बागलुङ । कार्यालयमा आएको एक हप्ता नहुँदै सरुवा भएका निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पुन पालिकामा काम गर्न मन्त्रालयले पत्राचारगरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरलाई पालिकामा आएको एक हप्ता नहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तरगतमा सरुवा भन्दै सरुवा भएपछि चर्को विरोध भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार पत्राचार गर्दै निसीखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतकै रुपमा काम गर्न पत्राचार गरेको हो ।
मन्त्रालयले पत्राचार गर्दै मगरलाई मिति २०८१ र ०१ र ३१ को निर्णयानुसार भन्दै साबिककै निकायमा प्रमुख प्रशासकीय अधिकृतमा यथावत कायम गरिएको पत्रमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृतको एक हप्तामा सरुवा गरेको भन्दै पालिकामा चर्को विरोध भएको थियो । विरोध पश्चात गाउँपालिका अध्यक्ष सूर्य घर्ति मगरले पुनलाई निसीखोलामै काम गर्ने वातावरण गराईदिन भन्दै पत्रचार गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा निसीखोला गाउँपालिकामा हाजिर भएका जीवन पुनको ६ दिनमै सरुवा गरेको पत्र आएपछि नेकपा एमाले निसीखोलाले कार्यालयमा तालाबन्दी समेत गरेको थियो ।
वैशाख १२ गते प्रमुख प्रशासकीय अधकिृतको रुपमा निसीखोला गाउँपालिकामा हाजिर भएका मगरलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा गरिएको पत्र पठाएको थियो ।













































































































































































































