२ जेष्ठ २०८१, बुधबार

 

गाडी नम्बर ८०८५ !

- --मीनराज बसन्त

पुसको अन्तिम साता, निकै जाडो बढेको थियो चितवनमा । घामका पैताला कहाँ छन्, बाक्लो हुस्सुका कारण छेकिन्थ्यो । यत्रतत्र कुहिरोको सेतो गलैँचा बिछ्याइएझैं लाग्थ्यो हेर्दामा ।

   चितवनबाट बाग्लुङ पुग्नु पनि यही समयमा पर्यो आफुँलाई । म हतार हतार रात्री बसको टिकट काट्न दिउँसै पुलचोक पुगिभ्याएँ ।

-‘दाइ बाग्लुङको लागि एउटा टिकट छ ?’ एक यात्रुको स्वाभाविक प्रश्न थियो काउण्टरवालाई । Meenraj Basant

-‘छैन । बस पुरै प्याक छ’ उताबाट जवाफको छिर्केनी आयो ।
-‘यस्सो मिलाउन मिल्दैन दाइ’ आशा बोकेका एकजोर आँखा फ्यालेर सोधें फेरि ।
-‘मिल्दैन । गल्लीको समेत टिकट काटिसकिएको छ’ उसको रुखो बोली सुने लगत्तै तोलाको वचन खोलामा मिल्काए जस्तै भयो मलाई । अझ गल्लीको पनि टिकट काटेको कुरा सुन्दा आश्चर्य लागिरह्यो ।

   टिकट काट्नेहरू आ-आफ्नो सिटमा बस्न भ्याए । एकएक झुन्ड मिलेर कच्याङ्गकुचुङ्ग गन्थन गरिरहेका थिए । कति यात्रुलाई एउटा सिटको लागि डबल टिकट काटिएको भेटियो । यात्राको अधिकारीका आँखा लाललाल बन्थे । आक्रोश मिश्रित शब्दावली उसका मुखबाट तप्किन बेर लाग्दैनथ्यो । यही बीचमा कन्डक्टर आउँथ्यो र कसोकसो मिलाईछाड्थ्यो । तर यात्रुमाथी गरिने यस्तो लापरबाही कुनै जघन्य अपराध भन्दा कम थिएन ।

  यात्रु बोक्ने बस । बसमा मान्छे कोचाकोच भरिएकै थिए । सिट बाहेक गल्ली पनि खाली थिएन । बोराका बोरा सामान थियो । सामानमाथी फाल्तु यात्रु अस्तब्यस्त तरिकाले बसिरहेका थिए । हुटमा उस्तै सामान खाँदिएको देखिन्थ्यो । गाडी फुल्ली लोडेड थियो ।

   मेरा लागि बसमा सिट त थिएन नै, बाग्लुङ पुग्ने दोस्रो बस पनि थिएन । र आजै नगैकन पनि भएको थिएन मलाई । बस छुट्ने बेलासम्म त धेरै विकल्पका कुराहरू सोचिरहें । तर कुनै विकल्प मानसपटलमा ओर्लिएनन् । अन्ततः छुट्न आँटेको बसमा भारी मन बनाउँदै उक्लिएँ । म बसमा उक्लिनु र बस  गुड्नु एकैपटक जस्तो भयो । सायद, यसैलाई भनिँदो हो साईत ।

   बसको गल्लीमा बोरा तेर्स्याईएका थिए । केही लत्ताकपडाका । केही अन्य खत्राकखुत्रुक सामानका । पछाडीपट्टी तिनै बोरामध्यको एक बोरामाथी टुस्स पुठ्ठो टेकाएँ । मेरो अगाडि एक चम्किली महिला थिईन् । उनको सामुन्ने कुनै लोग्ने मान्छे थियो । र उसको अघिपनि अन्य थुप्रै यात्रुहरु बेवारिसे थिए, सिटबिनाकै ।

   जाडोले काखी च्याप्दै थियो । चिसो शरीर तताउन बसभित्र तात्ताता लोकगीत घन्किरहेका थिए । अझैपनि सिट नमिलेका कारण यात्रुहरू कन्डक्टरसँग असन्तुष्टि पोख्दै गरेका देखिन्थे । पुलचोकबाट छुटेको बस, नारायण बस टर्मिनल (पोखरा बसपार्क ) आईपुगेर रोकियो ।

