३ कार्तिक २०८३, सोमबार

 

चालकको बयान जाममा परिने भन्दै तिब्र गतिमा चलाउँदा दुर्घटना

पर्वत । चालकले स्टेयरिङ घुमाउँदा नमोडिएपछि म्याग्दीको बेनीबाट बिहीबार बिहान नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा–१ मालढुंगामा सडकबाट खस्न पुगेको देखिएको छ ।

चालकले घुमाउन खोज्दा पनि स्टेरिङ नमोडिएपछि ग १ ख ६१०८ नम्बरको बस सडकबाट करिब ६० मिटर तल कालीगण्डकी किनारमा खसेको हो । घटनास्थलमै ३ जनाको र उपचारक्रममा अञ्चल अस्पताल बागलुङमा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३३ घाइते छन् ।
बिहीबार उक्त समयअगावै बाटो काट्न तीव्र गतिमा गुडेको बस सन्तुलन गुमाएर नदीमा खसेको प्रहरीको अनुमान छ । घटनामा घाइते सहचालक अमिर क्षत्रीका अनुसार चालकले बस तीव्र गतिमा चलाएका थिए ।

यात्रुले विस्तारै चलाउन आग्रहसमेत गरेको क्षत्रीले बताए । क्षत्रीको हात भाँच्चिएको छ । चालक तिलक पराजुलीको ढाड भाँच्चिएकाले उपचारका लागि पोखरा लगिएको छ ।

चालक पराजुलीका अनुसार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको बसका लागि बेनी काउन्टरमा १४ यात्रुले टिकट लिएका थिए । बस छुटेलगत्तै पर्वतबेनी बजारमा केही यात्रु चढे । पर्वतबेनीदेखि मालढुंगासम्म १२ किमि दूरीमा पनि यात्रु चढे । सिट क्षमताभन्दा बढी यात्रु थिए ।

‘पोखरा–बागलुङ सडक खण्डको मोदी गाउँपालिकामा पर्ने बेतेनीदेखि कास्कीको नयाँपुलसम्म १० बजेपछि ६ घण्टा सडक जाम हुने भएकाले त्यो समयअघि नयाँपुल कट्नुपर्ने थियो,’ उनले भने, ‘सडक साँघुरो र केही घुमाउरो थियो । बल गरेर घुमाउँदा पनि स्टेयरिङ मोडिएन, कामै गरेन । अगाडिका दुवै पाङ्ग्रा नियन्त्रणबाहिर गए अनि बस खस्न पुग्यो ।’

पोलमाठोक्किँदै खस्यो
गाडीमा काम गर्न आएको दुई दिन मात्र भयो । पोखरा पुग्ने सडक धेरै ठाउँमा भत्काएर फराकिलो बनाउँदै छन् । जाम कटेपछि ढुक्कले जान पाइन्छ भनेर गुरुजीले गाडी हुइँक्याउनुभएको थियो । मालढुंगा नजिकै पुगेपछि गाडी अनियन्त्रित भयो ।

सडक छेउका पोलमा ठोक्किँदै जान थालेपछि सबै यात्रु आत्तिए । कतिपयले हल्ला पनि गरेका थिए । छेउका १०र १२ वटा पोल ढालेपछि गाडी भीरबाट खस्यो । म ढोकाबाट हाम्फालें । हात भाँच्चियो । बस ढुंगामा ठोक्किँदै कालीगण्डकी किनारमा पुग्यो । सकी–नसकी तल झरेर हेर्दा गुरुजीको ढाड भाँच्चिएको रहेछ । एकैछिनमा गाउँले जम्मा भए ।

केहीबेरमै प्रहरी आएर बसभित्रका घाइतेको खोजी गर्न थाले । घटनास्थलमै तीन जनाको मृत्यु भएको रहेछ । घाइते रोइकराइ गर्दै थिए । कोही बोल्न नसक्ने अवस्थामा थिए । प्रहरी र स्थानीय मिलेर मसहितका घाइतेलाई बागलुङ अस्पताल पठाए । हात भाँच्चिएकाले प्लास्टर गरेर आराम गरिरहेको छु ।

त्यही स्थानमा केही दिन अगाडी मात्रै पिकअप जिप र ट्याक्टर आपसमा ठोकिदाँ ४जना घाइते भएका थिए । मध्यपहाडी राजमार्ग निर्माणको कार्य तिब्र भएको र सडकमा ढुंगामाटोका साथै जामको अवस्था रहेका कारण सवारी साधनहरुले तीब्र गतिमा सवारी हाँक्ने गरेका छन् । जसका कारण पनि दुर्घटनाको समस्या बढेको छ ।

मृतकको सनाखत
दुर्घटनामा मृत्यु हुने ७ जनाको नै सनाखत भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नंं ८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार, जलजला ७ का जीवन विक र अमिसरा पुन, म्याग्दीको पाखापानीका राजेश पुन, भरतपुर महानगरपालिका वडा नं ८ का ४१ बर्षिय सुब्बे परियार र बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन् ।

घाइतेको पोखरामा उपचार
दुर्घटनामा परी घाइते भएकाहरुको पोखरा र काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते हुनेहरुको प्राय जसो टाउको गम्भीर चोट लागेको छ । अहिले घाइतेहरुको पोखरा मनिपालमा र एक जनाको काठमाडौमा ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पर्वत सडकखण्डमा उच्च जोखिम
पर्वत सडकखण्डमा दुर्घटनाको उच्च जोखिम देखिएको छ । मध्यपहाडी राजमार्गको स्तरोन्तीको कम भइरहेका कारण सडककै छेउछाउमा निर्माण समाग्री थुपारिएको र १० देखि ४ बजेसम्म जाम हुने भएकाले पनि सवारी साधन तीब्र गतिमा हाँक्दा जोखिम बढेको हो । बैकल्पिक बाटो विनानै सडकको स्तरोन्तीको काम शुरु भएका कारण पनि दुर्घटनाको समस्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung