४ जेष्ठ २०८१, शुक्रबार

 

के थियो पृथ्वीनारायण शाहको नेपाल एकीकरण रणनीति ?

पृथ्वीनारायण शाहद्वारा सञ्चालित सैनिक अभियानको सबैभन्दा उल्लेखनीय पक्ष राष्ट्रिय शक्तिका चार साधनहरू कूटनीति, सूचना, सैनिक र आर्थिक पाटोको समन्वयकारी तथा प्रभावकारी परिचालन थियो। नेपालमा राष्ट्रिय सुरक्षाको बहस चल्दा बडामहाराज पृथ्वीनारायण शाहको नाम प्रखर रूपमा जोडिएर आउँछ। उनी एक कुशल सैनिक नेतृत्व र सफल शासक त छँदै थिए, एउटा दूरदर्शी रणनीतिज्ञ पनि थिए।

निश्चय नै एकीकरणको दौरान उनले अपनाएका सबै नीति सफल भएनन् र केही नीति आंशिक रूपमा मात्र सफल भए। तथापि, उनको अभियान समग्रतामा सफल भयो र उनका कतिपय रणनीतिक कौशल र सुझबुझ अझै पनि नेपालको राष्ट्रिय सुरक्षाका सन्दर्भमा उपयोगी र मार्गदर्शक छन्।

एक कुशल रणनीतिज्ञ भएकाले नेपाल एकीकरण कार्यलाई पृथ्वीनारायण शाहले एकाध राज्य जित्ने लडाइँका रूपमा नलिई एउटा समग्र अभियानका रूपमा अघि बढाए। त्यसैले सैन्य कारबाहीको दौरान भएका हारले उनलाई मुख्य लक्ष्यबाट विचलित गराएन।

बडामहाराजले विशाल नेपाल खडा गर्ने अटल लक्ष्यलाई आफ्नो अन्तिम साध्य बनाउँदै समय र परिस्थिति अनुरूप उपलब्ध साधनको उपयोग गरी कार्यान्वयन गर्दा अन्ततोगत्वा सफलता हासिल गरे। जोखिम आकलन गरी विभिन्न उपायद्वारा त्यसको न्यूनीकरण गर्नु तथा आन्तरिक र बाह्य परिस्थितिबारे सूचना प्राप्त गरी सही विश्लेषण गर्नु उनको रणनीतिक सुझबुझ थियो।

पृथ्वीनारायण शाहद्वारा सञ्चालित सैनिक अभियानको सबैभन्दा उल्लेखनीय पक्ष राष्ट्रिय शक्तिका चार साधनहरू कूटनीति, सूचना, सैनिक र आर्थिक पाटोको समन्वयकारी तथा प्रभावकारी परिचालन थियो। सैनिक अभियानसँगै मुलुकले स्रोतसाधन विकास गर्ने रणनीति (मिन्स् डेभलपिङ स्ट्र्याटेजी) तर्फ ध्यान दिएन भने त्यो अभियान लामो समय टिक्न सक्दैन भन्ने उनले राम्ररी बुझेका थिए।

त्यति वेलाको भूमि र कृषिमा आधारित अर्थतन्त्रलाई ‘जागीर’ र ‘बिर्ता’ को माध्यमबाट उनले प्रभावकारी रूपमा अघि बढाए जसले आर्थिक विकास र सैनिक अभियानबीच अन्योन्याश्रित सम्बन्ध स्थापित गर्‍यो। त्यसैले, त्यति वेलाको भूमि र कृषिमा आधारित अर्थतन्त्रलाई ‘जागीर’ र ‘बिर्ता’ को माध्यमबाट उनले प्रभावकारी रूपमा अघि बढाए जसले आर्थिक विकास र सैनिक अभियानबीच अन्योन्याश्रित सम्बन्ध स्थापित गर्‍यो।

जागीर र बिर्ताबाटै आर्जन गरी सैनिकले आफ्नो घरपरिवारको पालनपोषण गर्नुपर्ने भएकाले उत्पादकत्व वृद्धि नगरी धरै थिएन। सेनाले विजय अभियानसँगै अर्थतन्त्रलाई टेवा दिंदै गयो र अर्थतन्त्रले सेनालाई अझ विकसित र सुदृढ बनाउँदै लग्यो।

पृथ्वीनारायण शाहपछिका शासक तथा सैनिक नेतृत्वले उनका नीतिलाई व्यवस्थित रूपले अघि बढाउन नसक्दा पछि गएर जागीर र बिर्ता प्रथामा केही समस्या पनि देखिएको लुडविङ एफ। स्टिलरले आफ्नो पुस्तक द राइज अफ हाउस अफ गोर्खामा उल्लेख गरेका छन्। तथापि, सेना र अर्थतन्त्र एकअर्काको परिपूरक नभएको भए एकीकरण अभियान सफल हुने थिएन।

पृथ्वीनारायण शाहको सैनिक अभियान सफल हुने अर्को महत्त्वपूर्ण पाटो हो, सैन्य शक्तिलाई विविधीकरण गर्नु। उनीसँग बङ्गाली ढाँचामा खडा गरिएको बर्दी र बन्दूकधारी स्थायी सेना (स्ट्यान्डिङ आर्मी) ‘तिलङ्गा’ मात्र थिएन, उमराव अन्तर्गत राखिएको मिलिसिया, रिजर्भका रूपमा रहेका ‘ढाक्रे’ र कन्सक्रिप्टका रूपमा ‘झारा’ वा ‘झरेली’ पनि थिए। झारालाई विशेष गरी किल्ला, बाटाघाटा आदि बनाउन प्रयोग गरिए पनि आवश्यकता अनुसार लडाइँमा पनि प्रयोग गरिन्थ्यो।

लुडविङले सोही पुस्तकमा गुरगिन खाँ विरुद्ध मकवानपुरको हर्नामाढीमा भएको लडाइँमा झारा फौज प्रयोग गरिएको बताएका छन्। पृथ्वीनारायण शाहले यी विभिन्न प्रकारका सैन्य शक्तिलाई केन्द्रीकृत वा विकेन्द्रित रूपमा आवश्यकता र औचित्यको आधारमा परिचालन गरे। चिसापानी र मकवानपुर जस्ता रणनीतिक महत्त्वका स्थान बाहेक अन्त जताततै उमराव अन्तर्गत मिलिसिया राखिएका थिए।

त्यस वेला अल्पकालीन फौज पनि खडा गरिन्थ्यो। महेशचन्द्र रेग्मीको पुस्तक ईम्पेिरियल गोर्खाः एन अकाउन्ट अफ गोर्खाली रुल इन कुमाउँका अनुसार, एकीकरणको दौरान शत्रुको आक्रमण हुँदा वा आपत्‌कालमा छोटो समयका लागि अल्पकालीन फौज ९एक प्रकारको सर्ट सर्भिस० भर्ना गर्ने र काम सकिएपछि भङ्ग गर्ने प्रणाली पनि अवलम्बन गरिएको थियो।

पृथ्वीनारायण शाहको सैनिक अभियान सफल हुने अर्को महत्त्वपूर्ण पाटो हो, सैन्य शक्तिलाई विविधीकरण गर्नु। उनीसँग बङ्गाली ढाँचामा खडा गरिएको बर्दी र बन्दूकधारी स्थायी सेना (स्ट्यान्डिङ आर्मी) ‘तिलङ्गा’ मात्र थिएन, उमराव अन्तर्गत राखिएको मिलिसिया, रिजर्भका रूपमा रहेका ‘ढाक्रे’ र कन्सक्रिप्टका रूपमा ‘झारा’ वा ‘झरेली’ पनि थिए।

यसरी, सैन्य शक्तिको विविधीकरणले सेना राज्यको ढुकुटी दोहन गर्ने बोझका रूपमा नभई अर्थतन्त्रलाई सँगसँगै चलायमान बनाउने संयन्त्र बन्यो। भएका सैनिकलाई पनि आधा थुममा बन्दूकधारी तथा आधामा साविककै ढाल,तरबार र धनुकाणधारी सैनिक गरी कार्यकुशलता र कार्यप्रभावकारितालाई मध्यनजर राखी तैनाथ गरिएको थियो।

