१५ बैशाख २०८१, शनिबार

 

भियतनाममा बम खसाल्नेहरू मेरा शत्रु हुन्

सियाली कवि येभ्गेनी येभ्तुशेन्कोले ‘नेरुदालाई सन्देशपत्र’ कवितामा लेखेका छन्ः ‘…विनाविचलन/चुपचाप र सरल ढङ्गले/उनले कवितालाई/पाउरोटीझैँ/जनतासम्म पुर्‍याए।’

बीस वर्षकै उमेरमा सन् १९२४ मा उनको पहिलो कवितासङ्ग्रह ‘बीस प्रेम कविता र एउटा विषाद गीत’ प्रकाशित भयो। यसले उनलाई रातारात प्रसिद्धि दिलायो।
‘द पोएट्री अफ पाब्लो नेरुदा’का लेखक रेने दे कोस्ता भन्छन्, ‘प्रेम कविताले स्त्रीलाई प्रकृतिको समान बनाएको छ। नेरुदाले तुलनाको यो स्थापित मान्यतालाई ब्रह्माण्डीय तहमा पुर्‍याइदिए। उनले महिलालाई ब्रह्माण्डको सच्चा शक्तिमा रूपान्तरण गरिदिए।’

‘विश्वकवि’, ‘कविहरूका कवि’, ‘कविताको पाब्लो पिकासो’, ‘दक्षिणका ह्विटम्यान’ आदि अनेक उपनाम दिइएका नेरुदाको काव्ययात्रा पचास वर्षभन्दा बढी जारी रह्यो।

उनको काव्ययात्राका विभिन्न चरण र मोड थिए। एउटा कालखण्डमा उनी प्रेमको प्रवक्ताजस्ता लाग्छन् भने अर्को कालखण्डमा प्रतिबद्ध कम्युनिस्ट कवि, जो पुँजीवाद र साम्राज्यवादको धुवाँदार विरोध गर्छ।

उनकै देश चिली तथा सम्पूर्ण ल्याटिन अमेरिकाले भोगेको शोषण र दुर्भाग्यलाई उनले लिपिबद्ध मात्र गरेनन्, उनका कविता संसारभरिका उत्पीडितका सुस्केरा र आक्रोशका प्रतिनिधि पनि हुन्।

उनका ‘इस्ला नेग्रा’, ‘रेजिडेन्स अन अर्थ’, ‘कान्टो जेनेरल’, ‘द ह्यान्ड्स अफ द डे’, ‘द बुक अफ क्वेस्चन्स’, ‘द एलो हार्ट’ लगायत दर्जनौँ सङ्ग्रह र एउटा संस्मरणात्मक किताब ‘मेम्वयर्स’ प्रकाशित छन्।

सन् १९७१ को ‘पेरिस रिभ्यू’को ५१ अङ्कमा छापिएको नेरुदाको यो अन्तर्वार्ता अर्जेन्टिनी मूलकी अमेरिकी लेखक, अनुवादक तथा सम्पादक रिता ग्विबेरले गरेकी हुन्।

उनको ‘सेभेन भ्वाइसेज’ नामक सातजना ल्याटिन अमेरिकी लेखकसँगको अन्तरङ्ग कुराकानीको सङ्ग्रह बहुचर्चित छ। यस अन्तर्वार्तालाई पेरिस रिभ्यूका लागि रोनाल्ड क्राइस्टले स्पेनीबाट अङ्ग्रेजीमा अनुवाद गरेका हुन्। – विनोदविक्रम केसी

‘मैले मेरो जीवन कविता र राजनीतिमा विभाजित भएको कहिल्यै ठानिनँ,’ चिलियन कम्युनिस्ट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार भएपछि सन् १९६९ सेप्टेम्बर ३० मा अनुमोदन मन्तव्य राख्दै पाब्लो नेरुदाले भनेका थिए, ‘म चिलीको एक नागरिक हुँ, जसले दशकौँसम्म राष्ट्रिय अस्मिताका दुर्भाग्य र कठिनाइलाई जानेको छ, बुझेको छ।

र, जो जनताका हरेक दुःख र हरेक सुखमा सहभागी भएको छ। म उनीहरूका निम्ति नौलो र अपरिचित मान्छे होइन। उनीहरूबाटै आएको हुँ, उनीहरूकै हिस्सा हुँ।

म मजदुर परिवारमा जन्मेको हुँ …।  सत्ता र शक्तिमा भएकाहरूको साथमा म कहिल्यै भइनँ। आफ्नो कर्म र कवितामार्फत चिलीका जनताको सेवा गर्नुलाई मैले सदा आफ्नो उद्यम र कर्तव्य ठानेँ। मेरो सिंगो जीवन उनीहरूको अनुष्ठान र प्रतिरक्षा गर्दै बितेको छ।’

चार महिनाको कडा चुनावी अभियानपछि चिलीका विभाजित वामपन्थीहरूका कारण नेरुदाले उम्मेदवारी फिर्ता लिए। उनले सर्वस्वीकार्य र लोकप्रिय उम्मेदवारलाई समर्थन गरे

। राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिनुभन्दा केही अघि मात्र जनवरी, १९७० मा यो अन्तर्वार्ता ‘इस्ला नेग्रा’ स्थित उनको घरमा गरिएको थियो।इस्ला नेग्रा (कालो टापू) न कालो छ, न यो टापू नै हो।

भाल्पारइजो शहरको दक्षिणतिर चालिस किलोमिटरजति पर र सान्टियागोबाट दुई घण्टाको सवारीमा पुगिने यो सुन्दर तटीय क्षेत्र हो। यसको नाम कसरी रहन गयो ? कसैलाई थाहा छैन।

नेरुदा काला पत्थरहरूले टापूजस्तो बनाएकाले यसको नाम ‘इस्ला नेग्रा’ रहन गएको होला भन्ने अनुमान गर्छन्।  उनको घरको बरन्डाबाट काला पत्थरका चाङ देखिन्छन्।

तीस वर्षअघि नेरुदाले आफ्ना किताबहरूको रोयल्टीबाट समुद्रतटको सामुन्ने रहेको छ हजार वर्गमिटर जमिन किनेका थिए। त्यतिबेला ‘इस्ला नेग्रा’बारे कसैलाई थाहा थिएन।

यहाँ फाट्टफुट्ट घरहरू थिए। नेरुदाको जमिनमा भिरालो ठाउँको सिरानमा सानो ढुंगाको घर थियो। ‘त्यसपछि त यहाँ घरहरू बढ्न थाले, मान्छेहरू बढेझैँ, रूखहरू बढेझैँ,’ उनी भन्छन्।

नेरुदाका अन्य दुई घर छन्, एउटा राजधानी सान्टियागोको सान क्रिस्टोबल हिलमा र अर्को भाल्पारइजोमा। घर सजाउने सामग्रीको तलासमा उनी पुराना चिजबिज पाइने पसलदेखि कबाडखानासम्म पुगेका छन्।

हरेक चिजले उनलाई कसै न कसैको सम्झना गराउँछ। ‘त्यो मूर्ति स्टालिनजस्तो देखिँदैन त ?’– इस्ला नेग्राको घरको भोजनकक्षमा रहेको अङ्ग्रेजी साहसिक यात्री मोर्गनको अर्धप्रतिमा देखाउँदै उनी सोध्छन्।

‘यो मूर्ति मैले पेरिसबाट ल्याएको हुँ। प्राचीन सामग्री विक्रेताले पहिले त बेच्नै मानेको थिएन। उसले म चिलीको नागरिक भएको जानेपछि मलाई ‘पाब्लो नेरुदालाई चिन्नुहुन्छ ?’ भनेर सोध्यो। यसरी मैले यो मूर्ति हात पारेँ।’

‘सांसारिक नाविक’ नेरुदा र उनकी तेस्रो पत्नी मातिल्दे इस्ला नेग्राको यही घरमा धेरैजसो बस्छन्। मातिल्देलाई उनी प्रेमपूर्वक ‘पातोखा’ (बच्चा) भन्छन्। उनी नेरुदाको प्रेरणा हुन्। उनलाई सम्बोधन गरेर नेरुदाले थुप्रै प्रेमकविता लेखेका छन्।

अग्लो, गठिलो ज्यानका नेरुदा जैतुन वर्णका छन्। चुच्चो नाक र घुम्टोयुक्त ढकनी भएका ठूला खैरा आँखाले उनको मुखाकृतिलाई विशिष्ट बनाएका छन्।

उनको गति सुस्त तर सुदृढ छ। उनी स्पष्ट बोल्छन्। बोलीमा कुनै आडम्बर हुँदैन। उनी प्रायः चिनियाँ नस्लका दुइटा कुकुरका साथ टहल्न निस्कन्छन्। लामो पहिरन लगाएर डुल्ने नेरुदाका हातमा गाउँले पाराको लट्ठी हुन्छ।

भारतमा कन्सुलर थिएँ। त्यहाँको सामाजिक परिस्थितिले द्रवीभूत बनायो। त्यो विशाल निहत्था र निस्सहाय राष्ट्र ! साम्राज्यवादको जुवामा नारिएको ! पदीय मर्यादाविपरीत मैले त्यहाँका युवा विद्रोहीसँग सङ्गत गरेँ।

इस्ला नेग्रामा उनलाई भेट्न आउनेहरूको सधैँ भीड हुन्छ। उनी सबैलाई भेट्छन्। अपर्झट या ढिलो आउने आगन्तुकले पनि निराश हुनुपर्दैन। नेरुदाको घरमा एउटा बार छ।

उनी पाहुनालाई प्रायः बारमै भेट्छन्। समुद्रतटतिर फर्किएको बरन्डाबाट सानो मटान हुँदै बारमा पुग्न सकिन्छ। मटानको भुइँमा भिक्टोरियन स्नानागर छ। त्यहाँ एउटा पुरानो हातेबाजा पनि छ। झ्यालको तख्तामा रक्सीका सिसीहरू छन्।

बारलाई पानीजहाजको आगन्तुक कक्षजसरी सजाइएको छ। टेबल र कुर्सी पेचकिला लगाएर भुइँमा जडिएका छन्। जहाजी बत्ती र चित्रहरू छन्। समुद्रतर्फ फर्केको कोठाका भित्ता सिसाका फल्याकले बनेका छन्। काठको हरेक दलिनमा एक जना सिकर्मीले नेरुदाका दिवङ्गत मित्रहरूका नाम उनकै हस्तलिपिमा खोपिदिएका छन्।

