१९ बैशाख २०८१, बुधबार

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मायाको चिनो गुन्द्रुक, भाँगो र भटमास

बागलुङ । सोमबार माघेसंक्रान्तिको दिन बागलुङको जैमिनी नगरपालिकामा तेस्रो जैमिनी महोत्सव सञ्चालन भइरहेको थियो। महोत्सवको मूल समारोह उद्घाट गर्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आएका थिए। पाण्डेसँगै प्रदेश सरकारका मन्त्री र सांसद तथा स्थानीय तहका प्रमुख–उपप्रमुख पनि सँगै थिए।

उद्घाटन कार्यक्रममा स्थानीय उत्पादनकै कुरालाई मुख्यमन्त्री पाण्डेले जोड दिए। आफ्ना कुरा सकेर पोखरा फर्किनै लाग्दा कार्यक्रमका प्रमुख अथितिसमेत रहेका मुख्यमन्त्री पाण्डेलाई आयोजकले मायाको चिनो दिने उद्घोष गरे।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सानो डालीभरि स्थानीयले उत्पादन गरेका वस्तुहरू ल्याएर मायाको चिनोस्वरूप पाण्डेको हातमा थमाए। मुख्यमन्त्री पाण्डे त्यो देखेर दंग मात्र परेनन्, स्थानीय उत्पादन आफूलाई प्रदान गरेकोमा हर्षित पनि देखिए।

स्थानीय साहारा क्लबले आयोजना गरेको कार्यक्रममा आउने अतिथि पाहुनालाई डालीभरि स्थानीय रूपमा उत्पादन हुने गुन्द्रुक, भाँगो, सिस्नोको पाउडर, आलुको चिप्स, कालो भटमास, सिमीलगायतका वस्तुहरू चोवाले बुनेको डालीभरि राखेर प्रदान गरेका थिए।

अन्य कार्यक्रममा मायाको चिनो भनेर विभिन्न तस्बिरसहितको सिसाको फ्रेमलगायतका वस्तु आयोजकले दिने गर्थे। तर, जैमिनी महोत्सवका आयोजकले स्थानीयले उत्पादन गरेको वस्तु मायाको चिनोस्वरूप दिँदा मुख्यमन्त्री पाण्डेसहित अन्य अतिथिले पनि फरक र नयाँ अनुभूति गरेको बताए।

पछिल्लो समय बागलुङमा हुने मेला–महोत्सवलगायत अन्य कार्यक्रममा यस्ता नयाँ अभ्यास भइरहेका छन्। स्थानीय रूपमा उत्पादन हुने वस्तुको प्रचारप्रसार गर्ने यो नयाँ शैली पनि हो। जैमिनी महोत्सवमा स्थानीय उत्पादन प्रदर्शन तथा बिक्री–वितरणका लागि राखिएको छ।

पछिल्लो समय विभिन्न कार्यक्रममा सहभागी हुने पहुनालाई आयातित मायाको चिनोमा हजारौँ रुपैयाँ खर्च गरिँदै आएका सन्दर्भमा जैमिनीवासीले स्थानी उत्पादन प्रयोग गर्न थालेका छन्।

यसले उत्पादनको प्रवर्द्धन गरिरहेको छ भने आयातित वस्तुमा खर्च गर्ने रकमसमेत बचत गराइदिएको छ। गाउँघरमा उत्पादन हुने वस्तु र खेर गइरहेका सिस्नो र बाँको अहिले पाहुनाको स्वादिष्ट परिकार बन्न पुगेको छ। यति मात्रै नभई स्थानीयको आयआर्जनको गतिलो माध्यम पनि बनेको छ।

गुन्द्रुक झोल र अचार खाना तथा भाँगो चटनी र अचारका लागि निकै रुचाउने गरेको पाइन्छ। यहाँ उत्पादन भएको वस्तुको प्रचारप्रसार र ब्रान्डिङ होस् भन्ने चाहनाअनुसार पाहुनाका लागि मायाको चिनोको रूपमा स्थानीय उत्पादनलाई नै प्रोत्साहन गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।

बारीका कान्लाभरि पाइने सिस्नो र जंगलमा प्रशस्तै पाइने बाँको यहाँका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ। कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको शर्माले बताए। विशेषगरी जैमिनी नगरपालिका– ३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोसेलीका रूपमा दिँदै आएका छन्। स्थानीयले घरमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रकको परिकार बनाएर खानमेत दिने गर्छन्।

सिस्नो र बाँकोको प्रशोधन गरी बनेका पाउडर तथा सिन्कीको माग पछिल्लो समय बढ्दै गएको छ। खासगरी पहिले चुलोचौकोमा सीमित बनेका महिला अहिले व्यावसायिक बनेका छन्। यहाँका महिलाले सिस्नोको पाउडर र गुन्द्रुकसँगै आलुको चिप्ससमेत बनाउन थालेका छन्। यसले आलुले पनि राम्रो मूल्य पाउन थालेको स्थानीय बताउँछन्।

यस्ता कार्यक्रममा हजारौँ खर्च गरेर आयातित मायाको चिनो प्रदान गर्नुभन्दा स्थानीय उत्पादनलाई नै प्रोत्साहन गर्दा दुःख गर्ने किसानलाई पनि हौसला मिल्ने गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी बताउँछन्। स्थानीय सरकारले उत्पादन बढाउने र त्यसलाई बजारसँग जोड्ने काममा पनि सँगै सहयात्रा गरेको हुनाले यहाँ उत्पादन भएको वस्तुलाई स्वदेशी तथा विदेशी बजारसम्म सजिलै पुर्‍याउन सकिने उनको भनाइ छ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वतावरण मन्त्री दिपेन्द्र बहादुर थापा, सांसदहरु कुशुम बुढा मगर, चम्पादेवी खड्का  र लिल बहादुर थापा लगायतले बोल्नुभएको थियो । महोत्सव सहारा क्लव कुश्मीशेराले आयोजना गरेको हो । क्लवका अध्यक्ष सुरेश सुनारको अध्यक्षता, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको स्वागत, सचिव डिल्लि प्रसाद पौडेल र नविन प्रताव जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्