१७ बैशाख २०८१, सोमबार

 

मनाङ पुगरे प्रधानमन्त्री ओलीद्धारा स्याउ फार्मको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङ पुगरे स्याउ फार्मको उद्घाटन गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको उद्घाटन गर्दै ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए ।

स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे । उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि १० करोड रूपैयाँ अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए ।

मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गरेको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उनले बताए । ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचामा ३० करोड रूपैयाँको लगानी छ ।

प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी छन् । उनका अनुसार अत्याधुनिक चिस्यान केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ । तस्बिरः समुन्द्रा घिमिरे, लमजुङ, रासस

प्रतिक्रिया दिनुहोस्