१५ बैशाख २०८१, शनिबार

 

‘सहुलियत ऋण मात्रैले पस्मिना व्यवसाय तंग्रिँदैन, पर्यटक डाक्नुपर्छ’ ( पुष्पमान श्रेष्ठको अन्तिम अन्तर्वार्ता )

पुष्पमान श्रेष्ठ सफल व्यवसायी हुन् । विशेष गरी नेपालको पस्मिना व्यवसायमा नाम लिनुपर्दा उनी अघिल्लो पंक्तिमा आउँछन् । सुरुमा शिक्षण पेसामा रहेका उनी पछि यो व्यवसायमा लागेका हुन् । कोरोना महामारीपछि देशका अन्य क्षेत्रजस्तै व्यापार–व्यवसाय क्षेत्र पनि नराम्ररी थलिएको छ ।

पस्मिना पनि यसमा अछुतो छैन । विदेश निर्यात हुने नेपाली पस्मिनाको नेपालमा हुने व्यापार पनि बढीजसो बाहिरी देशका पर्यटकमै आश्रित थियो । तर कोरोनापछि पर्यटक आगमन ठप्प छ । पस्मिनाको व्यापार पनि छैन । यिनै सेरोफेरोमा व्यवसायी श्रेष्ठसँग नयाँ विश्वका लागि विमल खड्काले गरेको कुराकानी :

शिक्षण पेसाको मान्छे व्यवसायतिर कसरी मोडिनुभयो ?

म सानैदेखि वामपन्थी धारको मान्छे । २०२८ सालमा बागलुङ बजारलगायत स्थानका विद्यालयमा पढाउँदा मेरो तलब मासिक २५० रुपैयाँ थियो । पढाउँदै गर्दा २०२९ सालमा बीए पास गरेँ । त्यसपछि गलकोटको हटिया र बुर्तिबाङ गएर पढाएँ ।

त्यति बेला बहुदलको निलो र पञ्चायतको पहेँलो मतपत्र थियो । निलो मतपत्रमा भोट हालेकाले मलाई पञ्चायती सत्ताले स्वीकार गरेन । प्रशासनले दुःख दिन थाल्यो । म कट्टर कम्युनिस्ट थिएँ । अंचलाधीशले मलाई निगरानीमा राखेको थियो । त्यसपछि म काठमाडौं आएँ । म ३१ वर्षको थिएँ ।

मैले सूरुमा कोल्ड स्टोर सुरु गरे । मैले पहिलो पटक सामान बेचेर कति नाफा हुन्छ भन्ने कुरा थाहा भयो । म शिक्षक हुँदा मेरो दिमागमा राजनीति हावि थियो ।

त्यहि भएर मैले श्रीमती र बच्चाहरुलाई राम्रोसँग ध्यान दिन सकेको थिएन । गलकोट छदा घर व्यवहारको कुरामा मेरो र श्रीमतीको विच धेरै कुरामा अन्तरविरोध सुरु भएको थियो । त्यति बेला म व्यवहारिक थिएन जस्तो लाग्छ ।

सबै समस्याको समाधान राजनीति, कम्युनिष्ट र कम्युनिष्ट व्यवस्थाले समाधान गर्छ भन्ने आदर्शवादी धारणाले घर गरेको थियो ।२० र ३० को दशकमा सोचेको त्यो सपना अझ पुरा हुन सकेको छैन् ।

त्यति बेलाको गरिबी देखेर हिडेका हाम्रो नेताहरुले अहिले यस्तो व्यवहार गर्ला भन्ने हामीले कल्पनासम्म गरेका थिएनौं । तर हाम्रो कठिन आर्थिक अवस्था र परनिर्भरता अझ झन तीब्र ढंगले बढेको छ र आर्थिक समृद्धिको सपना धेरै नै टाढा छ ।

त्यसपछि के गर्नुभयो ?

एक जना मेरो परम मित्र अर्थात मेरो अभिभावक भने पनि हुन्छ, भीमसेन थापा उहाँले मलाई बागलुङबाट डोराएर मलाई काठमाडौंमा ल्याउनु भो भिमसेन थापा नभएको भए सायद मलाई काठमाडौं आउन त्यति सजिलो थिएन । मैले २०३६ सालमा बहुदलको पक्षमा भोट हालेर काठमाडौ आए ।

२०३९ सालतिर उहाँले मलाई पस्मिनाको व्यापारबारे बताउनुभयो । मलाई पस्मिना र तान भन्ने थाहै थिएन । त्यति बेला एउटा कोल्ड स्टोरमा काम गर्थें । भिमसेन थापाले पस्मिनाको एउटा कम्पनी खडा गर्नुभयो ।

