नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचन वहिष्कार गर्नका लागि विभिन्न चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार उसले सामना सांस्कृतिक परिवारको साथमा जिल्लाभरी राष्ट्रिय जागरण तथा प्रतिरोध अभियान सुरु गर्ने भएको छ ।
पार्टीले चैत ३० गते तमान, वैशाख १ गते बुंगादोभानमा, २ गते बुर्तिवाङ बजार, ३ गते खरबाङ बजार, ४ गते गल्कोट हटिया, ५ गते बागलुङ बजार र ६ गते वलेवामा चुनाव विरोधी सभा गर्दैछ । उक्त कार्यक्रममै सामना परिवारको सांस्कृतिक प्रस्तुति रहने जानकारी नेकपाका बागलुङका इन्चार्ज विकिरणले जनाएका छन् । उनका अनुसार १० गते म्याग्दी सदरमुकाम बेनीमा धौलागिरी स्तरीय प्रतिरोध सभालाई पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै ११ गते बागलुङ् बजारमा समसामयिक विषयमा अन्तक्र्रिया र १७ गते कविता गोष्ठी गर्ने कार्यक्रम पनि रहेको छ ।
विकरणका अनुसार पहिलो चरणमा प्रचारात्मक वाल पेन्टिङ्, पोष्टर टाँस्ने, गाउँ कमिटी बैठक गर्ने कामहरु भइरहेका छन् ।













































































































































































