    नव बिबाहिताझैं लाग्ने एक सुन्दर जोडी त्यहाँबाट बसभित्र उक्लिए । उक्लिनसक्दै उनीहरूले प्रयोग गरेको कडा पर्फ्युमको गन्ध दौडेर पछाडीतर्फ आइपुगिसकेको थियो । आँखाले उनीहरूका यावत् क्रियाकलाप ठम्याउन नपाएपनि नाकले गन्धद्वारा नै ठम्याइसकेको थियो ।

      बस खचाखच हुँदाहुँदै पनि गुन्द्रुक खाँदे जसरी मान्छे खाँद्न कन्डक्टरले बिर्सिएको थिएन । उल्टै ‘ब्ल्याकमा तेल हानिएको छ’ भन्दै मनपरी गर्थ्यो । जे होस्, कमाउने मौका यही थियो । यसमा कसैको हस्तक्षेप स्वीकार थिएन उनीहरूलाई ।
******

   बसको ए साइडतर्फको नौ र दस नम्बर सिटमा अर्का एक जोडीको आसन जमेको थियो । फरक यत्ति होकि, अहिले भर्खरै बसमा उक्लिएको जोडी आलोकाँचो जस्तो देखिन्थ्यो । तर पहिलेदेखी बसिराखेको चैं परिपक्व जोडी लाग्थ्यो । जुन परिपक्वता उनीहरुबीचको उमेरले छुट्याउँथ्यो । बैंसले छुट्याउँथ्यो ।

    बेग्लै छाँटकाँटका साथ नयाँ जोडीहरू सरासर पछाडितर्फ आइपुगे । अलि पछाडि आइपुगेको भए मैसँग ठोक्किँदा हुन् बिचराहरू !

-‘यो हाम्रो सिट हो । उठ्दिनुपर्यो तपाईँहरू’ नयाँ जोडीमध्यको भाले चाहीँले बसिरहेका वृद्ध जोडीलाई अह्रायो ।

-‘अँ, सिट छोड्दिनोस्’ पोथी चाहीँले थप उर्दी जाहेर गर्न भ्याइ ।

-‘यो सिट त हाम्रो होनि बाबु’ परिपक्व जोडीको एकैस्वर सुनियो । तर नयाँ जोडीले यो स्वर सुन्न चाहेनन् ।

-‘तपाईंको टिकट छ त ?’ बरू उल्टै प्रश्नको चोर औँला उठाए शिक्षित जस्ता लाग्ने उनीहरूले । यो प्रश्नले वृद्ध जोडीलाई तिर हानेजस्तै बनायो । उनीहरू रन्थनिए ।

  -‘म बिरामी छु । हामीलाई त टिकट काट्नु पर्दैन । गएर बस्नोस् भनेका हुन्’ दस नम्बर सिटमा बसिरहेका बुढा बाको टिकट प्रकरणमा स्पष्टीकरण थियो ।

-‘…तर हामीले त यसको टिकट काटेका छौं’ काँचो मान्छेले एकोहोरो खिया लागेको तर्क राखिरह्यो । ऊ भनिरहेकै थियो- ‘यो सिट हाम्रो हो । उठ्नोस् । अन्तै बस्नोस्’ उसलाई बोलेर साथ दिने उसैकी बुढी थिई ।

एकातिर बसभित्र लोकगीतको गुन्जन छ । अर्कोतिर मान्छेहरूको आ-आफ्नै समूहको आवाज प्रसारण भैराखेकै छ । बसका चिसा झ्यालहरूबाट बाहिरको सुईँय्य.. आवाज पनि कताकता कानमा ठोक्किन आइपुगेको छ । तथापि दुई जोडीबीच भैरहेको संवादले सबैजसोको ध्यान चुम्बकीय शैलीमा खिचिनै रह्यो ।

