४ श्रावण २०८३, सोमबार

 

ताराखोलामा यसरी सुरु भयो ‘स्थानीय तह सञ्चालन नियमावली’ बनाउने काम

- पहिलो पटक गाउँसभाबाट प्रमाणिकरण नियमावली पारित

ताराखोला गाउँपालिकाको गाउँसभाले ‘गाउँकार्यपालिकाको निर्णय वा आदेश र अधिकारको प्रमाणिकरण (कर्यविधि) नियमावली २०७४’ पारित गरेको छ । गाउँसभाका अध्यक्ष प्रकाश घर्ती मगरको अध्यक्षतामा ताराखोला गाउँपालिकाको कार्यालय अर्गल भातखाने डाँडामा बिहिबार भएको बैठकले यो नियमावली पारित गरेको हो ।

यसअघि सस्यौदा समितिले नियमावलीको मस्यौदा तयार गरि गाउँकार्यपालिकाको बैठकमा पेश गरेको थियो । कार्यापालिकाको बैठकमा नियमावलीको मस्यौदा माथि छलफल गरी राय सुझाव सहित स्वीकृतिका लागि गाउँ सभाको बैठकमा पेश गर्ने निर्णय भएको थियो ।

गाउँसभाबाट परित हुने सवै निती, नियम, ऐन, लिखत, आदेश तथा काजजात व्यवहारिक कार्यान्वयनमा जानुअघि प्रमाणिकरण गर्नुपर्ने हुन्छ । यो नियमावली पारित भएपछि ताराखोला गाउँपालिकामा यस्ता सवैखाले दस्तावेज प्रमाणिकरणको बाटो खुलेको छ । ताराखोला गाउँपालिकाले पारित गरेको यो पहिलो नियमावली भएको सुचना अधिकृत खडकबहादुर थापाले जानकारी दिए ।

यसअघि भएको गाउँकार्यपालिकाको बैठकले विभिन्न ३ समिति गठन गरेको थियो । वडा नम्बर–१ का अध्यक्ष यमबहादुर श्रीसको संयोजकत्वमा ५ सदस्यीय गाउँ कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि सस्यौदा समिति गठन भएको छ ।

त्यस्तै वडा नम्बर–५ का अध्यक्ष रामबहादुर रोकाको संयोजकत्वमा ५ सदस्यीय गाउँ कार्यपालिका कार्यविभाजन नियमावली मस्यौदा समिति गठन भएको छ । तेजुमायाँ भण्डारी परियारको संयोजकत्वमा ५ सदस्यीय गाउँ कार्यपालिका कार्यसम्पादन नियमावली मस्यौदा समिति गठन भएको छ ।

गाउँकार्यपालिका बैठकले आगामी आर्थिक बर्ष २०७४।०७५ का लागि योजना तर्जुमा गर्न अन्य तिन समिति समेत गठन गरेको छ। गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनको संयोजकत्वमा ७ सदस्यीय राजश्व परामर्श समिति गठन भएको छ । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीको संयोजकत्वमा ७ सदस्यीय श्रोत अनुमान तथा बजेट सीमा निर्धारणा समिति गठन भएको छ ।

उपाध्यक्ष दिलकुमारी पुनकै संयोजकत्वमा ८ सदस्यीय योजना तर्जुमा समिति गठन गरिएको छ । यो समितिमा ६ वटा विषयगत समितिका संयोजक र कार्यकारी अधिकृत सदस्य रहने व्यवस्था छ । यससँगै आर्थिक ऐन तथा विनियोजन ऐन मस्यौदा समिति समेत गठन भएको छ ।
आर्थिक बर्ष २०७४।०७५ को योजना तर्जुमा गर्नका लागि शनिबारदेखि टोल र बस्तीस्तरका योजना छनोट गर्न गाउँपालिका भित्रका सबै टोलमा टोल भेला सुरु हुने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । उनले स्थानीय तह सञ्चालनका लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेका आदेश तथा दिग्दर्शन अनुसार नै गाउँपालिकाको कानुन बनाउने कार्य थालिएको बताए ।

घर्तीले विधिसम्मत रुपमा स्थानिय तह सञ्चालनको अभ्यासलाई अघि बढाउन सबैभन्दा पहिले नियमावली बनाउने कार्य सुरु भएको जानकारी दिए । ताराखोला गाउँपालिकाको विकासका लागि सर्वपक्षिय सुझाव संकलनका गर्न यसअघि जेठ २७ गते सर्वदलिय सर्वपक्षिय अन्तरक्रिया समेत गरिएको थियो ।

फोटो जेठ २७ गते भएको अन्तरक्रियालाई सम्बोधन गर्दै गाउँपालिकाका कार्यकारी अधिकृत शान्तिबन्दना पौडेल

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung