१९ बैशाख २०८१, बुधबार

 

नवीनजी, शिर ठड्याएरै जिउनुस्

हेल्लो नवीनजी !
तपाईं मलाई चिन्नुहुन्छ ? कि बिर्सनुभयो ? तर म तपाईंलाई राम्रोसँग चिन्दछु । तपाईं नेकपा महासचिव विष्णु पौडेलको मात्र होइन, सामान्य गृहिणी सपना पौडेल (आमा) को पनि छोरा हो । म अहिले पनि त्यसरी नै चिन्न चाहन्छु ।
कैयौं सांसद र मन्त्रीका श्रीमतीहरूलाई ठूलो भ्रम र अहमता हुन्छ । पद र शक्तिको उन्माद हुन्छ । रवाफ पनि । सपना आन्टीमा यस्तो रवाफ र उन्माद मैले कहिल्यै पाइनँ । परिवर्तित जीवनशैलीमा पनि देखेको छैन । अँ, अनि तपार्इंमा पनि नवीनजी । तर यति बेला तपाईं नेकपाका ‘शक्तिशाली’ महासचिवका छोराका नामले मिडियामा छाइरहनुभएको छ । कारण मैले भनिरहन नपर्ला ।
जसले जसरी चिनोस्, म त तपाईंलाई उही सपना आन्टीकै छोराका रूपमा चिन्छु । किनकि हाम्रो बाल्यकाल सामीप्यमा बितेको हो । तपाईंकी आमा, फुपू र हाम्री आमा दौंतरी हुनुहुन्थ्यो । फुपू र फुपाजु गोपीरमण उपाध्यायसँग पारिवारिक सम्बन्ध रहेकाले हामी निकटकै हौं भन्ने लाग्छ । गोपी गुरुका सन्तान राधा, अनु, अरुण, तपाईं र तपाईंकी बहिनीजस्तै म पनि त्यही वात्सल्य प्रेम पाएर हुर्किएको हुँ ।
अब त मलाई सम्झिदिनुस् । तपाईं र मेरो भेट ०६४ असोज ३ गते तपाईं नेपालगन्जबाट फर्किंदा चन्द्रौटामा भएको थियो । भदौ ३० गतेको घटनाका कारण कपिलवस्तु बन्द रहेका बेला । म कान्तिपुर दैनिकको कपिलवस्तु संवाददाता थिएँ । सायद त्यसपछि तपाईंसँग भेट जुरेको छैन । तपाईंको परिवार बानेश्वर, थापागाउँ, बाणगंगा टोलको किराना पसल भएको घरमा भाडामा बस्दा पनि त्यहीँवरिपरि नै थिएँ । त्यसैले तपाईं र परिवारबारे अवगत छु ।
नवीनजी, ०६०÷६१ तिर बुटवलको घर बेच्दा तपाईं अभिभावकसँग नामन्जुर भएको पनि मलाई थाहा छ । त्यो नामन्जुरी यति बेला सत्यमा परिणत भएको छ । तपाईंले पद, प्रतिष्ठा र शक्ति क्षणिक हुने बुझेर नै काठमाडौंभन्दा बुटवल बस्न ठीक भन्नुभएको हुनुपर्छ ।
तपाईंलाई पद, प्रतिष्ठा, सत्ता र शक्तिसँग आसक्ति थिएन् । तर पनि अहिलेको मिडियाबाजीबाट खेप्नुपरिरहेको मानसिक प्रताडना म अनुभव गर्न सक्छु । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । मलाई पनि ०४६ सालको परिवर्तनपछि विद्यार्थी संगठनमा रहँदा अभिभावकका नराम्रा प्रसंग र लाञ्छनाले ‘ह्यारासमेन्ट’ भएको सम्झना आइरहेछ । यसबारे आवश्यक परे पछि सँगै छलफल गरौँला ।
त्यसपछि म सक्रिय राजनीति छाडेर पत्रकारिता अध्ययनमा लागेँ । पत्रकार पनि बनेँ । प्रसंगले एउटा सत्य उजागर गर्नै पर्छ– राजनीतिक परिवर्तनले तपाईंको परिवारमा धन–सम्पत्ति ऐस–आराम प्राप्त भयो । तर तिनै परिवर्तनका सूत्रधार राजनेता र तिनका भूमिगत आफन्तलाई पाल्दा मेरो परिवार ओह्रालो लाग्यो । उदाहरण स्वयं तपाईंका फुपू र फुपाजु (गोपी गुरु, गुरुआमा) हुनुहुन्छ ।
अर्काे सत्य– नेताका आचार–विचार, संगति र द्रव्य–लोभमा गरिएका कैैयौं कुकृत्यको साक्षी तपाईंजस्तै म पनि बनेको छु । तिनका परिवारमा आएको परिवर्तन नजिकबाट देखेको छु । यी सबैले निम्त्याएको मानसिक अशान्ति मैले पनि भोगेको छु । जस्तो यति बेला तपाईंको मनमा होला ।
ती भावना शिथिल बनाउनकै लागि अहिले भारत आएर अहिंसा र शान्ति विषयको अध्ययनलाई निरन्तरता दिइरहेको छु । यही क्रममा तपाईबारे आएका समाचार पढेँ । त्यसबाट उत्पन्न विचार दबाउन नसकेर यो पत्र लेखिरहेछु । सँगसँगै क्षमा चाहन्छु– तपाईंले भोगिरहेको मानसिक यातनामा यो पत्र नुनचुक नबनोस् ।
यी सबै घटनामा अभिभावक (विष्णु अंकल) कसरी जोडिनुभयो भन्ने तपाईंलाई पक्कै राम्रो जानकारी छ । तर पनि बोल्न सक्ने अवस्था छैन । त्यो पनि बुझ्दै छु । मुख खोल्नु आफ्नै परिवारविरुद्ध हुन्छ । नखोल्नु भित्रभित्रै मन पोलिरहन्छ । मानिस स्वतन्त्रता चाहन्छ, पहिचान पनि । पहिचानमा लागेको कलंक सबैभन्दा ठूलो घाउ बन्छ । यति बेला तपाईंलाई त्यही घाउ लागेको छ । अभिव्यक्त गर्न नसक्ने सुषुप्त पीडामा हुनुहुन्छ तपाईं । म पनि मलाई धर्मसन्तान बनाएर पाल्ने अभिभावकको यस्तै व्यवहारको पीडा अहिलेसम्म भोगिरहेको छु ।
निर्दाेष छँदाछँदै दोषी करार हुँदाको पीडा भोग्नेलाई मात्र थाह हुन्छ । हिजो मात्र दिल्लीमा ‘पहला सत्याग्रही’ नाटक हेर्दा गान्धी बनेका पात्रले यस्तै भावना अभिव्यक्त गरिरहेका थिए । त्यति बेला मैले आफूसँगै तपाईंलाई पनि स्मरण गरिरहेँ । भलै गान्धी, तपाईं र मेरा बीचको अन्याय फरक छ । प्रताडना त उस्तै हो । तपाईंसँग भेटको अवसर जु¥यो र सुन्न इच्छुक हुनुभयो भने सबै कुरा पक्कै अभिव्यक्त गर्नेछु ।
विक्षिप्तताले चहराइरहेका बेला यो लेखले तपाईंलाई फेरि पीडानुभूति गराउन सक्छ । तर आफूमा उत्पन्न भावना व्यक्त गर्दा तपाईं र मेरो पुस्ताका लागि पक्कै न्याय हुनेछ । किनकि समाज भ्रष्टाचारले थिलथिलिएको छ । यति बेला तपाईं भ्रष्टाचार प्रकरणमा जोडिएर प्रताडित हुनुहुन्छ । त्यसको कुनै उपचार छैन । जबसम्म तपाईंले न्यायोचित सफाइ पेस गर्नुहुन्न ।
त्यसैले फेरि पनि भन्न चाहन्छु– तपाईंको परिवार बुटवल हुँदै काठमाडौं आइपुग्दासम्मको अवस्थाबारे धेरथोर जानकार छु ।
तपाईं अहिले पनि भद्र र सरल हुनुहन्छ । पद, प्रतिष्ठा र शक्तिमा हुँदा पनि सधैं एकनास रहने तपाईंको परिवारमा कसरी यस्तो भयो ? अरूका अभिभावक सत्तामा हुँदा सन्तानको लापरबाही र जिद्दीले विवाद उत्पन्न हुन्छ । कैयौं त्यस्ता उदाहरण हाम्रै देशमा छन् । त्यसतर्फ पनि नजाऔं । तपाईं सरल, इमानदार र कर्मशील हुँदाहुँदै अभिभावकको अनावश्यक चिन्ताका कारण यो अफबाहमा फस्नुभयो भन्ने मैले अनुभूत गरिरहेको छु ।
स्याङ्जाको सुन्तला घरबारी बेच्दा होस् वा बुटवलको घर, तपाईंको सहमति थिएन । बडो दुःखी अवस्थामा स्याङ्जाको पैत्रिक सम्पत्ति बेचिएको थियो भन्नेसम्म जानकार छु । तर आज यस्तो अप्रत्याशित परिणाम आयो । किन त ? तपाईंको परिवारमा राजनीतिक चेतना र संस्कार अभ्यास गरियो । तर सत्यमा आधारित नैतिक शिक्षाको अभ्यास भएन । त्यसको जवाफ पक्कै स्वयं तपाईं र तपाईंको परिवारसँग छ ।
अब भनिरहन नपर्ला, तपाईंलाई मैले कति नजिकबाट चिनिरहेछु ।
अझै अर्काे कुरा भनूँ । तपाईंकी श्रीमती परराष्ट्र–सेवामा कार्यरत हुनुहुन्छ । परराष्ट्रको अधिकृतमा नाम निकाल्नु उहाँको आफ्नै क्षमता हो । विष्णु पौडेलकी बुहारी भएर होइन । त्यो क्षमताका पछाडि तपाईंको साथ र सहयोग पक्कै छ । तर एउटा करियरमा रहेको मानिसका लागि श्रीमान्को नाम जोडेर मिडियामा आउनु पक्कै राम्रो हैन ।
