६ जेष्ठ २०८१, आईतवार

 

‘विरोधीले विरोध र निन्दा नगर्नु खतरनाक’

पञ्चायतकालमा एकजना सीडीओले लेखक खगेन्द्र संग्रौलालाई भनेका थिए, ‘म विष्णुका विरोधीमाथि एक्सन लिन्छु ।’ अर्थात्, ‘राजाविरोधीलाई मार्छु ।’ संग्रौलाले जिन्दगीमा उनीमाथि एक्सन लिन चाहने यस्ता अनेकौं सीडीओ बेहोरे आजको नेपाली बौद्धिक संसारमा खगेन्द्र संग्रौला एउटा यस्तो नाम हो, जसले पाएका आलोचना र प्रशंसा, गाली र तारिफ, नमन र धारे हात सायदै अर्को लेखकलाई प्राप्त छ । सर्वथा बागी लेखकका रूपमा रहे उनी । स्तम्भकारका रूपमा जुन बेला उनले जे बोले पनि (बेलाको बोली) त्यसले कुनै न कुनै तरंग ल्याइरह्यो ।

आख्यान, संस्मरण, निबन्ध र अनुवादमा चल्ने उनको कलमले क्रूर सत्ताको विरोध मात्र गरेको छैन, भाषा र शिल्पमा मौलिकता तथा मिठास पनि आविष्कार गरेको छ । उनका ‘आफ्नै आँखाको लयमा’, ‘सम्झनाका कुइनेटाहरू’, ‘बाल्यकालका पदचापहरू’ नेपाली संस्मरण विधाका ‘मास्टरपिस’ मानिन्छन् । उनले विश्व प्रगतिशील साहित्यका थुप्रै किताब अनुवाद गरेका छन् । उनका ‘जूनकीरीको संगीत’लगायत थुप्रै उपन्यास र कथासंग्रह प्रकाशित छन् । धेरैका प्रिय ‘कुन्साङ काका’, युवा लेखकहरूका ‘ब्रो’ संग्रौलासँग विनोदविक्रम केसी र दीपक सापकोटाले उनका लेखन तथा निजी जीवनका उकाली÷ओराली, दुःख÷सुख आदि विषयमा कुराकानी गरेका छन्

अहिले खासमा केमा व्यस्त हुनुहुन्छ ?

नढाँटी भनूँ भने अहिले म कुनै पनि अर्थपूर्ण कर्म नगर्नुमा पो व्यस्त छु हाउ ब्रोहरू ! यो मेरो एक प्रकारको सुषूप्तावस्था हो— रचनात्मक क्रियाहीन र चुपचाप ! थलचर जीवको शीतकालीन सुषूप्तावस्था अनुकूल मौसमको पर्खाइका लागि हुन्छ । मेरो यो सुषूप्तावस्था केको पर्खाइका लागि हो, मलाई थाहा छैन ।

राजनीतिक टिप्पणी उतिसारो आइरहेका छैनन् । ट्विटरमा चाहिँ सक्रिय हुनुहुन्छ । ट्विटरमा यसरी भिड्नुको सट्टा केही लेखे हुन्थ्यो नि ! २४ क्यारेटको सुनजस्तो थिमलाई १४० क्यारेक्टरमा किन वेस्ट गर्नुहुन्छ ?

उतिसारोका के कुरा, मुद्रण माध्यममा मेरो राजनीतिक टिप्पणी हाल पूर्णविराममा छ । आयो अब ट्विटकर्मको कुरो । मेरो विचारमा ट्विटकर्म अल्छीको बसिबियाँलो हो । म अल्छीको पनि । पुन्टे ट्विट विचारको केवल पेटबेहोराबिनाको शीर्षक हो । र, हो यो केवल व्याख्या र विश्लेषणबिनाको अपूर्ण संकेत । जीवनमा त्यस्ता क्षण आउँदा रहेछन्, जब लेखक, तपाईंको अभिप्रायअनुसार, २४ क्यारेटको सुनजस्तो थिमलाई १४० क्यारेक्टरमा वेस्ट गर्न अभिशप्त हुन्छ । तथापि, यो अधुरो र पुन्टे ट्विटले दुईवटा मसिना काम भने गर्छ नै । एक, यसले सामाजिक संघर्षको डबलीमा आफ्नो पक्षधरता जनाइरहन्छ । दुई, ‘म जिउँदै छु, मलाई नबिर्स’ भनी लोकछेउ यसले बिन्ती बिसाइरहन्छ।

