४ जेष्ठ २०८१, शुक्रबार

 

तातोपानी कुण्ड संरक्षण सुरु

प्राकृतिक उपचार र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको अन्नपूर्ण गाउँपालिका ६ – रातोपानी स्थित तातोपानीको मुहान संरक्षण र व्यवस्थापनमा स्थानीयबासी अग्रसर भएका छन् ।

अन्नपूर्ण गाउँपालिका, घारका जनप्रतिनिधि, अगुवा र समुदायले कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई व्यवस्थित गरेर पर्यटकीय र प्राकृतिक उपचार स्थलको रुपमा विकास गराउन थालेका हुन् ।

तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण र डुबुल्की मारेर स्नान गर्ने सुबिधाका लागि व्यवस्थित पोखरी बनाउन लागिएको व्यवस्थापन समितिका सचिव तिर्थबहादुर खड्काले बताउनुभयो ।

बेनी–जोमसोम सडकको छेवैमा प्रति सेकेण्ड ११ लिटरका दरले ५६ डिग्री तातोपानी निस्कने मुहान रहेको छ । मुहानबाट निस्कीएको पानीलाई पोखरीमा संकलन गरि स्नान गर्ने व्यवस्था मिलाउन लागिएको सचिव खड्काले बताउनुभयो ।

१०० जनाले स्नान गर्न सक्ने क्षमताको १०/१० मिटर लम्बाई र चौडाई भएको पोखरी बनाउन लागिएको छ । पक्की पर्खाल बनाएर संरक्षण गरिएपछि पोखरीमा बाह्ै महिना स्नान गर्न सकिनेछ् । हाल बर्खामा बाढी आउँदा तातोपानीको मुहान र पोखरी डुब्ने गर्छ ।

तातोपानी कुण्डको संरक्षण र व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले एक लाख रुपैयाँ बिनियोजन गरेको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । उहाँका अनुसार कुण्ड व्यवस्थापन समितिको तीन लाख रुपैयाँ पनि संरक्षणमा परिचालन गरिने भएको छ ।
तातोपानीको मुहानलाई व्यवस्थित र संरक्षण गर्न सकेमा उपचारका लागि आउने सर्वसाधारण र स्नान गर्ने पर्यटकलाई सुबिधा पुग्ने वडा अध्यक्ष बरुवालले बताउनुभयो । चोटपटक लागेको, बज्रिएको र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पिडित बिरामीहरु तातोपानीमा डुबील्की मारेर स्नान गर्न आउँछन् ।

अहिले पनि दैनिक दुई सय जनाले उपचारका लागि स्नान गरिरहेका छन् । बेनी–जोमसोम सडकको नजिकै भएको कुण्डको प्रचारप्रसार गरेमा स्वदेशी तथा विदेशी पर्यटक पनि भित्र्याउन सकिने सम्भावना छ । अन्नपूर्ण गाउँपालिकाकै २ नम्बर वडा भुरुङ्गमा रहेको तातोपानी कुण्ड पर्यटकीय र बेनपा ४ सिंगाको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा प्रसिद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्