
मामाले व्यापार गर्न भनेर दिएको २० रुपैयाँबाट व्यवसाय सुरु गरेका राजन शाक्य र उनका दाई विकासकुमार अहिले १० करोडको मालिक बनेका छन् । उनीहरुलाई मामा ले ४ दशक अघि व्यापार सुरु गर्न भनेर २० रुपैयाँ दिएका थिए ।
बागलुङ बजारका यी शाक्य दाजुभाईले विसं २०३५/३६ सालमा त्यहि २० रुपैयाँमा ऋण खोजेर थपेर ४/५ हजार रकम पु¥याए । यहि पैसा लगानी गरेर लालिगुराँस चोकमा मासु बेच्ने पसल थाले । त्यतिबेला राजन त्यस्तै १२/१३ वर्षका थिए । दाजु भाईले सुरु गरेको पेसामा बुबा बाबुराम बज्राचार्यले पनि सहयोग गरे । ‘त्यस बेला त यती धेरै घर थिएनन्,’ राजन शाक्य भन्छन्, ‘बाटो छेउमा जस्ता पाता माथि बोरामा मासु राखेर बेच्थेउँ, त्यस्तै एक सय रुपैयाँमा ठुलै राँगो आउँथ्यो ।’
शाक्य दाजुभाईले झण्डै १२ बर्ष मासु बेच्ने व्यवसाय गरेपछि २०४३ सालमा अहिले होटेल दि राजन भए नजिकै आफ्नो घर बनाए । घरको जग आफै खनेको र काँठेखोलाबाट डोकोमा ढुङ्गा बोकेर जग पुरेको राजन अहिले पनि सम्झन्छन् ।
घर बनाएको पाँच बर्षपछि ४८ सालमा उनीहरुले राजन म:म रेष्टुरेन्ट सुरु गरे । यो अहिले पनि बागलुङ बजारको मिलिजुली टोलमा चलेकै छ । म:म पसल निकै चल्यो । उनीहरुले यसमा मेहनत त्यस्तै गरे । कमाई पनि राम्रो हुँदै गयो ।
त्यसबेला राजन म:म रेष्टुरेन्टको चर्चा बागलुङ बजारमा मात्र नभएर पोखरा, पर्वत बेनी, गलकोट लगायतका ठाउँमा समेत हुन्थ्यो । ‘त्यसबेला गाडी चल्थेन, जहाँ जानुपरे पनि पैदलै हिँड्नुपथ्र्यो,’ शाक्य सम्झन्छन्, ‘हाम्रोमा म:म खान पोखरा, पर्वत, म्याग्दी र गलकोट लगायत अन्य ठाउँबाट आउनेको भीड नै हुन्थ्यो ।’
म:म रेष्टुरेन्ट राम्रो चलेपछि उनीहरु व्यवसायमा धेरै उत्साहित बने । यहि राजन ममको जगमा २०७३ मंसिरमा सुविधा सम्पन्न ‘दि राजन होटेल’ सुरु गरे । दि राजनमा साढे ३ करोड लगानी छ । होटेलबाट तालिम, सेमिनार तथा कार्यक्रमका लागि हल, पार्किङ सहित आवश्यकता अनुसार सवै सेवा दिईरहेको शाक्य बताउँछन् ।
दिराजन होटेलको सम्पुर्ण जिम्मेवारी बिकासकुमारका छोरा एन्जल शाक्यले लिएका छन् । उनी आँफै होटेल म्यानेजमेन्ट पढेका विद्यार्थी हुन् । होटेलबाट स्तरीय सुविधा चाहने पाहुनालाई अवश्यकता अनुसारको सवै सेवा दिएको एन्जिल बताउँछन् । ‘पार्टी, सेमिनारदेखि जुनसुकै कार्यक्रमका लागि हामी कहाँ स्तरीय हल छन्,’ उनी भन्छन्, ‘चौबिसै घण्टा तातो–चिसो पानी, एसी सहितका रुम लगायत धेरै स्तरीय सुविधा हामीले पाहुनालाई दिएका छौँ ।’
यसअघि उनीहरुले २०५७ सालमा मिलिजुली टोलमै राजनी फर्निचार खोले । ८/१० लाखमा सुरु गरेको फर्निचार पसलको लगानी अहिले आधा करोड पुगेको छ । होटेलमा ८/१० जना र फर्निचारमा ५/६ जनालाई उनीहरुले रोजगारी दिएका छन् । शाक्य दाजुभाई सहित उनीहरुका श्रीमती र छोरा समेत सवै मिलेर व्यवसायलाई अघि बढाएका छन् ।