एकीकरण अभियान सफलताको अर्को आधार हो, सैनिक पल्टन खडा गर्दा मिश्रित जातजाति र क्षमताको आधारमा पल्टन खडा गर्नु। पृथ्वीनारायण शाहले आफ्ना मामा उद्योत सेनसँग सल्लाह गर्दा बाहुन, खस, मगर र ठकुरी सैनिकका कुरा गरे पनि एकीकरण अभियान सञ्चालन हुँदै गएपछि खस, मगर, गुरुङ र ठकुरीलाई सेनामा राखे, तर उनले कहिले पनि एकल जातीय आधारमा पल्टन खडा गरेनन्।

आफ्नो उपदेशमा ‘पट्टी पट्टीमा सिपाही छ्यासमिस गरी भर्ना गर्नू’ भन्नेबाटै ससाना टुकडीमा समेत मिश्रित फौज राख्न सुझाएको देखिन्छ। मिलिसिया र झारा सैनिक विविध जातजातिबाट मिश्रित रूपमा खिचिएका हुन्थे। त्यति मात्र होइन, जितेका राज्यका सैनिकलाई पनि आफ्नो सेनामा संलग्न गराए। उनले सैनिकलाई क्षमता र अनुभवका आधारमा काममा लगाउनुका साथै मुसलमान तथा दलितलाई पनि सैनिक सेवामा समावेश गरेका थिए।

पृथ्वीनारायण शाहको रणनीतिको अर्को उल्लेखनीय पक्ष हो, उनले अख्तियार गरेको कौटिल्य नीति। हुन त उनको उपदेशमा कतै पनि कौटिल्यबारे उल्लेख गरिएको पाइँदैन, तर उनले अपनाएको नीति तथा गतिविधिबाट त्यसको अनुमान भने गर्न सकिन्छ। लमजुङलाई ‘गरुड’, गोर्खालाई ‘सर्प’ र उपत्यकालाई ‘भ्यागुतो’ को संज्ञा दिने कार्यले कौटिल्यको अर्थशास्त्रमा उल्लिखित मण्डल सिद्धान्तसँग तादात्म्य राख्छ।

पृथ्वीनारायण शाहले कूटनीति र गुप्तचरीलाई पनि निकै महत्त्व दिए। सेना (दण्ड) र अर्थतन्त्र (कोष) लाई साथै लैजाने ‘कोषदण्ड’ नीति तथा भूमि र जनता (जनपद) लाई राज्य शक्तिको सर्वाधिक महत्त्वपूर्ण तत्त्वहरूमध्ये मानिनुले पनि उनले कौटिल्यको ‘सप्ताङ्ग’ सिद्धान्तलाई अङ्गीकार गरेको देखिन्छ।

गोर्खा आफैं विजय अभिलाषा राख्ने विजिगीषु थियो। पृथ्वीनारायण शाहले छिमेकी राज्य लमजुङलाई शत्रुका रूपमा लिंदै शत्रुको शत्रुलाई आफ्नो मित्र बनाउन सधैं लागिपरे। विभिन्न लडाइँमा अपनाएको गुरिल्ला युद्धकलादेखि शत्रुलाई झुक्याउन गरिएका उपाय हेर्दा उनले कौटिल्यको अर्थशास्त्रमा उल्लेखित कुटयुद्ध, तुष्णीमयुद्ध, मन्त्रयुद्ध आदि अपनाएको देखिन्छ।

पृथ्वीनारायण शाहले कूटनीति र गुप्तचरीलाई पनि निकै महत्त्व दिए। सेना (दण्ड) र अर्थतन्त्र (कोष) लाई साथै लैजाने ‘कोषदण्ड’ नीति तथा भूमि र जनता (जनपद) लाई राज्य शक्तिको सर्वाधिक महत्त्वपूर्ण तत्त्वहरूमध्ये मानिनुले पनि उनले कौटिल्यको ‘सप्ताङ्ग’ सिद्धान्तलाई अङ्गीकार गरेको देखिन्छ।