-‘ल, आउनोस् । तपाइँको सिट, तपाईं नै बस्नोस्’ बुढा बा पिलपिल आँसु खसाल्दै सिटबाट उठ्न कस्सिए । उनको आडमा बसेकी उनकी श्रीमती पछ्यौराको छेउले आँखाको पिढीँमा पोतो लगाउन सुरु गरिन् । र उठ्न कस्सिएका आफ्ना बुढालाई हातको टेको लगाईदिईन् ।

  नयाँ जोडीको चेहरामा एकाएक चमक भरियो । सिट नपाउने पीरमा डुबेका दम्पतीलाई यो भन्दा ठूलो खुसी हुनुपर्ने अर्को कारण थिएन तत्कालका लागि । तर उनीहरूमा मानवता र मानवीय संवेदना नभएको जोकसैले अनुमान गर्न सक्थ्यो ।

     धेरैपटक उठ्न प्रयास गरेपनि बुढा बा उठ्न सकेनन् । उठि नसक्दै पुनः सिटमै थचक्क बसिहाल्थे । यता भोको सिंहले आहारा ढुकेझैं सिट ढुकिरहेका काँचो जोडीको मन कक्रिँदै आइरहेको थियो, यसमा शंका थिएन ।

     एकहातले सिट पक्रे । अर्को हात बुढीको हातमा दिँदै बल्लतल्ल सिट छाडेर बुढा बाहिरिए । अनि मात्रै थाहा भो- बुढाका दुबै गोडा भाँचिएका रहेछन् । आँखै अगाडिको यस्तो करुण दृश्य देखेर सप्पैले जिभ्रो टोके ।

-‘एक सिटमा तपाईंँ बस्नोस् सर । अर्कोमा अपांग बालाई बस्न दिनु । बरु आमा उठिदिनुहुन्छ’ ठीक मेरो अगाडी बसेकी दिदीले नम्र आग्रह गरिन् ।

‘जायज कुरा गर्यौ दिदी’ मेरो मनले भन्यो ।

-‘अँ, म कतै मेडमलाई उभ्याएर सिटमा एक्लै बसुम्ला नि’ उसले स्वास्नी मोह देखाईहाल्यो । तर नैतिकता बिर्सियो ।
*****

     बि साईडको तेह्र नम्बर सिटमा एकजना आधा उमेर पाकेको पुरुष थियो । आडैमा एउटी स्वास्नीमान्छे पनि थिई । सायद उसकी स्वास्नी नै होली । र त घरी झ्यालतिर सार्थ्यो उसलाई, घरि गल्लीतिर सार्थ्यो। कतिखेर आफ्नो काखमा उसलाई सुताउँछ । कतिखेर पछ्यौराले खर्लप्प ढाकिदिन्छ । जेहोस्, एक न एकथोक गरिरहन्छ ऊ ।

   बिस्तारै उसँग मेरो परिचय भयो । साउदी बसेको हुनाले आँफुलाई बादशाह नै ठान्दो रहेछ उसले । देशका कुरा कोट्याउन थाल्यो । ‘हाम्रो साउदीमा यस्तो, हाम्रो साउदीमा उस्तो । बिजुलीबत्ति जाँदैन । ग्याँस सर्टेज हुँदैन’ खालका कुरा सुनाउँदै गयो । म सुन्दै गएँ । तर अन्तिममा मैले उसँग अरबीमा कुरा गर्न थालेँ । त्यसपछि बल्ल लाईनमा आयो मान्छे ।

   उसैले भनेर थाहा भो- ‘उसको बाहेक अघिल्लो सिटमा पनि उसकै बच्चाबच्ची रहेछन् । साना ठूला सबैको एकदरमा टिकट काटेको रे ।

    देख्दा सफा सुघ्घरी, शिक्षित, युवा भनाउँदो नयाँ जोडीमध्यको नायकको पाषाणी हृदय पग्लिएन । उसले ज्यान जाला सिट छोडेन । तर लाज पचाएर भनिहाल्यो- ‘म त्यति कठोर मन भएको मान्छे त होइन । यात्रा लामो भएकाले उभिएरै जान नसक्ने भएर मात्रै हो’ उसका यस्ता कृतिम कुरा सुनेर सिटमा बसिरहेका साना नानीहरू समेत एकलट हाँसे । पुर्लुक्क उसकै अनुहार हेरेर ।