केही लेखे हुन्थ्यो भन्ने तपाईंहरूको आग्रहको उत्तर अहिले मसँग छैन । अध्ययन, साधना र सीप आर्जनका दृष्टिले म मूलतः साहित्यको विद्यार्थी हुँ, राजनीति मेरो जीवनको फड्के किनारको कर्म हो । अब भने राजनीतिक टिप्पणी गर्न कसोकसो रहर पुगेजस्तो लाग्छ ।

तपाईंका विरोधीले तपाईंलाई दिएका नामहरू सुन्नुभएकै होला । गालीशिरोमणि, गलौजशिरोमणि आदि आदि । यस्ता ‘पदवी’ पाउँदा कस्तो लाग्छ ?

अघिअघि बडो असहज लाग्थ्यो । तीव्र बेचैनीको अनुभूति हुन्थ्यो पनि । र, त्यसैत्यसै झोँक चल्थ्यो । अहिले केहीजस्तो लाग्दैन । अहिले त यो सब मलाई एकदमै अपेक्षित र स्वाभाविक लाग्छ । विभाजित समाजको निर्मम यथार्थबोध गर्दै जाँदा गाली, भत्र्सना वा श्राप पनि सहज हुँदो रहेछ । अहिले त बरु लाग्छ, विरोधीले विरोध वा निन्दा नगर्नुचाहिँ बडो खतरनाक कुरा हो ।

राजदरबार हत्याकाण्डदेखि टीकापुर हत्याकाण्डसम्म आइपुग्दा तपाईंका पाठकहरू घटे भनिन्छ । तपाईंको ‘रिडिङ’ के छ ?

कसको भनाइ होला यो ? पाठक घटेको अनुमानको मापन गर्ने विधि वा साधन के होला ? सत्य हो, मेरा पाठकहरू भयंकर ध्रुवीकृत भएका छन् । राज्यको पुनःसंरचना जब सैद्धान्तिक चर्चाको कागजी विषय थियो, म सबैजसो वर्गको प्रिय थिएँ । जब यो मुद्दा कार्यान्वयनको चरणमा पुग्यो, वर्चस्वशाली, कुलीन र सम्भ्रान्त जमातको म बैरी भएँ । यस अर्थमा मेरा पाठक घटे हुनन् भन्न सकिन्छ । तर, चाखलाग्दो कुरा के छ भने मेरा शुभचिन्तकभन्दा मेरा विरोधी मलाई पढ्न बढी आतुर हुन्छन् ।

प्रहारको निशाना आफू वा आफ्नो ख्वामितमाथि पो आइलाग्यो कि भनी जान्न वा निन्दा गर्नकै लागि पनि मेरा विरोधी मलाई पढ्छन् । ती धन्य हुन् । ती छन्, त्यसैले त म जीवन्त छु ।

लेखकका रूपमा तपाईंको ‘चार्म’ घटेको भन्नेहरू थुप्रै छन् । तिनलाई के जवाफ दिनुहुन्छ ?