उहाँको क्षमता र अवसरले तपाईंका लागि विदेश बसाइका अवसर पनि जुरे । अस्ट्रेलिया पोस्टिङ हुँदा गएर बस्नु पनि भयो । भविष्यलाई पनि यस्ता अवसर छँदै छन् । तपाईंमा कुनै तामझाम र घमन्ड छैन । तर पिता (कामरेड विष्णु पौडेल) को असावधानीका कारण यति बेला अनावश्यक विवादमा तानिनुभएको छ । भविष्यमा त्यसको मूल्य अझै महँगो साबित हुन सक्छ ।
तपाईं राजनीतिबाट दूर हुनुहुन्छ तर पनि यो अनावश्यक विवादको भुमरीमा पारिनुभयो । परिवारको सहमति र आवश्यकता बोध गर्ने पार्टीका अमृत बोहरा र बुटवलका पुराना कम्युनिस्ट देवेन्द्र घिमिरेको परिवारलाई म यति बेला स्मरण गरिरहेको छु । किनकि त्यही पार्टीमा भए पनि उहाँहरूले निर्वाह गरेको भूमिका र आर्जन गरेको सम्पत्ति मैले नजिकबाट नियाल्दै आएको छु ।
तपाईंको परिवारमा तपाईं एक मात्रै सुपुत्र हो । एक बहिनी हुनुहुन्छ । उहाँको विवाह सम्पन्न परिवारमा भएको छ । त्यसैले अहिलेको अवस्थामा तपाईंलाई श्रीमतीको डिप्लोम्याट करियरको जागिर, आफैंले गर्न सक्ने व्यवस्थापन क्षेत्रको रोजगारी र भैंसेपाटीमा रहेको घर पर्याप्त छ । बालुवाटारको जग्गाको कुनै आवश्यकता थिएन । थारू समुदायले भन्ने गरेजस्तो ‘भुताहा धन’ले तपाईंको परिवारमा क्षतिसिवाय केही गराउँदैन ।
नवीनजी,
त्यसैले यो राजनीति कहाँबाट कसरी परिचालित छ, मुख खोलिदिनुस् । आफ्नो नाममा लागेको कलंकबाट प्रायश्चित् गर्ने आँट गर्नुस् । त्यसले तपाईंलाई एकै क्षणका लागि सन्ताप भए पनि भविष्यमा शान्ति मिल्नेछ । समाजका लागि भ्रष्टाचारविरुद्धको विद्रोह हुनेछ । तपाईंसँग मजस्ता नजिकबाट भ्रष्टाचार देखेका युवा आउनेछौं । त्यसले देशविकासमा नयाँ आयाम थप्नेछ । प्रधानमन्त्रीले पनि पक्कै तपाईंको अभियानमा साथ दिनुहुनेछ । उहाँले पटकपटक भन्नु पनि भएको छ– ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ तपाईंका नाममा सम्पत्तिको स्रोतविना किनिएको जग्गा भ्रष्टाचार हो । त्यसैले तपाईं पिता अर्थात् महासचिवका पक्षमा नभएर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका पक्षमा उभिन सक्नु स्वाभिमान हो । कहिलेकाहीँ विद्रोह नचाहेर पनि गर्नुपर्दाे रहेछ । हिरण्यकसिपुले सत्य व्रतधारी पुत्र प्रह्लादको पदमार्ग अनुसरण नगर्दा कसरी अहमता चुर हुन पुगेको थियो ? म तपाईंलाई यहाँ यही पौराणिक कथा सम्झाउन चाहन्छु ।
नवीनजी, असत्यका विरुद्ध विद्रोह क्रान्ति नभएर सामाजिक प्रतिष्ठा हो । आफ्ना विरुद्ध भएको अन्यायबाट सफाइ खोज्नुहोस् । पक्कै शान्ति मिल्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपाका महासचिव पौडेल नै भूमाफियाबाट ठगिएको स्पष्टीकरण दिएर उहाँ र पार्टीलाई बचाउन खोज्दै हुनुहुन्छ । तर तपाईंलाई बचाइरहनुभएको छैन । बेलैमा नपखाले यो कलंक जीवनकालसम्म रहिरहनेछ । तपाईं निहुरिएको स्वाभिमानमा जिउनुपर्नेछ । त्यसैले मेरो सुझाव छ– शिर ठाडो बनाएर जिउने प्रयत्न गर्नुस् ।

सञ्जय पन्थी, कपिलवस्तु
(हाल: भारत)

प्रतिक्रिया दिनुहोस्