अनि मलाई त्यहीँ लगेर म्यानेजिङ डाइरेक्टर बनाउनुभयो । म साइकलमा हिडेर पस्मिनाको व्यापारको क, ख सिक्न थाले । भुवा किन्ने, पस्मिना बनाउने र स्टाफ राख्नेसम्मका सबै कुरा बुझाउनुभयो । करिब १ वर्षपछि बल्ल मैले पस्मिना के हो भन्ने बुझ्न थालेँ ।

पस्मिनाका लागि भुवा कहाँबाट आउँछ, कसरी फिनिसिङ गरिन्छ भन्ने थाहा पाएँ । मैले कोठामै भुवा लगेर श्रीमती लालुलाई पनि चर्खा चलाउन सिकाएँ ।म सोल्टीमोडमा भाडाको घरमा बस्थेँ । त्यही घरको तलपट्टि खाली थियो । श्रीमतीसँग सल्लाह गरेर त्यहीँ तान राखेँ । स्थानीयहरू त्यहीँ किन्न आउन थाले ।

भीमसँग दुई हजार सापटी लिएर धागो किनेँ । एक जना मान्छे पनि राखेँ । दुई हजारले काम नहुने भएपछि ढुकुटी बाँध्ने सल्लाह गरेँ ।मैले मान्छे पनि जम्मा गरेँ ।बनाउने सल्लाह गरे श्रीमती र साथीहरुसँग ।जस्लाई मैले घोपा बनाउने भनेको थिए उनले त्यहाँबाट हात झिके, मलाई थप समस्या भयो । त्यसपछि मेरो परम मित्र गणेश शंकर श्रेष्ठलाई ढिकुरीको घोपा बनाएर अगाडि बढे ।

भरत कुमार श्रेष्ठले बागलुङबाट आएर वटुमा पसल सञ्चालन गर्दै थियो । उसैसँग सल्लाह गरेर साथी गणेशलाई ढुकुटीको घोपा बनाउने सहमति भयो ।पस्मिनाले मेरो जिवनमा धेरै आर्थिक परिवर्तन ल्यायो । मैले यस व्यापारबाट धेरै कमाए । तर विचमा एउटा ठूलो आर्थिक संकट आइलाग्यो ।

मदन भण्डारी जिप दुर्घटनामा मृत्यु भएपछि देशव्यापी आन्दोलन चर्कियो । सडक आन्दोलन चर्किदै जान थालेपछि पर्यटकहरु नेपाल आउने बन्द हुन थाल्यो यसले पर्यटन उद्योग र व्यपारलाई धेरै ठूलो मार पार्यो । त्यसको प्रत्यक्ष मार पस्मिना उद्योग र व्यापारमा पर्यो ।

यस घटनाले मेरो आर्थिक जिवनमा धेरै असर गर्यो । यस्तो अवस्था मेरो जिवनमा दुई चोटि आयो । मैले ठमेलमा धेरै सोरुम खोलेको थिए । ती धैरै सोरुम बन्द गरे ।

जिन्दगीको दोस्रो अप्ठेरोमा गणेशले साथ दियो । मेरो कारोबार धेरै बिग्रिसकेको थियो । सडकमै आइपुग्ने अवस्थामा थिएँ । गणेश आफ्नै घर बन्धकीमा राखेर पैसा निकाल भन्थ्यो । तर त्यसो गरिनँ । विस्तारै पस्मिना व्यवसाय फेरि सुरु गरेँ ।

सुरुमै ज्ञान पाएर यो क्षेत्रमा हात हालेको होइन । तर, अहिले पस्मिना उत्पादन गर्ने र विश्वका विभिन्न देशमा पठाउनेसम्म गर्दै आएको छु । नेपालमा पस्मिना क्षेत्रमा व्यावसायिक रूपमा हात हाल्ने म नै हुँ । अहिले छोराहरुले यो व्यवसायको जिम्मा लिएका छन् ।

अहिले मैले धेरै काम कम गरेको छु स्वास्थ्यको कारण । नेपाल पस्मिना महासंघको अध्यक्ष भएर पनि काम गरेँ । पस्मिना महासंघलाई संस्थागत गर्न, व्यवसायीहरुको मनोबल माथि उठाउन र ती साथीहरुलाई व्यवसायीक वातावरण दिन मैले सामूहिक रुपमा मैले नेतृत्व गरे र अहिले पनि पस्मिना महासंघका साथीहरुलाई माथि उठाउन हिमाली जिल्लामा चेङग्राहरु पाल्ने योजना बाहिर ल्याएका छौं ।

यो नेपालको पस्मिना जगतमा ठूलो फड्को हो । यस्ले हाम्रो ठूलो रकम बाहिर जानबाट रोक्छ र देशलाई पनि आर्थिक फाइदा गर्छ ।

अहिले विदेशमा नेपाली पस्मिनाको बजार कस्तो छ ?