यी भन्नेहरू कताका को हुन् र यो ‘थुप्रै’ भनेको को को मिलेर बनेको थुप्रै हो ? पाठक जगत्मा जो साधनसम्पन्न छन्, जो मिडियाको पहुँचमा छन् र जो मुखर छन्, यस महलका ‘थुप्रै’ मेरा विरोधीमा पर्छन् । जो मेरा शुभचिन्तक र प्रेमी पाठक हुन्, ती विपन्न छन्, ती मिडियाको पहुँचबाट वञ्चित छन् र ती प्रायः मौन रहन्छन् । अब भन्नोस् त मान्यवरद्वय, पाठकको कुन महलमा के कति मात्रामा मेरो ‘चार्म’ घटेको होला ? मानौं, कि मेरो चार्म घट्यो र मेरा पाठक घटे । यो उत्रो चिन्ताको विषय हो र ? नेतालाई भोट र अभिनेतालाई दर्शकका लागि नक्कली वा सक्कली चार्म वा लोकप्रियताको खाँचो पर्छ । लेखकलाई पर्दैन । तटस्थता वा भद्रताको कुटिल नाटक रचेर चार्म वा लोकप्रियता जोगाइराख्नु लेखकको धर्म किमार्थ होइन । लेखकको धर्म त सत्तासित आँखा जुधाएर हरदम सत्य बोल्ने यत्न गर्नु पो हो ।

तपाईं आख्यानकार, निबन्धकार, स्तम्भकार, अनुवादक त हुँदै हो, नागरिक समाजको अगुवा, ‘एक्टिभिस्ट’ पनि हुनुभयो, हुनुहुन्छ । कुनचाहिँ भूमिका तपाईंलाई प्रिय छ ?

आख्यान मेरो साधना र शिल्पको प्राथमिक तत्व र जग हो । यही जगमाथि उभिएर मैले निबन्ध र स्तम्भ लेखेँ । मेरा निबन्ध र स्तम्भ धेरथोर रुचिकर हुनुमा आख्यान तत्वको सिर्जनात्मक प्रयोगको मनग्गे साथ र हात छ । मौलिक लेखनको क्रममा आर्जित शब्दभण्डार, भाषाको कला र सौन्दर्यचेतले मेरो अनुवादकर्मलाई सहज तुल्याएका छन् । अनुवादकर्म मेरो मौलिक सिर्जनाको विस्तारित रूप हो अथवा भनूँ— मौलिक सिर्जना मेरो अनुवादकर्मको विस्तारित रूप हो ।

साहित्य र कला आमजीवनलाई जिउन लायकको बनाउन प्रेरित र प्रोत्साहित गर्ने जादुगरी अस्त्र हुन् । जो यो मान्यतामा विश्वास राख्छ, ऊ हस्तिहाडे बुर्जाबासी विलासवीर सर्जक हुनै सक्दैन । आवश्यकता हेरी ऊ एकान्त साधना गर्छ, आवश्यकता हेरी ऊ न्यायको संग्राममा जनसाधारणसँग उभिन सडकमा उत्रिन्छ । मेरा लागि मौलिक सिर्जना, अनुवाद र सडक संघर्ष समान रूपले प्रिय छन् । यी मेरो व्यक्तित्व र साधनाका अभिन्न र एकअर्काका परिपूरक विधा एवं कर्म हुन् ।

अनि, कुनचाहिँ भूमिकाबाट सबैभन्दा धेरै गाली खानुभयो ?

स्तम्भ र सडक अभियानबाट । कारण स्पष्ट छ, स्तम्भमार्पmत ठाडो भाषामा ठाडै विभेदकारी सत्ताका कर्ताहरूसँग आँखा जुधाइन्छ । र, सडक अभियानमार्फत जनसाधारणको सामूहिक विवेक र सौर्यद्वारा शोषणकारी सत्तालाई हाँक दिइन्छ ।

तपाईं युवाहरूको निरन्तर संगत र सम्पर्कमा हुनुहुन्छ । उनीहरूलाई ‘ब्रो’ भन्नुहुन्छ । उनीहरू पनि तपाईंलाई ‘ब्रो’ भन्छन् । युवा पुस्ताका झरिला लेखकहरू युग पाठक, उज्ज्वल प्रसाईं, बसन्त बस्नेत, संगीत श्रोता, ज्ञानु अधिकारीलगायत तपाईंका प्रिय ब्रोहरूको संगतबाट तपाईंले सिकेका कुरा के हुन् ?