  ‘थुइक्क साला’ उक्त मान्छेलाई घृणा गर्दै अन्तिम सिटतिरबाट मन्द स्वर सुनियो । मन्द स्वरको श्रवणोपरान्त पनि मेरो स्वर बन्द नै थियो ।

   यता देश छाडेर साउदी पुगेको मान्छे छुट्टीमा घर आएको थियो । परिवारसँग भेटघाट गर्न आफ्नो परिवार लिएर बाग्लुङ जाँदै रहेछ । बसमा सिट नपाइने, साना नानीहरूलाई बस्न असहज हुने भएकै कारणले साना-ठूला सबैको फुल टिकट लिएको थियो । तर उसैका मनमा सबैभन्दा बढी दया पलायो । र एउटा सिट अपांग बालाई दिने भयो ।

बुढा बाको हविगत देखेर चुकचुकाउने तर सिट नछाड्नेलाई सिट पाउने कुरा सुन्दा ‘राम्रो भो ! राम्रो भो !!’ भन्दै परर ताली पिटे । म गल्लीमा अफ्ठेरोसँग बसिरहेकोलाई समेत बल्ल सजिलो लाग्न थाल्यो ।

    नयाँ जोडीको ओठमा मन्द मुस्कानका बासन्तिक पालुवाहरू पल्लवित हुन थाले । बाको उमेरका अपांग/अशक्त बालाई उठाएर चल्ता पुर्जा युवा हाँस्दै सिटमा बसिरहेको सुहाइरहेको थिएन उसलाई । बरु उसले अपांग बालाई नउठाइकन आफ्नी श्रीमतीलाई बसाएको भए साँच्चिकै उसको महानता झल्किन्थ्यो । थाहा छैन, उसका आफ्नै बा यो दुरावस्थाको साक्षी भैदिएको भए के गर्दो हो उसले ।

‘अहिले मेरो काम देख्नुभो भने सप्पैजना छक्क पर्नुहुनेछ’ उसले  सिटमा बस्दै गर्दा भनेको थियो । उसोभए यसले त्यस्तो के चाहिँ त्यस्तो काम गर्ला त बसभित्रै । जसले गर्दा हामी पर्छौं रे, एकपटक सबैको मन उथलपुथल भयो ।

    अरबी लाहुरेकी सानी छोरी आफ्नो बाबाको आग्रह मान्दै सिट छाडिदिइ अपांग बा’का लागि । बुढा बाका आँखाबाट यसपटक झन थेगिनसक्नु आँसु उर्लिए । एउटी सानी नातिनी उमेरकि नानीले आँफुमाथी देखाएको असीम करुणाको गहिराई सम्झिएर पनि बा’को मुहारमा भावुकता भरियो । उनी रुँदै नानीले छाडिदिएको सिटमा अटाए । तर नानी यही नयाँ जोडीको बीचमा च्यापिएर बस्न बाध्य भइ ।

   बसमा चर्को गरेर लोकगीत बजिरहेपछी केही यात्रु ‘डिस्टर्ब भो’ भन्दै कराउन थाले । ड्राइभरले आफ्नो साइडको स्पिकर बाहेक अन्य सबै स्पिकर बन्द गरिदियो । फेरि ‘लाइटले आँखा दुखे’ भन्ने गनगन सुनिन थाल्यो । कन्डक्टर आँफैले पछाडिका सप्पै लाइट बन्द गर्यो । तर नयाँ जोडीमध्यको नायकले बीचको लाइट बन्द गर्न दिएन । जसका कारण  हामी अहिले नै दंग परिसकेका थियौं ।

   उसले कालो झोलाबाट केही थान कपीहरू निकाल्यो । झ्यालपट्टि राखेको थियो श्रीमतीलाई । रातो कलम दायाँ हातका तीन औँलाले पक्रियो । अनि भटाभट कपीमा ठिक र गलत छुट्याउने प्रकृतिका चिन्ह लगाउँदै गयो । नम्बर राख्दै जान थाल्यो । सिटमा, गल्लीमा बसेका सबैले आश्चर्यपूर्वक उसलाई नै हेरिरहे ।

