७ जेष्ठ २०८१, सोमबार

 

गलकोटको शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापकहरुको बैठक

गलकोट । गलकोट नगरपालिकामा सञ्चालित विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक बैठक आयोजना गरिएको छ ।

गलकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गलकोटमा सञ्चालित विद्यालयहरुको प्रधानाध्यापक बैठक सम्पन्न भएको हो ।

बैठकमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शैक्षिक गुणस्तरको लागि नगरपालिका सधै तत्पर रहेको र यसको लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ ।

बैठकमा कक्षा ८ को नतिजा विश्लेषण गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने, नगर प्रमुख शैक्षिक छात्रवृत्ति कोष वितरण गर्ने, गलकोट क्विजलाई निरन्तरताको लागि निरन्तर प्रश्न पठाउने, बालमैत्री स्थानीय शासन सुचकलाई दिगोपनाका लागि सूचकहरुमा काम गर्ने, प्रधानाध्यापकहरुको शैक्षिक भ्रमण जाने लगायतका निर्णयहरु गरिएको थियो ।

त्यस्तै बैठकको अवसरमा हरि चालिसेको संयोजकत्वमा शैक्षिक भ्रमण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा तुल बहादुर श्रीस, सिर्जना घर्ती, पुर्ण चोखाल र रेमबहादुर कार्की रहनुभएको छ ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकीय अधिकृत थम्मनसिंह गौतम, सामाजिक विकास समितिका संयोजक हिमबहादुर भण्डारीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गलकोट नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाको अध्यक्षता र शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्