बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवाग्राहीको सुविधा लक्षित गर्दै अब हुलाकमार्फत राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ।
बुधबार पाँच वटा राहदानी हुलाक मार्फत वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
यस नयाँ व्यवस्थाअनुसार, राहदानी तयार भएपछि सेवाग्राहीले कार्यालयमा गएर लाइन बस्नुपर्ने झन्झट हट्नेछ, राहदानी सिधै हुलाक सेवा मार्फत सम्बन्धित व्यक्तिको ठेगानामा पठाइनेछ, जसले समय र खर्च दुवै बचत हुने प्रजिअ आचार्यले बताउनुभयो ।
यो सेवा विशेषगरी टाढा बसोबास गर्ने नागरिक, विरामी, अपाङगत भएका व्यक्ति, जेष्ठ नागरिकका लागि निकै उपयोगी हुने देखिन्छ। साथै, यसले प्रशासनिक सेवामा सहजता र डिजिटलरआधुनिक व्यवस्थापनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
पहिलो चरणमा जैमिनी नगरपालिकाको एक वटा , गलकोट नगरपालिकाको दुई वटा र ताराखोला गाउँपालिकाको दुई वटा राहदानी हुलाकको हलकाराले बुझाउने व्यवस्था मिलाइएको जिल्ला हुलाक कार्यालय बागलुङका निमित्त हुलाक अधिकृत विष्णु प्रसाद शर्माले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
सबै राहदानी विहिबारनै सर्वसाधारणको घरमा पुर्याइने छ ।
सरकारको शासकीय सुधारका सय बुँदे कार्यसूची अन्तर्गत नागरिकका राहदानीलगाएतका कागजातहरु घरमै पुर्याउने नीति अन्तर्गत हामीले संम्बन्धित सेवाग्राहीलाई सोधेर पहिलो चरणमा पाँच वटा राहदानी पठाएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
लामो समयदेखि थन्किएका राहदानी हुलाकमार्फत पहिलो चरणमै वितरण गर्ने योजना रहेको छ। भविष्यमा राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनको रहेको छ।













































































































































































































