६ जेष्ठ २०८१, आईतवार

 

असारे विकासमा गम्भिर प्रश्न ‘अब सुधार गर्ने कि हेरिरहने ?’

राजेशचन्द्र राजभण्डारी

अहिले नेपालको जहाँ हेरे पनि बिकास धमाधम भएको देखिन्छ । लाग्छ, यस्तै गतीमा काम गर्ने हो भने नेपाल बिकसित मुलुक हुनलाई धेरै समय लाग्दैन । अहिले असार महिना शुरू भए पछि काम गर्ने ठेकेदार लाई काम गर्न भ्याइनभ्याई भएको छ । ‘जब प¥यो राति तब बुढी ताती’ भने झै अहिले सबैतिर काम धुमधाम भईरहेका छन् ।

बिकासको लागि आएको दाम हात पार्न पनि काम नगरी भएन । २०४६ साल देखि अहिलेसम्म हाम्रो देशमा बिकास गर्ने शैलीमा कुनै परिवर्तन आएको छैन । उही पुरानो मुल्य र मान्यता अनुसार नै मुलुकमा असारे बिकास चलिरहेको छ । न त यो टिकाउ छ, न भरपर्दो नै । यो सबै हेर्दा मलाई नेपालीको एउटा पुरानो उखान छ, ‘कस्को के धन्दा कस्को के धन्दा घर ज्वाइँ को खाने कै धन्दा’ भने झै अहिले हुने गरेको बिकास पनि त्यहीँ घर ज्वाइँको खाने धन्दा भन्दा फरक हुन सकेको देखिदैन ।

नेपालमा बिकासको लागि बजेट छुटिन्छ तर सरकारले दिएको रकम मध्ये ४० प्रतिशत मात्रै खर्च हुन बाँकी रहेको रकम खर्च नभैकन फिर्ता हुने पुरानो परिपाटी पनि अहिलेसम्म कायम नै छ भन्दा फरक पर्दैन । भएको बिकास पनि मध्य बर्षा याममा हुने कारणले पनि त्यो खर्च भए अनुसारको भने अवश्य पनि छैन ।

साँच्चै असारको बिकासलाइ हामीले टालटुले बिकास भन्ने गरेपनि अहिलेसम्म न त नितिमा सुधार भएको छ न त ब्यबहारमा परिवर्तन । प्रत्येक बर्ष बिकासको बारेमा हामी बिच चर्को बहस हुन्छ । छलफल हुन्छ, तर प्रगति भने हातमा लाग्यो सुन्ने भन्दा केही फरक छैन । समस्याको जड कहाँनेर हो ? किन सँधै असार मसान्त लाग्दा हामीले हतारमा काम सम्पन्न गर्ने ? किन यो रोगबाट हामी मुक्त हुन सकेनौँ ।

अहिले हामी प्रजातान्त्रिक ब्यवस्थाको पनि उन्नत व्यवस्था गणतन्त्रमा छाँै । राजतन्त्र हटेको छ । नेपालीकी एकजना छोरी राष्ट्रपती बन्नु भएको छ, तर काम गर्ने हाम्रो शैलीमा किन परिवर्तन आएन ? अझ अहिले त सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नयाँ नारा आएको छ । साच्चै नै नारा सुन्दा खेरि कति सुन्दर छ । प्रत्येक बर्ष बिकासको लागि बजेट बिनियोजन गरिन्छ ।गाउँ गाउँमा नगर नगरमा बिकास हुने भयो भनी जनता उत्साहित हुन्छन् । हजारौं उपभोक्ता समिति गठन गरिन्छन् ।

काम नहुने होइन काम भएको पनि देखिन्छ, तर अहिले हतारमा गर्ने बिकास कस्तो हुन्छ भन्ने कुरा सबै स्थानीयबासीदेखि सरोकारवाला निकाय सम्म सबै भुक्त भोगी छन । तर पनि काम प्रबृत्ति भने पुरानै छ । फेरबदल छैन । ‘९० सालको भुइचालो अहिले पनि उही चालभो’ भन्ने नेपाली उखान भने अहिले पनि चरितार्थ भएको देखिन्छ । कतिपय बिकास त कागमै सिमित भएको घटना पनि बेलाबेलामा सुन्न पाइन्छ ।

