५ जेष्ठ २०८१, शनिबार

 

टेण्डर खोल्न ढिलो गर्दा धौलागिरि अस्पतालमा औषधि अभाव, बिरामीले निजी मेडिकलबाट महँगोमा औषधि किन्न बाध्य

बागलुङ । धौलागिरि अस्पताल बागलुङले मानव स्वास्थ्यसँग जोडिएको औषधि खरिदमा समेत लापरबाही गर्ने गरेको पाइएको छ ।

औषधी खरिदको लागि टेण्डर खोल्न किन तीन महिना ढिलो गरियो ?

जस्ले गर्दा अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव भएको हो ।अस्पतालको लाप्रवाहीको कारण त्यहाँ सरकारले नि:शुल्क वितरण गर्ने औषधी समेत विरामीले निजी मेडिकलबाट चर्को मूल्य तिरेर किन्न बाध्य भएका छन्।

अस्पताल प्रशासनले औषधी खरिदको लागि टेण्डर खोल्न तीन महिना ढिलो गर्दा अस्पतालको फार्मेसीमा औषधीको अभाव भएको हो । फार्मेसीले उपलब्ध गराउँदै आएको ९ सय थरिको औषधिमध्ये अहिले धेरै प्रकारका औषधिको अभाव भएको हो ।

अस्पतालको फार्मेसीमा औषधीको अभाव हुँदा विरामीले चर्को मूल्यमा निजी मेडिकलमा किन्न बाध्य

अस्पताल पुग्ने दिर्घरोगी, सुगर, मुटु, प्रेसर , थाइराइट, नाक, कान, घाँटी, दम, खोकी, डेङ्गी र भाइरल ज्वरो विरामीलाई फार्मेसीका कर्मचारीहरुले सबै औषधी दिन नसकेपछि निजी मेडिकलबाट किन्नु परेको गुनासो सेवाग्राहीले गरेका छन्। स्वास्थ्य विमा गरेका विरामीलाई अस्पताल प्रशासनले एघार सय पन्ध्र थरिको औषधिको व्यवस्था गरेर राख्नु पर्छ ।

तर अस्पताल प्रशासनले कहिले पनि एघार सय पन्ध्र थरिको औषधि खरिद गरेको छैन् । अस्पताल प्रशासनले ९ सय थरिका प्राय सस्तो औषधी मात्र खरिद गर्ने गरेको पाइएको छ । डाक्टरले सिफारिस गरेका औषधि नराखीकन अस्पताल प्रशासनले कमिसनका कारण सस्तो मूल्यका गुणस्तरहिन औषधी खरिद गर्ने गरेको स्त्रोतले बतायो।

टाढा टाढा गाउँबाट औषधी उपचार गर्न आउने विरामी मारमा

अस्पताल प्रशासनले समयमै औषधि खरिद नगर्दा तीन महिनादेखि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा सुगर, मुटु, प्रेसर , थाइराइट, नाक, कान, घाँटी, दमका विरामीले सबै औषधि पाएका छैनन् । बच्चाको डाक्टर, नाक, कान, घाँटीको डाक्टर, हाडजोर्नीको डाक्टर, प्रसूति तथा स्त्रीरोगको डाक्टर, दाँतको डाक्टर, फिजिसियन डाक्टरले सिफारिस गरेका सबै औषधी पनि फार्मेसीमा छैन् ।

जस्का मार टाढा टाढाबाट औषधी उपचार गर्न आउने विरामीलाई परेको छ ।

अस्पतालमा विशेषज्ञ डाक्टर नभएर रिफर भएर पोखरा, भरतपुर र काठमाडौमा गएर क्यान्सर, मृगौला, मुटु, फोक्सो, कलेजोलगाएतका रोगको उपचार गरि नियमित औषधी सेवन गरिरहेका विरामीले पनि संम्बन्धीत रोगका औषधीहरु अस्पतालको फार्मेसीमा नपाउदा महँगो मूल्यमा निजी मेडिकलमा किन्न परेको र बागलुङमा नपाए पोखरा, चितवन र काठमाडौं उपत्यकाबाट झिकाउनु परेको छ ।

किन खरिद गर्दैन अस्पताल प्रशासनले क्यान्सर, मृगौला, मुटु, फोक्सो, कलेजालगाएतका रोगको औषधी ?