बारको पछाडि, मदिराको तख्तामा सानो पाटी झुन्ड्याइएको छ, जसमा लेखिएको छ– ‘यहाँ उधारो मनाही छ।’ नेरुदा गम्भीरतापूर्वक ‘बारटेन्डर’को भूमिका निर्वाह गर्छन्।

पाहुनाका लागि शानदार मदिरा बनाउँछन्। आफू भने स्कच र वाइन मात्रै खान्छन्। भित्तामा दुइटा नेरुदाविरोधी पोस्टर टाँगिएका छन्। एउटा उनले भेनेजुएलाको राजधानी काराकासबाट ल्याएका हुन्।

यसमा नेरुदाको चिरपरिचित रेखाचित्र छ र लेखिएको छ–   ‘नेरुदा, घर फर्क !’ अर्को पोस्टरमा उनको तस्बिर छापिएको एउटा अर्जेन्टिनी म्यागजिनको आवरण पृष्ठ छ, जसमा लेखिएको छ– ‘नेरुदा किन आत्महत्या गर्दैन ?’ अर्को एउटा ठूलो पोस्टर पनि छ, छतदेखि भुइँसम्म छुने। त्यसमा हाँगाको चित्र छ।

नेरुदाको भान्छामा चिलीका ठेट परिकार पाक्छन्। उनले आफ्ना कवितामा पनि तिनलाई उल्लेख गरेका छन्। जस्तोः कङ्गर इलको सुप, गोलभेँडाको स्वादिलो अचार र भुरासहितको स्रिम्प माछाको परिकार, मासुको पाई।

यहाँ चिलियन वाइन मात्रै पिइन्छ, पिलाइन्छ। चिनियाँ माटोबाट बनेको चरा आकारको सुराहीले वाइन खनाउँदा गीत बज्छ। गर्मीयाममा बगैँचातर्फ फर्केको बरन्डामा पाहुनालाई दिवा भोजन गराइन्छ।

बगैँचामा पुरानो रेलको इन्जिन छ। यसबारे नेरुदा भन्छन्, ‘यो असाध्यै शक्तिशाली छ, मकै भिœयाउने मेसिनजस्तो छ, गजबको जन्मदाता हो यो, भव्यसँग सुसेल्छ, गर्जन्छ र कड्किन्छ…यो मलाई प्यारो छ किनभने यो वाल्ट ह्विटम्यानजस्तै देखिन्छ।’

यो अन्तर्वार्ता छोटो–छोटो बसाइमा गरिएको थियो। बिहानको नास्तापछि नेरुदा र म उनको पुस्तकालयमा भेट्थ्यौँ। यो पुस्तकालय हालसालै बनाइएको थियो। म उनलाई यहाँ पर्खन्थेँ।

नेरुदा आफूलाई प्राप्त चिठीपत्रको जवाफ लेख्थे, नयाँ कवितासङ्ग्रहका लागि कविता लेख्थे र ‘ट्वेन्टी लभ पोएम्स’को नयाँ चिलियन संस्करणको प्रुफ हेर्थे। यी सारा कामबाट निवृत्त भएपछि हामी कुराकानी गथ्र्याैं।

साधारण कापीमा उनी कविता लेख्छन्, नीलो मसी प्रयोग गर्छन्। छोटो समयमा उनी लामो कविता लेख्न सक्छन्। लेखेपछि अलिअलि सच्याँउछन्। त्यसपछि होमेरो एर्सले उनको कविता टाइप गर्छन्। होमेरो उनका सेक्रेटरी र पचासौँ वर्ष पुराना मित्र हुन्।

दिउँसो प्रायः एक निद्रा सुत्छन् उनी। त्यसपछि हामी बरन्डामा भएको ढुंगे बेन्चमा बस्थ्यौँ। नेरुदा टेप रेकर्डरको माइक्रोफोन समाएर बोल्थे। उनको आवाजको पृष्ठभूमिमा समुद्रको ध्वनि हुन्थ्यो।

नाम किन फेर्नुभयो ? ‘पाब्लो नेरुदा’ किन राख्नुभयो ?

मलाई सम्झना छैन। तेह्र–चौध वर्षको थिएँ सायद। सम्झिन्छु– मेरा बाउलाई मैले लेखेको मन पर्दैनथ्यो। मेरो भलो नै चाहेर उनी सोच्दथे, लेखनले मलाई र परिवारलाई ध्वस्त बनाउँछ। खास गरी, मलाई। लेखनले मलाई पूर्णतः निकम्मा बनाउला भन्ने भय थियो उनलाई। उनले यस्तो सोच्नुमा घरेलु कारण थिए। तर, मलाई ती कारणको पर्वाह थिएन। मैले अवलम्बन गरेको पहिलो प्रतिरक्षात्मक उपाय थियो– नाम परिवर्तन।

चेक कवि हान नेरुदाबाट ‘नेरुदा’ राख्नुभएको हो ?

मैले उनको एउटा कथासङग्रह पढेको थिएँ। उनका कविता चाहिँ पढेको छैन। उनको ‘माला स्त्रानाका कथाहरू’ नामक कथासङ्ग्रह छ। त्यसमा प्रागको ‘माला स्त्राना’ भन्ने ठाउँका सरल र विनीत मान्छेहरूबारे लेखिएको छ।

मेरो नाम त्यहीँबाट आएको हुन सक्छ। मैले भनेँ नि, यो अति पुरानो कुरा हो। सम्झनै सक्दिनँ। यद्यपि, चेकहरू मलाई आफ्नै मान्छे ठान्छन्, उनीहरूको राष्ट्रको एउटा हिस्सा ठान्छन्। उनीहरूसँग मेरो मित्रवत् सम्बन्ध छ।

कथम् चिलीको राष्ट्रपति निर्वाचित हुनुभयो भने लेखिरहनुहुन्छ कि लेख्न छोड्नुहुन्छ ? 

मेरा निम्ति लेख्नु भनेको सास फेर्नुजस्तै हो। सास नफेरी म बाँच्न सक्दिनँ। नलेखी पनि म बाँच्न सक्दिनँ।

उच्च राजनीतिक आकाङ्क्षा पालेका र सफल भएका कविहरू को–को हुन् ?

हाम्रो युग कवि शासकहरूको युग हो। जस्तो कि, माओत्से तुङ र हो ची मिन्ह। माओत्से तुङका अन्य प्रतिभा पनि छन्। उनी राम्रो पौडीबाज हुन्। म चाहिँ होइन। अर्का महान् कवि लियोपोल्द सेङ्गोर हाल सेनेगलका राष्ट्रपति हुन्।

अतियथार्थवादी कवि आइमे सेसेर क्यारिबियाली द्वीप मार्तिनिकीको शहर फोर्त–दे–फ्रान्सका मेयर छन्। मेरो देश चिलीमा कविहरूले सदा राजनीतिमा हस्तक्षेप गरेका छन् तर आजसम्म कुनै कवि राष्ट्रपति भएका छैनन्। अर्कोतर्फ, ल्याटिन अमेरिकामा लेखकहरू राष्ट्रपति भएका छन्। लेखक रोमुलो गालेगोस भेनेजुएलाका राष्ट्रपति थिए।

तपाईंको राष्ट्रपतीय चुनावी अभियान कस्तो चलिरहेको छ ?

कसरी चलिरहेको छ भने एउटा मञ्च तयार हुन्छ। त्यहाँ सबभन्दा पहिले लोकगीतहरू गाइन्छन्। त्यसपछि एकजना जिम्मेवार व्यक्तिले हाम्रो अभियानको विशुद्ध राजनीतिक प्रयोजनबारे बोल्छ।

अनि, त्यसपछि मेरो पालो आउँछ। म शहरियाहरूसँग अलिक बढी खुला र स्वतन्त्र तरिकाले अभिव्यक्त हुन्छु। मेरो अभिव्यक्ति त्यति संगठित हुँदैन। काव्यात्मक बढी हुन्छ।

म सधैँजसो मेरो भाषणको अन्त्यमा कविता पढ्छु। कविता पढिनँ भने मान्छेहरू निराश भएर फर्कन्छन्। उनीहरू मेरो राजनीतिक धारणा अवश्य सुन्न चाहन्छन् तर म राजनीतिक र आर्थिक पक्षमा ज्यादा बोल्दिनँ। किनभने, मानिसहरूलाई अर्को प्रकारको भाषा पनि चाहिन्छ।

तपाईंले कविता पढ्दा मानिसहरू कसरी प्रतिक्रिया जनाउँछन् ?

उनीहरू मलाई अत्यन्त भावनात्मक प्रेम गर्छन्। म कुनै–कुनै ठाउँ आफूखुशी जान या छोड्न सक्दिनँ। म विशेष रक्षक दलसँग हुन्छु, जसले मलाई भीडबाट जोगाउँछ। मान्छेहरू मलाई घेर्छन्, मेरो नजिक आउन चाहन्छन्। जतासुकै यस्तो हुन्छ।

तपाईंले नोबेल पुरस्कार पाउने चर्चा खूब चलिरहेको हुन्छ। चिलीको राष्ट्रपति पद र नोबेल पुरस्कारमध्ये एउटा रोज्नुपर्‍यो भने तपाईं कुन रोज्नुहुन्छ ?

यस्ता भ्रामक चिजहरूबीच छनोटको प्रश्न हुन सक्दैन।

मान्नुस् न, यही टेबलमा राष्ट्रपतिको पद र नोबेल पुरस्कार राखिएका छन्।  

यो टेबलमा यी दुई चिज मेरा सम्मुख राखिए भने म यहाँबाट उठ्छु र अर्को टेबलमा गएर बस्छु।

स्यामुएल बेकेटलाई नोबेल पुरस्कार दिनुलाई सही र न्यायोचित ठान्नुहुन्छ ?

अवश्य। बेकेटले छोटा तर शानदार कुरा लेखेका छन्। नोबेल पुरस्कार जहाँ, जसले पाए पनि त्यो साहित्यका लागि गर्वको कुरा हो। म त्यस्तो खालको मान्छे होइन, जो पुरस्कार सही व्यक्तिले पायो या पाएन भन्ने विषयमा बहस गरेर बस्छ।

नोबेल पुरस्कारको महत्त्व के हो त भन्दाखेरि, यदि यसको कुनै महत्त्व छ भने, यसले लेखकलाई एउटा उपाधि दिलाउँछ। यसको महत्त्वपूर्ण पक्ष यही हो।

तपाईंका गहन स्मृति के–के हुन् ?