पृथ्वीनारायण शाहले कौटिल्य नीति अनुसरण गरेको अनुमानलाई थप बल उनको बनारस बसाइले पनि दिन्छ। तीर्थाटनका नाममा बनारस जानुको खास उद्देश्य राज्य विस्तार गर्न हतियार र गोलाबारुद प्राप्त गर्नु भएकाले त्यो यात्राका दौरान उनले त्यहाँका अनेक राजारजौटाका रणनीतिक कलाबारे सुनेका वा बुझेका हुन सक्छन्।

बाबुराम आचार्यद्वारा लिखित पुस्तक बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेशका अनुसार, पृथ्वीनारायण शाह सत्रौं शताब्दीका महाराष्ट्रका महाराज छत्रपति शिवाजीबाट निकै प्रभावित थिए।

भारतमा कतिपयले शिवाजीलाई कौटिल्यका ‘छात्र’ मान्थे भने उनले छापामार युद्धको नयाँ शैली ‘शिवसूत्र’ विकास गरेका थिए। पृथ्वीनारायण शाहले बनारस बसेर आएका आफ्ना मामा पाल्पाका राजकुमार उद्योत सेनबाट पाएका सल्लाह पनि कौटिल्य नीतिसम्मत देखिन्छ।

वर्तमान समयमा कौटिल्यको समग्र नीति त्यति सान्दर्भिक नदेखिएला, तर त्यस वेला नेपालमा राष्ट्र(राज्यको अवधारणा विकास भइनसकेको र थुप्रै स-साना राज्यहरू (प्रिन्सिप्यालिटिज) विद्यमान रहेकाले कौटिल्य नीति उपयोगी हुने देखाउँछ। लामो समयदेखि भारतवर्षमा चलिआएको र समयले खारेको नीति भएकाले पनि पृथ्वीनारायण शाहले कौटिल्य नीति अवलम्बन गर्नुलाई रणनीतिक सुझबुझ मान्न सकिन्छ।

कौटिल्य नीतिबाटै प्रभावित भएर होला, उनले शत्रु राज्य प्रति निर्दयी व्यवहार गरेका केही घटनाहरू पनि छन्।

लुडविग र बाबुरामका पुस्तकहरूमा उल्लेख गरिएका मकवानपुर विजयपछि उपत्यकामा नून, कपास, अन्न लगायतका सामग्री आपूर्तिमा गरिएको कठोर नाकाबन्दी, भक्तपुरमा भेटिएसम्मका नगरकोटीलाई पक्रिई काट्न लगाउने कार्य, जयन्त रानालाई छाला काढेर मार्न लगाउने कार्य तथा कीर्तिपुरेको नाक, कान काटिएको विषय पक्कै पनि निर्दयी थिए।

तथापि, केही यस्ता अप्रिय घटना बाहेक पृथ्वीनारायण शाहले विजय हासिल गरेका राज्यका जनता तथा तिनका संस्कृति प्रति देखाएको सदाशयता प्रशंसनीय छ।

वर्तमान समयमा कौटिल्यको समग्र नीति त्यति सान्दर्भिक नदेखिएला, तर त्यस वेला नेपालमा राष्ट्र-राज्यको अवधारणा विकास भइनसकेको र थुप्रै स-साना राज्यहरू (प्रिन्सिप्यालिटिज) विद्यमान रहेकाले कौटिल्य नीति उपयोगी हुने देखाउँछ।

बडामहाराजले आफू नै भुक्तभोगी भएर निकालेको अन्तिम निचोड हो ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’। अर्थात्, नेपालको भौगोलिक अवस्थितिलाई मध्यनजर राख्दा तराईमा गई दुश्मनमाथि जाई लाग्नुभन्दा पहाडी ईलाकामा ल्याई वा आउन दिई प्रत्याक्रमण (काउन्टर अट्याक) गर्नु बुद्धिमानी हुन्छ।

बाबुराम र नरहरिनाथको पुस्तकमा पृथ्वीनारायण शाहले ‘अङ्ग्रेजसँग मैत्रीसम्बन्ध त राख्नू, तर तराईका मैदानहरूमा ओर्लिएर उनीहरूमाथि कदापि आक्रमण नगर्नू, उनीहरू कदाचित् आफ्नो देशमाथि आइलागे भने उनीहरूलाई भित्री मधेशसम्म सरासर आउन दिई पहाडी क्षेत्रभित्र प्रवेश गर्ने बित्तिकै गुरिल्ला युद्ध गरी उनीहरूलाई यहाँबाट बलपूर्वक धपाइदिनू’ भनी निर्देशन दिएको उल्लेख छ।

नुवाकोटको पहिलो हार र त्यसपछि कीर्तिपुरको दुई पटकको हार तथा नाल्दुममा भएको पटक पटकको हारले मात्र होइन, मकवानपुरमा गुरगिन खाँको फौजमाथि भएको विजय र क्याप्टेन किनलक तथा हार्डिङको फौजमाथि सिन्धुलीगढी र पौवागढीमा पाएको सफलताले पनि पृथ्वीनारायण शाह अन्ततोगत्वा यो गहन निष्कर्षमा पुगेका हुन्। यो वास्तविकता चौबीसे राज्यसँगको हारबाट अझ छर्लङ्ग भयो।

एकीकरणका दौरानमा राज्य विस्तार गर्नुपरेको कारणबाट पृथ्वीनारायण शाहले आक्रामक नीति अवलम्बन गर्नुपरेको हो। यदि राज्य विस्तार गर्नु छैन भने हाम्रो भूगोल तथा भूराजनीतिक अवस्थितिका हिसाबले ‘जाई कटक’ नगरी ‘झिकी कटक’ गर्नु बुद्धिमानी हुन्छ।

तर, झिकी कटकको मतलब ठूला स्थायी तैनाथी गरी दुश्मनलाई कुरेर बस्ने होइन। नाका र गौंडाहरूमा आधारित किल्ला बनाउन त आवश्यक हुन्छ, तर त्योभन्दा अझ महत्त्वपूर्ण पहाडी भूभागको उपयोग गरी चलायमान युद्ध सञ्चालन गर्न जरुरी हुन्छ। तसर्थ, ठूला तैनाथी नगरी मुलुकभरि नै सयौं ससाना बलिया किल्लाहरू बनाई गुरिल्ला युद्धकला अपनाउनुपर्छ। जुन पृथ्वीनारायण शाहले गुरगिन खाँ र क्याप्टेन किनलक विरुद्ध गरेका थिए।

प्रतिरक्षात्मक रणनीति अवलम्बन गर्ने भन्दै वर्तमान अवस्थामा दोस्रो विश्वयुद्धमा फ्रान्सले निर्माण गरेको म्याजिनो लाइन जस्तो स्थायी किल्ला निर्माण गरी दुश्मनलाई रोक्न सकिंदैन भन्ने बुझ्नुपर्छ। आधुनिक युगमा यस्तो प्रतिरक्षा केही घण्टा वा बढीमा केही दिन मात्र टिक्न सक्छ। बडामहाराजको यो ‘प्रत्याक्रमण’ को पाठ सही किसिमले नबुझ्दा पछि नेपाल–अङ्ग्रेज युद्धमा नेपालले नराम्रो हार खानुपर्‍यो।

रणनीतिज्ञका रूपमा सफल हुँदाहुँदै पनि केही कुरामा पृथ्वीनारायण शाह सफल देखिएनन्। उदाहरणका लागि, उनी घेराबन्दी युद्ध (सीज वारफेर) मा कमजोर रहे।

नेतृत्व तहमा भीमसेन थापाको हठ तथा रणनीतिक अक्षमताको कारण नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउँदै सार्वभौमिकतामा नै प्रश्नचिह्न लागेको कुरामा कुनै शङ्का नरहेको सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक त्यस बखतको नेपालमा उल्लेख गरेका छन्। तर, ट्याक्टिकल तहमा पनि पृथ्वीनारायण शाहको अर्तीलाई सही किसिमले बुझ्ने प्रयत्न भएन वा बुझेर पनि वास्ता गरिएन।

