२९ असार २०८२, आईतवार

 

कोरला जाने पर्यटकलाई ईन्टरनेट सुविधा

नेपाल टेलिकमले उपल्लो मुस्ताङसम्म जाने पर्यटकहरुलाई लक्षित गरि ईन्टरनेट सेवा विस्तार गरेको छ । उपल्लो मुस्ताङको पर्यटकीय स्थल दामोदर कुण्ड भ्रमणमा जाने पर्यटकसँगै त्यस क्षेत्रका करिब ४ सय घरधुरी लाभान्वित भएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताईन ।

यो टावर संचालन भएपछि अहिले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम कोरला हाईवे अन्तरगत ताङबेदेखि जैतेसम्मको अधिकांश क्षेत्रमा मोवाईल सेवा पुगेको छ । त्यसैगरी नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न विकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवा विस्तारलाई तिव्रता दिएको छ । टेलिकमले मुस्ताङको अति विकट क्षेत्र स्याङबोचे भ्यू प्वाईन्टमा टावर राखि सेवा संचालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

समुन्द्र सतहदेखि ४ हजार २ सय ५० मिटरको उचाईमा अवस्थित मुक्तिक्षेत्र गाउँपालिकाको घिउला डाँडामा रिपिटर स्टेशन राखि माईक्रोवेभ लिङ्क मार्फत सञ्चालनमा सेवा सुरु भएको छ । नयाँ प्रविधिमा स्तरोन्नति गर्दै थप स्थानमा विटिएस सेवा थप गरिएको शर्माले बताए । यस अघि उक्त स्थानमा कुनै पनि सेवा पुगेको थिएन । भौगोलिक विकटता र चुनौतिका बाबजुत ग्रामीण क्षेत्रका जनतालाई संचारको पहुँचमा जोडन टेलिकमले उपल्लो मुस्ताङमा जिएसएम मोवाईल सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको टेलिकम प्रमुख शर्माले बताए ।

शर्माले भने ‘उच्च हिमाली भु–भाग र दुर्गम क्षेत्रमा काम गर्न र प्रविधि पुराउन निकै जोखिम र कठिन थियो यद्यपी हामी जनतालाई संचारको पहुँचमा जोडदै गुणस्तरीय सेवा प्रदान गर्ने नेपाल टेलिकमको योजना अनुरुप सेवा विस्तार गरिएको हो’ ।  मोवाईल सेवा संचालनमा आएपछि त्यस क्षेत्रमा भ्वाईस तथा डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । त्यस्तै नेपाल टेलिकमले बागलुङ बडिगाड गाउँपालिका वडा नं १० उपल्लो दर्लिङमा बिटिएस टावर निर्माण गरेको छ ।

दर्लिङको बाघखोरमा जिएसएम बिटिएस टावर निर्माण गरि परिक्षण समेत गरिएको बताईएको छ । अहिले टावरमा विद्युत लाईन पुराउने काम भईरहेको छ । यता सिगाना कोटमा पनि नयाँ बिटिएस टावर सञ्चालनमा आएको छ । टावर सञ्चालनपछि सिगाना, रेश र आसपासका स्थानीयवासी लाभान्वित भएको नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले बताए ।

अब छिट्टै म्याग्दीको बाबियाचौर, बागलुङको गलकोट नगरपालिका ९ रिश्मी, रमुवा, खुंगा, ताराखोला गाउँपालिकाको नागबेली खोला, अमरभुमि लगायतका स्थानमा समेत नयाँ टावर सञ्चालनको लागि अध्ययन भैराखेको छ । बागलुङको पर्यटकिय स्थल ढोरपाटनको नेपाने डाँडा र म्याग्दीको मुदि, खिवाङमा पनि भिस्याट प्रविधि हटाएर माईक्रोवेभ लिङ्क मार्फत टावर संचालन गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung