१ जेष्ठ २०८१, मंगलवार

 

योजना–बजेट तर्जुमा गर्न ताराखोलामा सुरु भयो ‘विषयगत छलफल’

- ‘आर्थिक विकासको सम्भावना कृषि–पशुमै’ ‘विज्ञ मार्फत अध्ययन आवश्यक’

आगामी आर्थिक बर्षको योजना तर्जुमा तयारीका लागि ताराखोलामा विषयगत समितिको बैठक सुरु भएको छ । ताराखोला गाउँपालिकाको कार्यालय अर्गल भातखाने डाँडामा शुक्रबार आर्थिक विकास समिति अन्तरगत कृषि तथा पशु क्षेत्रको बारेमा छलफल भएको छ ।

गाउँपालिकाले आगमी आर्थिक बर्षमा सञ्चालन गर्ने योजनामा बजेट विनियोजन गर्न गाउँसभाले पारित गर्नुपर्ने समय नजिकिँदै गर्दा विषयगत समितिको छलफल चलेको हो । सरकारले सवै स्थानीय तहमा यहि असार २५ गते गाउँसभा तथा नगरसभामा योजना पेश गर्न यसअघि नै निर्देशन दिईसकेको छ ।

ताराखोला गाउँपालिकाको गाउँसभाले ‘गाउँकार्यपालिकाको निर्णय वा आदेश र अधिकारको प्रमाणिकरण (कर्यविधि) नियमावली २०७४’ यसअघि नै पारित गरिसकेको छ । अन्य कार्यविधि र नियमावलीको मस्यौदाको कार्यपनि सम्बन्धित समिति मार्फत धमाधम भईरहेको छ ।

ताराखोला गाउँपालिकाको ५ वटै वडमा टोल र वस्तीस्तरबाट छनोट भएर आएका योजना प्रमथिकिकरण अन्तिम चरणमा पगेका बेला गाउँपालिकामा विषयगत छलफल भएको हो । वडामा योजनाको प्राथमिकिकरण सकिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर–१ का अध्यक्ष यामबहदुर श्रीसको अध्यक्षतामा भएको बैठकले कृषि तथा पशु विकासको क्षेत्रमा यस अघि सञ्चालित योजना बारे समिक्षा भएको थियो । विगतमा सम्पन्न भएका र अहिले सञ्चालनमा रहेका योजनामा सन्तोषजनक प्रगती भएपनि लगानी अनुसारको लक्षित प्रतिफल प्राप्त हुन नसकेको निश्कर्ष छ ।

‘अब स्थानीय तहमा सञ्चालन हुने योजना छनोट गर्दा स्थानीय सम्भावना आवश्यकता र प्राप्त हुने उपलब्धिलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने निचोड आएको छ,’ संयोजक श्रीसले भने, ‘लगानी भएका योजना सम्पन्न हुँदा समुदायका कति सदस्यले लाभ लिन सक्छन् ? भन्ने कुरामा विशेष ध्यान पु¥याउनुपर्ने देखिएको छ ।’

पशुतर्फ दुध उत्पादन वृद्धि, संकलन र बजारिकरण, भकारो सुधार, उन्नतघाँसको खेती, बाख्रा कुखुरा तथा बङ्गुर पालनको सम्भावना बढी भएको छलफलले औँल्याएको छ ।  त्यस्तै कृषितर्फ आलु, मकै, अलैँची तथा तरकारी खेतीको राम्रो सम्भावना रहेको देखिएको छ ।

‘योजना निर्माण तथा छनोटमा विज्ञलाई नै सहभागी गराई अध्ययन गरेरै सम्भावनाको खोजी गर्नुपर्ने देखिन्छ, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीे भने, ‘सहभागी र सम्बन्धित विषयका स्रोतव्यक्तिले पनि यहि कुरालाई जोड दिनुभएको छ, विज्ञको सुझाव नै बैज्ञानिक योजना छनोटको मुख्य आधार हो भन्ने कुरामा हामी एकमत छौँ ।’

उनले स्थानीय आवश्यकता र सम्भावनाको वास्तविक पहिचानका लागि पनि सम्बन्धित क्षेत्रका विज्ञ मार्फत योजना बनाएर विकासको कामलाई चरणबद्ध रुपमा अघि बढाईने बताए ।

भौगोलिक अवस्था र गाउँपालिकाको विशेषताले पनि स्थानीय विकासको मुख्य सम्भावना कृषि र पशुपालनमै भएको कार्यकारी अधिकृत शान्तीबन्दना पौडेलले बताईन् ।

बैठकमा जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालयका प्राविधिकले विषयगत रुपमा भएका प्रक्रिया र गर्न सकिने कामको बारेमा सहजिकरण गरेका थिए । अरु विषयगत समितिको छलफल नियमित रुपमा अघि बढ्ने गाउँपालिकाका सुचना अधिकारी खडकबहादुर थापाले जानकारी दिए ।

राजश्व परामर्श समितिमा गाउँपालिकाको आर्थिक स्रोत पहिचन गर्ने, राजश्वका दायरा तथा आम्दानीको स्रोत अनुमान सम्बन्धि छलफल भएको छ । गाउँपालिका उपाध्यक्ष तथा राजश्व परामर्श समितिका संयोजक दिलकुमारी पुनको अध्यक्षतामा बैठक भएको हो ।

सरकारले तोकेकै समयमा गाउँकार्यकारी र गाउँसाभको बैठक राखेर योजना तथा बजेट पारित गर्ने तयारी गरेपछि समयको चाप निकै रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।

ताराखोला गाउँपालिकाको विकासका लागि सर्वपक्षिय सुझाव संकलनका गर्न यसअघि जेठ २७ गते सर्वदलिय सर्वपक्षिय अन्तरक्रिया समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्