आफ्ना प्रिय ब्रोहरूबाट मैले मुख्यतः बूढो नहुन जिद्दी गर्ने उपयोगी पाठ सिकेको छु । म यी युवाहरूसँग छु, तसर्थ म समयको गति र धड्कनसँग छु । म यीसँग छु, तसर्थ म न्यूनाधिक युवा वयको जीवन्त आवेग र उमंगसँग छु । म यीसँग छु, तसर्थ आफ्ना थुप्रै समकालीन लेखकहरूझैं ‘मैले राष्ट्रलाई यत्रो दिएँ, राष्ट्रले मलाई खै के दियो ? ‘ भन्दै हर्दम गनगन गर्ने आत्महीन मनोरोगबाट मुक्त छु ।

तपाईंको उपन्यास ‘जूनकीरीको संगीत’ले धेरै खप्की खायो । ‘लामुखट्टेको संगीत’, ‘झ्याउँकीरीको झ्याउँझ्याउँ’, ‘एनजीओवादी’, ‘मध्यपन्थी मिहिन संशोधनवादी’ आदि थुप्रै तक्मा भिर्नुभयो । पछि आफैंले पुनर्लेखन गर्छु पनि भन्नुभयो । जूनकीरीको संगीतमा गल्ती भएको हो ?

सूत्रमा, संकेतमा वा संक्षेपमा यो प्रश्नको उत्तर अटाउँदैन । तपाईंहरूको जिज्ञासा तृप्त गर्न कुनै दिन एउटा लेखै लेखूँला । अहिलेलाई छोटोमा यतिमात्र भनूँ, ‘जूनकीरीको संगीत’मा एउटा अपवादजन्य एनजीओका सकारात्मक कर्महरूको चर्चा गर्दा त्यो चर्चामा एनजीओ कम्युनिस्ट पार्टीको विकल्पझैं गोचर हुन गयो । भएको गल्ती त्यही हो ।

मेरा शुभचिन्तकभन्दा मेरा विरोधी मलाई पढ्न बढी आतुर हुन्छन् । प्रहारको निशाना आफू वा आफ्नो ख्वामितमाथि पो आइलाग्यो कि भनी जान्न वा निन्दा गर्नकै लागि पनि मेरा विरोधी मलाई पढ्छन् । ती धन्य हुन् ।

दुर्भाग्यवश, यो उपन्यासमाथि फत्तुरहरूको वर्षा गर्ने मान्यजनहरूका दृष्टिमा यसमा प्रतिविम्बित दलित जनजीवनका समस्याहरूको अर्थ र महत्ता पर्दै परेन । तसर्थ निजहरूबाट यो विषको घडाका रूपमा प्रस्तुत भयो । आयो कुरा अब पुनर्लेखनको । बत्तीस अध्यायपछि उपन्यास एकदमै छरपस्ट र कोरा रिपोर्ताज भएको छ । यो खण्डलाई कि त पुनर्लेखन गर्छु, कि सानो उपसंहार लेखेर यसलाई हटाउँछु भन्ने लागेको थियो । अहिले यो विचार परिवर्तन भयो । जे जस्तो लेखियो, त्यो उबेलाको आफ्नो बोधक्षमता र शिल्पको स्तरको यथार्थ अभिव्यक्ति वा अभिलेख हो । अझ भनूँ— यो मेरो अयोग्यता र असफलताको अभिलेख हो । जे होस्, त्यो त अब इतिहास भयो । त्यसैले पुनर्लेखनको पक्षमा अब छैन । बरु म तपाईंहरूका यी जिज्ञासाहरूको विशद प्रत्युत्तरसमेत समेटिने गरी एउटा भूमिका लेखेर यसलाई पुनर्मुद्रण गर्नुपर्ला भन्ने सोचाइमा पो छु ।

सुनिन्छ- गोविन्द वर्तमानले ‘जूनकीरीको संगीत’को पाण्डुलिपि पढेपछि तपाईंलाई पुनर्लेखन गर्ने सल्लाह दिएका थिए । हो ?

कुरा सत्य हो । गोविन्द वर्तमान सिद्धान्तको लिकमा हर्दम अविचल रहने निष्ठावान् लेखक हुन् । उनले यो उपन्यासमा ठूलो विचलन देखेका थिए । यद्यपि, उनले वचनले भन्दा पनि मुद्रा र भंगिमाले यो अभिप्राय प्रकट गरेका हुन् । उपन्यासको अन्तिम पृष्ठमा नारायण ढकालले यो अभिप्राय संक्षेपमा तर खुलस्त रूपमा प्रकट गरेका छन् । गोविन्दको धारणा पनि लगभग त्यही थियो ।

स्तम्भकारका रूपमा कसैलाई अलिक अन्याय नै गरेछु भन्ने लाग्छ कि लाग्दैन ? जस्तो, विद्या भण्डारी, केपी ओली आदिप्रति अलिक बढी नै आक्रामक भएँ कि भन्ने लाग्दैन ?

जो आफ्ना दुष्कर्मद्वारा आक्रमण गरिनलायक छ, उसमाथि शब्दवाणले आक्रमण गर्दा आक्रामकताको मात्रा कसरी अड्कलिन्छ ? मलाई थाहा छैन । मैले विद्या भण्डारीमाथि तीनवटा सन्दर्भमा कटाक्ष वा ब्रोहरूको शब्दमा ‘आक्रमण’ गरेको छु । पहिलो, मदन भण्डारीको संशययुक्त मृत्युपछि । मदनको दलले विद्यालाई सेतो सारी पहिराएर चुनावमा उठायो । र, यसरी संवेदना र करुणाको अजस्र भेल बगाएर भोट सोहोर्ने कुटिल जुक्ति रचियो ।

आफूलाई माक्र्सवादी-भौतिकवादी भन्ने दलद्वारा यसरी रूढिको व्यापार गर्दा शोकसन्तप्त विद्याको उग्र दुरुपयोग गरिएको थियो । यस सन्दर्भमा मेरो कटाक्षको तारो दल थियो । तैपनि कटाक्षका केही छिटा त विद्यामाथि यसै पनि पर्ने नै भए । दोस्रो सन्दर्भ लुब्ध मतिले भन्सार छलिएको पजेरो थियो । विद्या रानीझैं विलासी रातो पजेरोमा सवार भएको दृश्य आमगरिबमाथि कठोर ठट्टाझै प्रतीत भयो । र, मैले मदनको रक्त-प्रवाहमा विद्याको विलासी पजेरोको ठाँटबाँट टाइपको केही लेखेँ ।

यहाँ पनि विद्या केवल माध्यम थिइन्, प्रकारान्तरले प्रहारको निशाना उनीसम्बद्ध दलको वैचारिक-नैतिक स्खलन थियो । तेस्रो सन्दर्भ विद्या राष्ट्रपति भएपछिको हो । राजनीतिमा पति वा पिताका कुममाथि चढेर कृत्रिम उचाइ थप्ने र सत्ताको लाभ लिने सामन्ती प्रवृत्तिको जगजगी अभैm छँदैछ । यसै मेसोमा विद्यालाई राष्ट्रपति पद प्राप्त भयो । राष्ट्रपतिका रूपमा रामवरणले राजाका पाइला पछ्याएका थिए, विद्याले रामवरणका पाइला पछ्याइन् । धर्मनिरपेक्षताको खिल्ली उडाउँदै यी दुवै पति सनातनी हिन्दू कर्मकाण्डीय कृयाकर्मका आज्ञाकारी उपासक बने । यस सन्दर्भमा भने मैले विद्यामाथि अलि कठोर कटाक्ष गरेँ । पछाडि फर्केर हेर्दा लाग्छ— मैले जे गरेँ, ठीकै गरेँ । यसमा संशोधनको आवश्यकता म देख्दिनँ ।

