२१ बैशाख २०८१, शुक्रबार

 

अवैध औषधि बेच्ने बुद्ध डेन्टल होम र धौलाश्री मेडिकल पसललाई कारवाही गर्दा भुइँचालो

बागलुङ । सञ्चालन अनुमति नलिइ लामो समयदेखि सञ्चालनमा ल्याइएका औषधि पसलहरु कारबाहीमा पर्न थालेपछि अवैध कार्य गर्ने व्यवसायीहरुभित्र भुइँचालो गएको छ । मापदण्ड विपरीत सञ्चालन गरिएका बागलुङका दुई मेडिकल पसल हाल बन्द गरिएको छ ।

औषधी व्यवस्था विभाग काठमाडौँको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बागलुङ, स्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगरपालिका लगायतको टोलिले अनुगमनका क्रममा अवैध औषधि बेच्ने बागलुङ नगरपालिका–२ क्याम्पस चोकको धौलाश्री मेडिकल हल र अस्पताल रोडको बुद्ध डेण्टल होम बन्द गरेको हो ।

१७ वटा मेडिकल पसल अनुगमन गरिएकोमाको गैर स्वास्थ्यकर्मीले जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने औषधी बेचबिखन गरेको पाइएकाले दुई वटा मेडिकल बन्द गरिएको औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामु मण्डलले बताउनुभयो ।

सम्बन्धीत स्वास्थ्यकर्मीको उपस्थिति बिना गैर व्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधी विक्री वितरण गरेको, विभागमा दर्ता नभएका औषधी भण्डारण गरी विक्री वितरण गरेको, लागु मनोद्धिपक औषधीको रेकर्ड नराखेको पाइएपछि औषधी जफत गरी तत्कालका लागि मेडिकल पसल बन्द गरिएको मण्डलको भनाइ रहेको छ ।

अनुगमनका क्रममा देखिएका कमजोरीहरु सच्याएर सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेपछि मात्र सञ्चालन गर्नका लागि उक्त मेडिकल पसलहरुलाई निर्देशन गरिएको मण्डलले बताउनुभयो ।

अनुगमनका क्रममा अस्पताल रोडमा रहेको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ । डेन्टल होम सञ्चालनका लागि आवश्यक दर्ता कागजात नभएको एवं सञ्चालकसमेत नभइ अन्य व्याक्तिले सञ्चालन गरेको पाइएकाले बन्द गरिएको हो ।

अवैध रुपमा स्वास्थ्य संस्थाहरु संचालनमा रहको र उनीहरुका कारण नागरिकको स्वास्थ्य जोखिममा रहेको भन्दै जनगुनासाहरु आएपछि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नयाँ विश्वलाई बताउनुभयो ।

कानुनी मापदण्ड पुरा गरेर मात्र संचालन गर्न पाउँने

संचालनका लागि पुरा गर्नुपर्ने न्युनतम मापदण्डहरु पनि पालना नगर्दा बन्द भएका स्वास्थ्य संस्थाहरु मापदण्ड पुरा गरेमा भने संचालन हुन पाउँने छन् । अहिले बन्द भएका दुबै मेडिकलले आवश्यक प्रक्रिया पुरा गरेमा संचालन हुन पाउँने अनुगमण टोली प्रमुख समेत रहेका औसधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामु मण्डलले बताउनुभयो ।

स्वास्थ्य सेवा दिने भन्दै अवैध रुपमा नीजि स्वास्थ्य संस्थाहरु संचालन भइरहेको र तिनले नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड गरिरहेको जनगुनासोपछि जिल्ला स्तरीय टिमले सम्बन्धित स्थानीय तहको समन्वयमा अनुगमन समेत गरिएको हो ।

प्रकृया पुरा नगरि सञ्चालन गरिएको मेडिकल पसलहरुले मापदण्ड पूरा नगरेमा सधैंका लागि बन्द गर्ने अनुगमन टोलिले चेतावनी दिएको छ । अवैधानिक तरिकाले औषधि पसलहरु संचालनमा रहेको भएपनि सम्बन्धित निकायले कारवाही नगरेका कारण अवैध पसलहरुको संख्या बढ्दै गएको छ ।

बागलुङमा लामो समयदेखि अवैध औषधी पसल सञ्चालन भएको थाहा हुँदा पनि नियमन निकायहरुले कडा कारवाही नगर्दा औषधी विभागसँग अनुमति नै नलिइ जथाभावि रुपमा पसल खौल्नेक्रम बढ्न थालेको छ । यस्तो मानव स्वास्थ्य गम्भीर असर पर्ने विषयमा समेत सरोकारवाला निकाय गम्भीर नहुँदा सेवाग्राहीे जोखिम मोल्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्