२४ बैशाख २०८१, सोमबार

 

नेपाली सेनामा खुल्यो २६ सय जनालाई जागिर, बागलुङमा ७५

बागलुङ । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ। नेपाली सेनाको श्री नं.२३ बाहिनी अड्डा, शेराडिल व्यारेक बागलुङको लागि सैन्य पदमा ७५ जनाको माग गरेको हो ।

गत शुक्रबार सूचना प्रकाशन गर्दै सेनाले विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी जागिर खुलाएको छ ।

माग गरिएको मध्ये सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ ३, खुल्ला ४०, महिला ७, आदिवासी जनजाति १०, मधेसी ९, दलित ५ र पिछडिएको क्षेत्रबाट १ जना गरि ७५ जना माग गरेको श्री नं.२३ बाहिनी अड्डा, शेराडिल व्यारेक बागलुङका क्याप्टेन सन्तोष पाण्डेले बताउनु भयो।

जागिर खान इच्छुकले श्री नं.२३ बाहिनी अड्डा, शेराडिल व्यारेक बागलुङमा स्वयम उपस्थित भई वा अनलाइन मार्फत फारम भर्न सक्ने व्यवस्था गरेको अड्डाले जनाएको छ ।

फारम भर्ने समय जेठ ५ गतेसम्म तोकिएको छ । दोव्वर दस्तुर तिरेको खण्डमा जेष्ठ १२ गते कार्यालय समयसम्म फारम भर्न सक्ने व्यवस्था रहेको छ । उम्मेदवारका लागि १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका युवाले मात्र फारम भर्न पाउने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले बागलुङसंगै अन्य जिल्लामा पनि ठूलो संख्यामा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले विभिन्न रिक्त पदमा दरखास्त माग गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार) पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्