खै, के–के भन्नु ? सायद स्पेनमा, त्यो कविहरूको भव्य भ्रातृत्वमा, बितेको जीवनको एउटा कालखण्ड मेरो गहनतम स्मृति हो। मैले हाम्रो अमेरिकी संसारमा त्यस्तो बन्धुवत् समूह देखेको छैन।

बोयनस एरिसमा भनिने ‘आलाक्य्रानिओ’ अर्थात् अफवाह र गफगाफले भरपूर समूह !  तर पछि, साथीहरूको त्यस्तो गणराज्य गृहयुद्धले तहसनहस भएको हेर्नु भयानक अनुभूति थियो।

त्यो फासीवादी दमनको भीषण वास्तविकताको झलक थियो। मेरा साथीहरू तितरबितर भए। गार्सिया लोर्का र मिगेल हर्नान्देज लगायतलाई त उन्मूलन नै गरियो।

मेरा केही साथी निर्वासनमा मरे। केही अझै निर्वासित छन्। मेरो जीवनको त्यो सिङ्गो कालखण्ड असाध्यै घटनापूर्ण र भावनात्मक हिसाबले अत्यन्त सघन थियो। त्यसले मेरो जीवनको दिशा नै बदलिदियो।

अब तपाईंलाई स्पेनमा प्रवेश गर्न देलान् त ?

मलाई स्पेन छिर्न आधिकारिक रूपमा प्रतिबन्ध त कहाँ लगाइएको छ र ? एक चोटि मलाई त्यहाँ रहेको चिलीको दूतावासले कविता पाठ गर्न निम्तो दिएको थियो। मैले स्पेनमा प्रवेश पाउने सम्भावना बलियो छ।

तर, म यसलाई धेरै महत्त्व दिने पक्षमा छैन। फासीवादविरुद्ध कठोरतापूर्वक लडेकाहरूलाई स्पेन प्रवेशको अनुमति दिएर स्पेनी सरकारले अलिकति लोकतान्त्रिक भावना देखाउनु उसका निम्ति त्यति गाह्रो नहुनुपर्ने हो।

थुप्रै देशमा मेरो प्रवेश प्रतिबन्धित छ। थुप्रै देशबाट निष्कासित भएको छु। अब त प्रतिबन्ध, निष्कासनजस्ता कुराले मलाई चिढाउँदैनन् पनि। पहिले–पहिले भने अलिक विचलित बनाउँथे।

गार्सिया लोर्काको हत्याअघि तपाईंले उनीमाथि कविता लेख्नुभएको थियो। एकप्रकारले भन्ने हो तपाईंले उनको दुःखद अन्त्यको भविष्यवाणी गर्नुभएको थियो।

त्यो कविता अनौठो छ। अनौठो किनभने, ऊ अत्यन्त प्रसन्न व्यक्ति थियो। क्या प्रफुल्ल जीव थियो ! मैले ऊजस्ता मान्छे बिरलै देखेको छु। ऊ एउटा अवतार थियो…अँ, सफलताको त नभनौँ… जीवनप्रतिको प्रेमको अवतार थियो। उसले जीवनको हरेक पलको आनन्द लियो। खुशीको अचाक्ली अतिव्यय गर्‍यो। उसको हत्या फासीवादको अक्षम्य अपराध थियो।

तपाईंले उनलाई आफ्ना कवितामा धेरै ठाउँमा उल्लेख गर्नुभएको छ। मिगेल हर्नान्देज पनि तपाईंका कवितामा बारम्बार आएका छन्।

हर्नान्देज मेरो छोरो समान थियो। कविका रूपमा ऊ मेरो चेलोजस्तै थियो। ऊ प्रायः मेरो घरमा बस्थ्यो। गार्सिया लोर्काको मृत्युको सरकारी बयानलाई अस्वीकार गरेकै कारण उसले जेल जानुपर्‍यो।

र, जेलमै उसको मृत्यु भयो। फासीवादी सरकारको बयान सत्य भएको भए उसले हर्नान्देजलाई मृत्युपर्यन्त किन जेलमा राख्थ्यो ? चिलीको दूतावासले उसलाई अस्पतालमा राख्ने प्रस्ताव गर्दा उनीहरूले किन मानेनन् ? मिगेल हर्नान्देजको पनि हत्या भएको थियो।

भारतमा केही वर्ष बिताउनुभयो। त्यहाँका सम्झना आइरहने कुरा के–के छन् ?

मेरो भारत बसाइ आकस्मिक थियो। म त्यसका लागि तयार थिइनँ। त्यो अपरिचित उपमहाद्वीपको भव्यताले वशीभूत थिएँ। तर, पनि हतास थिएँ। किनभने, त्यहाँ मेरो जीवन र मेरो एक्लोपन लामो थियो।

कहिलेकाहीँ लाग्थ्यो– म कहिल्यै नसकिने टेक्निकलर फिल्ममा सामेल भएको छु। फिल्म शानदार त छ तर त्यसलाई छोड्ने अनुमति मलाई छैन। यति धेरै दक्षिण अमेरिकी तथा अन्य विदेशीलाई भारततिर खिच्ने त्यस्तो रहस्य मलाई कहिल्यै अनुभूत भएन।

आफ्ना व्यग्रताहरूको धार्मिक जवाफ खोज्न भारत जाने मान्छेहरूले फरक ढंगले सोच्लान्। तर, मलाई भने भारतको समाजशास्त्रीय परिस्थितिले द्रवीभूत बनायो।

त्यो विशाल निहत्था र निस्सहाय राष्ट्र ! साम्राज्यवादको जुवामा नारिएको ! अङ्ग्रेजी संस्कृतिप्रति ममा ठूलो अनुराग थियो। तर, त्यति बेला त्यति धेरै हिन्दूहरूको बौद्धिक आत्मसमर्पणको उपकरण बनेकाले मलाई त्यो घृणित लाग्यो।

म त्यहाँ कन्सुलर थिएँ। पदीय मर्यादाविपरीत मैले त्यहाँका युवा विद्रोहीहरूसँग सङ्गत गरेँ। महान् भारतीय स्वतन्त्रता सङ्ग्रामका सबै क्रान्तिकारीलाई मैले चिन्नु थियो। त्यो आन्दोलनले अन्ततः भारत स्वतन्त्र भयो।

‘पृथ्वीमा आवास (रेजिडेन्स अन अर्थ)’ कवितासङ्ग्रह तपाईंले भारतमा बस्दाखेरि लेख्नुभएको होइन ?

हो, तर मेरा कवितामा भारतको साह्रै न्यून बौद्धिक प्रभाव छ।

अर्जेन्टिनी पत्रमित्र एक्तर इयान्दीलाई रङ्गुनमा बस्दा ती मर्मस्पर्शी चिठी लेख्नुभएको हो क्यारे ? 

हो। ती चिठी मेरो जीवनमा महत्त्वपूर्ण थिए। उनलाई म व्यक्तिगत रूपमा चिन्दिनथेँ। एक्तर असल मान्छे थिए। उनी मलाई चिठी र पत्रपत्रिका पठाउँथे। तिनले मेरो विराट एकाकीपनमा राहत प्रदान गर्थे।

आफ्नै भाषासँग सम्पर्क गुमाउने भय थियो मलाई। किनभने, वर्षाैंसम्म मैले कसैलाई भेटिनँ, जोसँग स्पेनी भाषा बोल्न सकूँ। एकचोटि त राफाएल अल्बेर्तीलाई चिठी लेखेर स्पेनी शब्दकोश मगाएको थिएँ।

म कन्सुल थिएँ। तर, त्यो निम्न दर्जाको अवैतनिक पद थियो। म दुःसाध्य गरिबीमा बाँचेको थिएँ। त्योभन्दा पनि कष्टकर त एक्लोपन थियो। हप्तौँसम्म अर्को मान्छेको अनुहारै देख्न पाउन्नथेँ।

रङ्गुनमा होसी ब्लिससँग तपाईं भव्य प्रेम–सम्बन्धमा हुनुहुन्थ्यो। थुप्रै कवितामा उनलाई उल्लेख गर्नुभएको छ।

हो, होसी ब्लिस मेरो कवितामा गहिरो छाप छोड्ने महिला थिइन्। म उनलाई सदा सम्झन्छु। मेरा नवीनतम किताबमा पनि सम्झेको छु।

भनेपछि तपाईंको लेखन व्यक्तिगत जीवनसँग घनिष्ट रूपले जोडिएको छ ?

त्यो त स्वाभाविक हो। कवितामा कविको जीवन प्रतिविम्बित हुनैपर्छ। त्यो कलाको नियम हो। जीवनको नियम पनि त्यही हो।

तपाईंको लेखनलाई चरणहरूमा विभाजन गर्न सकिन्छ, कि कसो ?

यसबारे म अन्योलमा छु। मेरा निम्ति चरणसरण केही पनि छैन, तर समालोचकहरूले मेरा लेखनका चरण पत्ता लगाउँछन्। म के चाहिँ भन्न सक्छु भने मेरो कवितामा जीवका गुणहरू छन्।

जब म केटाकेटी थिएँ, मेरो कविता बालोचित थियो। जवान हुँदा मेरो कविता पनि जवान थियो। मैले दुःख पाउँदा मेरो कविता उदास थियो। र, सामाजिक सङ्घर्षमा होमिनुपर्दा मेरो कविता जुझारु थियो।

मेरो वर्तमान काव्यात्मकतामा यी सबै प्रवृत्तिको मिश्रण छ। मलाई सधैँ आन्तरिक आवश्यकताले लेखाउँछ। मलाई लाग्छ– सबै लेखक र खास गरी कविहरूका हकमा पनि यही कुरा लागू हुन्छ।

मैले तपाईंलाई कारमा पनि लेखिरहेको देखेकी छु।

जहाँ फुर्छ, जतिखेर फुर्छ, लेख्छु। म सधैँ लेखिरहेको हुन्छु।

हातैले लेख्नुहुन्छ हो ?

एउटा दुर्घटनामा औँलामा चोट लागेपछि केही महिना टाइपराइटर चलाउन सकिनँ। त्यतिबेला युवावस्थाको लेख्ने शैलीमा फर्किएँ। अर्थात्, हातैले लेख्न थालेँ। औँला ठीक भएर टाइप गर्न सक्ने भएपछि मैले के पाएँ भने हातले लेखेका मेरा कविता अधिक संवेदनशील र सूक्ष्म थिए।

तिनको लचकदार स्वरूप सजिलै परिवर्तन हुन्थ्यो। एउटा अन्तर्वार्तामा रोबर्ट ग्रेभ्सले भनेका छन्, ‘सोच्नका निम्ति व्यक्तिका वरिपरि यथासम्भव कमभन्दा कम त्यस्ता चिज हुनुपर्छ, जो हस्त निर्मित हुँदैनन्।’

उनले कविता हातले लेखिनुपर्छ भनेको भए खासा हुन्थ्यो। टाइपराइटरले  कवितासँगको गहिरो आत्मीयताबाट मलाई विच्छेद गराउँथ्यो र हातले मलाई त्यो आत्मीयतासँग पुनः निकट पुर्‍यायो।

साम्राज्यवाद मेरो शत्रु हो। पुँजीवादीहरू मेरा शत्रु हुन्। भियतनाममा नेपाम र बम खसाल्नेहरू मेरा शत्रु हुन्।

तपाईंको लेख्ने समय कुन हो ?

त्यस्तो कुनै तालिका छैन। तर, म बिहान लेख्न रुचाउँछु। भन्नुको तात्पर्य– तपाईंले यो बिहान मलाई आफ्नो समय बर्बाद पार्न नलगाएको भए (र, आफ्नो समय पनि बर्बाद नगर्नुभएको भए) म लेखिरहेको हुने थिएँ।

म दिउँसो उस्तो पढ्दिनँ। बरु दिनभरि लेख्छु। विशृङ्खलित तवरले आफूभित्रबाट निःसृत कुनै विचार, अभिव्यक्ति वा कुनै चिज (जसलाई पुरानो भाषामा ‘प्रेरणा’ भनूँ) को पूर्णताले मलाई प्रायः सन्तुष्ट या थकित या शान्त या रित्तो बनाएर छोड्छ।

त्यसपछि म थप लेख्न सक्दिनँ। त्यसबाहेक, मलाई दिउसभरि डेस्कमा बसिरहन मन लाग्छ। म आफूलाई जिन्दगीको, घरपरिवारको, राजनीतिको र प्रकृतिको तमासा र चालचलनमा संलग्न गराउन रुचाउँछु।

यो प्रक्रियामा मेरो आउने/जाने क्रम चलिरहन्छ। तर, जब लेख्ने वातावरण बन्छ, म जहाँ भए पनि तीव्रतापूर्वक लेख्छु। वरिपरि थुप्रै मान्छे छन् भने पनि मलाई लेख्न कठिन हुँदैन।

वरिपरिको वातावरणबाट तपाईं आफूलाई पूर्णतः विच्छेद गराउन सक्नुहुन्छ ?

सक्छु। र, यदि सबै कुरा अचानक शान्त भए भने म आकुल–व्याकुल हुन्छु।

तपाईंले गद्यलाई कहिल्यै महत्त्व दिनुभएन।

जिन्दगीभरि पद्यमा लेख्ने आवश्यकता महसुस गरिरहेँ। आफूलाई गद्यमा अभिव्यक्त गर्न मलाई कहिल्यै रुचि भएन। क्षणभङ्गुर भावना वा घटना अभिव्यक्त गर्न म गद्य प्रयोग गर्छु, जो कथात्मक वा विवरणात्मक हुन्छ। सत्य के हो भने म गद्यमा लेख्न ठ्याम्मै छोड्न सक्छु। तर, यसो कहिलेकाहीँ लेखिटोपल्छु।

आगजनीबाट आफ्ना कृतिहरू जोगाउनुपर्ने खण्ड आइलागे कुन–कुनलाई जोगाउनुहुन्छ ?

कुनैलाई पनि जोगाउँदिनँ होला। मलाई तिनको के आवश्यकता छ र ? बरु म त कुनै युवतीलाई जोगाउने थिएँ…अथवा, जासुसी कथाहरूको राम्रो सङ्कनलाई जोगाउने थिएँ…जसले मलाई मेरा आफ्ना कृतिले भन्दा बढी आनन्द दिलाउँछन्।

कुन समालोचकले तपाईंको लेखन सबैभन्दा राम्ररी बुझेको छ ? 

उफ्, मेरा समीक्षकहरू ! तिनले त अतिशय प्रेमले वा घृणाले मलाई टुक्रा–टुक्रामा छरपष्ट पारिदिएका छन्। जीवन र कलामा कसैले सबैलाई खुशी पार्न सक्दैन। यो परिस्थिति सदा हामीसँग रहन्छ। हरेकले सधैँ चुम्बन र चड्कन, लाड–प्यार र लात्ती पाइरहेको हुन्छ।

र, कविको जीवन पनि त्यही हो। कविताको व्याख्या र कसैको जिन्दगीका घटनालाई तोडमोड गरिँदा चाहिँ मलाई नमज्जा लाग्छ। जस्तोः न्युयोर्कमा ‘पेन क्लब कङ्ग्रेस’ भयो। थुप्रै देशका कवि–लेखकको जमघट थियो।

त्यहाँ मैले आफ्ना केही थान सामाजिक कविता पढेँ। क्यालिफोर्नियामा अझ धेरै कविता पढेँ। ती दुई ठाउँमा मैले पढेका सबै कविता क्युबाली क्रान्तिको समर्थनमा क्युबाप्रति समर्पित थिए।

तर, विडम्बना ! क्युबाली लेखकहरूले हस्ताक्षर गरेर एउटा पत्र नै निकाले र त्यसको लाखौँ प्रति बाँडियो। पत्रमा मेरो विचारमाथि प्रश्न गरिएको थियो। त्यतिले नपुगेर मलाई तोकेरै ‘उत्तर अमेरिकीहरूले संरक्षण गरेको जीव’ भनियो।

उनीहरूले केसम्म भन्न भ्याए भने अमेरिका प्रवेश मेरा निम्ति एक खालको पुरस्कार थियो। त्यो अभिव्यक्ति पूर्णतः मूर्खतापूर्ण थियो, अझ द्वेषपूर्ण थियो।

समाजवादी देशका थुप्रै लेखक न्युयोर्क आएका थिए। क्युबाली लेखकहरू पनि आउने अपेक्षा थियो। न्युयोर्क जाँदैमा हाम्रो साम्राज्यवादविरोधी चरित्र नष्ट हुँदैन।

मप्रतिको त्यो टिप्पणी क्युबाली लेखकहरूको कि त आवेग थियो, कि त बद्नियत। अहिले म आफ्नो पार्टीका तर्फबाट गणतन्त्र चिलीको राष्ट्रपतीय उम्मेदवार हुँ। यसले के पुष्टि गर्छ भने मेरो वस्तुतः क्रान्तिकारी इतिहास छ।

त्यो पत्रमा हस्ताक्षर गर्ने कुन चाहिँ लेखक क्रान्तिकारी लेखनप्रतिको समर्पणमा मसँग तुलनायोग्य छ ? मैले जेका निम्ति लडेँ र जे गरेँ, उनीहरूमध्ये कसैले त्यसको शतांश पनि गरेका छैनन्।

तपाईंको जीवनशैली र आर्थिक हैसियतको सधैँ आलोचना गरिन्छ। 

वास्तवमा यो मिथ मात्र हो। खास कुरो के हो भने हामीले स्पेनबाट अलिक खराब विरासत प्राप्त गरेका छौँ। त्यसले आफ्ना नागरिक कुनै कुरामा अब्बल या श्रेष्ठ भएको देखिसहँदैन।

उनीहरूले क्रिस्टोफर कोलम्बसलाई स्पेन फर्किँदा सिक्रीमा जकडेका थिए। त्यो विरासत हामीले ईर्ष्यालु पेटी बुर्जुवाबाट पाएका हौँ, जो हमेसा अरूसँग के छ र आफूसँग के छैन भन्ने सोचिबस्छ।

मेरा हकमा, मैले आफ्नो जीवन जनताको हर्जानाका लागि समर्पण गरेको छु। मेरो घरमा जे छन्, जति छन्, खास गरी मेरा किताबहरू, ती सबै मेरो मेहनतका फल हुन्। मैले कसैको शोषण गरेको छैन।

मेरो जीवनशैली र आर्थिकस्तरको आलोचना मलाई विचित्रको लाग्छ। मेरो जसरी निन्दा गरिन्छ, जन्मसिद्ध धनाढ्य लेखकहरूको चाहिँ कहिल्यै त्यसरी गरिन्न।

पचास–पचास वर्ष लेखेर बाँच्ने मै त छु निन्दालायक ! मेरा आलोचकहरू सधैँ भनिरहेका हुन्छन्, ‘हेर त क्या शानले बाँचिरहेको छ त्यो। समुद्रपट्टि फर्केको घर छ त्यसको।

त्यो दामी र उत्तम रक्सी खान्छ।’ वाहियात ! अब चिलीमा खराब रक्सी नै पाइँदैन त म के गरूँ ? खासमा यो एउटा समस्या हो, जसले हाम्रो देशको पछौटेपन र समग्रमा हाम्रा तौरतरिकाका तुच्छता प्रतिविम्बन गर्छ।

नर्मन मेलरबारे तपाईंले नै मलाई सुनाउनुभएको होइन ? एउटा उत्तर अमेरिकी पत्रिकाले उनलाई तीनटा लेखको पारिश्रमिक नब्बे हजार डलर दिएको थियो।

कुनै ल्याटिन अमेरिकी लेखकले यत्रो पारिश्रमिक पाएको भए हामीकहाँ लेखकहरूले विरोध र्‍याली नै निकाल्ने थिए। उनीहरूले भन्ने थिए, ‘यो कस्तो अत्याचार हो ?

अहो, कति भयानक ! कहाँ गएर यो रोकिने होला ?’ एउटा लेखकले यति पारिश्रमिक माग गर्न सक्दो रहेछ भनेर खुशी हुनु त कता हो कता ? यहाँ त विरोध गरिन्छ। मैले भनेँ नि, यस्ता दुर्भाग्यहरूको शृङ्खला चलिरहन्छ, जसलाई सांस्कृतिक पछौटेपन भनिन्छ।

कम्युनिस्ट पार्टीमा हुनुभएकाले यस्तो आरोप अधिक कठोर हुँदो हो नि ?

बिलकुल हुन्छ। भनिन्छ नि– जोसँग केही छैन, ऊसँग गुमाउनका लागि सिक्रीबाहेक केही पनि हुँदैन। मैले हरेक क्षण आफ्नो जीवन, आफ्नो व्यक्तित्व, आफ्नो सर्वस्व, मेरा किताब र मेरो घर… सबै सबै जोखिममा पारेको छु।

मेरो घर जलाइएको छ। मैले उत्पीडन बेहोरेको छु। पटक–पटक पक्राउ परेको छु, निर्वासित भएको छु। मलाई बाहिरी जगत्सँग सम्पर्कविहीन तुल्याइएको थियो। हजारौँ पुलिसले मलाई खोजिरहेका थिए।

ठीक छ, म स्विकार्छु, मसँग जेजति छ, मलाई सहज लागिरहेको छैन। त्यसैले मैले आफ्नो सर्वस्व जनताको लडाइँमा अर्पण गरेको छु। तपाईं अहिले जुन घरमा हुनुहुन्छ, त्यो बीस वर्षदेखि कम्युनिस्ट पार्टीको स्वामित्वमा छ।

मैले जनताको परमादेशमा यो घर पार्टीलाई दिएको छु। पार्टीको सदाशयताका कारण यस घरमा बसिरहेको छु। मेरो भत्र्सना गर्नेहरूले मेरोजस्तो गरेर देखाऊन् न, अनि म पनि मानुँला। तिनले आफ्नो एक जोर जुत्ता अरूका निम्ति छोडेर देखाऊन् त !

थुप्रै पुस्तकालयलाई तपाईंले सहयोग गर्नुभएको छ। ‘इस्ला नेग्रा’मा लेखकहरूलाई लेख्ने थलो उपलब्ध गराउने योजनामा तपाईं संलग्न हुनुहुन्छ, होइन ?

चिली विश्वविद्यालयलाई मैले सिङ्गै पुस्तकालय दान गरेको छु भन्दा पनि हुन्छ। म किताबको आम्दानीले बाँचिरहेको छु। बचतका नाममा मसँग सुको पनि छैन। मेरो व्यक्तिगत स्वामित्व भन्नु हरेक महिना किताबबाट प्राप्त हुने लेखकस्व हो।

त्यो आम्दानीले म समुद्रतटमा ठूलो जमिन किन्दै छु। भविष्यमा लेखकहरूले त्यहाँ गर्मीयाम बिताउन पाउनेछन् र असाधारण सौन्दर्यको वातावरणमा सिर्जनशील काम गर्न पाउनेछन्।

यसको व्यवस्थापनका लागि ‘कान्तालाओ फाउन्डेसन’ बनाइनेछ, जसमा क्याथोलिक विश्वविद्यालय र चिली विश्वविद्यालयका निर्देशक र लेखक समाजका सदस्य रहनेछन्।

तपाईंको पहिलो किताब ‘बीस प्रेम कविता र एउटा विषाद गीत’ हजारौँ प्रशंसकले पढे, निरन्तर पढिरहेका छन्।

यो किताबको दश लाख प्रति प्रकाशन भएको अवसरमा निकालिएको संस्करणको भूमिकामा मैले भनेको छु– ‘यो किताब किन यति धेरै बिक्री भयो, मलाई थाहा छैन। प्रेम–उदासी, प्रेम–पीडाको यो किताब किन यति धेरै मान्छेले, यति धेरै युवाले पढिरहेका छन् ?

म जान्दिनँ।’ चाँडै नै यसको प्रकाशन बीस लाख प्रति पुग्दै छ। साँच्चै, किन यो यति धेरै पढियो होला ? सायद यसले जवानीका अनेक प्रहेलिकाको प्रतिनिधित्व गर्छ। सायद यसमा ती प्रहेलिकाहरूको जवाफ छ। यो शोकाकुल किताब हो। तर, यसको आकर्षण आजसम्म शिथिल भएको छैन।

तपाईं सम्भवतः सबैभन्दा बढी अनूदित कवि हो। तपाईंका कविता करिब ३० भाषामा अनुवाद भएका छन्। कुन भाषामा तपाईंलाई उत्कृष्ट तरिकाले अनुवाद गरिएको छ ?

इटालेली भाषामा सबैभन्दा राम्ररी अनूदित भएँजस्तो लाग्छ। किनभने, स्पेनी र इटालेली भाषामा धेरै समानता छन्। इटालेलीबाहेक म अङ्ग्रेजी र फ्रेन्च पनि जान्दछु।

यी दुई भाषाका स्पेनीसँग केही पनि मिल्दैन। शब्दहरूको स्वरोच्चारण, स्थापन, रङ या तौलमा यी भाषाको स्पेनीसँग कुनै पनि सादृश्य छैन। यो अर्थको समतुल्यताको प्रश्न होइन।

बोध सही हुन सक्छ तर अनुवाद र अर्थको सटीकताले कवितालाई ध्वस्त पार्न पनि सक्छ। फ्रेन्चमा अनुवादित मेरा थुप्रै कविता (सबै चाहिँ होइनन्) मा मेरो काव्यात्मकता हराएको छ, छुटेको छ।

खासमा भन्ने हो भने अनुवादमा मेरो कविता नै बचेको हुँदैन। तर, अब यसमा विरोध गर्न सकिन्न। किनभने, अनुवादले भन्न त त्यही कुरा भन्छु, जो मैले लेखेको छु।

म फ्रेन्च कवि हुँदो हुँ त मैले त्यो कुरा भन्ने थिइनँ, जो मैले मूल पाठमा भनेको छु। किनभने, फरक–फरक भाषामा शब्दहरूको मूल्य फरक–फरक हुन्छन्। मैले अर्कै कुरा लेख्थेँ सायद।

अनि अङ्ग्रेजीमा चाहिँ तपाईंलाई कस्तो अनुवाद गरिएको छ नि ?

स्पेनीभन्दा अङ्ग्रेजी भाषा बिघ्नै भिन्न लाग्छ मलाई। अङ्ग्रेजी साह्रै सीधा र ठाडो भाषा हो। अङ्ग्रेजीमा मेरो कविताको अर्थ त व्यक्त हुन्छ, तर कविताको पर्यावरण भने सम्प्रेषण हुँदैन। अङ्ग्रेजी कविलाई स्पेनीमा अनुवाद गर्दा पनि सायद यस्तै हुँदो हो।

जासुसी कथा खूब पढ्नुहुन्छ। मन पर्ने लेखक को–को हुन् ?

यस खाले लेखनको शानदार साहित्यिक कृति एरिक एम्बलरको ‘अ कफिन फर दिमित्रियोस’ हो। मैले एम्बलरका प्रायः सबै किताब पढेको छु।

तर, ‘अ कफिन फर दिमित्रियोस’ मा जस्तो तात्त्विक पूर्णता, असाधारण कथानक र रहस्यमय वातावरण उनका अन्य किताबमा छैनन्। सिमेनन पनि साह्रै महत्त्वपूर्ण लेखक हुन्।

जेम्स ह्याड्ली चेजको जस्तो भव्य लेखन अरू कसैको छैन। भय, विभीषिका र विध्वंसक मिजाजमा उनले सबैलाई उछिनेका छन्। उनको ‘नो अर्किड्स फर मिस ब्लान्डिस’ जासुसी साहित्यको ऐतिहासिक किताब हो।

विलियम फकनरको उपन्यास ‘स्याङ्क्चुअरी’ र यसमा अनौठो समानता छ। ‘स्याङ्क्चुअरी’ अत्यन्त अप्रीतिकर तर महत्त्वपूर्ण किताब हो। यी दुईमध्ये अब्बल कुन हो ? मैले निधो गर्न सकेको छैन।

जासुसी साहित्य भन्नासाथ मैले सम्झिहाल्ने नाम ड्यासिएल ह्यामेट पनि हो। उनले यस विधालाई ‘स्तरहीन साहित्यिक कल्पना’बाट माथि उठाए र यसलाई बलियो मेरुदण्ड प्रदान गरे। उनी महान् सर्जक हुन्।

अरू पनि सयौँ जासुसी लेखक छन्। जोन म्याकडोनाल्ड सम्भवतः सबैभन्दा मेधावी लेखक हुन्। यी सबै जासुसी लेखकले धेरै किताब लेखेका छन्, असाधारण परिश्रम गरेका छन्।

उत्तर अमेरिकी जासुसी उपन्यासकारहरू पतनशील उत्तर अमेरिकी पुँजीवादी समाजका सम्भवतः सबैभन्दा चर्का आलोचक हुन्। यी जासुसी उपन्यासले राजनीतिकर्मी तथा प्रहरीको भ्रष्टाचार र निष्क्रियता, ठूला शहरमा पैसाको प्रभाव, उत्तर अमेरिकी पद्धतिका हरेक क्षेत्र र ‘अमेरिकी शैलीको जीवन’मा देखिएका भ्रष्टाचारमाथि जति प्रहार गरेका छन्, त्यति कसैले गरेका छैनन्।

जासुसी साहित्य सम्भवतः एउटा कालखण्डको सबैभन्दा नाटकीय साक्ष्य हो। यद्यपि, यसलाई तुच्छ आरोप ठानिएको छ। किनभने, जासुसी कथालाई साहित्यिक समालोचकले ध्यानै दिएका छैनन्।

अरू के–के पढ्नुहुन्छ ?

म इतिहासको पाठक हुँ। खास गरी, चिलीको पुरानो इतिहासमा मेरो रुचि छ। चिलीको इतिहास असाधारण छ। स्मारक या प्राचीन मूर्तिहरूका कारण असाधारण होइन। चिलीमा यी चिज छैनन्।

असाधारण किन त भने चिली एउटा कविले आविष्कार गरेको, बसाएको देश हो। उनको नाम थियो, दोन आलोन्सो दे एर्सिजा ई सुनिगा। उनी स्पेनी शासक कार्लाेस पाँचौँका परिचारक थिए।

उनी ‘बास्क’  सामन्त थिए, जो विजेताहरूको साथ लागेर चिली आइपुगेका थिए। यो अनौठो घटना थियो। यसअघि चिलीमा आउने अधिकांश मान्छे कालकोठरीबाट पठाइएका हुन्थे।

बाँच्नका निम्ति कठिनतम भूमि थियो चिली। अराउकेनियन इन्डियन र स्पेनीहरूबीच यहाँ शताब्दीयौँ लामो युद्ध भएको थियो। मानव इतिहासमै लामो युद्ध थियो त्यो।

अराउकेनियाको अर्धजङ्गली कबिला आफ्नो मुक्तिका खातिर स्पेनी अतिक्रमणकारीविरुद्ध तीन सय वर्षसम्म लड्यो। युवा मानवतावादी दोन आलोन्सो अधीनकर्ताहरूसँग आएका थिए।

उनीहरू पूरै अमेरिका नियन्त्रण गर्न चाहन्थे। गरे पनि। तर, चिली नामको जर्रो र बर्बर भूखण्डलाई उनीहरूले वशमा पार्न सकेनन्। दोन आलोन्सोले ‘ला अराउकेना’ लेखे। यो कास्तिलियन साहित्यको सबैभन्दा लामो महाकाव्य हो।

यसमा उनले आफ्ना स्वदेशी कास्तिलियन सिपाहीलाई भन्दा अराउकेनियाका अज्ञात कबिलाहरूलाई सम्मान दिएका छन्। ती गुमनाम नायकलाई पहिलोपटक नाम दिएका छन्।

सोह्रौँ शताब्दीमा प्रकाशित ‘ला अराउकेना’का अनुदित संस्करण युरोपभरि छरिए। महान् कविको महान् कृति हो यो। तसर्थ चिलीको इतिहासमा जन्मजात सौर्यपूर्ण महानता र पराक्रम छ।

हामी चिलियन स्पेनी र इन्डियन अमेरिकनजस्ता वर्णशंकर मान्छे होइनौँ। हामी स्पेनी सैनिक र तिनबाट बलात्कृत महिला वा तिनका रखौटीहरूका वंशज होइनौँ।

त्यो लामो युद्धग्रस्त समयमा अराउकेनियनहरूले स्पेनी महिलालाई बन्दी बनाएका थिए। अराउकेनियनसँग उनीहरूले राजीखुशी वा बलात् बिहे गरेका थिए। हामी चिलियन उनीहरूका सन्तान हौँ। हामी खास अपवाद हौँ।

र, तत्पश्चात् सन् १८१० पछि सुरु हुन्छ, स्वतन्त्रताको हाम्रो रक्तरञ्जित इतिहास। वियोग, दुर्भाग्य, असहमति र सङघर्षले भरिपूर्ण इतिहास ! सान मार्तिन, बोलिभार, होसे मिग्वेल कारेराजस्ता नामहरूले यस देशको इतिहासलाई सफलता र दुर्भाग्यका अनन्त पानाहरूबाट अगाडि बढाएका थिए।

यिनै कारणले म इतिहासका किताब खोज्छु र पुनः पुनः पढ्छु। इतिहासमा यो देशको गौरव खोज्दा म साह्रै आनन्दित हुन्छु। यति सुदूर, आफ्ना अक्षांशमा यति उदासीन र यति परित्यक्त यो देश…उत्तरमा लवणयुक्त विशाल घाँसेमैदान, दक्षिणमा अनन्त फैलिएको सुक्खा पठार, एन्डिजतिरको हिम प्रदेश र समुद्र निकटको फूलैफूलको भूमि। यही हो मेरो देश चिली।

म सदैव चिलियन हुँ। अन्य देशमा मलाई जति सम्मानपूर्वक व्यवहार गरिए पनि मैले मेरो देश फर्किनैपर्छ। युरोपका भव्य शहर मन पर्छन् मलाई।

इटालीको अर्नो उपत्यका, कोपेनहेगन र स्टकहोमका केही सडक र गल्ली भनेपछि भुतुक्कै हुन्छु। झन् पेरिस त अतीव प्यारो छ मलाई। तर, म ती ठाउँमा बस्न सक्दिनँ। चिलीमै फर्किनु छ मलाई।

‘मेरा समकालीनहरू’ शीर्षकको लेखमा अर्नेस्तो मोन्तेनेग्रोले उरुग्वेली समीक्षक रोद्रिग्वेज मोनेगलको आलोचना गरेका छन्। मोनेगेलले समकालीन युरोपेली र उत्तर अमेरिकी लेखकहरूले आफ्नो गद्यको नवीनीकरण चाहने हो भने आफ्ना ल्याटिन अमेरिकी सहपाठीलाई पढून् भन्ने दम्भपूर्ण इच्छा व्यक्त गरेका छन्।

मोन्तेनेग्रोले उनलाई ठट्टामा उडाइदिएका छन्। उनले ‘यो त कमिलाले हात्तीलाई ‘आइज, मेरो बुई चढ्’ भन्नुजस्तै हो’ भनेका छन्। उनले बोर्खेसलाई उद्धृत गरेका छन्।

अर्जेन्टिनी लेखक बोर्खेसले भनेका थिए, ‘यो देश (यो महादेश) ले बर्बर अमेरिकाको तुलनामा विश्वव्यापी प्रभाव भएको कुनै लेखक जन्माउन सकेको छैन।

एउटा इमर्सन या एउटा ह्विटम्यान या एउटा पो जन्माउन सकेको छैन। न त यस महादेशले हेनरी जेम्स वा मेल्भिलजस्ता महान् दुर्बोध लेखक नै पैदा गर्न सकेको छ।’

हाम्रो महादेशमा ह्विटम्यान, बुदलेएर अथवा काफ्काजस्ता नामहरू नहुँदैमा के बित्यास आइलाग्छ र ? साहित्य सिर्जनाको इतिहास मानवताको इतिहास जत्तिकै विशाल छ।

हामी सभ्याचार थोपर्न सक्दैनौँ। विशाल शिक्षित जनसङ्ख्या भएको अमेरिका र प्राचीन परम्पराले समृद्ध युरोपसँग ल्याटिन अमेरिकाको तुलना गर्न सकिन्न।

यहाँका जनसाधारण किताब या अभिव्यक्तिका माध्यमबाट वञ्चित छन्। तर, एकअर्कालाई ढुङ्गा हानेर समय व्यतीत गर्नु र यो वा त्यो महादेशका मान्छेलाई मात दिन जिन्दगी खर्चिनु मलाई क्षुद्र प्रान्तीय मानसिकता लाग्छ। उसो त यो सबै व्यक्तिगत विचारको मामिला हो।

ल्याटिन अमेरिकाको वर्तमान साहित्य प्रवृत्तिबारे केही भन्न चाहनुहुन्छ ? 

होन्डुरस, न्युयोर्क, मन्टेभिडियो वा ग्वायाक्विल, जहाँसुकैबाट प्रकाशित स्पेनी भाषाका म्यागजिनहरू हेर्दा हामी के पाउँछौँ भने प्रायः ती सबै इलियट या काफ्काद्वारा प्रभावित प्रचलित साहित्यको तालिकाजस्ता छन्।

वास्तवमा यो सांस्कृतिक उपनिवेशवादको उदाहरण हो। हामी अहिले पनि युरोपेली रीति–थितिमा संलग्न छौँ। जस्तो, चिलीमा एउटी गृहिणी तपाईंलाई चिनियाँ माटोको प्लेट देखाउँछे र तृप्त मुस्कानसहित भन्छे, ‘यो आयातीत हो।’

यहाँका लाखौँ घरमा सजाइने चिनियाँ माटोका भाँडा–बर्तन आयातीत छन्। ती जर्मनी र फ्रान्सका कारखानामा बन्छन् र घटिया गुणस्तरका हुन्छन्। यस्ता वाहियात चिजलाई यहाँ उच्च कोटिको मानिन्छ, किनभने ती आयातीत हुन्।

यसका निम्ति परम्पराद्वेषी भइएला भन्ने भय पो जिम्मेवार छ कि ?

उहिले सबैजना क्रान्तिकारी विचारसँग डराउँथे, खास गरी लेखकहरूसँग। यस दशकमा, विशेषतः क्युबाली क्रान्तिपछि, अवस्था ठीक विपरीत छ। लेखकहरू आफूलाई अरूले चरम वामपन्थी नठानिदेलान् भन्ने भयमा बाँचिरहेका छन्।

त्यसैले हरेक लेखक गुरिल्लाजस्तो बन्न उद्यत छ। धेरै यस्ता लेखक छन्, जो आफूलाई साम्राज्यवादविरोधी युद्धको अग्रमोर्चामा भएको ठान्छन् र त्यस्तो सुनिश्चित गर्ने खालका विषयवस्तु मात्रै लेख्छन्।

साम्राज्यवादविरुद्ध निरन्तर लड्ने हामीजस्ता लेखक चाहिँ साहित्यले आफूलाई जनताको पक्षमा उभ्याएकोमा हर्षित हुन्छौँ। तर, हामी केमा विश्वस्त छौँ भने लेखन केवल फेशन भयो र लेखक सक्रिय वामपन्थी नभइएला कि भनेर भयभीत भयो भने त्यो खालको क्रान्तिकारिताले हामीलाई धेरै टाढा पुर्‍याउँदैन।

आखिरीमा सबै प्रकारका जीवजन्तु साहित्यको जङ्गलमा अटाउँछन् नै। धेरै वर्षसम्म म केही हठाग्रही उत्पीडकद्वारा अपमानित भइरहेँ। उनीहरू मेरो कविता र मेरो जीवनलाई आक्रमण गर्न मात्रै बाँचेका छन् जस्तो लाग्थ्यो।

त्यतिखेर म आफ्ना शुभचिन्तकहरूलाई भन्ने गर्थें, ‘तिनीहरूको पर्वाह नगरौँ। यो साहित्यको जङ्गलमा सबैका निम्ति ठाउँ छ। अफ्रिका र श्रीलङ्काको जङ्गलमा त्यति धेरै स्थान ओगट्ने हात्तीहरूका लागि त यहाँ ठाउँ छ भने समस्त कविका लागि पनि यहाँ ठाउँ छ।’

होर्खे लुइस बोर्खेसको विरोधी भएको आरोप लगाइन्छ नि तपाईंलाई।

हामी दुईको फरक पृष्ठभूमिका कारण बोर्खेसप्रतिको मेरो विरोध बौद्धिक तथा सांस्कृतिक स्वरूपमा विद्यमान छ। शान्तिपूर्ण तवरले लड्न पाइन्छ पनि। लेखक मेरा शत्रु होइनन्।

मेरा शत्रु त अरू नै छन्। साम्राज्यवाद मेरो शत्रु हो। पुँजीवादीहरू मेरा शत्रु हुन्। भियतनाममा नेपाम र बम खसाल्नेहरू मेरा शत्रु हुन्। बोर्खेस कदापि मेरा शत्रु होइनन्।

म आफ्ना शुभचिन्तकलाई भन्ने गर्थें, ‘साहित्यको जङ्गलमा सबैका निम्ति ठाउँ छ। अफ्रिका र श्रीलङ्काको जङ्गलमा त्यति धेरै स्थान ओगट्ने हात्तीहरूका लागि त यहाँ ठाउँ छ भने समस्त कविका लागि पनि यहाँ ठाउँ छ।’

बोर्खेसको लेखनलाई कसरी लिनुहुन्छ ?