रणनीतिज्ञका रूपमा सफल हुँदाहुँदै पनि केही कुरामा पृथ्वीनारायण शाह सफल देखिएनन्। उदाहरणका लागि, उनी घेराबन्दी युद्ध ९सीज वारफेर० मा कमजोर रहे। उनले कीर्तिपुरमा तीन पटक हमला गर्नुपर्ने कारण पनि त्यही हो।

त्यस्तै, सिक्काको चास्नीको विषयलाई लिएर तिब्बतसँग कुशलतापूर्वक समझदारी गरी तिब्बती ‘मुद्रा-बजार’ मा विगतमा झैं आधिपत्य जमाउन उनले सकेनन्। यसबाट ‘नेपाल खाल्डो’ को अर्थतन्त्रको एक महत्त्वपूर्ण पाटो कमजोर हुन गयो।

कतिपयले पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई उनको विस्तारवादी नीति वा विशाल राज्यको महाराज हुने महत्त्वाकाङ्क्षाको रूपमा अर्थ्याएको पाइन्छ। यो दाबीलाई सीधै गलत भन्न सकिंदैन।

तर, जसरी नेपालको एकीकरण गर्ने नै उनको सोच हो भन्ने मत एकपक्षीय लाग्छ त्यसरी नै विस्तारवादी तर्क पनि एकतर्फी देखिन्छ। एकीकरण र विस्तारवाद एउटै घटनालाई हेर्ने दुई फरक फरक, तर अपुरा दृष्टिकोण हुन्।

पृथ्वीनारायण शाहको मनमा के थियो भनी ठोकेर हामी भन्न सक्दैनौं। त्यसैले शङ्काको सुविधा लिंदा पनि, जुन निष्कर्षले हाम्रो सामूहिक हित गर्छ र सामाजिक सद्‌भावलाई खलबलिन दिंदैन सोही निष्कर्षमा पुग्नु व्यावहारिक र बुद्धिमानी हुन्छ। यस हिसाबले पृथ्वीनारायण शाहको विशाल देशको महाराजा हुने व्यक्तिगत चाहना रहेको भए पनि उक्त अभियानलाई एकीकरण अभियान भन्न सकिन्छ।

आखिर कुनै पनि सामूहिक हितका लागि गरिने क्रियाकलापलाई व्यक्तिगत इच्छाबाट निरपेक्ष राखेर हेर्न सकिंदैन। विश्वभर विगतमा जति पनि राज्य विस्तार वा राज्य निर्माण भएका छन् अधिकांश व्यक्तिगत इच्छा वा महत्त्वाकाङ्क्षाबाटै प्रादुर्भाव भएका हुन्।

आखिर कुनै पनि सामूहिक हितका लागि गरिने क्रियाकलापलाई व्यक्तिगत इच्छाबाट निरपेक्ष राखेर हेर्न सकिंदैन। विश्वभर विगतमा जति पनि राज्य विस्तार वा राज्य निर्माण भएका छन् अधिकांश व्यक्तिगत इच्छा वा महत्त्वाकाङ्क्षाबाटै प्रादुर्भाव भएका हुन्।

हो, पृथ्वीनारायण शाहका कतिपय उपदेशहरू अहिलेको बदलिंदो सामाजिक, राजनीतिक, आर्थिकका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल छैनन्। उनका अनुभवको निचोड र उपदेशहरू तत्कालीन परिस्थिति अनुरूप समसामयिक थिए होलान्, तर उनले त्यति वेला व्यक्त गरेका जात र थर अनि तिनमाथिको विश्वास र अविश्वासका कुरा अहिले असान्दर्भिक छन्।

