बागलुङ । बागलुङ नगरपालिकाले तीन वर्ष यता जन्मेका ३०० छोरीलाई पाँच हजारको मुद्धती खाता उपहारमा प्रदान गरिएको छ । नगरपालिकाले आगमी आर्थिक वर्षदेखि भने रु. १० हजारको मुद्दती बैंक खाता उपहारस्वरूप खोलिदिने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा रहेको ‘नगरको छोरी’ कार्यक्रम अन्तर्गत हालसम्म छोरी जन्मिएपछि रु. ५ हजार जम्मा गर्दै आएको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बर बढाएर रु. १० हजार पु-याउने निर्णय गरेको हो ।
यो व्यवस्था नगरपालिकाको १९औँ नगरसभाबाट पारित भएकाले आगामी साउनदेखि लागू हुनेछ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरभित्र जन्मिने प्रत्येक छोरीका नाममा बैंक खाता खोलेर नगरपालिकाले नै रु. १० हजार जम्मा गर्ने नीति लिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अभिभावकले पनि सोही खातामा थप बचत गर्न सक्ने व्यवस्था गरिएको छ । प्रशासन शाखा प्रमुख भीमसेन पन्तका अनुसार कार्यक्रम सुरु भएको तीन वर्षमा ३०० जना छोरीका नाममा रु. ५ हजारका दरले कुल रु. १५ लाख जम्मा गरिएको छ ।
कार्यक्रमको सकारात्मक प्रभाव देखिएकाले आगामी आर्थिक वर्षदेखि मुद्धतीको रकम बढाइएको उहाँले बताउनुभयो । नगरपालिकाले बैंकसँगको सहकार्यमा उच्चतम चक्रवृद्धि ब्याज प्राप्त हुने गरी मुद्दती खाता सञ्चालन गर्दै आएको छ ।
कार्यविधिअनुसार उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने व्यवस्था गरिएको छ । यसबाट छोरीको भविष्यका लागि आर्थिक सुरक्षा सुनिश्चित हुनुका साथै अभिभावकमा बचत गर्ने संस्कार विकास हुने अपेक्षा गरिएको नगरपालिकाको भनाइ छ ।
नगरप्रमुख श्रेष्ठले २० वर्षपछि ब्याजसहित खातामा उल्लेख्य रकम संकलन हुने विश्वास व्यक्त गर्दै अभिभावकलाई पनि नियमित बचत गर्न कार्यक्रमले प्रेरित गरेको बताउनुभयो ।
नगरपालिकाले छोरीप्रतिको सकारात्मक सोच विकास गर्ने, भ्रुण परीक्षण र भ्रुण हत्या जस्ता विकृति न्यूनीकरण गर्ने तथा नवजात छोरी र आमाप्रति हुने विभेद अन्त्य गर्दै नारी सम्मान अभिवृद्धि गर्ने उद्देश्यले तीन वर्षअघि ‘नगरको छोरी’ कार्यक्रम सुरु गरेको हो ।













































































































































































































