
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले सरकारमा गएका मन्त्रीहरुले आचारसंहिता पालना गरे नगरेको हेर्ने काम आयोगले गर्ने बताएका छन । बुधबार स्थानीय तह निर्वाचनको जिल्लाको अवस्था बुझ्न बागलुङ आएका पौडेलले सरकार विस्तार गर्नु आचासंहिता विपरीत नभएको बताएका हुन । ‘सरकार गठन गर्दा आचारसंहिता पालना भयो कि भएन भनेर हेर्ने अधिकार निर्वाचन आयोगको हो । सरकारमा गएका मन्त्रीहरुले आचारसंहिता उल्लंघन गर्नुहुन्छ कि हुदैँन भन्ने आयोगले हेरिरहेको हुन्छ ।’ पौडेलले बताए । २० बर्षपछि हुन लागेको निर्वाचनमा साना तिना कारणले रोकिन नहुने भन्दै उनले आयोग आचारसंहिता कार्यान्वयनमा कडाईका साथ लागेको बताए ।
स्थानीय विकासमन्त्रीज्यूहरु बाहिरिएर खाली भएको ठाउँमा सरकार सञ्चालन गर्नुलाई ठूलो कुरा बनाउनु जरुरी नरहेको उनले बताए । ‘संविद्यान कार्यान्वयन गर्ने गर्ने महत्वपूर्ण अवसर र जिम्मेवारी आएको छ । निर्वाचनमा अधिकतम सहभागितामा योग्य र सक्षम नेतृत्व छान्ने महान जिम्मेवारी हो ।’ उनले भनँे । निर्वाचनका लागि अनुगमनकर्ताहरु जिल्ला जिल्लामा पुगिसकेको पौडेलले बताए । त्यस्तै उनले निर्वाचनको आचारसंहिता विपरीत कार्य गर्नेहरु विरुद्ध निर्वाचन ऐनको दफा २३ बमोजिम कडा कारबाही हुने पौडेलले बताए ।
त्यस्तै उनले आचार संहिता विपरीत गतिविधि गरेको थाहा पाए तुरुन्त प्रहरीलाई खवर गरी निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन पत्रकार तथा सवै पक्षलाई आग्रह गरे । ‘वैशाख ३१ गते निर्वाचन हुने मुलुकभरका ३४ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेका छन्,’ पौडेलले भने,‘निर्वाचनलाई शान्तिपूर्ण वाताबरणमा सम्पन्न गर्नका लागि सबैको सहयोग आवश्यक छ ।’