एक(दुई व्यक्तिको गलत वा सही कामको आधारमा सम्पूर्ण जात वा थरलाई नै मूल्याङ्कन गर्नु कुनै हिसाबले पनि जायज होइन। अवश्य नै, कुनै व्यक्तिविशेषले देशका लागि पुर्‍याएको योगदानको सम्मान गर्नुपर्छ, तर त्यसलाई अहिले पनि जात र थरसँग जोडी सोही धङधङी हुनु भनेको ‘मेरो बाजेले घिउ खाएथे मेरो हात सुँघ’ भन्ने मानसिकताभन्दा केही होइन।

त्यस्तै, त्यति वेला कसैले कुनै बेठीक काम गरेको थियो भन्दैमा तिनका पुस्ताले प्रताडित भइरहनु पनि सोह्रै आना गलत हो। पृथ्वीनारायण शाहको तीन दशकको शासन अवधिलाई नै हेर्ने हो भने पनि शुरूआती दिनका कतिपय उनका धारणा पछिल्ला समयमा फेरिएको समेत पाइन्छन्। अहिले आएर, अढाई शताब्दीपछि पनि त्यस्ता पुरातन विचारलाई कसैले जोड दिन्छ भने त्यो नासमझ हो।

अन्त्यमा, नेपालको भूगोल र भूराजनीतिक अवस्थितिको परिप्रेक्ष्यबाट गरिएका पृथ्वीनारायण शाहका रणनीतिक चिन्तनहरू अझै पनि उत्तिकै दूरदर्शी, सान्दर्भिक र उपयोगी छन्। यद्यपि, तिनलाई हेर्ने दृष्टिकोण र तिनबाट प्राप्त हुने मार्गदर्शनलाई विद्यमान आन्तरिक र बाह्य परिस्थितिको कसीमा जाँच्‍नुपर्छ।

वर्तमान समयमा पृथ्वीनारायण शाहको अनुभव र उपदेशबाट पाँच मुख्य रणनीतिक पाठ ग्रहण गर्न सकिन्छ। पहिलो, सेना र मुलुकको आर्थिक विकासबीच अन्योन्याश्रित सम्बन्ध स्थापना गरिनुपर्छ। अर्थात्, मुलुकमा शान्ति, सुरक्षा र अमनचैनको दीर्घकालीन प्रत्याभूति गर्दै आर्थिक उन्नतिका लागि सेनाले सहजीकरण गर्ने (यसको तात्पर्य सेनाले व्यवसायमा हात हाल्ने भन्ने चाहिं होइन) तथा राज्यले आर्थिक हैसियत अनुरूप सेनामा लगानी गर्ने वातावरण बनाइनुपर्छ।

दोस्रो, कौटिल्य नीति सम्बन्धी अध्ययन-अध्यापन गरिनुपर्छ। विशेष गरी, छिमेकीले अपनाउन सक्ने कौटिल्य नीतिबारे जानकार तथा सजग रहनुपर्छ। तेस्रो, नेपालमा सैनिक शक्तिको स्रोत भनेकै जनता हो भन्ने वास्तविकतालाई हृदयङ्गम गर्दै सैनिक सङ्गठनमा सबै जात र वर्गको सहभागिता गराई मिश्रित पल्टन (जातीय आधारमा होइन) खडा गरी आम जनतामा सेनाको अपनत्व र स्वामित्व बढाउँदै लगिनुपर्छ।

चौथो, पूर्ण स्वैच्छिक फौज (अल भोलन्टियर फोर्स) बाट मात्र मुलुकको प्रतिरक्षा गर्न नसकिने भएकाले फौजलाई विविधीकरण गरी रिजर्भ, मिलिसिया, सर्ट-सर्भिस कमिसन र कन्सक्रिप्ट अवधारणा पनि अवलम्बन गरिनुपर्छ। पाँचौं, नेपालको भूगोल र भूराजनीतिक अवस्थितिलाई मध्यनजर राख्दै दुश्मनलाई ‘झिकी कटक’ अर्थात् ‘चलायमान गुरिल्ला युद्धकलाद्वारा प्रत्याक्रमण गरी हराउने’ रणनीति अङ्गीकार गरिनुपर्छ।

रावल नेपाली सेनाका पूर्व सहायक रथी हुन्। हिमाल खबरबाट

प्रतिक्रिया दिनुहोस्