६ जेष्ठ २०८१, आईतवार

 

‘हाम्रो सेवा लिएर स्थानीय लगानीलाई प्रबद्र्धन गर्नुस्’ : धौलागिरी बस समिति अध्यक्ष केसी

२०५५ सालमा स्थापना भएको धौलागिरी अञ्चल यातायात बस सञ्चालक समिति बागलुङले स्थानीय तथा छोटो र लामो दुरीका विभिन्न रुटमा अहिले दैनिक ४०० सवारी साधान सञ्चालन गर्दै आएको छ । समिति मार्फत यातायात व्यवसायमा एक अर्व ५० करोड भन्दा बढी लगानी भईसकेको समितिका अध्यक्ष उमेश केसीले बताए । यहाँ प्रस्तुत छ, केहि समय अघि मात्र समितिको नेतृत्व सम्हालेका केसीसँग नयाँ विश्वले गरेको कुराकानी :

तपाईको कार्यकालमा मुख्य त के काम गर्दै हुनुहुन्छ ?

खासमा यातायात क्षेत्र सेवामुखि व्यवसाय हो । यात्रुको चाहना र आवश्यकता अनुसार सेवालाई विस्तार गर्ने र थप स्तरीय बनाउने कुरामा हामी सँधै ध्यान दिन्छौँ । सेवा सुधार र विस्तार जहिले पनि हाम्रो प्राथमिकतामै रहन्छ । यात्रालाई सुरक्षित बनाउने कामसँगै आउँछ । त्यसैले दुर्घटना न्युनिकारण गर्ने कार्यमा हामी सँधै सजग रहन्छौँ ।

यसका लागि व्यवसायी, कर्मचारी र मजदुरलाई सचेत बनाउनु आवश्यक छ । उनीहरुका लागि सचेतनामूलक प्रशिक्षण कार्यक्रम गर्नेछौँ । कर्मचारी र मजदुरलाई उनीहरुको कामप्रति थप जिम्मेवारीबोध गराई गराउने समितिबाटै स्थलगत अनुगमनको कार्यलाई थप व्यवस्थित र नियमित गछौँ ।

अहिले कुन कुन रुटमा बस सञ्चालन गर्नुभएको छ ?

हामीले धौलागिरी अञ्चल भित्रका स्थानीय रुट सहित अन्य लामा तथा छोटा रुटमा विभिनन प्रकारका बस र स्कर्पियो जीप समेत सञ्चालन गरेका छौँ । बागलुङ जिल्ला भित्र बागलुङ नगरपालिका, गलकोट, बुर्तिबाङ, खर्बाङ लगायतका अन्य ठाउँ, धौलागिरी अञ्चलमा बेनी, पर्वत र मुस्ताङका बिभिन्न ठाउँमा नियमित गाडी चलाई रहेका छौँ ।

कालिगण्डकी करिडोरमा बेलबगरसमम भर्खरै गाडी सञ्चालन गर्न थालेका छौँ । लामो रुटमा काठमाण्डौ, पोखरा, नारायणगढ, विरगञ्ज, वुटवल, भैरहवा, काकडभित्ता, नेपालगञ्ज, कष्णनगर, बर्दिया, नयाँ दिल्लीसम्म पनि हामीले नियमित नै बस सेवा चलाएको छौँ ।

कस्तो कस्तो प्रकारका गाडी चलेका छन् ?

हामीले मिनीबस, मिनीमाईक्रो बस, ठुला गाडीहरु, स्कोर्पियो जीप, स्तरीय सेवाका बसहरु जस्तै एसीबस, डिलक्स र उत्कृष्ट सेवा सहितको पर्यटक बस सञ्चालन गर्दै आएका छौँ । हामीले यात्रुको स्तर अनुसार सामान्यदेखि उच्च स्तरको सेवा सहितका गाडीहरु सञ्चालन गरिरहेका छौँ ।

कार्यकक्षमा अध्यक्ष केसी

यातायात क्षेत्रमा लगानी गर्ने क्रम कस्तो छ ?

यातायात क्षेत्रमा लगानी राम्रो छ । लगानी गर्ने क्रम पनि बढ्दो नै छ । यो राम्रो कुरा हो यसले प्रतिस्पर्धा पनि बढाएको छ । सेवाको स्तरीयता पनि बढेको छ । यो व्यवसायमा तत्काल आम्दानी लिन सकिन्छ । दैनिक क्यास कमाई हुने हुँदा पनि लगानी गर्नेहरुको आकर्षण नै छ । तर यसले अर्को चुनौति पनि बढाएको छ ।

गाडीहरु धेरै भएपछि यात्रु कम हुने र कमाई कम भएपछि किस्ता तिर्नै गाह्रो हुने अवस्था आएको छ । त्यसैले लगानी गर्न ईच्छुक नयाँ व्यवसायीले सम्भावनाको अध्ययन गरेर लगानी गर्नुपर्छ । अहिले सम्म हाम्रो समितिमा आवद्ध व्यसायीले मात्रै एक अर्ब ५० करोड भन्दा बढी यो क्षेत्रमा लगानी भएको छ । यो लगानी निकै ठुलो हो ।

यो व्यवसायका सकारात्मक पक्ष के हुन् ?

खासमा मलाई के लाग्छ भने यो सेवामूलक व्यवसाय भएकाले अरुको सेवा गर्न पाईन्छ । यो कमाईसँगै सेवा गरेर सन्तुष्टी लिने क्षेत्र पनि हो । सेवा गर्न पाउनु सवैभन्दा ठुलो कुरा हो भन्ने मेरो मान्यता छ । गाडी लाईनमा उधारो हुँदैन । दिन दिनै हातहातमै आम्दानी गर्न सकिन्छ । त्यसैले आम्दानीका लागि लामो समय कुर्नुपर्दैन ।

क्यास टु क्यास कामाई यो पेशाको सकरात्मक पक्ष हो । यातायात व्यवसायबाट जनसम्पर्क राम्रो हुन्छ । चिनजान र नेटवर्क यो पेशाको अर्को राम्रो पक्ष हो । सार्वजनिक सम्बन्धले अरु कुरामा पनि सहयोग गर्छ ।

अनि चुनौति के छन् नी ?

सवारी दुर्घटना हाम्रो सवै भन्दा ठुलो चुनौति हो । यसको न्युनिकरणका लागि व्यवसायि, चालक सहचालक र पैदल यात्रु पनि सचेत हुन आवश्यक छ । धैरै गाडी र अस्वस्थ प्रतिस्पर्धाले आफैलाई घाटा पुराएको हुन्छ । त्यो क्रम अहिले बढेर गएको छ । यातायात व्यवस्था ऐन व्यवसायमैत्री छैन । दुर्घटना निती कार्यान्वयन नहुँदा व्यवसायीलाई सास्ती हुन्छ । दुर्घटनापछि लामो समयसम्म प्रहरी नियन्त्रणमा गाडी राखिदिँदा हामीलाई समस्या हुने गरेको छ ।

२४ घण्टा भन्दा बढी गाडी प्रहरीले राक्न नपाउने नियम छ तर यसो हुन सकेको छैन । दुर्घटना भएपछि पीडितसँग हुने झगडा र उनीहरुको मागले पनि हामीलाई समस्या पार्छ । ट्राफिक नियम पालनामा समस्या देखिएको हुन्छ । अर्को कुरा यस क्षेत्रमा लगानीकर्ताको आकर्षण छ तर यो लगानी सुरिक्षत छैन । खासमा यी र यस्तै चुनौतीसँग हामी सँधै जुधि रहेका हुन्छौँ ।

समितिको कार्यालय भवन रामरेखा, बागलुङ

यातायात क्षेत्रमा के कुरा तत्काल सुधार गर्नुपर्छ ?

पहिलो कुरा सडक स्तरोन्नती आवश्यक छ । हामीले स्तरीय गाडी चलाएका छौँ तर सडक त्यस अनुकुलको छैन । हाम्रो धौलागिरीबाट सवारी चालक अनुमती पत्र दिने काम रोकिएको ४ वर्षभन्दा धेरै भईसक्यो । तत्काल यहाँबाट सवारी चालक अनुमतिपत्र दिने व्यवस्था हुन अवश्यक छ । यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक र कर्मचारीहरुलाई दक्ष बनाउन अवश्यक छ ।

यसमा राज्यको तर्फबाट पनि उचित नीति बनाई कार्यान्वय गर्नुपर्छ । अहिलेसमम यातायात क्षेत्र हेर्ने मन्त्रालय अरु कुनै न कुनै अर्को मन्त्रालयसँग जोडिएर बनाउने गरेका कारण प्राथमिकतामा परेको छैन । त्यसैले यातायात क्षेत्र हेर्ने मन्त्रालय छुट्टै एकल हुनुपर्छ । यातायात क्षेत्रको समग्र पक्ष हेर्नका लागि यातायात प्राधिकारण बनाउन अवश्यक छ ।

अन्तमा के भन्नुहुन्छ ?

खासमा हामीले स्थानीय पुँजी लगानी र परिचालन गरेर यातायात सेवा सञ्चालन गरेका छौँ । यो हाम्रो राष्ट्रिय पुँजी हो । अझ भनौँ हाम्रै गाउँघर, शहर बजार भित्रकै पुँजी हो । यहिँका व्यवसायी साथीहरुले लगानी गर्नुभएको छ । त्यसैले स्थानीय लगानी प्रबद्र्धन गर्नका लागि हाम्रो सेवा लिन म सवै यात्रु महानुभावलाई आग्रह गर्न चाहान्छु । हाम्रा कुरा आम पाठकबीच लैजाने मौका दिनुभएकोमा नयाँ विश्वलाई धन्यवाद दिन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्