२७ बैशाख २०८१, बिहीबार

 

पत्रकार लालप्रसाद शर्मालाई गाउँ पर्यटन पत्रकारिता पुरस्कार

पत्रकारिताका माध्ययमबाट गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याएको भन्दै कान्तिपुरकर्मी लालप्रसाद शर्मा स्व. क्याप्टेन रुद्रमान गुरुङ स्मृति गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) पोखरा (चार नम्बर प्रदेश) को तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा शर्मालाई नगदसहित पुरस्कृत गरिएको हो । पुरस्कारको राशी ११ हजार एकसय ११ रुपैयाँ र सम्मानपत्रसहित जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले शर्मालाई पुरस्कृत गरेका हुन ।

भिटोफ पोखराले गाउँ पर्यटनका नायक तथा नेपालमै पहिलोपटक स्याङजाको सिरुवारीमा होमस्टेमार्फत ग्रामीण पर्यटनको सुरुवात् गरेका स्वर्गीय सांसद रुद्रमान गुरुङको स्मृतिमा स्थापना गरेको पुरस्कार पहिलोपटक प्रदान गरिएको हो ।

पोखरा २२ पुम्दीभुम्दीको कालावाङ घरेडी होमस्टेमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । गाउँ पर्यटनमा कलम चलाउने दुई संचारकर्मीलाई पुरस्कार दिने भिटोफको निर्णय अनुसार शर्मासंगै नागरिक दैनिकका संवाददाता सन्तोष पोखरेललाई पनि उक्त पुरस्कारबाट आईतबारै पुरस्कृत गरियो । पत्रकार अमृत भादगाउँले, पर्यटन वोर्ड पोखरा क्षेत्रीय कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलिया र भिटोफ पोखराका उपाध्यक्ष राजेश पहारी सदस्य रहेको समितिले शर्मा र पोखरेललाई छनौट गरेको थियो ।

ईकान्तिपुर डटकमबाट

प्रतिक्रिया दिनुहोस्