साहित्यमा रुचि जगाउने व्यक्तिको रूपमा विश्वेश्वरले मित्र शान्तिप्रिय द्विवेदीको नाम लिएका छन् । द्विवेदीले कोइरालालाई भारतीय मूर्धन्य साहित्यकारहरूको जमघटमा लगेर परिचय गराउँथे । त्यस भेटघाटमा जयशंकर प्रसाद, मैथलीशरण गुप्ता, मुन्सी अजमेरी, विनोद शङ्कर व्यास जस्ता प्रख्यात भारतीय साहित्यिक हस्ती सहभागी बन्थे । यिनीहरूको प्रभाव र संगतले विश्वेश्वरमा साहित्यको रुचि र उत्प्रेरणा बढ्यो, जसको कारण उनी पनि हिन्दीमा आफ्ना रचना लेख्न थाले ।

विश्वेश्वरप्रसादले लेखेको ‘वहा’ शीर्षकको लघुकथा प्रेम चन्दद्वारा सम्पादित ‘हंस’ पत्रिकामा १९८७ मा प्रकाशित भएको थियो । यसरी कोइरालाका कथा, निबन्ध र विविध रचना हिन्दीमा छापिन थाले । हिन्दी साहित्यमा टैगोर, प्रेमचन्द आदिका अलावा हिन्दीका अनूदित गोर्की, टल्सटय, मोपासा, चेखव आदिका कथा, उपन्यास र साहित्यका अनेक विधा विश्वेश्वरले पढ्न लागे र साहित्यका अनुरागी बन्न थाले ।

हिन्दी साहित्यमा उनको प्रवेश, रुचि र लगाव देखेर कवि धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली लगायतले विश्वेश्वरलाई नेपाली भाषामा पनि लेख्न उत्प्रेरित गर्न थाले । यस क्रममा नेपालीमा ‘शारदा’ पत्रिकामा १९९२ सालमा ‘चन्द्रवदन’ शीर्षकको कथा प्रकाशित गरेर कोइराला नेपाली साहित्यको आँगन टेक्न आइपुगे । फलस्वरूप नेपाली साहित्यका विराट प्रतिभाको रूपमा आज विश्वेश्वर पढिन्छ, पढाइन्छ ।

नेपाली साहित्यमा उनका कथा सङ्ग्रह दोषी चस्मा ९२००६०, र श्वेत भैरवी ९२०३९० प्रकाशित छन् । पात्रमा मानसिक द्वन्द्व, सिर्जना र विकास गरेर कथालाई कलात्मक प्रस्तुति दिने कोइराला सिग्मन्ड फ्रायडको मनोविज्ञान नेपाली साहित्यमा भित्र्याएर नवीन शिल्प र शैलीद्वारा कथालाई उद्घाटन गर्दछन् ।

विश्वेश्वरका कथामा यौन मनोविज्ञान, बाल मनोविज्ञान, चेतन मनोविज्ञानको प्रकटीकरण भएको पाइन्छ । जातजातिबीच रक्त मिश्रण गर्ने वैवाहिक सम्बन्ध पनि उनका साहित्यिक कृतिमा अभिव्यन्जित यथार्थ हो भनेर ठोकुवा गर्ने अनुसन्धाताहरू पनि त्यत्तिकै छन् ।

विश्वेश्वरले आफ्नो राजनीतिको अत्यन्त प्रतिकूल अवस्थामा सुन्दरीजलमा ८ वर्ष राजबन्दी बस्दा पनि नेपाली साहित्यको श्रीवृद्धिमा आफूलाई तल्लीन गराए । उनका प्रकाशित उपन्यासहरू तीन घुम्ती ९२०२५०, नरेन्द्र दाइ ९२०२७०, सुम्निमा ९२०२७ ०, मोदीआइन ९२०३६०, हिटलर र यहुदी ९ २०४००, बाबु, आमा र छोरा ९२०४५० हुन् । ‘आफ्नो कथा’ ९आत्मजीवनी० आत्मवृत्तान्त जेल जर्नल ९२०५५० प्रकाशित छन् । त्यस्तै, उनका एक दर्जन कविता र केही निबन्ध पनि प्रकाशित भएको छ ।

वीपीका भाषण र अन्तर्वार्ताहरू पनि विभिन्न व्यक्तिले संकलन गरेर किताब प्रकाशन गरेको पाइन्छ । वीपीका रचनाहरू अंग्रेजी, हिन्दी, मैथिली जस्ता अन्य भाषामा समेत प्रकाशित छन् ।

विश्वेश्वका उपन्यासलाई विषयगत वर्गीकरण गर्दै प्राडा हरिप्रसाद शर्माले वीपीका उपन्यासबारे लेखेका छन्ः उनका उपन्यास सामाजिक, सांस्कृतिक र पौराणिक तीन प्रकारका रहेका छन् । सामाजिक उपन्यासमा तीन घुम्तीलाई नारी समस्या केन्द्रीत अनि नरेन्द्र दाइ र बाबु, आमा र छोरालाई मानवनियति भनेर उल्लेख गरेका छन् । सांस्कृतिक उपन्यास भनेर सुम्निमाको नाम लेख्दै समन्यवयवादी सांस्कृतिक विचार भनेर अथ्र्याएका छन् ।

त्यसै गरी पौराणिक गीता दर्शनमा आधारित उपन्यासमा मोदीआइनलाई चित्रित गर्दै राष्ट्रिय सन्दर्भमा जोडेका छन् अनि अन्तरराष्ट्रिय सन्दर्भमा हिटलर र यहुदीलाई चिनाएको पाइन्छ ।

कलालाई सुरक्षा होइन स्वतन्त्रता चाहिन्छ भन्ने विश्वेश्वर साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्थे । वीपीलाई राजनीतिमा भन्दा साहित्यमा सफल मान्नेको जमात पनि धेरै छ । साहित्यका बहुल विधामा विश्वेश्वरप्रसाद देखिए । तथापि कथा र विशेष गरी उपन्यास उनको मूल विधागत चिनारी हो ।

विश्वेश्वरप्रसादका साहित्यमा राजनीति देखिदैन तर व्यन्जना र लक्षणामा सन्दर्भपरक अध्ययन विश्लेषण गर्दा राजनीति पनि देख्न सकिन्छ । विश्वेश्वरप्रसाद कोइरालाको उपन्यासमा विचार पक्षमा विद्यावारिधि गर्नु भएका प्राडा भूपति ढकाल भन्नुहुन्छ, ‘वीपीको राजनीतिक प्रभाव साहित्यमा सोझो आँखाले नदेखिनु उहाँको विशिष्ट साहित्यिक क्षमता हो ।’ शायद सामान्य मान्छेको आँखाले कोइरालाका साहित्यमा राजनीति सजिलै देख्ने थिए भने उनको साहित्यको मूल्याङ्कन आजको रूपमा नरहन पनि सक्थ्यो ।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्