५ श्रावण २०८३, मंगलवार

 

माओवादीले उम्मदेवारमाथि छानविन गर्ने

- कसले रोक्यो बाम तालमेललाई ?

ने.क.पा. (माओवादी केन्द्र) बागलुङले अनपेक्षित रुपमा उम्मेदवारी फिर्ता लिने र आफूखुसी चुनावी गठबन्धन गर्ने नेताहरुमाथि छानविन गर्ने भएको छ । अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिने बागलुङ नगरपालिकाको प्रमुख पदका उम्मदेवार कुशुम बुढा, उपप्रमुख पदका उम्मदेवार निर्मल श्रेष्ठ र पार्टीको निर्देशन विपरीत नेपाली काँगे्रससँग चुनावी तालमेल गरेका वरेङ गाउँपालिकाका पार्टी अध्यक्ष प्रदिप थापामगरमाथि छानविन गर्ने भएको हो ।
माओवादी केन्द्रले आइतबार एक प्रेस वक्तव्य जारी गरि दुवै घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक चन्द्रबहादुर बुढा ‘सागर’ का अनुसार पार्टीको प्रदेश समितिले पनि आवश्यक छानविनका लागि परिपत्र गरेको छ । वरेङ गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थापामगर पार्टीको आधिकारिक चुनाव चिन्ह नलिई नेपाली काँग्रेसको चिन्हमा चुनाव लड्न लागेकोप्रति पनि माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
साथै, थापामगरमाथि माओवादी केन्द्रका उपप्रमुख, वार्ड अध्यक्षदेखि सदस्यहरुलाई उम्मेदवारी दिनबाट बञ्चित गरेको आरोप लागेको छ । पार्टी निर्णय विपरीत थापामगरले आफू प्रमुख पदमा उम्मदेवार बनी बाँकी सबै पदमा काँग्रेसलाई उम्मदेवारी दिने एकलौटी निर्णय गरेका थिए । पार्टीको आधिकारिक चुनाव चिन्ह लिएर उम्मदेवारी दिनबाट बञ्चित गरेपछि उपप्रमुखका उम्मेदवार चिनीमाया कालामगरले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएकी छिन् । माओवादी केन्द्रकी केन्द्रीय सम्मेलन आयोजक समितिकी सदस्य समेत रहेकी थापा घडी चिन्ह लिएर चुनावमा भिड्दैछिन् । mahobadi-party
कालामगरसँगै अन्य छ जना माओवादी नेता स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । ‘वरेङको घटनाले हामीलाई स्तब्ध बनाएको छ, छानविन अघि बढाएका छौं’ संयोजक बुढाले भने ‘सम्बन्धित व्यक्तिलाई स्पष्टकीकरण सोध्ने निर्णय भएको छ । स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेकी कालामगरले आफूलाई माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी बन्नबाट रोकिएको बताइन् । उनले उम्मेदवारी नदिन र दिएको उम्मेदवारी फिर्ता लिन धम्की समेत आएको उल्लेख गरिन् । माओवादी केन्द्रले वरेङका पार्टी अध्यक्ष थापामगरसँग पठाएको अन्य उम्मदेवारको ‘टिकट’ बलजफ्दी लुकाइएको जनाइएको छ ।
वरेङको घटनाले जिल्लाभरको वाम तालमेलको सम्भावनलाई समेत खल्बलाएको माओवादी नेताहरु बताउँछन् । वाम तालमेलको मुद्दा टुङ्गिनै लाग्दा वरेङ गाउँपालिकामा काँग्रेससँग मिल्नै पर्ने थापामगर र उनका बुबा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एव्म जिल्ला इञ्चार्ज लिलाबहादुर थापामगरको एकोहोरो अडानले परिस्थिती बिग्रिएको बताइन्छ । यस्तै, जैमिनी नगरपालिकामा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हिमाल शर्माकी श्रीमति देवी शर्माले उपप्रमुखको उम्मेदवारी छोड्न नमानेपछि वाम तालमेलको कसरत असफल भएको थियो ।
वाम तालमेलको लागि माओवादी केन्द्रको अनावश्यक दावी पनि बाधक बनेको कतिपयको बुझाइ छ । पोलिटब्यूरो सदस्य शर्माले आफ्नो श्रीमतिसँगको विषय नभएर माओवादी केन्द्रले जैमिनी नगरपालिकामा उपप्रमुख पद पाउनुपर्ने जायज दावी गरेको प्रतिक्रिया दिए । नेताहरुको एकल इच्छा र स्वार्थका कारण माओवादी केन्द्र चुनावको मुखमा विवाद र समस्यामा जेलिएको छ । वरेङ गाउँपालिकाको किचलोमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थामामगरको नाम पनि जोडिएको छ । आफ्नो छोरा प्रदिप थापामगरलाई जसरी पनि गाउँ प्रमुखमा निर्वाचिन बनाउने स्वार्थ प्रेरित उद्देश्यले काँग्रेससँग एकलौटी रुपमा गठबन्धन गरेको आरोप पार्टीले लगाएको छ ।
पोलिटब्यूरो सदस्य थापामगरले भने आफ्नो कुनै कुत्शित मनशाय नरहेको जनाए । ‘वाम तालमेलको छलफल चलिरहेकै बेला एमाले र जनमोर्चा मिल्ने कुरा आएपछि वरेङमा काँग्रेससँग मिल्ने कुरा भएको हो’ थापामगरले भने ‘पार्टी केन्द्रले पनि स्थानीय अनुकुलतमा अन्य पार्टीहरुसँग तालमेल गर्ने विकल्प पनि दिएको थियो, मलाई आरोप लगाउनु ठिक होइन ।’ चुनावको सम्मुखमा बागलुङमा विकसित घटनाक्रमप्रति पार्टीको केन्द्रीय नेतृत्वले पनि चासो लिएको छ । जिल्ला संयोजक बुढाले प्रदेश समितिबाट घटनामाथि आवश्यक छानविनको लागि निर्देशन प्राप्त भएको जानकारी दिए ।
यता, बागलुङ नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको उम्मेदवारी फिर्ताको विषयमा पनि छानविन हुने माओवादी केन्द्र बागलुङले जनाएको छ । आश्चर्यजनक रुपमा प्रमुख पदका उम्मेदवार कुशुम बुढा र उपप्रमुख पदका उम्मेदवार निर्मल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रले यस्तो निर्णय लिएको हो । दुवै उम्मेदवारले एकल निर्णय गरि चुनावी प्रतिस्पर्धाबाट हात धोएका थिए । उम्मेदवारनै फिर्ता भएपछि माओवादी केन्द्रका नेता, कार्यकर्ता, समर्थक अन्यौलमा परेका छन् । यद्यपि, माओवादी केन्द्रले उम्मेदवार नभएपछि पार्टीको चुनाव चिन्हमा मतदान गर्न मतदाताहरुलाई आग्रह गरेको छ ।
‘कुनै अर्को पार्टीलाई मतदानमा सघाउने भन्ने कुनै निर्णय भएको छैन’ संयोजक बुढाले भने । बागलुङ नगरपालिकाका वार्डमा भने माओवादी केन्द्रका उम्मदेवार चुनावी प्रचारमा व्यस्त छन् । अन्य स्थानीय तहमा भने उत्साहजनक रुपमा चुनावी प्रचारप्रसार अभियान चलिरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung