७ जेष्ठ २०८१, सोमबार

 

छोरी पढाउन गतिलो स्कुल नपाएर राजनले थालेको प्रिसियस मन्टेसरी अभिभावकको रोजाईमा

एक अभिभावक आफ्नो छोरीको शिक्षा शुभारम्भ गर्नका लागि विद्यालयको खोजीमा निस्केका थिए । जसलाई पनि आफ्नो सन्ततीले राम्रो शिक्षा लिएर भविष्यमा सफल करियर बनाओस भन्ने हुन्छ नै ।

यी अभिभावक पनि त्यहि चाहन्थे । उनी पनि त्यस्तै स्कुलको खोजीमा भौँतारिएका थिए । तर बागलुङ बजारमा चलेका विद्यालयबाट आफ्नो छोरीलाई पढाउने संस्थाको छनोट गर्न उनलाई सकस भयो । उनले चाहे जस्तो पढाउने ठाउँ भेटेनन् । उनी पुगेको एक मन्टेश्वरीमा जाने बाटो निकै अप्ठ्योरो थियो । ‘मलाई त त्यहाँ पुग्न निकै गाह्रो भयो,’ उनले भने, ‘ढुङ्गै ढुङ्गा भएको बोटो थियो, बच्चा कसरी पुग्लान् त्यहाँ ?’ उनलाई त्यहाँको पुर्वधार नै बालबालिका मैत्री लागेन ।

प्रिसियस मन्टेसरी

यो घटनाले तनहुँको दमौलीमा डिपार्टमेन्टल स्टोर व्यवसाय गर्दै गरेका उनी अब बागलुङमा आएर एक राम्रो मन्टेसरी सुरु गर्ने निर्णयमा पुगे । यसरी सुरु भएको थियो, बागलुङ बजारको रामरेखामा प्रिसियस मन्टेसरी । ती अभिभावक उनै हुन्, जो अहिले यसका प्रिन्सिपल छन्, राजन शर्मा । यही घटनाले विसं २०६७ सालमा जन्माएको प्रिसियस मन्टेसरीअहिले कक्षा ४ सम्म पढाई हुने प्रिसियस एकेडेमीसम्म विस्तार भएको छ । उनले मन्टेसरी सुरु गरेको २ वर्षपछि कक्षा १ देखि माथिको पढाई पनि थालेका थिए ।

प्रिन्सिपल राजन शर्मा

‘खास मन्टेसरीकस्तो हुनुपर्छ भन्ने कुरालाई समेत ध्यानमा राखेर मैले भौतिक पुर्वाधार सम्पन्न र बालबालिकाको सिकाई मैत्री वातावरण भएको संस्था बनाउने मेरो लक्ष्य थियो,’ शर्माले भने, ‘यि दुवै कुरालाई मैले सँधै प्राथमिकतामै राखेर गुणस्तर कायम गरेको छु ।’

शर्माले आफु छोरी कृतिकाको बुबाको रुपमा उनलाई पढाउने विद्यालय खोज्दाका अनुभवलाई अहिले आफुले पढाउने बालबालिकाका अभिभावकको आवश्यकता र चाहना ठान्छन् । उनै अभिभावकको आवश्यकता पुरा गर्ने प्रयास सहित सिकाईमा स्तरियता दिने दिन आफु तल्लिन रहेको उनको भनाई छ ।

अहिले २ सय भन्दा बढी बालबालिका उनको मन्टेसरीर एकेडेमीमा अध्ययन गर्छन् । विद्यालयमा प्रयाप्त शैक्षिक सामग्रीको उपलब्धता, सिकाईमा प्रविधिको भरपुर प्रयोग, नाचगानसँगै खेल विधिबाट सिकाई जस्ता कुरालाई आफ्नो संस्थाले बढी प्राथमिकता दिएको उनको भनाई छ ।

‘हामीले अडियो भिजुएलको प्रयोग गरेर प्रविधिमैत्री शिक्षणलाई पनि जोड दिएका छौँ,’ शर्माले भने, ‘मन्टेश्वरीमै पनि बच्चाको जीवन सिकाईका सवै पक्षलाई समेटेर सरल ढंगले शिक्षण गर्ने हाम्रो पद्धती छ ।’

शर्माले बालबालिकालाई उनीहरुको विकास क्रम अनुसार बोझ नहुने गरि खेल विधिबाट सिकाईमा पे्ररित गर्ने गरेको बताउँछन् । ‘साना बालबालिकाको मनोबैज्ञानिक पक्षलाई पनि ध्यान दिएर खेल विधिबाट धारणाको विकास गर्न हामीले सँधै ध्यान दिन्छौँ,’ उनले भने, ‘बच्चालाई बोझ दियो भने उनीहरुको विकासमा बाधा पुग्छ ।’

उनले मन्टेसरी शिक्षण पद्धतिका आधारभुत मान्यतालाई अनुशरण गर्दै त्यसै अनुसारको पुर्वाधारमा बालबालिकाको पठन पाठन गराउने गरेको बतााए । ‘हाम्रा सबै शिक्षक महिला र मन्टेसरीट्रेनिङ लिएका हुनुहुन्छ,’ उनले भने, ‘बच्चा र महिला दुबैको दिमागको दायाँ भाग चल्छ, यसले सिकाई र बुझाईमा समानता कायम गर्ने हुँदा प्रभावकारी हुन्छ ।’

मन्टेसरीका बच्चालाई दिनको तीन पटक खाजा खुवाउने व्यवस्था रहेको उनले बताए । बालबालिकालाई विद्यालय र घरसम्म ल्याउन लैजान बस र भ्यानको समेत व्यवस्था छ । उनले अहिले प्रिसियस मन्टेसरीअभिभावकको रोजाईमा पर्ने गरेको बताउँछन् ।

‘हाम्रोमा सन्तानको शिक्षा बारे अलि बढी सचेत मध्यबर्गीय अभिभावकले आफ्ना बच्चा ल्याउनुुहुन्छ,’ उनले भने, ‘हाम्रो जिम्मेवारी नानीबाबुको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने हो, बच्चाको क्षमता अनुसारको करियर बनोस भन्नेमा हामी सँधै सचेत रहन्छौँ ।’

सुरुमा झण्डै ३० लाख रुपैयाँ लगानी गरेर मन्टेसरीसुरु गरेका उनले अहिले २ करोड भन्दा माथिको लगानी पुगेको बताउँछन् । उनले आफ्नो शैक्षिक संस्थामा २६ जनालाई रोजगारी दिएका छन् । शर्माले मन्टेसरी तालिम प्रदान गर्ने गरि शिवधारचोकमा रहेको विद्यामन्दिर पुस्तकालयको भवनमा प्रिसियस मन्टेसरी टे«निङ सेन्टर चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्