उनी महान् लेखक हुन्। स्पेनी भाषा बोल्नेहरू, त्यसमा पनि ल्याटिन अमेरिकी जनताका लागि त उनी गौरव नै हुन्। बोर्खेसअघि ल्याटिन अमेरिकामा युरोपका लेखकसँग तुलनायोग्य साह्रै थोरै लेखक थिए।

निश्चय नै हामीसँग महान् लेखक थिए। तर, बोर्खेसजस्ता विश्वव्यापी खालका लेखक हामीकहाँ सितिमिति पाइँदैन। म भन्दिनँ, उनी महान्तम छन्। आशा गर्छु– उनीभन्दा कैयौँ गुना राम्रा लेखक आउनेछन्।

तर, उनले हरेक हिसाबले ल्याटिन अमेरिकी साहित्यको बाटो खोलिदिए र हाम्रो भूभागप्रति युरोपको बौद्धिक उत्सुकता जगाइदिए, ध्यान खिचिदिए।

मान्छेहरू बोर्खेससँग म लडूँ भन्ने चाहन्छन्। तर, म कदापि त्यसो गर्ने छैन। उनी डाइनोसरले जसरी सोच्छन् भने मलाई केही भन्नु छैन। समकालीन विश्वमा के भइरहेको छ, उनलाई अत्तोपत्तो छैन। त्यस्तै, उनी पनि म केही बुझ्दिनँ भन्ने सोच्छन्। तसर्थ, हामी सहमतिमै छौँ।

केही अघि टीभीमा केही अर्जेन्टिनी युवाले गिटार बजाउँदै बोर्खेसको गीत (मिलोन्गा) गाएको हेर्‍यौँ। त्यसले तपाईंलाई खुशी बनायो होला नि ?

बोर्खेसको मिलोन्गा सुन्दा मलाई साह्रै आनन्द आउँछ। किनभने, उनीजस्ता क्लिष्ट, परिष्कृत र बौद्धिक कविले कुनै साधारण र लोकप्रिय विषयलाई यति साँचो र निश्चित पुट दिन सक्दा रहेछन्। मलाई बोर्खेसको मिलोन्गा साह्रै मन पर्छ। ल्याटिन अमेरिकी कविहरूले उनलाई अनुकरण गर्नुपर्छ।

तपाईंले चिलियन लोकगीत लेख्नुभएको छ ?

केही गीत लेखेको छु। ती चिलीमा लोकप्रिय छन्।

तपाईंलाई मन पर्ने रसियाली कवि को–को हुन् ?

रसियाली कवितामा सबैभन्दा प्रभावशाली कवि मायाकोभ्स्की हुन्। उत्तर अमेरिकाको औद्योगिक क्रान्तिका लागि वाल्ट ह्विटम्यान जे हुन्, रसियाली क्रान्तिका लागि मायाकोभ्स्की त्यही हुन्। उनले रसियाली कवितालाई यस प्रकारले गर्भाधान गरिदिएका छन् कि समग्र रसियाली कविता मायाकोभ्स्कियाली भएको छ।

रुस छोडेका रसियाली लेखकबारे तपाईंको के धारणा छ ?

छोड्न चाहनेले छोड्छन्। यो नितान्त व्यक्तिगत समस्या हो। केही सोभियत लेखक त्यहाँका साहित्यिक संस्था या राज्यसँगको आफ्नो सम्बन्धमा असन्तुष्ट भएका हुन सक्छन्।

मैले समाजवादी देशहरूमा लेखक र राज्यबीच कम असहमति भएको देखेकै छैन। अधिकांश सोभियत लेखक समाजवादी संरचना, नाजीविरुद्धको महान् मुक्ति युद्ध, क्रान्ति र विश्वयुद्धमा रुसी जनताको भूमिका र समाजवाद सिर्जित संरचनाहरूमा गौरव गर्छन्।

केही अपवाद छन् भने त्यो व्यक्तिगत मामिला हो। अन्ततः त्यस्ता घटनालाई व्यक्तिगत तवरमा परीक्षण गर्नु आवश्यक छ।

तर, सिर्जनात्मक कार्य स्वतन्त्र हुन सक्दैन। यसले राज्यको वैचारिक लाइनलाई प्रतिविम्बन गर्नुपर्छ।

यसो भन्नु अतिशयोक्तिपूर्ण हुनेछ। म थुप्रै लेखक र चित्रकारलाई जान्दछु, जसको अभिप्राय कदापि राज्यको प्रशंसा गर्नु होइन। यस्तो अवस्था छ भनेर सुझाउनुमा केही न केही षडयन्त्र छ। निःसन्देह हरेक क्रान्तिले आफ्ना शक्तिहरू परिचालन गर्नुपर्छ।

विकासविना क्रान्तिले निरन्तरता पाउँदैन। क्रान्तिले आफ्नो पूरा शक्तिका साथ समाजका सबै तहको समर्थन माग गरेन भने पुँजीवादबाट समाजवादतिरको परिवर्तनले उत्पन्न हलचल लामो समय रहन सक्दैन।

क्रान्तिले लेखक, बौद्धिक र कलाकारको समर्थन पनि माग गर्छ। अमेरिकी क्रान्तिलाई लिऊँ। साम्राज्यवादी स्पेनविरुद्ध हाम्रै स्वतन्त्रताको लडाइँलाई लिऊँ।

स्वतन्त्रताको लडाइँपछिको कालखण्डमा राजतन्त्र, अमेरिकामाथिको अंग्रेज वर्चस्व वा पूर्वउपनिवेशहरूमा स्पेनी राजाको वर्चस्वको बहालीजस्ता विषयमा लेखकहरू समर्पित भएका भए के हुन्थ्यो होला ?

त्यतिबेला कुनै लेखक वा कलाकारले उपनिवेशवादको प्रशंसा गरेको भए ऊ दण्डित हुन्थ्यो। शून्यबाट सुरु गरेर नयाँ समाज निर्माण (पुँजीवाद वा निजी सम्पत्तिबाट समाजवाद वा साम्यवादतर्फको यात्रा सम्पन्न भएकै छैन) गर्न चाहने क्रान्तिले बौद्धिक जगत्को सहायतामा आफ्ना सबै शक्ति परिचालन गर्नु तर्कसंगत हुन्छ। यस्तो प्रक्रियाले द्वन्द्वहरू निम्त्याउन सक्छ। यो मानवीय र राजनीतिक प्रक्रिया नै हो।

म आशा गर्छु, समय र स्थिरतासँगै समाजवादी समाजका लेखकहरूले सामाजिक समस्यामा मात्रै केन्द्रित हुनुपर्ने आवश्यकता न्यून हुँदै जानेछ र उनीहरू आफ्ना अन्तरंग इच्छाअनुसार सिर्जना गर्न समर्थ हुनेछन्।

युवा कविहरूलाई के सुझाव दिनुहुन्छ ?

उनीहरूलाई सल्लाह दिइरहनुपर्दैन। उनीहरू आफैँले बाटो बनाउनुपर्छ। उनीहरूले अभिव्यक्तिमा व्यवधानहरू बेहोर्नुपर्नेछ र तिनलाई पराजित गर्नुपर्नेछ। युवा कविहरूलाई म राजनीतिक कविताबाट काव्ययात्रा सुरु गर्न कदापि सल्लाह दिन्नँ।

राजनीतिक कविता सघन रूपले भावनात्मक हुन्छ, प्रेम कविताजत्तिकै। जबर्जस्ती राजनीतिक कविता लेख्नु हुँदैन। लेखियो भने त्यो भद्दा र अस्वीकार्य हुन्छ।

राजनीतिक कवि बन्नका लागि प्रथमतः सबै खाले कविताबाट गुज्रिनुपर्छ। कविता वा साहित्यलाई नै धोका दिने गरी हुने निन्दा सहनका लागि राजनीतिक कविले आफूलाई तयार गर्नुपर्छ।

त्यस्तै, राजनीतिक कविताले आफूलाई यस्ता अन्तरवस्तु, सत्व र बौद्धिक तथा भावात्मक विपुलताले सुसज्जित गर्नुपर्छ कि यसले हरेक चिजको उपहास गर्न सकोस्। यो लक्ष्य बिरलै हासिल हुन्छ।

‘मौलिकतामा विश्वास गर्दिनँ’ भन्नुहुन्छ नि। 

हरतरहले मौलिकता खोज्नु आधुनिक शर्त हो। हाम्रो समयमा लेखक आफूतिर अरूको ध्यान खिच्न चाहन्छ। र, यो सतही तन्मयताले अन्धश्रद्धावादी विशिष्टता धारण गर्छ।

हरेक व्यक्तिले आफू श्रेष्ठ देखिइने एउटा बाटो खोज्छ। त्यो बाटो उसले गहनता वा आविष्कारका लागि होइन, आफूमाथि विशेष भिन्नता आरोपण गर्न रोज्दछ।

सबैभन्दा मौलिक कलाकार समय र कालखण्डबमोजिम चरणबद्ध रूपमा परिवर्तन हुन्छ। यसको विशाल उदाहरण पाब्लो पिकासो हुन्। सुरुमा उनले आफूलाई अफ्रिका तथा आदिम कलाका चित्र तथा मूर्तिहरूबाट पोषित गरे।

त्यसपछि रूपान्तरणको यस्तो शक्तिका साथ उनी अघि बढे कि भव्य मौलिकतापूर्ण उनका कृतिहरू संसारको सांस्कृतिक भूगर्भका चरणजस्ता लाग्छन्।

तपाईंमाथि कसकसको साहित्यिक प्रभाव छ ?