   -‘छ् या यस्तो पनि शिक्षक रैछ ।’
-‘आँफैसग नैतिकता नभएकाले के पाठ पठाउँदो हो बिद्यार्थीलाई ?’
-‘अपांग बा’का आँसुले यसलाई अवश्य पोल्नेछ ।’

नायकको असान्दर्भिक क्रिया देखेपछि मान्छेपिच्छेका फरक फरक टिप्पणी सुनें मैले । त्यहीबेला बाक्लो भीड छिचोलेर कन्डक्टर भाडा उठाउन आइपुग्यो ।

   -‘ल तपाईंको भाडा पाम् त’ दस नम्बर सिटमा बसिरहेका जोडीलाई आदेश दिइदियो कन्डक्टरले ।

    -‘भाडा कति हो र ?’ युवकले उत्सुकता देखायो ।

    -‘दुई जनाको बाह्रसय रुपैयाँ’ कन्डक्टरको जवाफ थियो ।

    यति सुनी नसक्दै मान्छेहरू सप्पैले जिभ्रो निकालेर दाँतले त्यसको टुप्पोमा टोके किटिक्क । आँखाहरुमा एकाएक विस्मात भरियो । मान्छेको शारीरिक बनोट र चेपारे बोलीले उसको आन्तरिक मामिलामाथी कैँची चलाउन नसकिने रहेछ, यही बुझेँ मैले । सायद सप्पैले ।

  पाँच पाँच सयका दुइटा र एकएक सयका दुइटा गरि जम्मा बाह्रसय रुपैयाँँ कन्डक्टरको हातमा बिना हिचकिचाए दम्पतीले । ‘ज्या ! त्यसले त टिकट नै काटेको रहेनछ । बिचरा ! बसिरहेका अपांग बालाई उठायो । दु:ख दियो । त्यस्तो पनि अझ शिक्षक रे’ सास मात्रैले कुरा काट्न थाले । म साँघुरो गल्लीमै बसेर चुपचाप सुनिरहें ।

   खाटी कुरा बल्ल पत्ता लाग्यो-
कन्डक्टर उक्त मान्छेको घनिष्ठ साथी रहेछ । अपांग दम्पतीलाई
‘बिरामी मान्छेलाई टिकट-सिकट चाँहिदैन । गएर बस्नोस्’ भनि अह्राएका रहेछन् काउण्टरबाट । सोझा बुढाबुढीले उसै गरेछन् । तर पछि टिकट ब्ल्याकमा बिक्री गरिएछ । जुन सिट नयाँ दम्पतीको नाममा दर्ता भएर आयो ।
सप्पै चुकचुकाउन थाले ।

बसभित्र जेजस्ता गतिविधि भएपनि बसको गति रोकिएको थिएन ।

      रात सन्नाटामा कोल्टे फेर्दै थियो । बस कुदि पनि रहेको थियो एक्लै ।  बेला मौकामा पछाडीबाट आएका बसले उछिनेर जान्थे हामीलाई । सामुन्नेबाट आएकाहरू आफ्नो रूटमा आँफै तर्केर हुइँकिन्थे ।  बाहिर खासै उज्यालाहरू लगातारसम्म देखिँदैनथे । सडकको दायाँ बायाँ एकमुठ्ठी उज्यालो पोखिएको खण्डमा भने दौडिरहेका ताराजस्ता मिर्लिक मिर्लिक देख्न पाउँथे आँखाले ।

    ड्राइभरपट्टि गीतहरूको मलिन आवाज आउन कहाँ छाडेको थियो र ! गीत नबजाए निद्रा लाग्छ भनेरपनि बजाउँदा रहेछन् । मलाई जायज नै लाग्यो यो कुरा ।

    घडीमा बिहानिपखको ठीक तीन बज्यो । बस पनि बाग्लुङ पुग्यो । योसँगै मेरो एउटा यात्रामा पूर्णविराम लाग्यो । बसको साँघुरो गल्लीबाट उन्मुक्त भएर म फराकिलो महहुस गरेँ ।

बसबाट झरे लगत्तै बसको पछाडीपट्टि गएर हेरेँ । जहाँ लेखिएको थियो—
ना ४ ख, ८०८५

प्रतिक्रिया दिनुहोस्