३१ बैशाख २०८१, सोमबार

 

व्यवसायीकाे मनाेबल उच्च बनाउने र लगानी मैत्री वातावरण सृजना गर्नु अहिलेकाे मुख्य कार्यभार हाे :चन्द्र ढकाल

बागलुङ नगरपालिका वडा नम्बर–१२ अमलाचौरमा जन्मिएका चन्द्र ढकाल नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय उपाध्यक्ष बन्ने धौलागिरीकै पहिलो र अहिलेसम्म एकमात्र व्यवसायी हुन् । ग्लोबल आईएमई बैंक तथा चन्द्रागिरी केबलकार प्रालिका अध्यक्ष समेत रहेका ढकाल उद्योग बाणिज्य महासंघको एसोसियट तर्फबाट निर्बिरोध उपाध्यक्ष निर्वाचित भएपछि व्यवसायिक क्षेत्रमा उनको चर्चा थप चुलिएको छ । बैंक, केवलकार, रेमिट्यान्स, जलविद्युत लगायत विभिन्न क्षेत्रमा लगानी गरि छोटो समयमै सफलता हाँसिल गरेका ढकालसँग नयाँविश्व डटकमका लागि सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेको कुराकानीको सम्पादित अंश:

नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वमा रहेर कसरी काम गर्ने योजना बनाउनु भएको छ ?

संविधान सभाबाट नयाँ संविधान निर्माण भएर कार्यान्वयनमा आएसँगै नेपाल संघिय संरचनामा गएको छ । नयाँ संरचना अनुसार संघ, प्रदेश र स्थानीय तह बनेका छन् । यि तिन निकाय विच अधिकारको वाँडफाँड भएको छ । यो परिवेशमा हामीले नेपाल उद्योग बाँणिज्य महासंघको पहिलेको संरचनालाई परिवर्तन गरि नयाँ संरचनामा लैजानुपर्ने पहिलो जिम्मेवारी नयाँ नेतृत्वको काँधमा रहेको छ । महासंघको केन्द्रिकृत संस्थागत संरचनालाई संघिय ढाँचामा लैजानुपर्छ । प्रदेश र स्थानीय तह शक्तिशाली भएको सन्दर्भमा हाम्रो संस्थाको संरचनालाई पनि त्यसै अनुकुलको बनाउन हामी लाग्नेछौँ । म लाग्नेछु । उद्योग, व्यापार तथा व्यवसायलाई संघिय संरचना अनुकुल बनाउनुपर्ने जिम्मेवारी हामी सामु छ । सबैभन्दा पहिला हामीले महासंघको सचिवालयलाई व्यवस्थित गर्दैछौँ । देशैभरका व्यवसायीहरुको तथ्याङ्क संकलन, व्यवसायीको लगानी गर्ने क्षमताको अध्ययन, लगानी योग्य वातावरणको लागि नीतिगत सुधार र साना तथा मझौला उद्योग व्यवसायको प्रबद्र्धन, तालिम मार्फत क्षमता र सिप बृद्धि गर्ने जस्ता व्यवसायिक सुधारका काम गर्ने मेरो सोच छ ।

पछिल्लो पटक मुलुकमा लोडसेडिङ क्रमश घट्दै जानुले उद्योग धन्दा तथा व्यवसाय सञ्चालनमा कस्तो प्रभाव पारेको छ ?

व्यवसायीहरु उत्साहित छन् । उत्पादन बृद्धि भएको छ । उद्योग, कलकारखाना पुर्ण क्षमतामा सञ्चालन भईरहेका छन् । माग अनुसारका सामान उत्पादन भएका छन र समयमै बजारमा पु¥याउन सकिएको छ । यसले गर्दा व्यवसायीहरु थप लगानी गर्न ईच्छुक देखिएका छन् । नयाँ रोजगारी सृजना हुन थालेको छ । व्यवसायीहरुले सरकारलाई तिर्ने राजस्वको परिमाण बढेको छ । उर्जा संकट भएका स्थानमा पनि नेपाल सरकारसँग छलफल र समन्वय गरेर नेपाल विद्युत प्राधिकारणलाई नियमित विद्युत आपुतीको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

व्यवसायका विभिन्न क्षेत्रहरुमा नयाँ लगानी मैत्री वातावरण सृजना गर्न महासंघले के गर्दैछ ?

जलविद्युतको क्षेत्रमा काम गर्न लगानी गर्न नेपाली र विदेशी लगानीकर्ता आईरहको अबस्था छ । हामी कहाँ समस्या के छ भने स्विकृति लिनै लामो समय लाग्छ । विभिन्न मन्त्रालय पुग्नुपर्ने र झन्झटीलो प्रशासनिक व्यवस्थाका कारण लगानीकर्ताहरु हतोत्साहित बन्ने गरेका छन् । यसको नीतिगत सुधारका लागि महासंघ मार्फत हामीले पहल गरिरहेका छौँ । विदेशमा यस्तो प्रक्रिया सहज र सरल छ । एउटै मन्त्रालयबाट सबै कामहरु हुनेगर्छ । हाम्रोमा त्यस्तो छैन । यो असहज परिस्थितीको अन्त्य गरि छिटो, छरितो र लगानी मैत्री नीतिहरु ल्याउन सरकार, उद्योग मन्त्रालय तथा सम्बन्धित सरोकारवालाहरुसँग गहन छलफल, बहस गर्नुपर्ने आवश्यकता देखिएको छ । यसको लागि हामील समन्वय गरिरहेका छौँ ।

श्रमिक र लगानीकर्ता विच सम्बन्ध सुधारका के कस्ता प्रयास गर्दै हुनुहुन्छ ?

श्रमिक र लगानीकर्ता एक अर्काका परिपुरक हुन् । श्रमिकलाई उनीहरुको क्षमता बृद्धिका लागि विभिन्न खालका तालिम दिनुपर्छ । सकारात्मक सोचका साथ कार्य गर्नसक्ने सिपयुक्त दक्ष जनशक्तिले मात्र उत्पादन वृद्धि गर्नसक्छ । यि दुई पक्ष विच सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नका लागि छलफल पनि भईरहेको छ । पछिल्लो समयमा बन्द हड्ताल कम हुँदै गएका कारण उद्योग धन्दा नियमित चल्ने वातवारण बनेको छ । यसको स्थायित्वका लागि हामीले थप पहल गर्दैछौँ ।

चन्द्रागिरी केवलकर परियोजनाको सफलता पछि थप व्यवसायिक योजना केहि बनाउँदै हुनुहुन्छ ?

चन्द्रागिरी केवलकार हाम्रो सपना थियो । हाम्रो पुरै टिमले ठुलो मेहनत र परिश्रमको जगमा यो साकार भएको छ । यो योजना निर्माणमा सरोकारवाला पक्षको पनि सकारात्मक सहयोग प्राप्त भएको थियो । सञ्चार जगतले पनि यसको व्यवसायिक प्रबद्र्धनमा महत्वपुर्ण योगदान पु¥याएको छ । यसलाई हामीले कहिल्यै भुल्न सक्दैनौँ । यसले हामीलाई उत्साहित बनाएको छ । यसको व्यवसायिक सफलताले यस क्षेत्रका नागरिकहरुको आर्थिक उन्नतीमा पनि महत्वपुर्ण भुमिका खेल्ने हाम्रो विश्वस रहेको छ । अरु पनि यस्तै नयाँ परियोजनाको बारेमा अध्ययन गरिरहेका छौँ । विभिन्न ठाउँ र पक्षबाट सल्लाह सुझाब पनि आईरहेका छन् । के गर्न सकिन्छ भनेर छलफल र अध्ययन भईरहको छ । लगानीयोग्य क्षेत्रहरुको पहिचान गरि हामी छिट्टै नयाँ योजनाहरु लिएर आउनेछाँैँ ।

तपाई एक सफल बैंकर पनि हुनुहुन्छ, संघिय संरचना अनुसार नेपाल राष्ट्र बैंकले गाउँ गाउँमा बैंकका शाखा पु¥याउने नीति ल्याएको छ । यो अवसरलाई कसरी लिनुभएको छ ?

हो तपाईले भने जस्तै नेपालका सबै नागरिकहरुलाई बंैकिङ प्रणालीमा जोड्नुपर्ने छ । सवै स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् । हरेक आर्थिक गतिविधिलाई बैंकिङ प्रणालीमा लैजानका लागि हामीलाई यो अवसरमा पनि हो । सबैखाले सहयोग भयो भने केहि समयमै सबै स्थानिय तहमा बंैकिङ सेवा पु¥याउन हामी प्रयासरत छौँ ।

तपाई बागलुङमा जन्मेर व्यवसायिक क्षेत्रको निकै माथिल्लो उचाईमा पुग्नुभएको छ, आफ्नो गृह जिल्ला र प्रदेश नम्बर–४ का लागि समेत केहि गर्ने सोच्नु भएको छ कि ?

यो प्रश्न मेरा लागि धेरै पटक आउने गरेको छ । लगानीको सम्भावना सहितको उचित प्रस्ताब आएको अबस्थामा म जुनसुकै काम गर्न पनि तयार नै छु । मैले पनि गृह जिल्ला बागलुङमा के गर्न सकिन्छ भनेर सोच्ने गरेको छु । उपयुक्त योजनाको पहिचान हुन सक्दा वित्तिकै म आफ्नो जन्म ठाउँमा केहि न केहि गर्ने सोचमा निरन्तर छु । यस्तो अबस्थामा सहकार्य गर्न पनि म तयार छु । प्रदेश नम्बर–४ र बागलुङमा उपयुक्त हुने होटल, केवलकार, रिसोर्ट, लघुजलविद्युत लगायतका क्षेत्रहरुमा सम्भाव्य प्रस्ताव आयो भने छफलफ गरि मिलेर काम गर्न सकिने सम्भावना रहेको छ ।

व्यवसाय गरिरहेका र यो क्षेत्रमा आउन चाहने नयाँ युवाहरुका लागि नयाँविश्व मार्फत के भन्न चाहनु हुन्छ ?

महासंघले बस्तुगत संघहरु, जिल्ला नगर उद्योग बाणिज्य संघहरुलाई व्यवस्थित गर्दैछौँ । जिल्ला उद्योग बाणिज्य संघहरुको संस्थागत विकासमा पनि हाम्रो ध्यान छ । स–साना उद्योगी व्यवसायीहरुको पिर, मर्का र समस्याहरुलाई विशेष रुपमा ध्यान दिनुपर्ने हुन्छ । मलाई साना व्यवसायीहरुको समस्याको बारेमा धेरै कुरा थाहा छ । सवैको सल्लाह सुझाब अनुसार व्यवसायीक हक हित र व्यापार प्रबद्र्धनमा परिणाममुखि काम गर्नुपर्ने छ । नयाँविश्व मार्फत गुणस्तरिय सामान र सेवा, कडा मेहनत, चुस्त व्यवस्थापन र दक्ष जनशक्तिको बलमा उद्योग र व्यापारको क्षेत्रमा अगाडी बढ्न सकिने भएको हुनाले अहिलेका सुचना मैत्री युवाहरुलाई यो क्षेत्रमा आएर जोखिम मोल्न र सफलता तर्फ लाग्नको लागि अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्