अस्पतालले विशेषज्ञ डाक्टर नभएको आधार बनाएर क्यान्सर, मृगौला, मुटु, फोक्सो, कलेजालगाएतका रोगको औषधीहरु आजसम्म खरिद गरेको छैन् । अस्पतालका विशेषज्ञ डाक्टरले सिफारिस गरेको सबैऔषधी नहुँदा विरामीलाई समस्या परेको सेवागाह्री गोविन्द वझाले बताउनुभयो ।

औषधिको अभाव भएको बारेमा पटकपटक सम्बन्धित निकायमा जानकारी गराउँदा आपूर्ति नभएको उनले गुनासो गरे। अस्पतालमा प्रेसर, एर्लजी लगायत सामान्य औषधी लिन जादाँ समेत औषधी नपाएको सेवाग्राहीले गुनासो गरेका छन्। यसबाट गाउँ र शहरबाट आउने विपन्न रोगीहरुले समस्या झेल्ने गरेका छन् ।

अस्पतालको ओपिडिमा दैनिक ४ सय विरामीले दैनिक सेवा लिन्छन् तर प्राय औषधी फार्मेसीमा छैन

यसको अस्पताल प्रशासन र अस्पताल विकास समितिले वैकल्पिक व्यवस्था गर्न सकेको छैन् । चालु आर्थिक वर्ष शुरु भएदेखि औषधि खरिद हुन नसक्दा फार्मेसीमा औषधीको अभाव भएको हो । अस्पतालको ओपिडिमा दैनिक ४ सय विरामीले दैनिक सेवा लिइरहेका छन् ।

सरुवा रोग र भाइरल ज्वरो फैलिएको बेला दैनिक ६ सय जनाले सेवा लिन्छन । फार्मेसीमा पर्याप्त औषधि नहुँदा औषधी किन्न आउने दैनिक २ सयभन्दा धेरै ग्राहक फर्कनु परेको छ । अस्पताल भर्ना भएका विरामीले पनि फार्मेसीमा सबै औषधी नपाउदा बाहिर किन्न परेको छ ।

औषधि अभावले फार्मेसी सुनसान हुँदा अस्पताल परिसर बाहिर रहेका मेडिकलहरुमा भने औषधी किन्नेको भीड लाग्ने गरेको छ । यस्तो संकटको बेला अस्पताल प्रशासन र अस्पताल विकास समितिले फार्मेसीमा अभाव भएको औषधी खरिद गरेर तुरुन्त व्यवस्था गर्नु पर्ने हो तर यस मामिलामा अस्पताल प्रशासन र अस्पताल विकास समितिले कुनै चासो लिएको छैन जस्को मारमा सर्वसाधारण विरामी परेका छन् ।

अस्पताल प्रशासनले अस्पतालमा केही औषधी अभाव रहेपनि अन्य औषधीहरु अभाव नभएको दावी गरेको छ ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, वार्ड इन्चार्ज, अस्पताल प्रशासन र अस्पताल विकास समितिबीच समन्वयको अभाव

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, वार्ड इन्चार्ज,अस्पताल प्रशासन र अस्पताल विकास समितिबीच समन्वयको अभाव हुँदा अस्पताल प्रशासनले तीन महिना अगाडिनै गर्नुपर्ने औषधीको टेण्डर आव्हान नगर्दा आवश्यक औषधी र सर्जिकल सामानहरूको अभाव भएको हो ।

गत वर्ष असोज र माघमै औषधीको टेण्डर आव्हान गरेर औषधी खरिद गरिएको थियो । अस्पतालमले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत टेण्डर आव्हान गर्नुपर्छ । औषधी आपूर्ति गर्ने कम्पनीहरुलाई एक महिनाको सूचना हुन्छ । औषधी आपूर्ति गर्ने कम्पनीहरुले निवेदन दिएपछि एक हप्ता भित्र मूल्याङकन गरेर औषधी कम्पन्नी छनौट गर्नु पर्छ ।