लेखकहरू कुनै न कुनै रूपमा एकअर्कासँग विचार वा भावना आदानप्रदान गरिरहेका हुन्छन्। जस्तो, हामीले सास फेर्ने हावा एकैठाउँमा बाँधिएर रहँदैन।

लेखक सदा एक घरबाट अर्को घरमा सरिरहेको हुन्छ, उसले आफ्ना फर्निचर पनि फेरिरहनुपर्छ। केही लेखक यसमा असहज मान्छन् । म फेदेरिको गार्सिया लोर्कालाई सम्झन्छु।

उनी मलाई कविता भन्न लाउँथे। कहिलेकाहीँ वाचनको बीचमा भन्थे, ‘पख, पख, अब अरू नपढ। तिमीले मलाई प्रभावित गर्ने खतरा भयो।’

अब नर्मन मेलरको कुरा गरौँ। उनलाई पहिलो पल्ट उल्लेख गर्ने लेखकमध्ये तपाईं पनि हुनुहुन्थ्यो।

मेलरको उपन्यास ‘द नेकेड एन्ड द डेड’ प्रकाशन भएको केही समयपछि मैले मेक्सिकोको एउटा पुस्तकपसलमा यसलाई किनेको थिएँ। यो उपन्यासबारे कसैलाई केही पनि थाहा थिएन।

स्वयं पुस्तकपसलेलाई थाहा थिएन। म अमेरिका घुम्न जाँदै थिएँ र मलाई नयाँ अमेरिकी उपन्यास चाहिएको थियो। त्यसैले मैले यो उपन्यास किनेँ। म ठान्दथेँ– अमेरिकी उपन्यास मरिसक्यो।

यो ड्रेइजरबाट सुरु भयो र हेमिङ्वे, स्टिनबेक र फकनरजस्ता महान् प्रतिभापछि समाप्त भयो। तर, मेलरका रूपमा मैले असाधारण शाब्दिक उग्रता, भव्य सूक्ष्मता र अद्भुत वर्णनशक्ति भएको एउटा लेखक पत्ता लगाएको थिएँ।

मलाई बोरिस पास्तरनाकका कविता साह्रै मन पर्छन् तर उनको उपन्यास ‘डाक्टर जिभागो’ मेलरको ‘द नेकेड एन्ड द डेड’को तुलनामा उच्चाटलाग्दो छ।

‘डाक्टर जिभागो’मा प्रकृतिको वर्णन अर्थात् कवितात्मकताले मात्र यसलाई आंशिक रूपमा बचाएको छ। मैले अब्राहम लिंकनको अलंकार आह्वान गरेर विश्वशान्तिप्रति समर्पित ‘लेट द रेल स्प्लिटर अवेक’ शीर्षकको कविता लेखेँ।

यसमा मैले ओकिनावा द्वीप, जापानको युद्ध र नर्मन मेलरलाई उल्लेख गरेको छु। यो कविता युरोप पुग्यो र अंग्रेजीमा अनुवाद भयो।

कविता पढेपछि फ्रेन्च कवि लुई आरागोँले मलाई भनेका थिए, ‘नर्मल मेलर भन्या को हुन्, ठम्याउन हम्मे पर्‍यो।’ वास्तवमा उनलाई कसैले चिन्दैनथे। उनलाई उल्लेख गर्ने प्रथम लेखकमध्ये म एक हुँ। यसमा एक प्रकारको गर्व महसुस गर्छु।

आफ्नो गहन प्रकृतिप्रेमबारे केही भन्नुस् न।

बाल्यावस्थादेखि अहिलेसम्म चरा, सिपी, जंगल र वनस्पतिप्रतिको मेरो प्रेम अविच्छिन्न छ। सिपीको खोजीमा म थुप्रै ठाउँ गएको छु। मसँग सिपीको राम्रो सङ्कलन पनि छ।

मैले ‘आर्ट अफ बर्ड्स’ नामक किताब लेखेँ। फूल, रूखका हाँगा र वानस्पतिक पैदावरप्रति समर्पित ‘बेस्टिएरी’, ‘सिक्वेक’, ‘द हर्बलिस्टस रोज’ जस्ता कविता लेखेँ।

म प्रकृतिबाट छुटिएर बस्न सक्दिनँ। म दुईचार दिनका लागि होटल रुचाउँछु, एकाध घण्टाका लागि हवाईजहाज रुचाउँछु। तर, म जङ्गलमा खुशी हुन्छु, बालुवामा खुशी हुन्छु, जलयात्रामा खुशी हुन्छु। आगो, माटो, पानी र हावाको प्रत्यक्ष सान्निध्यमा रमाउँछु।

तपाईंका कवितामा केही प्रतीक दोहोरिइरहन्छन्,  समुद्र, माछा र चराका स्वरूपमा…।

म प्रतीकमा विश्वास गर्दिनँ। ती भौतिक चिज हुन्। मेरा निम्ति समुद्र, माछा र चराहरूको भौतिक अस्तित्व छ। म तिनलाई घामलाई जसरी लिन्छु। मेरा कवितामा केही विषय प्रायः देखापर्नुको कारण खासमा तिनको भौतिक उपस्थिति नै हो।

ढुकुर र गिटारले के संकेत गर्छन् ?

ढुकुरले ढुकुरलाई संकेत गर्छ। गिटारले एउटा वाद्ययन्त्रलाई संकेत गर्छ, जसलाई गिटार भनिन्छ।

तपाईंको मतलब, यी चिजलाई विश्लेषण गर्नेले…

जब म ढुकुर देख्छु, त्यसलाई ढुकुर भन्छु। ढुकुर उपस्थित भए पनि, नभए पनि, विषयपरक वा वस्तुपरक ढंगले मेरा निम्ति यसको एउटा स्वरूप छ। तर, यो ढुकुरबाहेक अरू केही हुँदैन।

‘पृथ्वीमा आवास’ कवितासङ्ग्रहका कविताबारे तपाईंले भन्नुभएको छ, ‘यिनले कसैलाई बाँच्न सहयोग गर्दैनन्। यिनले त मर्न सहयोग गर्छन्।’ 

‘पृथ्वीमा आवास’ले मेरो जिन्दगीको अँध्यारो र खतरनाक कालखण्डको प्रतिनिधित्व गर्छ। यस सङ्ग्रहका कविता प्रस्थान नभएका कविता हुन्।

नबाट बाहिर निक्लन मैले झन्डै पुनर्जन्म लिनुपरेको थियो। त्यो नैराश्य (जसको गहिराइको मैले अहिलेसम्म भेउ पाएको छैन) बाट मलाई स्पेनी गृहयुद्धले बचायो।

चिन्तनका निम्ति गम्भीर बनाउने अरू घटनाले पनि त्यो घोर निराशाबाट मलाई जोगाए। मैले एकपटक भनेको पनि थिएँ– मसँग आवश्यक शक्ति हुन्थ्यो भने म त्यो किताब पढ्न निषेध गर्थें र त्यसलाई फेरि कहिल्यै नछाप्ने व्यवस्था मिलाउँथेँ।

यो कवितासङ्ग्रहले जीवनको भावनालाई दुःखदायी बोझ र घातक उत्पीडनका रूपमा अतिरञ्जित गरेको छ। तर, मलाई थाहा छ– यो मेरो सर्वाेत्कृष्ट कृति हो। यसमा मेरो मनस्थिति प्रतिविम्बित छ।

यद्यपि, लेख्नेले आफ्नो कविता कहाँ गएर अवतरण हुन्छ, त्यसबारे सोच्नुपर्छ। मलाई थाहा छैन– सबै कविका हकमा यो लागू हुन्छ कि हुँदैन। रोबर्ट फ्रस्टले आफ्नो एउटा निबन्धमा कविताको एक मात्र दिशा सन्ताप हुनुपर्छ भनेका छन्।

उनले भनेका छन्, ‘सन्तापलाई कवितासँग एक्लै छोडिदेऊ।’ एकजना युवाले आत्महत्या गर्‍यो र उसको एउटा किताब रगतले लतपतिएको थियो।

लाई थाहा छैन, यस्तो अवस्थामा रोबर्ट फ्रस्ट के सोच्थे होलान्। मैले मेरो देशमा त्यो घटना सामना गरेँ। जीवनले भरिपूर्ण एक युवाले मेरो किताबकै छेउमा आत्महत्या गर्‍यो।

म उसको मृत्युका लागि आफूलाई जिम्मेवार ठान्दिनँ। तर, रगतले लतपतिएको त्यो पृष्ठ एउटा कविलाई मात्र होइन, सबै कविलाई सोच्ने बनाउन पर्याप्त छ …।

मेरा विपक्षीले निःसन्देह यसको फाइदा उठाए। उनीहरू मैले भनेका कुराबाट जहिले पनि यसै गरी फाइदा उठाउँछन्। मैले आफ्नै किताबको निन्दा गर्दा उनीहरू राजनीतिक फाइदा उठाउँछन्।

मलाई उनीहरू केवल उल्लासपूर्ण र आशावादी कविता लेख्ने आकांक्षा भएको कवि ठान्छन्। मैले एक्लोपन, वेदना या विषादका अभिव्यक्तिलाई कहिल्यै इन्कार गरेको छैन।

तर, म तिनको ‘टोन’ परिवर्तन गर्न चाहन्छु, सारा ध्वनि पत्ता लगाउन चाहन्छु, सारा रङ खोज्न चाहन्छु। र, जीवनका यावत् शक्ति खोज्न चाहन्छु, चाहे ती सिर्जनामा होऊन् वा संहारमा।

मेरा कविताले पनि जीवनका जस्तै चरण पार गरेका छन्, एकाकी बाल्यकालदेखि सुदूर र अलगथलग देशहरूमा बितेको तन्नेरी वयका  चरण। मैले आफूलाई बृहत् मानव समुदायको हिस्सा बनाउने प्रयत्न गरेँ।

र, यसरी मेरो जीवन परिपक्व भयो। कविहरू सन्तप्त र अवसादग्रस्त हुने गत शताब्दीको शैलीमा मेरो जीवन परिपक्व भयो। तर, त्यस्ता कवि पनि छन्, जो जीवनलाई बुझ्दछन्, जीवनका समस्या बुझ्दछन्। जो जलप्रवाहलाई पार गरेर बाँच्छन्। र, जो उदासी र गरिबीबाट विपुलतामा पुग्छन्।

अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्