यी दाजुभाईले गुल्मीको वामी टक्सारबाट दुई बहिनी नै बिहे गरेका छन् । व्यवसायप्रतिको लगाव र मेहनत देखेर आफुहरुलाई छोरी दिएको राजन ठान्छन् । ‘हाम्रो त व्यवसय भर्खर अघि बढ्दै थियो, उहाँहरु (ससुराली) को त आर्थिक अवस्था त्यतिबेलै राम्रो थियो,’ राजन भन्छन्, ‘यत्तिको मेहनत गर्नेले छोरी पाल्न सक्छन् भनेरै हामीलाई छोरी दिनुभएको हो जस्तो लाग्छ मलाई ।’ घरको आर्थिक अवस्था कमजोर भएका कारण आफुहरुले छात्रवृत्तिमै पढेको उनी सम्झन्छन् । दुई भाईले नै एसएलसी पास गरेका छन् ।
व्यवसायमा सफलता प्राप्त गर्न आफ्नो श्रीमती र भाउजुको ठुलो मेहनतले काम गरेको राजन बताउँछन् । ‘हामीलाई व्यवसायमा बुबा, बहिनी सवैले सहयोग गर्नुभयो,’ उनी थप्छन्, ‘भाउजु र म्याडमको निरन्तर साथले नै हामीले सफलता पाएका हौँ ।’
काम गरेर कोही पनि सानो नहुँने उनको बुझाई छ । ‘जुनसुकै काममा पनि आँट, मेहनत र आत्मविश्वास सवै भन्दा ठुलो कुरा हो,’ उनी अगाडी थप्छन्, ‘मुखमा सरस्वती पनि चाहिन्छ, पाहुनासँग मिठो राम्रो बोल्नुपर्छ ।’
दाजु विकासकुमार ईन्द्रमायाँ दम्पतीले राजन मम रेन्टुरेन्ट हेर्छन । राजन शाक्यले फर्निचर र छोरा एन्जलले दि राजन होटल सम्हालेका छन् । दाजुभाईको परिवार व्यवसाय र घर व्यवाहार पनि उत्तिकै मिलेर चलाएका छन् । उनीहरु छुट्टिएका छ्रनन् ।
विकासकुमारकी छोरी भेनिसा शाक्य फेसन डिजाईनर हुन् । भाई राजनकुमार जोगमायाँ दम्पतीका दुई छोरी छन् । जेठी छोरी धौलागिरी अञ्चल अस्पतालमा न्युटे«सियन म्यानेजर छन् भने कान्छि छोरी व्यवस्थापन संकायमा स्नातक पढ्दै छिन् ।
राजनकुमारका एक मात्र छोरा रोजिनको २० बर्षको उमेरमा सडक दुर्घटनामा दुखद निधन भएपछि उनीहरु पीडामा डुवे । परिवारले छोराको नाममा एक लाख रुपैयाँको ‘रोजिन स्मृति शान्ति कोष’ स्थापना गरेर प्रत्येक वर्ष बुद्धजयन्तीमा शान्ति दौड प्रतियोगिता गर्दै आएका छन् ।
शाक्य दाजुभाईका बुबा बाबुराम बज्राचार्य कला संस्कृतिमा धेरै नै रुचि राख्थे ।
उनले वुट्टेनली पनि कोर्थे । बज्राचार्यलाई विभिन्न संघ संस्थाले सम्मान समेत गरे । दाजुभाईले बुबाको नाममा एक लाख ११ हजार एक सय ११ रुपैयाँको ‘बाबुराम सरस्वती स्मृति अक्षयकोष’ स्थापना गरेका छन् । यसबाट कला संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने कलाकार तथा संस्थालाई पुरस्कृत गर्ने गरेका छन् ।
राजन शाक्यको सामाजिक संलग्नता
बागलुङ उद्योग बाणिज्य संघमा १२ बर्षसम्म कोषाध्यक्षको जिम्मेवारी
फर्निचार व्यवसायी संघ बागलुङको संस्थापक अध्यक्ष
शाक्य कल्याण समाजको बर्तमान उपाध्यक्ष
लायन्स क्लव अफ धोलागिरी बागलुङको बर्तमान उपाध्यक्ष
फोटोमा होटेल दि राजन