ओलीमाथि मैले जम्मा दुई सन्दर्भमा कटाक्ष वा तपाईंहरूको शब्दमा ‘आक्रमण’ गरेको छु । पहिलो सन्दर्भ हो गणतन्त्रको संग्राम । ओलीसम्बद्ध दलका विवेकी र आवेगी युवाहरू सडक संग्राममा तल्लीन थिए । ती खुनी राजालाई ‘फलानो चोर, देश छोड’् भन्दै चरम आक्रोशयुक्त नारा लगाउँदै थिए । यस्तोमा ओलीले के भने सम्झना छ, ब्रोहरू ? यिनले आन्दोलनकर्मी युवाहरूलाई गिज्याउँदै गणतन्त्रको आकांक्षालाई गोरु गाडामा चढेर गरिने अमेरिकाको बतासे यात्रासँग तुलना गरे । र, मैले यिनमाथि एक डोज कठोर कटाक्ष प्रहार गरेँ । दोस्रो सन्दर्भ ‘राष्ट्रवाद’कालीन हो ।

सोह्रबुँदे झेली खेलको डोलामा बोकेर सुशील दा र कमरेड पुष्पकमलले ओलीलाई ‘राष्ट्रवाद’को मण्डपमा विराजमान गराए । मण्डपमाथिको कृत्रिम उचाइबाट फुर्किंदै ओलीले यथार्थको धरातल छाडे । उनले शून्य आकाशमा खुट्टा हल्लाउँदै ‘राष्ट्रवाद’को ध्वजा बोके । यो देशबन्धुद्वेषी, नश्लवादी, विखण्डनमुखी र अमानवीय ‘राष्ट्रवाद’को ध्वजा हो । ओलीको अन्धराष्ट्रवादमाथि मैले अर्को डोज कटाक्ष गरेँ । बस्, भएको जम्मा यत्ति हो । पछाडि फर्केर हेर्दा लाग्छ— मैले जे गरेँ, ठीकै गरेँ । दुष्कर्म र प्रहारबीच मलाई कुनै असन्तुलन दृष्टिगोचर हुँदैन । तसर्थ यसमा पनि म संशोधनको खाँचो देख्दिनँ ।

कहिलेकाहीँ तपाईं आफ्ना प्रियजनसँग ‘मैले जस-जसलाई बोेकेँ, ती गनाए, मेरो काँधै गनाइसक्यो’ भनेर सुस्केरा हाल्नुहुन्छ । ‘बोक्नुपर्नेलाई बोकिनँ, नबोक्नुपर्नेलाई धेरै बोकेँ’ भन्ने पछुतो त होइन यो सुस्केराको अर्थ ?

-कदापि होइन । मैले जहिले जसलाई बोकेँ, ती आफ्ना सामाजिक चिन्तन र कर्ममा स्वस्थ र सकारात्मक अवस्थामा छँदा बोकेँ । कालान्तरमा ती गनाए, स्वभावतः म बोक्नेको काँध गनायो र मैले तिनलाई मिल्काएँ । यो बोकाइ र मिल्काइमा न कुनै पछुतो छ न सुस्केरा । बरु आशलाग्दा पात्रहरू आफैंले उठाएको न्यायको ध्वजा हिजोको आजै आफैंले च्यात्दै र थुक्दै हिँडेका देख्दा भने यदाकदा मलाई दिक्क लाग्छ ।

जिन्दगीभर चर्चा, आलोचना, प्रशंसा, खप्की धेरै पाउनुभयो । केही ‘कन्फेसन्स’ छन् कि ?