औषधी कम्पनीबाट औषधी आउन अझै एक महिना लाग्ने

छनौट भएको कम्पन्नीले सबै प्रक्रिया पुरा गरी अस्पताललाई औषधी आपूर्ति गर्न कम्तीमा एक महिना लाग्छ । यस पाली अस्पतालले कार्तिकको पहिलो हप्ता मात्र टेण्डर खोलेको छ । ४ करोडको औषधी र मेडिकल सामान खरिदको लागि टेण्डर ढिलो गर्दा अब सबै औषधी मंसिरको अन्तिममा वा पुषको पहिलो हप्ता आइपुग्नेछ ।

कूल १ सय २५ शैयाको उक्त अस्पतालमा प्राय धेरै रोगको सेवा लिन विरामीहरु आउँछन तर अस्पतालमा विशषेज्ञ चिकित्सकहरुको अभाव छ।

 स्वास्थ्य बीमा बोर्डले अस्पताललाई ११ सय १५ प्रकारको औषधि व्यवस्था गर्न भने पनि अस्पतालले किन सबै औषधी खरिद गर्दैन ?

स्वास्थ्य बीमा बोर्डले अस्पतालबाट ११ सय १५ प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरेको छ।

स्वास्थ्य विमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अत्यधिक खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले २०७२ सालमा ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

यस नियमावलीले हालको सुविधाको थैलीलाई दुइ गुणाले वृद्धि गनुकोसाथै ज्येष्ठ नागरिकको लागि सरकारलेनै विमा प्रिमियम तिरिदिनेगरी छुट्टै एकाइको रुपमा वार्षिक रु एक लाख बराबरको स्वास्थ विमाको व्यवस्था पनि गरिएको छ । तर अस्पताल प्रशासनले विमा वोर्डको नीति र कार्यक्रमलाई अवज्ञा गर्ने गरेको छ जस्को मारमा ज्येष्ठ नागरिक पनि परेका छन् ।

अस्पतालले ११ सय १५ प्रकारको औषधि खरिद नगरि ९ सय प्रकारको मात्र औषधी खरिद गर्दा बाँकी औषधी किन्न विरामीले निजी मेडिकल धाउँन बाध्य भएका छन् ।

समस्याको थुप्रोमाथि धौलागिरि अस्पताल

साथै बिरामीको स्वास्थ्य परीक्षणका क्रममा औषधीको व्यवस्था मिलाउने, औषधी उपकरणको चाँजोपाँजो मिलाउने तथा स्वास्थ्य परीक्षण गराउने शाखा तथा फाँटमा औषधी र सर्जिकल सामान उपलब्ध गराउने जिम्मेवारी अस्पताल प्रशासन, सबै वार्डका ईन्चार्ज, फार्मेसी, स्टोर शाखा र त्यसलाई व्यवस्थापन गर्ने काम अस्पताल विकास समितिको हो ।

धौलागिरि अञ्चलकै पुरानो अस्पताल भएर यो सुविधा सम्पन्न अस्पताल हुनु पर्नेमा सबै क्षेत्रमा विभिन्न समस्या र चुनौतिहरुको जालोले घेरिएको छ  । यस विषयमा धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रवि रंजन प्रधानसँग सोध्दा ‘म अहिले विदामा घरमा छु, हामीले औषधी खरिदको लागि टेण्डर गरेका छौं, केहि समयभित्र औषधी आपूर्ति हुँदैछ, औषधी अभाव, इमरजेन्सी वार्डलगाएत सबै क्षेत्रमा देखिएको समस्याको विषयमा म आएर सबै कुरा बुझछु ।’

धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रवि रंजन प्रधान यो क्षेत्रमा नयाँ र अनुभवको कमी, जोखिम मोल्न हच्कने र अस्पतालभित्र धेरै स्वार्थ समूह हुँदा उनले समयमै समस्याहरुको समाधान गर्न सक्नु भएको छैन भने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेल प्राय गाउँमा बस्ने, उमेर पनि वृद्ध र उनमा जनस्वास्थ्य, त्यसका चुनौती र समस्याको बारेमा समाधान गर्ने व्यवस्थापकिय दखल र नेतृत्व क्षमता नहुँदा धौलागिरि अस्पताल समस्याको थुप्रोमाथि बस्न बाध्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्