१५ चैत्र २०८०, बिहीबार

 

बागलुङमा टेलिकमको ‘फाइबर टु दि होम’ सेवा

नेपाल टेलिकमले बागलुङबासीलाई गुणस्तरीय र द्रुत गतिको इन्टरनेट तथा फोन सेवा पुर्‍याउने उद्देश्यले ‘फाइबर टु दी होम’ सुरु गरेको छ।
यो सेवाअन्तर्गत हाल प्रयोग भइरहेको पुरानो कपर प्रविधि (तामाका तार) हटाई पूर्णतः फाइबर तारको प्रयोग गरिने नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले नयाँ विश्वलाई बताए ।

“अहिले नयाँ सेवाग्राहीको घरमा फाइबर सेवा सुरु भइसकेको छ। हिजो मात्र १० जनाले फाइबर सेवा जडान गर्नुभएको छ। अब सम्पूर्ण पुराना सेवाग्राहीमाझ फाइबर सेवा पुर्‍याउँदै पुरानो कपर प्रविधिलाई पूर्णत हटाउने गरी अगाडि बढ्दै छौं” उनले भने ।

पुरानो प्रविधिको कपर (तामाको तार)को प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति कम हुनेलगायतका समस्याको अब अन्त्य हुने शर्माको भनाइ छ ।

कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्नेछ ।

हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा ५ एमबिपिएस गतिसम्म मात्र चल्न सक्ने भएकोमा नयाँ फाइबर प्रविधिको जडान पछि सेवाग्राहीले आफुलाई आवश्यक प्याकेजअनुसार आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिको इन्टरनेट सेवा लिन सक्नेछन् ।

फाइबर जडानपछि पुरानो प्रविधिमा प्रयोग भइरहेका आठ वटा तार विस्थापित भई एउटा मात्र तार प्रयोग हुनेछ । अनावश्यक तारहरु हटाउँदा बजारपनि सुन्दर देखिने शर्माले दावी गरे। फाइबर सेवाका लागि आवश्यक नयाँ डिभाइस पनि टेलिकमले नै उपलब्ध गराउने शर्माले बताए।

टेलिकमअन्तर्गत बागलुङमा करिब २४ सय सक्रीय पुराना सेवाग्राही रहेकोमा ६ सयको घरमा फाइबर तार र डिभाइस पुर्‍याइसकिएको शर्माले बताए। सम्पूर्ण पुराना सेवाग्राहीलाई फाइबर सेवामा जोड्न आवश्यक योजनाका साथ सम्वन्य गर्दै अगाडी बढिएको र त्यसका लागि केही समय लाग्ने टेलिकमले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्