बागलुङ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको १७औँ बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा नेपाल बैंकर्स संघ (NBA),, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) तथा नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा सांसद सुशील खड्काले बैंक तथा वित्तीय संस्थाहरूले नेपाली जनताको ८२ खर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरिरहेका कारण उनीहरू सबैभन्दा बढी नेपाली जनताप्रति जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले आगामी वर्षहरूमा ७ प्रतिशत आर्थिक वृद्धितथा १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न नेपाल राष्ट्र बैंकसहित सम्पूर्ण बैंकिङ तथा वित्तीय प्रणालीलाई अझ सुदृढ, सक्षम र समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले राष्ट्र बैंक ऐनलाई बदलिँदो आर्थिक परिवेशअनुसार परिमार्जन गर्दै संस्थालाई थप सुदृढ, स्वायत्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
साथै, केन्द्रीय बैंकमा आवश्यक विशेषज्ञता भित्र्याउन सक्ने व्यवस्था, संस्थागत सुशासनलाई बलियो बनाउने प्रावधान तथा सीमित प्रोमोटरहरुको प्रभावभन्दा माथि उठेर बैंक तथा वित्तीय संस्थाहरुलाई जनताको हितलाई केन्द्रमा राखी सञ्चालन हुने संरचनाको विकास गर्नुपर्ने धारणा राख्नुभयो।













































































































































































































