४ जेष्ठ २०८१, शुक्रबार

 

पञ्चकोटमा अग्लो कलश बनाउन ३२ करोड सिफारिस

बागलुङ । धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चोटमा एक सय आठ फिटको अग्लो कलश बनाउनको लागि ३२ करोड सिफारिस भएको छ । उक्त कलश निर्माणसहित पञ्चकोटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ  ।

हाल विभिन्न संरचनाहरू निर्माणाधीन रहेको पञ्चकोटमा १६ करोड हाराहारीको लगानी भइसकेको छ । हालसम्म गरुड शिला, गण्डकी माताको मन्दिर, सिसमहल, अन्य देवदेवीका मन्दिर र हनुमानको ठूलो मूर्ति स्थापना भइसकेका छन् । ५ हजार ५ सय ५५ केजीको घण्टा स्थापनाको तयारी छ । त्यस्तै सत्तल र धर्मशालाको भवन निर्माणाधिन छन् ।

डीपीआरमा ३२ करोडको लागत कलश निर्माणमा आउने उल्लेख छ । तामाको कलश बनाइने भएकाले खर्चिलो हुने सर्वसिद्धिधाम पञ्चकोट निर्माण अभियानका प्रतिनिधि अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।

उक्त बजेट स्वीकृत भएमा ६० प्रतिशत संघीय अर्थमन्त्रालयले लगानी गर्नेछ । बाँकी ४० प्रतिशत लगानी स्थानीय तह, उपभोक्ता र दान–चन्दा लगायत जुटाएर गर्न सकिने प्रपन्नाचार्यले बताए ।

पाँच वर्ष अघिदेखि सहायक पूर्वाधारहरू निर्माण भइरहेको पञ्चकोटमा आगामी वर्ष मुख्य कलश निर्माणको काम थाल्नका लागि गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले संघीय सरकारका लागि समपुरक कोषमा बजेट माग गरेको हो ।

मन्त्रालयले तेस्रो प्राथमिकतामा पञ्चकोटको पूर्वाधार निर्माणका लागि ३२ करोड रुपैयाँ अर्थमन्त्रालयमा माग गरेको उद्योग, पर्यटन तथा वन मन्त्री विकास लम्सालले बताए । १० करोडभन्दा ठूलो रकमको योजनालाई प्रदेश सरकारले संघीय अर्थ मन्त्रालयमा समपुरक कोषका लागि सिफारिस गर्नसक्ने प्रावधान छ ।

ठूला प्रकारका योजनामा राज्यको दोहोरो लगानी गरेर उपलब्धि नहुने भएकाले समपुरक कोषमा सिफारिस गरेको मन्त्री विकास लम्सालले बताए । ‘पटक–पटक सानो लगानी गर्दा काम पनि नहुने, लगानी खेर जाने भएकोले पञ्चकोटको पूर्वाधारलाई प्राथमिकतामा राखेर पठाएका हौं,’ उनले भने, ‘विनियोजित बजेटलाई कार्यान्वयनको जिम्मा पनि स्थानीय तहलाई नै प्राप्त हुन्छ ।’

बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले ठूलो आकारको योजनाको डीपीआर र बजेट समपुरकबाट विनियोजन हुँदा स्थानीय सरकारलाई मर्का पर्ने जोखिम पनि रहेको बताए । ‘हामीसँग पूर्वाधारमा धेरै बजेट छैन । ठूलो आकारको योजनाबाट ४० प्रतिशत भार पारिदिने हो भने नगरपालिकाले धान्न सक्दैन,’ उनले भने ।

आफ्नो नगरभित्र बन्ने ठूला आयोजनाले विकास र पर्यटनमा योगदान पुगे पनि संघीय कार्यालयहरूकै अगुवाइ नभएसम्म सम्भव नहुने उनले बताए ।

बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माण गरेर पञ्चकोट धार्मिक गन्तव्य बनाउने बृहत् गुरुयोजना सुरु भएको थियो । योजनाले वार्षिक १ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यहाँ दैनिक ५ सयदेखि हजारजना घुम्न आउने गरेको स्थानीयले बताए । बस, जिप र ट्याक्सी समेत रिजर्भ गरेर आउनेको संख्या दिनदिनै बढेको यातायात व्यवसायी विष्णुप्रसाद अधिकारीले बताए ।

आकर्षक धार्मिक मठमन्दिर निर्माण गरेर हिन्दु र बौद्ध धर्मको गन्तव्य बनाउन लागिएको हो । मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यको अगुवाइमा यो अभियान सुरु भएको हो । कलश स्थापनाअघि अन्य पूर्वाधार निर्माणको काम भइरहेको छ । कलश रहने स्थानको माटो परीक्षणको काम भइसकेको छ । जगमा रहने पूर्वाधार र कलश समेत गर्दा १ सय ४२ फिट अग्लो बन्ने प्रपन्नाचार्यले बताए । यहाँको डेढ सय रोपनी जमिनमा सबै प्रकारका पूर्वाधार निर्माणका लागि भने करिब २ अर्ब खर्च हुनेअनुमान छ ।

पूर्वाधार निर्माण सम्पन्न भएपछि मुक्तिनाथ जाने अधिकांश पर्यटक बागलुङमा कम्तीमा एक दिन बसाल्न सकिने पर्यटन समिति बागलुङका अध्यक्ष राजु खड्काले बताए । मन्त्रालयले पनि बागलुङ कालिका, पञ्चकोट, निर्माणाधीन शालिग्राम संग्रहालय, ढोरपाटन र घुम्टेलगायतका योजनालाई पर्यटकीय गन्तव्यको रूपमा लगानी बढाउने गरी प्राथमिकतामा राखेको मन्त्री लम्सालले बताए । पञ्चकोटमा ३ सय ६५ तुलसीका मोठ, १ सय ८ वरपीपलका चौतारी निर्माण गर्ने योजनासमेत छ । स्थानीय जातका गाई संरक्षण गर्दै गौशालासमेत बनाइएको छ । हरेक वर्ष फागुनमा यहाँ महायज्ञ गरेर सहयोग संकलन गर्दै पूर्वाधारमा लगानी हुँदै आएको हो ।

आगामी फागुन ९ देखि १५ गतेसम्म पनि यहाँ महायज्ञ सञ्चालन हुने प्रपन्नाचार्यले बताए । सदरमुकामदेखि पञ्चकोटका ५ वटै कोट जोड्ने केबुलकार निर्माणका लागि बागलुङ नगरपालिका र व्यवसायीले योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्