अहिले सबैलाई कामको चटारो छ । ठेकेदार कम्पनी लाई भनेको समयमा काम सम्पन्न गरेर जसरी पनि पैसा बुझ्नु छ । नगरपालिका, जिल्ला समन्वय समितिदेखि संसद बिकास कोषको काम समेत अहिले नै हुदैँछ । यसले जिल्लामा भएका प्राबिधिकलाई अहिले भै रहेको योजना हेर्न भ्याइनभ्याई छ ।

बागलुङ नगरपालिका भित्रपनि अहिले सडक कालोपत्रे गर्ने, नालि बनाउने, स्कुल बनाउने, सडक ढलान गर्ने लगायतका काम तिब्र गतिमा भै रहेका छन् । साँच्चै त्यो नियम अनुसार वा समझौता अनुसार बनेका छन् त ? भन्ने कुरा प्रमुख हुनुपर्ने हो । तर पनि त्यसलाई अनुगमन गर्ने निकाय नै कित मौन छ, कि नामको मात्रै छ भन्ने देखिन्छ ।

प्रत्येक ठाउँमा उपभोक्ता समिति गठन गरिएका छन्, तर उनीहरुको काम र भुमिका भने नाममात्रको देखिन्छ । हाम्रो अधिकार के हो ? कर्तव्य के हो ? भन्ने कुरा हामीले बुझ्न नसक्दा पनि हामी बिकासमा ठगिन पुगेका छौ । हामीले आफ्नो घर आगनमै भएको बिकासलाई समेत उपभोक्ता समिति र ठेकेदार कम्पनी बिच भएको सम्झौता अनुसार काम गराउन सकेका छैनौँ ।

यो हामी सबैको लाचारी हो । हामी चोक चोक गल्ली गल्लीमा बसेर देशको प्रधानमन्त्रीदेखि मन्त्रीलाई भ्रष्ट्राचारी भनेर तथानाम गाली गलौज गर्छाैं । तर हाम्रो नाकै मुनि भएको भ्रष्ट्राचारलाई न त हामीले रोक्न सक्छौँ, न रोक्ने कोशिस नै गरेका छाँै ।

यहि हो हाम्रो विडम्बाना । साँच्चै हामीले हाम्रो गाउँ ठाउँमा भएको आफै उपभोक्ता समितिमा भएको बिकासलाई त सहि रूपमा बुझ्न नसक्ने रहेछौं भने अरू समग्र बिकासलाई कसरी बुझ्न सक्छौ ? त्यो बिषय नै अन्यौलमा पुगेपछि । टालटुले काम गरेर बिकास बजेट झ्वाम पार्ने परिपाटीको अन्त्य गर्न जरुरी छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेलले पत्रकार भेटघाट कार्यक्रममा बिकास सहि ढंगले भएको छ कि छैन भनेर संचारकर्मीलाई समेत राम्रोसँग बुझेर खबर लेखी बिकास बजेट दुरुपयोग हुनबाट रोक्न समेत आग्रह गर्नु भएको थियो । यसले के कुरा स्पष्ट भएको छ भने बिकासको पारदर्शीताको बारेमा सञ्चार क्षेत्रले पनि वाचडगको भुमिका निर्वाह गर्नुपर्छ । सुशासन र पारदर्शीतामा नगरप्रमुखको पनि चासो देखिएको छ ।

अहिले पनि कागमा योजना बनाउने अनि दायाँबायाँ गरेर लाखौं रकम झ्वाम पार्ने खेल अझै पनि जारि छ । अब सरकारले साँच्चै देशमा बिकास गर्ने हो भने अब असारे बिकासको अन्त्य गर्न जरुरी छ । बिकासमा आउने खर्च लाई सहि रूपमा सबै रकम खर्च गरि दिगो बिकास लाई आत्मासाथ गर्न जरुरी छ ।

१ करोडको काममा ४० प्रतिशत सम्म छोडेर ठेक्का लिने प्रथाको अन्त्य गरि वास्तविक इस्टमेट गरि दिगो र टिकाउ हुने बिकास गर्ने नयाँ अभियान नै थाल्न जरुरी छ । समझौता पनि समयमै गर्ने र काम पनि समयमा नै सम्पन्न गरि चैत मसान्तसम्म हिसाब अडिट गरेर सार्वजनिक गर्ने ब्यबस्था गर्न जब सम्म सक्दैनौं तब सम्म यस्तै भै रहने छ । अब सबै सरोकारवालाले यतातिर गम्भिर भएर सोच्ने कि खाली टालटुले बिकास हेरेरै बसिरहने ?

प्रतिक्रिया दिनुहोस्