३ श्रावण २०८३, आईतवार

 

जिल्ला प्रहरी कार्यालय बागलुङको असार सम्मको प्रगति : ३४ मुद्दा दर्ता, १४ प्रतिवादी पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले असार महिनामा सम्पादन गरेका सुरक्षा, अपराध नियन्त्रण तथा समुदाय–केन्द्रित गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार असार महिनाभर ३४ वटा मुद्दा दर्ता भएका छन् भने १४ जना प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार जघन्य तथा गम्भीर अपराधका २, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ६, आर्थिक अपराधका २६ गरी कुल ३४ वटा मुद्दा दर्ता भएका हुन्। साथै फैसला कार्यान्वयनतर्फ ७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये २ वर्ष ८ महिना २९ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने रु. १० हजार जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी असार महिनामा ५ जना हराएका व्यक्ति (३ महिला र २ पुरुष) मध्ये १ जना फेला परेका छन्। त्यस्तै प्रहरीमा प्रत्यक्ष रूपमा ६५ वटा उजुरी दर्ता भएकोमा सबै उजुरी फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ७६० ग्राम गाँजाको धुलो बरामद गरिएको तथा १ जना पक्राउ परेका छन्। आत्महत्याका ९ वटा घटना दर्ता भएका छन्, जसमा ५ महिला र ४ पुरुष रहेका छन्। साथै  प्रहरीले असार महिनामा जबरजस्ती करणी, हाडनाता करणी तथा विद्युतीय अपराधका महत्वपूर्ण घटनामा अनुसन्धान अघि बढाएको जनाएको छ।

१६ वर्षीया बालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् भने हाडनातामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी सामाजिक सञ्जालमार्फत सार्वजनिक व्यक्तिलाई लक्षित गरी अपमानजनक सामग्री पोस्ट गरेको आरोपमा दर्ता भएको विद्युतीय अपराध सम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार प्रतिवादी धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ।

सुरक्षा तथा ट्राफिक अन्तर्गत असार महिनामा प्रहरीले १ हजार ७६५ पटक सुरक्षा परिचालन गरेको छ। यसअन्तर्गत ४२८ पटक पिकेट, २९१ पटक चेकिङ, ११६ पटक ग्रामीण गस्ती, २ पटक एलआरपी र ९२८ पटक एसआरपी परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार सवारी चेकजाँचबाट रु. ९ लाख ३६ हजार ५०० राजस्व संकलन भएको छ भने ११ वटा सवारी साधन प्राकृतिक स्रोत दोहनमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिई रु. ५९ हजार जरिवाना गरिएको छ।

विपद् व्यवस्थापन बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका ८ वटा विपद्का घटनामा प्रहरीले उद्धार तथा राहतमा सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ। घटनामा १ जनाको मृत्यु, १ जना घाइते तथा २५ जना प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ।

समुदायसँगको साझेदारी असार महिनाभर साइबर अपराध, लागूऔषध दुर्व्यसन, घरेलु हिंसा, महिला हिंसा, बालविवाह, आत्महत्या न्यूनीकरण, मानव बेचबिखन, लैङ्गिक हिंसा, सवारी दुर्घटना, बाढी–पहिरो लगायत विषयमा विभिन्न पालिकामा दर्जनौँ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

हजारौँ विद्यार्थी तथा स्थानीय समुदाय कार्यक्रममा सहभागी भएका थिए। साथै  प्रहरीले असार महिनामा नागरिकता, चालचलन तथा अन्य मुचुल्कासम्बन्धी ५५ वटा सिफारिस गरेको छ। प्रहरी हटलाइन तथा कार्यालयमा ३१६ वटा फोन कल प्राप्त भएका छन् भने २ हजार ७१५ जना सेवाग्राही नागरिक सहायता कक्षबाट सेवा लिएका छन्।

यसैबीच इलाका प्रहरी कार्यालय गलकोटमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। साथै  एक प्रहरी, एक बिरुवा वृक्षरोपण, प्राकृतिक पदयात्रा, टेबल टेनिस बोर्ड निर्माण तथा उत्कृष्ट प्रहरी सम्मान जस्ता कार्यक्रमसमेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung