१८ बैशाख २०८१, मंगलवार

 

देशभर वर्षा, शनिबारसम्मै रहने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार देशभर मौसममा बदलीसँगै अधिकांश स्थानमा वर्षा भइरहेको छ । शनिबारदेखि मौसममा सुधार आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङमा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगन्जमा १०, डडेल्धुरामा ८, धनगढी र दिपायलमा समान ७ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम १४ दशमलव ९ डिग्री छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनीयुक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्