-भीषण घर्षणका झिल्का उठिरहने विभाजित समाजमा सार्वजनिक जीवनमा प्रवेश गरेपछि चर्चा, आलोचना, प्रशंसा वा खप्की त हातलागी हुन्छन् नै । यसमा मेरो भन्नु नै के छ र ? अनि आत्मस्वीकृति ? खासमा त्यस्तो केही छैन । छ भने केवल एउटै कुरा छ, त्यो हो— अलि व्यवस्थित ढंगले जिउने चेष्टा गरेको भए वा त्यसरी जिउन पाएको भए जीवनमा जे गरियो, योभन्दा अलि राम्रो गर्न सकिन्थ्यो कि भन्ने लाग्छ ।

तपाईं मधेसका मुद्दालाई सबैभन्दा खुला रूपमा समर्थन गर्ने लेखक हो । तर, मधेसवादी दल र तिनका रणनीतिलाई तपाईंले ‘क्रिटिकल’ भएर हेर्न सक्नुभएन भन्ने आरोप छ नि !?

-यो आरोपमा कुन कोण र के अभिप्राय निहित छ, उत्तरको प्रकृति त्यसमा भर पर्छ । मधेसी नेतृत्वका आत्महीन प्रकृतिका हारगुहारमुखी लैनचौरे दर्शन-भेटहरूलाई मैले कहिल्यै अनुमोदन गरिनँ । न त मुक्तिको भीख माग्न मधेसी नेतृत्व लाचार मुद्रामा दिल्लीधामको यात्रामा जाने उपक्रमलाई नै मैले कहिल्यै अनुमोदन गरेँ । मैले त बरु भनिरहेँ— मधेसीजनको मुक्ति न सिंहदरबारबाट आउँछ न दिल्ली दरबारबाट । यो त मधेसीजनको एकताबद्ध र दीर्घ संघर्षबाट मात्र आउँछ । मधेसी नेतृत्वप्रति योभन्दा बढी क्रिटिकल धारणा के हुनसक्छ ? थप कुरा, एकथरी ‘राष्ट्रवादी’ले गर्ने गरेझैं मधेसी नेतृत्वलाई अनेपाली, अदेशभक्त, अन्यत्रको एजेन्ट वा आयातीत भतुवाजस्ता संज्ञाले लाञ्छित गर्ने खालको ‘क्रिटिकालिटी’सँग म कहिल्यै सहमत भइनँ ।

‘लेखक कसैको कारिन्दा हुँदैन, पार्टीको कारिन्दा हुँदैन’ भन्नुहुन्छ । लेखक संगठित हुनै नहुने हो र?

-के प्रयोजनका लागि कस्तो संरचना र कार्यशैली भएको संगठनमा लेखक संगठित हुने ? पिरामिडीय तहगत संगठनमा माथिका ‘बोस’को आदेश पालना गर्ने मूक कारिन्दा बन्न लेखक संगठित नहुनु नै राम्रो । तर, आलोचनाको निर्बन्ध हक हुने रचनात्मक प्रकृतिको संगठनमा लेखक संगठित हुनुमा म कुनै अर्घेल्याइँ देख्दिनँ । तपाईंहरूको संकेत प्रगतिशील लेखक संघतर्पm हो भने, मेरो भुक्तभोगी विचारमा, यस्तो संगठनमा बागी लेखक नअल्झिनु नै राम्रो । ब्रोहरूलाई मेरो यो भनाइ ज्यादै कटु ध्वनित होला, तथापि सत्य के हो भने वर्तमान प्रगतिशील लेखक संघ केही टाठाबाठाहरू सत्ताका लाभका पदहरूमा उक्लिने भर्‍याङसिवाय अरू केही होइन ।

कम्युनिस्ट आन्दोलनमा पूरै होमिएर नेता वा कार्यकर्ता पनि बन्नुभएन । तर, कम्युनिस्टविरोधी खेमामा पनि पुग्नुभएन । बीचमा कतै हल्लिरहनुभएको त होइन ?

-उदात्त आदर्शयुक्त जीवनको कठिन तर सुन्दर यात्रामा के कुनै व्यक्ति आफ्नै अन्तस्करणको आदेश मान्दै आफ्नै स्वत्व र निजत्वको धरातलमाथि उभिन सक्दैन ? यसरी उभिने साहस वा दुस्साहस गर्नु भित्तेघडीको लंगुरझैं यता र उता हल्लिनु हो र ब्रोहरू ?

