३० बैशाख २०८१, आईतवार

 

के संसारमा फेरि डाइनोसर आउलान् ?

करिब साढे १४ करोड वर्षसम्म पृथ्वीमा राज गरेका डाइनेसोरहरु एकाएक कसरी लोप भए ? जल, जमिन, जंगल जताततै पाइने डाइनेसार लोप हुनुपर्ने कारण के थियो ? पृथ्वीमा के त्यस्तो घटना भयो जसका कारण डाइनसोरको नामोनिशान नै मेटियो ?

डाइनोसोर इभोलुसनरी इकोलोजीको एउटा महत्वपूर्ण पाटो हो। कतिपयका लागि यो ‘मिथ’ लागेपनि जीवाशेषहरुबाट प्राप्त प्रमाणले पृथ्वीमा कुनै समय डाइनोसोरको युग थियो भन्ने पुष्टि भइसकेको छ।

पृथ्वीको अनुमानित उमेर साढे ४ अर्ब वर्ष हो। यसबीच पृथ्वीमा धेरैं आरोह अवरोह भए र हुनेक्रम जारी छ। धेरै ठूला–ठूला महाप्रलयहरु (मास एक्सटिङक्सन) भए। हरेक मास एक्सटिङक्सनबाट एउटा प्रजातिको अन्त्य र नयाँ प्रजातिको उदय हुँदै आएको खोजहरुले देखाएको छ।

मास एक्सटिङक्सनमा धेरै प्रजातिका जीवहरु विनाश हुन्छन्। हालसम्म ५ वटा महाप्रलयका घटनाहरु भएका छन्। छैटौं महाप्रलय सुरु भइसकेको वैज्ञानिकहरुले दाबी गर्दै आएका छन्। र, छैटौँ महाप्रलयबाट मानव जातीको अस्तित्व समाप्त हुने दाबी गरिएको छ।

आजभन्दा साढे ६ करोड वर्ष पहिले पृथ्वीमा क्रेटासियस महाप्रलय घटेको थियो। जसका कारण डाइनोसोरको विनाश भएको साइन्टिफिक जर्नलहरुमा उल्लेख छ। उक्त महाप्रलयमा परी पृथ्वीमा भएका ७६ प्रतिशत प्रजातिहरुको विनाश भएको वर्ल्ड एट्लास अनलाइनले उल्लेख गरेको छ।

क्रेटासियस महाप्रलय के–कारणले भएको थियो भन्ने विषयमा वैज्ञानिहरु विभाजित छन्। नेशनल जोग्राफिकले वैज्ञानिकहरुको भनाइ उद्दृत गर्दै लेख्छ, ‘क्रेटासियस महाप्रलय आकशीय पिण्ड र ज्वालामुखी विष्फोटनका कारणले भएको थियो।’ कतिपय वैज्ञानिकहरु भूकम्प, क्लाइमेट चेन्ज र प्राकृतिक कारणले यो महाप्रलय भएको ठान्दछन्। तोहोकु विश्वविद्यालयका कुनियो कैहो र नागा ओसिमाको अध्ययनले पनि पृथ्वीको सतहमा आकशीय पिण्ड झरेका कारण महाप्रलय गएको उल्लेख गरेका छन्।

प्रख्यात वैज्ञानिक एवं हावार्ड विश्वविद्यालयका पूर्व प्राध्यापक स्टेफेन जे गोउल्डको भनाइलाई उदृत गर्दै वातवरण विज्ञानका प्राध्यापक अमूल्य रत्न तुलाधार भन्छन्, ‘पृथ्वीमा उत्पत्ति भएका ९९ प्रतिशत जीवहरु लोप भइसकेका छन्। अहिले भएकाहरु कूल उत्पत्ति भएका प्रजातिहरुको एक प्रतिशत मात्र हुन्।’ उनका अनुसार पृथ्वीको हरेक कालखण्डहरुमा महाप्रलय आउने गरेका छन्।

आकशीय पिण्ड पृथ्वीको सतहमा खसेपछि क्रेटासियस महाप्रलयको भएको मानिदै आएको छ। साढे ६ करोड वर्षपहिले पृथ्वीको तापक्रम औसत थियो। जताततै हरियाली अनि सफा वायुमण्डल थियो। अहिले जस्तो प्रदूषित थिएन। जमिनमा, पानीमा बस्ने अनि उड्ने डाइनोसोरको युग थियो।

डाइनोसोरको त्यो युगमा प्राथमिक स्तनधारी जीव लुकेर बस्थे। मुसा जस्तो देखिने ती स्तनधारी जीवहरु सुरक्षाको कारणले जमिनमुनि लुकेर बस्थे। जमिनमुनी बस्ने यी स्तनधारी अहिलेको आधुनिक युगका लागि वरदान हो। आधुनिक युगमा स्तनधारी प्रजातिको प्रभुत्व छ, त्यसमा पनि मानवको। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्