पस्मिना च्याङ्ग्राको रौँबाट बनाइन्छ । विश्वमा सबैभन्दा बढी पस्मिना उत्पादन गर्ने देश चीन हो । त्यसपछि फ्रान्स, इङ्ल्यान्ड पर्छन् ।कच्चा पदार्थ उत्पादन गर्ने देश चीन, मङ्गोलिया, अफगानिस्तान र इरान हुन् । नेपालमा हिमाली भेगबाट ल्याइएको कच्चा पदार्थ प्रतिकिलो न्यूनतम १८ हजार रुपैयाँ पर्छ ।

नेपालको पस्मिना सेलेब्रिटीहरूले समेत लगाए । अन्तर्राष्ट्रिय मिडियाहरूले त्यसलाई ‘कभरेज’ गरिदिएपछि नेपालको पस्मिनाको विदेशमा पनि उचाइ बढ्यो । लन्डनका प्रिन्स एडवर्किङको विवाहमा समेत नेपालमा बनेको एकै प्रकारको पस्मिना लगाइयो ।

तर अहिले नेपालको पस्मिनाको व्यापार घटेको छ । कारण हो– सक्कली पस्मिना र नक्कली पस्मिना । मार्केटमा सबै तहका मान्छेले पस्मिना खोज्न थाले ।

६ देखि ७ सय डलरमा बिक्री हुँदै आएको पस्मिना बजारमा ६ डलरमा पाइन थाल्यो । खासमा पस्मिना भन्दै अन्य वस्तु हालेर नक्कली सामान बेचियो । १० अर्ब रुपैयाँको कारोबार हुने पस्मिना अहिले १ अर्बमा झरेको छ ।

सक्कली पस्मिनाको व्यापारलाई नक्कलीले कस्तो असर पारेको छ ?

त्यसरी हेर्दा अलिकति असर परेको छ । किनभने सडकबाट पहिलो चरणमा किनेको मान्छेले यो पस्मिना होइन भन्ने बुझ्छ । पछि सडकको किन्दैन । तर सस्तो सामानै खोज्नेहरू पनि छन् ।

उनीहरू सडककै किन्छन् । नेपालको पस्मिनाको कुरा गर्दा ९० प्रतिशत विदेशमा जान्छ । १० प्रतिशत नेपालमा खपत हुन्छ ।

कोभिड–१९ प्रभावित व्यवसायीलाई सरकारले सहुलियतमा ५ देखि १० करोडसम्म ऋण दिने प्रस्ताव गरेको छ ।

यसले पस्मिना व्यवसायलाई कत्तिको लाभ पुग्ला ?

कोभिडको डर नसकियुन्जेल बाहिरी देशबाट मान्छे आउँदैनन् । लोकलभन्दा बाहिरी पर्यटकले गर्दा व्यापार बढ्ने हो । अहिले विश्वमै यस्तो समस्या छ ।

लगानी गर्दैमा पस्मिना क्षेत्र पुरानै लयमा फर्किन्छ भन्ने छैन । कोरोनाले गर्दा पस्मिना क्षेत्रका ६० प्रतिशत कामदार बेरोजगार भएका छन् । अहिले ४० प्रतिशत मात्र पस्मिना उत्पादन भइरहेको छ ।
व्यापार चलायमान बनाउन सरकारका तर्फबाट कस्ता कदम चालिनुपर्ला रु

पहिलो कुरा, सरकारले ब्याजदर एउटै स्तरमा ल्याउन पर्यो । ब्याजदरले धेरै कुरामा प्रभाव पार्छ ।अब निर्माणको काम भयो भने मान्छेहरूले काम पाउँछन् । विस्तारै होटल पनि खुल्न थालेका छन् । पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्यो । कोरोना खोप ल्याउन सरकारले तदरुकता देखाउन पर्यो ।

बाहिरी देशसँग भएका सम्झौता कार्यान्वयन गरेर देशलाई व्यापार घाटा हुनबाट जोगाउँदै लैजानुपर्छ । अहिले बैंकमा पैसा जम्मा भएर बसेको छ । कोभिडकै कारण लगानी गर्न नसकिँदा पैसा यसरी थुप्रिएको हो । १२ प्रतिशतसम्म ब्याज लिने बैंकले अहिले ३ प्रतिशतमा झारेको छ ।

नेपाली पस्मिनाको बढी सम्भावना कुन–कुन देशमा छ ?

पस्मिना चीन र भारतमा मात्रै निर्यात भयो भने पनि धेरै आम्दानी हुन्छ । त्यहाँ पनि बन्छ पस्मिना तर नेपालको भन्दा त्यहाँको महँगो पर्छ ।

किनभने त्यहाँ डिजाइन, फिनिसिङलाई धेरै समय दिइन्छ । भारत र चीनका मध्यम वर्ग र उच्च वर्गका पर्यटक आउने हो भने नेपालको पस्मिना क्षेत्रले फेरि नयाँ उचाइ लिन्छ । त्यसका लागि पर्यटन रुटहरू सुरक्षाका मापदण्ड अपनाएर खुला गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्