लेखनकै कारण तपाईंको कति जनासँग सम्बन्ध ध्वस्त भयो होला आजका मितिसम्म ? नाम र हुलियासहित बताउन मिल्ने भए बताइदिनुस्, नभए कम्तीमा संख्यासम्म बताइदिँदा कसो होला ?

-निकैजना मसँग अप्रसन्न वा क्रुद्ध छन्, जो मसँग बोल्नधरी गाह्रो मान्छन् वा मुन्टो अर्कोतिर फर्काउँछन् । तिनका नाम लिनु जोखिमपूर्ण काम हो । तर, यथार्थ यति पारदर्शी छ कि यहाँ नामै नलिए पनि जोखिम त छँदैछ । तसर्थ सुन्नुस् ब्रोहरू ! भूपू र वर्तमान राष्ट्रपति रामवरण र विद्यादेवी । तीन राप्रपाका शीर्षस्थ त्रिमूर्ति— महापञ्च र छिप्पट मण्डले ।

भ्रष्टाचारमा डामिएका नेपाली कांग्रेसका द्रव्यप्रेमी त्रिमूर्ति । नवउदारवादी बजारतन्त्रका मूलपुरोहित रामशरण र पिताकी पुत्री सुजाता । एमालेका तीन शिखर पुरुष— तीन भूपू प्रधानमन्त्री । र, एमालेकै तीन मध्यम पुरुष— मोदनाथ, वामदेव र ईश्वर । सोह्रबुँदे जालझेलपछिका पुष्पकमल । टाउको टेकेर अधिकार र इज्जतबिनाको हास्यास्पद उपराष्ट्रपति पद धारण गर्ने नन्दकिशोर पुन, आदि । साहित्य, पत्रकारिता, वकालती, निजामती र जंगी फाँटमा पनि केही जीवात् छन्, जसको नाम अहिले भनिनहालूँ।

तपाईंले लेखेर, आलोचना गरेर वा समीक्षा गरेर कुनै पात्र फेरिएको छ ? वा प्रवृत्ति नै फेरिएको छ कि ?

-मलाई थाहा छैन । मानिसको मनोविज्ञान वा चरित्रमा पर्ने शब्दकर्मको प्रभाव मापन गर्ने वस्तुनिष्ठ वा मूर्त जुक्ति हामीसँग छैन । प्रभाव अवश्य पर्दो हो, नत्र मानव सभ्यताको यति लामो इतिहासभरि शब्दकर्म किन नित्य क्रियाशील र जीवन्त रहँदो हो र ?

सारा जिन्दगी भुइँमान्छे, पिँधको मान्छेका बारेमा, तिनका दुःख, संघर्षका बारेमा लेख्नुभयो । तर, तिनको जीवनमा कुनै परिवर्तन आएको छैन । कहिलेकाहीँ ‘व्यर्थ लेखिएछ’ भन्ने निराशा नहुँदो हो र ?

-यदाकदा व्यर्थताबोध नहुने होइन । तर, यो मेरो एकदमै क्षणभंगुर अनुभूति हो । भुइँमान्छेको जीवनमा किन केही परिवर्तन भएको छैन ? ती जागेका छन् । ती समान हक र इज्जतको संग्राममा घरि तीव्र, घरि मन्द गतिमा निरन्तर डटेका छन् । हिजोसम्म ती हक माग्ने हैसियतमा थिए, आज ती हक दाबी गर्ने हैसियतमा उठेका छन् । ब्रोहरू, यो परिवर्तन ठट्टा होइन ।

अन्त्यमा, खगेन्द्र संग्रौला हुनुको दुःख के रैछ ?

-खगेन्द्र संग्रौला हुनुको सुख वा गौरवबारे सोध्नुभएको भए मसँग भन्ने केही कुरा अवश्य हुँदा हुन् । दुःखबारे म अहिले बोल्दिनँ ।

साभार : अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्