३१ बैशाख २०८१, सोमबार

 

आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती

यहाँका एक कृषकले आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन । जिल्लाको बानपा ४ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रबिधिको प्रयोग गरेर तरकारी खेती गर्न थालेका छन । परम्परागत तरिकाले खेती गर्दै आएका सापकोटाले ३ बर्षअघिबाट नयाँ प्रबिधि अपनाएका हुन ।
२० लाख लगानी
उनको कृषि फार्मलाई व्यवस्थित र आधुनिकीकरण गर्न बीस लाख रुपैँया लगानी भएको छ । जसमध्ये व्यवसायीक कृषि तथा बजार आयोजना (प्याक्ट)ले दश लाख रुपैया अनुदान उपलब्ध गराएको छ । बढीमा पाँच लाख रुपैया लगानीमा तयार हुने एउटा हाईटेक टनेलभित्र पाँच वर्षसम्म खेती गर्न सकिने सापकोटाले बताउनुभयो ।
५ हाईटेक टनेल
रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादनमा बृद्धि र लागत घटाउन ‘हाईटेक टनेल’ भित्र उनले तरकारी खेती गरेका हुन । २५ वर्षदेखि तरकारी खेती गरेर जिविकोपार्जन गर्दै आएका ४३ बर्षिय सापकोटाले सञ्चालन गरेको कालीगण्डकी कृषि फार्ममा ५ वटा ठूला टनेल (प्लाष्टिक घर) रहेका छन् । एक तले घर भन्दा अग्लो र डेढ रोपनी क्षेत्रफलसम्म फैलिएको प्लाष्टिकका हाईटेक टनेलमा किरा छिर्न नमिल्ने मसिनो जालीले बेरिएको छ । टनेलभित्र गोलभेडा, खुर्सानी, घिरौला, बोडी, गाजर लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ ।
लहरेबालीका लागि स्थायी प्रकृतीको झाल बनाइएको टनेलभित्र लगाइएको प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिचाई गर्ने व्यवस्था मिलाइएको छ । टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी मूल्य पार्न सकिनुका साथै रोग कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र श्रमशक्तिको बचत हुने सापकोटाको भनाई छ ।
खुल्ला ठाउँको तुलनामा दोव्वर आम्दानी
सापकोटाले गाईभैसीको गहुँत संकलन गरेर बिषादीको रुपमा प्रयोग गर्ने गर्दछन । खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनको भनाई छ ।
बार्षिक ८ लाख आम्दानी
घरपरिवारका सदस्य बाहेक एक जनालाई नियमित र चार जनालाई आंशिक रोजगारी दिएका सापकोटाले व्यक्तिगत ६ रोपनी र बार्षिक बिस हजार भाडा तिर्नेगरी भाडामा लिएको थप दुई रोपनी जमिनमा तरकारी खेती गरेका छन । उनले तरकारी खेतीबाट बार्षिक आठ लाख रुपैया आम्दानी हुने बताए ।
थप तीन वटा टनेल बनाउने तयारी गरेका सापकोटाले उत्पादन गरेको तरकारी मुस्ताङ निकासी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्