१ जेष्ठ २०८२, बिहीबार

 

कविताले १६ वर्षमै थालेको होटेल व्यवसायमा उनी सफल र सन्तुष्ट छिन्

कविता वस्नेत, एक १६ बर्षीय किसोरी । गाउँकै विद्यालयबाट एसएलसी पास गरि उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकामन बागलुङ बजार आउने मनस्थितीमा थिईन् ।

दिदी अम्बिकाले अघि नै ल्याब टेक्निसियनको पढाई सकेर बसेकी थिईन् । दिदीबहिनी नै बागलुङ बजार आउने भएपछि घरमा सानो होटेल चलाउने सल्लाह भयो । आमाले ज्योतिषीलाई हेराउनुभयो ।

माईली छोरीको नाममा होटेल सुरु गरे राम्रो हुने ज्योतिषीले बताए । कविता घरकी माईली छोरी थिईन् । उनकै नाममा सुरु गर्ने गरि पहिलेदेखि नै चलेको आरती होटेल लिने निर्णय भयो ।

उनी हिलको घुस्मेलीबाट बागलुङ बजार आईन् । ‘त्यतिबेला गाडी चल्दैनथे, घरबाट साथी खोजेर रिजालचोकसम्म हिँडेरै आएँ,’ उनले भनिन्, ‘त्यहाँबाट गाडी चढेर बागलुङ बजार आईयो, बुबा पहिल्यै आईसक्नुभएको थियो, भोलीपल्ट शिवधारचोक नजिकै रहेको आरती होटल हामीले किन्यौँ ।’ यो २०६१ साल असार १ गतेको कुरा हो । त्यो बेला होटेल लिँदा १ लाख ५० हजार लगानी गर्नुपरेको थियो ।

दिदीबहिनीले होटेल चलाउन थाले । बुबाले पनि छोरीहरुलाई राम्रो सहयोग गर्नुभयो । कविताले सुरु गरेको आरती होटेल १३ वर्षपछि अहिले पनि उनैले चलाईरहेकी छन् । होटेल त्यहाँबाट अरु दुई ठाउँ सरेर अहिले तेस्रो ठाउँ श्रीनगरटोलमा छ । चलाउने मान्छे भने उनै कविता हुन् ।

सुरुमा गाउँबाट आएर बजारमा होटेल चलाउँदा गाउँतिर कुरा काट्ने पनि थिए । ‘घर गएका बेला एक दिन आमा भक्कानीएर रुनुभयो,’ विगत सम्झिँदै कविताले भनिन्, ‘गाउँका कतिपय आफन्तले नै होटेल राम्रो पेसा होईन छोरीहरु विग्रने भए भनेर भन्दा रहेछन्, त्यही भएर आमा निकै दुखी हुनुभएको रहेछ ।’

बुबा घर व्यवहार हेर्न अधिकांश समय गाउँतिरै बस्नुपर्ने भएकाले होटेलमा कविता र अम्बिका नै हुन्थे । किसोरी उमेरका छोरी मान्छे मात्र होटेलमा हुँदा कतिपयले गलत नियतले व्यवहार गर्न खोज्थे । ‘कतिपयले नराम्रो व्यवहार गर्न पनि खोज्थे,’ उनले भनिन्, ‘तर यस्तो कुरामा हामी सँधै सचेत रह्योँ, आउने पाहुन सवै एकैनास हुँदारहेनछन भन्ने मेरो अनुभव छ ।’

दिदी अम्बिका अहिले धौलागिरी अञ्चाल अस्पतालमा ल्याब टेक्निसियन रुपमा कार्यरत छिन् । पेशामा दिदी, बुबा–आमा र भाईले सँधै प्रेरणा दिएकाले अहिलेको अवस्थामा पुगेको उनको भनाई छ ।

बुबा डिलबहादुर बस्नेत अहिले ताराखोला गाउँपालिका–३ का वडा अध्यक्ष छन् । भाई जीवन बस्नेतले सयपत्री हाईड्रो पावरमा जागिर गर्छन् । जीवनले गाउँमै व्यवसाय पनि गरेका छन् । बुबा–आमा र भाई घुस्मेलीमै बस्छन् ।

पछिल्लो पटक श्रिनगरटोलमा होटेल सारेपछि लगानी समेत थपेर कार्यक्रम हल, सुविधा सहितका एट्याच कोठा विस्तार गरेको कविताले बताईन् । एक वर्षअघि २० लाख भन्दा धेरै रकम खर्चेर उनले आफ्नो पेसालाई विस्तार गर्दै थप व्यवस्थित गरेकी छन् ।

होटेलको कमाईले पुरानो घरको ऋण तिर्न पनि सहयोग पुग्यो । त्यही कमाईबाट कविताले बागलुङ बजारमा घडेरी पनि किनिन् । अहिले त्यो घडेरी बेचिसकेकी छन् । फेरि राम्रो ठाउँमा अर्को घडेरी किन्ने तयारीमा छिन् कविता ।

आफुले होटेलमा आउने पाहुनालाई जहिले पनि अर्गानिक र गुणस्तरिय खाना खुवाउने गरेको उनले बताईन् । ताराखोलाबाट च्याउ, मकै, भट्ट, ध्यू लगायत अन्य अर्गानिक उत्पादन ल्याउने गरेको उनको भनाई छ । होटेलको कमाईबाट आफु सन्तुष्ट रहेको उनी बताउँछिन् ।

सेवा विस्तार गरेर अझ स्तरीय होटल सञ्चालन गर्ने उनको चाहना छ । ‘आमाले मेरो नाममा सुरु गर्नुपर्छ भनेर थलेको होटेल परिवारका सवै सदस्यको सहयोगमा मैले नै चलाएँ,’ उनले भनिन्, ‘अहिले त सबै जना कुनै न कुनै पेशा व्यवसायमा सेटल भएका छन्, मैले भने यसैलाई अझ सेवा थपेर स्तरीय होटेल चलाउने लक्ष्य राखेकी छु ।’

उनी सामाजिक सेवामा पनि रुचि राख्छिन् । कविता लायन्स क्लव अफ बागलुङ सिटीको वर्ष २०१६–१७ को अध्यक्ष हुन् । आफ्नो कमाईबाट दुखमा परेकालाई सहयोग गर्न पाउँदा आफुलाई निकै आनन्द, खुसी र सन्तोष मिल्ने गरेको उनको भनाई छ ।

‘पेशाबाट थोरै कमाई भएपनि सक्दो रकम छुट्याएर सामाजिक सेवामा खर्च गर्ने गरेकी छु,’ उनले भनिन्, ‘यसले मलाई सन्तुष्टि र प्रेरणा दुवै दिएको छ, भविष्यमा पनि आफ्नो परिश्रमको कमाईबाट गर्ने सामाजिक सेवालाई निरन्तरता दिन्छु ।’

उनले काम कुनै पनि सानो वा ठुलो नहुने बताउँछिन् । व्यवसायमा सफल हुन दृढ इच्छाशक्ति, उच्च मनोवल र संकटमा पनि विचलित नभएर निरन्तर मेहनत गर्नुपर्ने उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung